Dark

गल्याङ नगरपालिकाले विद्यार्थीलाई निःशुल्क पढाउँदै

काठमाडौं । स्याङ्जाको गल्याङ नगरपालिकाले दुई सय २१ जना विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँदै छ । नगरपालिकाभित्रका क्याम्पस तथा कक्षा ११ र १२ मा अध्ययनरत अतिगरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरी निःशुल्क अध्ययन गराउन थालेको हो ।

नगरभित्रका क्याम्पसमा अध्ययनरत लक्षित समूहका विद्यार्थीमध्ये १० प्रतिशत तथा कक्षा ११ र १२ मा अध्ययनरतमध्ये २० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख केदारराज आचार्यले बताए । नगरपालिकाले क्याम्पसमा अध्ययन गर्ने अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई मासिक शुल्कवापत जनही रु १० हजार आठ सय प्रदान गरेको हो । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई मासिक रु तीन सयका दरले वर्षभरिको रु तीन हजार छ सय उपलब्ध गराइएको उनले जानकारी दिए ।

पूर्ण छात्रवृत्ति प्राप्त गरेको विद्यार्थी उत्तीर्ण भएमामात्रै अघिल्लो कक्षा अध्ययनका लागि पुनः छात्रवृत्ति प्राप्त गर्नेछन् । अनुत्तीर्ण भएकाले भने उक्त सुविधा अघिल्लो कक्षामा नपाउने उनले बताए । आर्थिक अभावकै कारण कोही पनि शिक्षा प्राप्त गर्नबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित नगरपालिकाले यो अभियान थालेको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए । 

नगरको शैक्षिक रुपान्तरणका लागि यस अभियानले विद्यार्थीमा अध्ययनतर्फ थप प्रोत्साहन मिल्ने उनको विश्वास छ । नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई रु १२ लाख ६९ हजार छात्रवृत्तिस्वरुप प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै