विराटनगर । मोरङको बेलबारी र धनपालथानमा दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने माछाको प्रजाति फेला परेको छ ।
अनुसन्धानकर्ताहरु जसहाङ लिम्बु, दीपक राजवंशी, अस्मित सुब्बा, लक्ष्मण खनालसहितको टोलीले टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नामको नयाँ प्रजातिको माछा फेला पारेका हुन् ।
उक्त माछा नेपालमा पहिलो पटक बेलबारीस्थित नदीमा चार वर्षअघि देखापरेको थियो । नयाँ प्रजातिको माछा भन्ने शंका लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरु लिम्बू, राजवंशी, सुब्बा र खनालले त्यसलाई पछ्याउन थालेका थिए । पछि दुई चाइनिज अनुसन्धानकर्ताहरु जिन क्वान याङ र चेन होङ लीको सहयोगमा उनीहरुले यो अतिमिचाहा स्वभाव भएको र नेपालका लागि नयाँ प्रजाति हो भन्ने पुष्टि गरेका थिए ।
यो माछाको विषयमा अनुुसन्धानकर्ताले लेखेको एक लेख ‘बायोइन्भेजन्स् रेकर्डस्’ भन्ने विज्ञान पत्रिकाको हालैको अंकमा छापिएको छ । त्यसमा उल्लेख भएअनुसार अनुसन्धानका लागि लोहन्द्रा खोलाबाट यस माछाका ४३ वटा नमूना संकलन गरिएको थियो ।पूर्वी नेपालका तमोरलगायत स्थायी नदीका ५० स्थानमा अध्ययन गरिएकामा लोहन्द्राका दुई स्थानमा यो प्रजाति फेला परेको थियो । यही जातको अर्को प्रजाति दमकतिरका खोलाहरुमा भेटिएको लेखमा उल्लेख छ ।
अति मिचाहा स्वभाव
दुई सयदेखि तीन सय ग्राम तौलसम्मका यी माछा हेर्दा आकर्षक लाग्छन् । अमेरिकाको माछा नेपाल कसरी आइपुग्यो भन्ने जिज्ञासामा अनुसन्धानकर्ता मध्येका एक जसहाङ लिम्बुले भने, ‘यसमा हामीले दुई बाटो अनुमान गरेका छौँ । कि कसैको एक्वारियमबाट फुत्केर प्राकृतिक नदी प्रणालीमा गयो, कि भारतबाट नदीमा खेल्दै आएको हुनसक्छ ।’
उनले भने, ‘जताबाट आए पनि यो नेपाल भित्रिएपछि यहाँका रैथाने माछालाई हेप्ने, खानेकुरा खाइदिने, फूल र भुरा खाइदिने गरेको पाइयो, जसकारण हाम्रा स्थानीय माछाहरु नासिने सम्भावना हुन्छ । यसले धेरै देशमा यस्तो विध्वंस मच्चाउँदै प्राकृतिक पारिस्थितिक प्रणालीलाई असन्तुलित पार्दै आएको छ ।’
उनका अनुसार यो पहिला लजालु र स्थिर बसिराख्छ तर मौका पर्दा रैथाने माछालाई आक्रमण गर्ने, टोक्ने र बच्चालाई खाइदिने गर्छ । ‘सन् २०१९ देखि यसको खोजीमा लाग्दा थाहा भयो कि लोहन्द्रा खोलामा यो स्थापित भइसकेको छ, संख्या निरन्तर बढिरहेको छ, अब अरु नदी तथा माछापालन गरिएका पोखरीमा विस्तार हुँदैन भन्न सकिन्न,’ लिम्बु भन्छन्, ‘व्यावसायिक पोखरीमा पस्यो भने यसबाट ठूलो क्षति हुन्छ । यो माछालाई खासमा एक्वारियममा राखी आनन्द लिने हो तर खानमा यो अप्रिय प्रजाति हो ।’
नियन्त्रण गर्न सुझाव
यो मिचाहा स्वभाव भएको गैरदेशीय प्रजातिलाई तत्कालै नियन्त्रण गर्नका लागि अनुसन्धानकर्ताहरुले सुझाव दिएका छन् ।
अनुसन्धानकर्ताहरुले लेखमा लेखेका छन्, ‘यसबारे थप अनुसन्धान गरी नियन्त्रण गर्न नीति निर्माण तह नै लाग्नुपर्ने हुन्छ । नियन्त्रित नगरिएमा माछा मारेर जीविको चलाउनेको जीवनयापन नै संकटमा पर्ने, देशले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने हुन्छ भने प्राकृतिक प्रणालीलाई नै चुनौती दिन्छ ।’
तथ्यांकअनुसार नेपालमा यो टेरिगोप्लिक्थिस डिसजन्किटिभससहित करिब २६० प्रजातिका माछा पाइन्छन् जसमध्ये १८ प्रजाति गैरदेशीय छन् भने १७ प्रजाति नेपालबाहेक अन्त पाइँदैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने
- इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर, अस्पताल भर्ना गरिएको दाबी
- भारतमा मल लिन जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ ३८ दिनपछि घर फर्किए
- आजको मौसमः देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना
- एनएमबि सरल बचत फण्ड–इले इकाईधनीलाई आकर्षक प्रतिफल वितरण गर्ने
- नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा
- स्मार्ट टेलिकम ऋण प्रकरणः इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेसहित पदाधिकारीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- महानगर र उपमहानगरमा ३ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य

ट्रेन्डिङ
खबरमुकाम







