
खबरमुकाम । भारतको वथनाहबाट मोरङको विराटनगरसम्म कार्गो रेल्वे निर्माणको अन्तिम चरणमा पुगेको छ ।
उक्त रेल्वे सञ्चालनको तयारीका सम्बन्धमा उद्योग सङ्गठन मोरङमा भएको बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एसके चौधरीले विराटनगरदेखि कार्गो रेल्वे अविलम्ब सञ्चालनमा ल्याउने बताएका हुन् । छलफलमा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगञ्ज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट गरी ल्याउँदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको अवस्थामा मालवाहक रेल्वे सञ्चालनले राहत दिने बताए ।
भारतीय रेल्वे, डिभिजनल रेल्वे मेनेजर एसके चौधरीले १८ दशमलव ६ किलोमिटर लम्बाइ भएको वथनाह विराटनगर रेल्वेको काम अन्तिम चरणमा पुगेको बताउँदै नेपाल र भारत सरकारबीच प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा भएको १० देखि १५ दिनमा कार्गो रेल सञ्चालनमा ल्याउन सकिने जानकारी दिए।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दुई देशीय व्यापार विस्तारका लागि महत्वपूर्ण कार्गो रेल सञ्चालनमा ल्याउन महानगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले निर्माणको क्रममा देखिएका बाधा समाधानमा मोरङ प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । छलफलमा विराटनगर भन्सारका प्रमुख अधिकृत ताराप्रसाद सापकोटाले मिरगञ्ज पुलका कारण आयात निर्यातमा समस्या आउँदा राजस्व सङ्कलनसमेत प्रभावित भएको जनाउँदै कार्गो रेल सञ्चालनमा ल्याउन भन्सारको सहयोग रहने बताए ।
सङ्गठनका पूर्वउपाध्यक्ष एव उद्योगी राकेश सुरानाले नेपालबाट भारतको विभिन्न स्थानमा उपचार गराउन, अध्ययन गर्न र धार्मिक प्रयोजनका लागि यस क्षेत्रबाट जाने यात्रुको सङ्ख्या अत्यधिक रहेकाले थप गन्तव्य पहिचान गरी नयाँ रेल थप्नुपर्नेमा जोड दिए ।
सङ्गठनका उपाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य पारस लुनिया, भारतीय रेल्वे, जोगवनी आइसिपि, नेपाल रेल्वे विभाग, नेपाल आइसिपिका प्रतिनिधिलगायत उद्योगी व्यवसायीको उपस्थितिमा उक्त छलफल सम्पन्न भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, एक अर्ब ६५ करोडको कारोबार
- संसद् बैठक १ घण्टाका लागि स्थगित
- सरकारले नै संविधान मिच्यो : एमाले सचेतक गिरी
- शान्तिराम भट्टराईद्वारा रचित ‘चन्द्र सूर्य राष्ट्रिय गीत’ सार्वजनिक
- पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने देउवाको उद्घोष [भिडियो]
- सेयर लगानीकर्ताहरूले लगाए ब्रोकर अफिसमा ताला
- एक हजार सात सय रुपैयाँले घट्यो सुनको मूल्य
- सेती जलविद्युत् आयोजना अन्तिम चरणमा