काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन नयाँ नेतृत्व चयन नगरी स्थगित गरिएको छ । हिजो औपचारिक रूपमा उद्घाटन गरिएको अधिवेशन मतदान प्रक्रियामा देखिएको विवादका कारण रोकिएको हो ।
निर्वाचनका लागि तयार गरिएको मतपत्रमा सदस्य पदका एक उम्मेदवारको नाम छुटेको पाइएपछि प्रतिनिधिहरूले आपत्ति जनाएका थिए । त्यसपछि अधिवेशनस्थलमा विवाद चर्किँदै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
मतदान प्रक्रिया समयमै अघि नबढेपछि प्रतिनिधिहरू अधिवेशनस्थलबाट फर्किन थालेका थिए । अन्ततः निर्वाचन आयोगले अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
प्रदेश सभापति पदका लागि निवर्तमान सभापति अचुतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्य चुनावी प्रतिस्पर्धामा थिए । अर्का आकांक्षी वदन भण्डारीले भने उम्मेदवारी फिर्ता लिएका थिए ।
केन्द्रीय निर्वाचन प्रमुख भुवन केसीले मतपत्रमा देखिएको त्रुटिसहित समायोजन सूचीसम्बन्धी उजुरी र विवादहरू समाधान गर्न निर्वाचन प्रक्रिया अस्थायी रूपमा रोकिएको बताए । उनका अनुसार करिब चार सय जनासँग सम्बन्धित विषयहरूमा थप अध्ययन तथा व्यवस्थापकीय तयारी आवश्यक देखिएकाले अधिवेशन स्थगित गरिएको हो ।
निर्वाचन आयोगले प्राविधिक तथा व्यवस्थापकीय काम सम्पन्न भएपछि बाँकी निर्वाचन प्रक्रिया पुनः सञ्चालन गरिने जनाएको छ । नयाँ मिति र मतदानसम्बन्धी विस्तृत जानकारी मतदान सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगावै आधिकारिक रूपमा सार्वजनिक गरिने आयोगले उल्लेख गरेको छ ।
यसअघि पनि आन्तरिक विवादका कारण रास्वपाले मधेश प्रदेश अधिवेशन स्थगित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने
- इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर, अस्पताल भर्ना गरिएको दाबी
- भारतमा मल लिन जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ ३८ दिनपछि घर फर्किए
- आजको मौसमः देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना
- एनएमबि सरल बचत फण्ड–इले इकाईधनीलाई आकर्षक प्रतिफल वितरण गर्ने
- नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा
- स्मार्ट टेलिकम ऋण प्रकरणः इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेसहित पदाधिकारीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- महानगर र उपमहानगरमा ३ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य

ट्रेन्डिङ
खबरमुकाम






