लामो समय ज्वरो आयो, खोकी लाग्यो, सास फेर्न गाह्रो भयो, खाना खान गाह्रो भयो वा अक्सिजनको स्तर ९४ भन्दा तल भइरह्यो भने घरमा नबस्नुहोला । यो अवस्थामा तपाईंलाई छातीमा संक्रमण भएको बुझ्न सकिन्छ । जति छिटो अस्पताल पुग्यो त्यति छिटो भर्ना हुन् नपर्ने एवम् सजिलोसँग निको हुने अवस्था हुन्छ ।
खबर मुकाम । जनस्वास्थ्यविद रविन्द्र पाण्डेले दोस्रो लहरको कोरोना भाइरस (कोभिड- १९) घातक भएको बताएका छन् ।
जनस्वास्थ्यविद पाण्डेले यसपटकको नयाँ प्रजातिको महामारी गत सालको जस्तो सामान्य नरहेको बताएका हुन् ।
उनले ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केही लक्षण मिलेमा तुरुन्त पीसीआर परीक्षण गराउन सुझाव दिएका छन् ।
पाण्डे भन्छन्, ‘यस पटक परिवारमा एकजना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ । तसर्थ कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला, संक्रमणको शंका लागेमा तुरुन्त परीक्षण गरिहाल्नुहोला । सहेर वा हेरौं भनेर अलमल नगर्नुहोला । जति छिटो रोग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ ।’
उनले पीसीआर पोजिटिभ आएमा गत सालजस्तो सप्लिमेन्ट (भिटामिन वा इम्युन बुस्टर) खाएर ढुक्क नहुन आग्रह गरेका छन् । उनी भन्छन्, ‘यसपटक छिटो कोभिड निमोनिया हुने भएकोले तुरुन्तै नजिकको कोभिड अस्पतालको फिभर क्लिनिकमा जानुहोला ।’
डा. रविन्द्र पाण्डेले बताएका कोरोना संक्रमण भएको देखिएमा अपनाउनुपर्ने सावधानी र गर्नुपर्ने काम
१. यस पटकको नयाँ प्रजातिको महामारी गत सालको जस्तो सामान्य छैन । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केही लक्षण मिलेमा तुरुन्त पीसीआर परीक्षण गराउनुपर्छ ।
२. यस पटक परिवारमा एकजना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ । तसर्थ कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला संक्रमणको शंका लागेमा तुरुन्त परीक्षण गरिहाल्नुहोला । सहेर वा हेरौं भनेर अलमल नगर्नुहोला । जति छिटो रोग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ ।
३. पीसीआर पोजिटिभ आएमा गत साल जस्तो सप्लिमेन्ट (भिटामिन वा इम्युन बुस्टर) खाएर ढुक्क नहुनुहोला । यस पटक छिटो कोभिड निमोनिया हुने भएकोले तुरुन्तै नजिकको कोभिड अस्पतालको फिभर क्लिनिकमा जानुहोला ।
४. चिकित्सकले तपाईंलाई परीक्षण गरेर आवश्यकता अनुसार छातीको एक्सरे, रगतको परीक्षण तथा सिटी स्क्यान गर्ने सल्लाह दिनुहुन्छ । यदि तपाईंको अवस्था खराब छ भने उहाँहरुले औषधि वा भर्नाको लागि सल्लाह दिनुहुनेछ । उहाँहरुको सल्लाह अक्षरस पालना गर्नुहोला ।
५. लामो समय ज्वरो आयो, खोकी लाग्यो, सास फेर्न गाह्रो भयो, खाना खान गाह्रो भयो वा अक्सिजनको स्तर ९४ भन्दा तल भइरह्यो भने घरमा नबस्नुहोला । यो अवस्थामा तपाईंलाई छातीमा संक्रमण भएको बुझ्न सकिन्छ । जति छिटो अस्पताल पुग्यो त्यति छिटो भर्ना हुन् नपर्ने एवम् सजिलोसँग निको हुने अवस्था हुन्छ ।
६. गत साल संक्रमण भएका वा यो साल खोप लगाएका व्यक्तिलाई फेरि संक्रमण हुनसक्छ्र प्रजाति फरक भएकोले गाह्रो हुन सक्छ । मैले खोप लगाएको छु वा पोहोरको एन्टिबोडीले काम गर्छ भनेर लापरबाही नगर्नुहोला । अप्ठ्यारो भए तुरुन्त अस्पताल जानुहोला ।
७. बालबालिका तथा युवालाई केही हुँदैन भनेर घरमा नबस्नुहोला । यस पटक बालबालिका र युवाको संक्रमण दर, गम्भीर हुने दर तथा मृत्युदर गएको वर्षको भन्दा धेरै छ ।
८. अस्पताल जाने बेलासम्म घोप्टो परेर सुत्नु भयो भने अक्सिजनको स्तर केही बढ्छ। तसर्थ पेटको बलमा घोप्टो परेर सुत्नुहोला ।
९. अस्पताल ‘प्याक’ छन् भनेर नआत्तिनुहोला । अस्पताल जाँदैमा सबै भर्ना हुनु पर्दैन । प्याक भएका अस्पतालले अस्पतालबाहिर समेत अक्सिजन दिएर उपचार गरिरहेका छन् ।
१०. चिकित्सकको सल्लाहबिना आफैँ अक्सिजन लगाएर घरमा नबस्नुहोला। अक्सिजन उपचार हैन । निमोनिया वा अन्य छातीको संक्रमणको औषधि चलाउँदै अक्सिजन लगाउनुपर्छ । अक्सिजनको मात्रा चिकित्सकको सल्लाह अनुसार मात्र थपघट गर्नुपर्छ ।
११. औषधि उपचार प्रत्येक व्यक्तिको फरक हुनसक्छ । एक जनालाई निको भएको औषधिले अर्को व्यक्तिलाई निको नहुन सक्छ । तसर्थ स्वास्थ्यकर्मीबाहेकका व्यक्तिले सिफारिस गरेको औषधि सेवन नगर्नुहोला । कुनै पनि औषधिले कोरोना च्वाट्ट निको हुने वा लाग्न नदिने कुरा गर्छ भने त्यो गलत हो ।
१२. प्रतिरोध क्षमता बढाउनको लागि जथाभावी आयुर्वेद औषधि नखानुहोला । सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारस अनुसार मात्र आयुर्वेद औषधि सेवन गर्नुहोला । आयुर्वेद औषधिले कोभिड निको हुँदैन । तपाईंको स्टामिना बढाउँछ । यस्तो बेला सबै चिकित्सा पद्दतिको एकीकृत उपचार प्रभावकारी हुन्छ ।
१३. यस पटकको संक्रमण निकै छिटो फोक्सोमा असर गर्ने किसिमको छ । ४-६ घण्टामा निकै बढी असर गर्न सक्छ। तसर्थ भोलि अस्पताल जाउँला भनेर नबस्नुहोला । निको भएका संक्रमितका कुरा सुन्नुहोला ।
१४. कुनै पनि चिकित्सकले औषधि चलाएको बेला पनि भित्रभित्रै असर हुनसक्छ । यो भाइरल संक्रमण भएको हुँदा एन्टिबायोटिकको भर पर्नु हुँदैन यस्तो अवस्थामा एकपटक छातीको एक्सरे वा सिटी स्क्यान गर्नु सुरक्षित हुन्छ ।
१५. अस्पतालमा गम्भीर बिरामीप्रति चिकित्सकको ध्यान बढी हुन्छ । तसर्थ नआत्तिनुहोला ।
१६. उपचार पश्चात पीसीआर नेगेटिभ आए पनि कोभिडले तपाईंका विभिन्न अंगमा असर गरेको हुनसक्छ । चिकित्सकको सल्लाह अनुसार यसको पनि उपचार गरेर स्वास्थ्यलाभ गर्नुपर्ने हुन्छ ।
१७. सरकारले जारी गरेका सूचना, सतर्कता तथा जनस्वास्थ्यका मापदण्ड पालनाबाट हामी संक्रमणबाट बच्नेछौँ । कृपया पटक्कै लापरबाही नगर्नुहोला । हामी आफू, परिवार तथा समाजलाई संक्रमण हुन नदिनको लागि सतर्क बनौँ । सतर्क भएमा हामी अस्पताल जानु पर्दैन ।
चिकित्सकले दिएका सल्लाहसुझावलाई पालना गर्ने हो भने कोरोना संक्रमणको जोखिमबाट बच्न सकिन्छ । संक्रमण भइहालेमा यसपटक छिटो कोभिड निमोनिया हुने भएकोले तुरुन्तै नजिकको कोभिड अस्पतालको फिभर क्लिनिकमा जानुहोला ।