
५ चैत। राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार वसन्तपुरस्थित देवी कुमारीको दर्शन गरी प्रसाद ग्रहण गर्न आउँदा र फर्किंदा बाटो खाली गरिएन । आमनागरिक र सामान्य सवारीसँगै राष्ट्रपति वसन्तपुर आउजाउ गरेपछि धेरैले राष्ट्रपतिका विगतका सवारी र सडक अवरुद्ध भएको सम्झिएको आजोको गोरखापत्र दैनिकले छापेको छ ।
दशमी तिथिमा कुमारीघरमा विशेष पूजाआजा हुने गर्छ । पूजाको भोलिपल्ट एकादशीको दिन कुमारीको प्रसाद राष्ट्राध्यक्षबाट ग्रहण गर्ने परम्परा छ । राष्ट्रपति पौडेल शीतलनिवासबाट अपराह्न ४ बजे राष्ट्रपति भवन, पानीपोखरी, लाजिम्पाट, कान्तिपथ, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, नेपाल वासुसेवा निगम, नयाँसडक हुँदै कुमारी मन्दिर वसन्तपुर पुगेका थिए । तर राष्ट्रपतिको सवारीमा न बाटो खाली गरियो न त सडकमा आउजाउ गर्नेलाई राष्ट्रपतिको सवारी छ भन्नेसम्म जानकारी रह्यो ।
राष्ट्रपति सवार गाडीको अघि र पछि गरी दुईवटा मात्र सुरक्षा निकायका गाडी थिए । राष्ट्रपतिको सवारीभन्दा झन्डै २० मिनेटपहिले नै सडक खाली गरी सर्वसाधारणको आउजाउ ठप्प पार्ने गरिएकोमा राष्ट्रपति पौडेलको सवारीलाई भने धेरैले अनौठो माने । राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउँदा नै रामचन्द्र पौडेलले सवारीका बेला आफूले बाटो खाली नगराई आफ्नो सवारीले सर्वसाधारणलाई असर पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । तर निर्वाचित भएपछि पशुपतिको दर्शन गर्न जाँदा भने सडक खाली गराइएको थियो ।
यस कार्यको आलोचना निकै भएको थियो । तर शनिबार भने त्यस्तो नभएकोमा सुरक्षा निकायको बेग्लै तर्क छ । कुमारीघर जाँदा उनको सवारी निजी भएको र सोहीअनुसार सवारीका बेला बाटो खाली नगरिएको सुरक्षा निकायको तर्क रहेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीरा चौधरीका अनुसार अति विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा प्रोटोकल’अनुसार नै सडक खाली गराइएको हुन्छ ।
सवारीपूर्व सुरक्षा समितिको बैठक बस्ने र त्यसको निर्णयअनुसार अति विशिष्ट व्यक्तिको सवारीको सुरक्षा तथा सडक व्यवस्थापन (सडक खाली गराउने)बारे निर्णय हुन्छ । राष्ट्रपति कुमारीको दर्शन गर्न आउँदा र फर्किंदा सामान्य सुरक्षा व्यवस्थापन गर्ने गरी सडक खाली नगरिएको चौधरीले बताए । राष्ट्रपति पौडेलले आफ्ना हरेक सवारी सामान्य गर्न आग्रह गरेअनुसार शनिबारको सवारी सामान्य गरिएको राष्ट्रपति पौडेलका स्वकीय सचिव खिला कार्कीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, एक अर्ब ६५ करोडको कारोबार
- संसद् बैठक १ घण्टाका लागि स्थगित
- सरकारले नै संविधान मिच्यो : एमाले सचेतक गिरी
- शान्तिराम भट्टराईद्वारा रचित ‘चन्द्र सूर्य राष्ट्रिय गीत’ सार्वजनिक
- पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने देउवाको उद्घोष [भिडियो]
- सेयर लगानीकर्ताहरूले लगाए ब्रोकर अफिसमा ताला
- एक हजार सात सय रुपैयाँले घट्यो सुनको मूल्य
- सेती जलविद्युत् आयोजना अन्तिम चरणमा