Dark

घरजग्गा व्यवसायी संकटमा, घर तथा अपार्टमेन्ट किन्दा गाडी उपहार

६ चैत। बैंकमा तरलताको अभावले नेपालको सबैजसो व्यवसाय धराशायी भएका छन् । यसको सबैभन्दा ठूलो मार घरजग्गा व्यवसायमा परेको छ । त्यसैले निर्माण भइसकेका घर र अपार्टमेन्टहरु बिक्रीका लागि घरजग्गा व्यवसायीहरुले घर तथा अपार्टमेन्ट बेच्न गाडी सित्तैमा दिने अफर ल्याएका छन्।

२०६४ सालमा नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा सीमा तोकेपछि कारोबार सुस्ताउँदा केही व्यवसायीले अपार्टमेन्ट बेच्न यस्तै अफर ल्याएका थिए। त्यो बेलामा सुन्धारामा रहेको लक्जरी अपार्टमेन्ट बेच्न सिभिल समूहले ल्याण्डरोभर गाडी उपहार राखेको थियो।

घर तथा अपार्टमेन्ट निर्माण गरेको लामो समयसम्म युनिटहरु स्टकमा बस्दा रियल इस्टेट कम्पनीहरुलाई बैंकको ऋण तिर्न धौधौ हुनुका साथै नगद प्रवाहमै समस्या देखिन थालेपछि ग्राहक लक्षित योजना ल्याउन थालेका छन्।

तरलता अभावका साथै महँगो ब्याजदरका कारण करिब वर्षदिन यता घरजग्गा कारोबार प्रभावित बनिरहेको छ। जसका कारण रियल इस्टेट कम्पनीहरुलाई धक्का पुगिरहेको छ। निर्माण गरेर राखेका युनिट पनि आर्थिक चुनौतीबीच बिक्री हुन नसकेपछि विभिन्न कम्पनीहरुले ग्राहक लोभ्याउन घर तथा अपार्टमेन्ट किन्दा गाडीदेखि विद्युतीय स्कुटर निःशुल्क दिने अफर ल्याएका छन्।

व्यवसायिकरुपमा निर्माण भएका घर तथा अपार्टमेन्ट किन्नेलाई रियल इस्टेट कम्पनीहरुले लाखौं पर्ने गाडी, विद्युतीय स्कुटरदेखि छुटका विभिन्न अफर सार्वजनिक गर्न थालेका छन्।

तरलता अभावका साथै चुलिएको बैंक ब्याजदरका कारण घरजग्गा किन्न वा लगानी गर्नै अप्ठेरो परेपछि यो योजना ल्याएका हुन्।

प्लाटिनम डेभलपर्सले सोल्टीमोडमा निर्माण गरेको सोल्टी सिटी अपार्टमेन्टले फ्ल्याट खरिद गर्ने ग्राहकलाई गाडी उपहार दिने अफर ल्याएको छ।

कम्पनीले ११ सय ६० वर्गफिटको तीन बेडरुम किन्ने ग्राहकलाई हुन्डाई ग्रान्ड आइ–२० दिने अफर ल्याएको छ। यस्तै, ९ सय २० वर्गफिटको तीन बेडरुमकै अपार्टमेन्ट किन्नेलाई प्लाटिनम डेभलपर्सले हुन्डाईको ग्रान्ड आइ–१० नियोस गाडी सित्तैमा दिने अफर ल्याएको छ।

कम्पनीका अनुसार ११ सय ६० वर्गफिट युनिटको मूल्य २ करोड ४३ लाख रुपैयाँ तोकेको छ। यो युनिट खरिद गर्ने ग्राहकले ४० लाख रुपैयाँ मूल्य पर्ने हुन्डाई आइ–२० निःशुल्क पाउने कम्पनीले जनाएको छ। ९ सय २० वर्गफिटको युनिट किन्नेले ३० लाख मूल्य पर्ने हुन्डाई आइ–१० नियोस गाडी सित्तैमा दिँदै छ।

त्यसैगरी, रोयल अर्किड डेभलपर्स प्रालिले हात्तीवनमा निर्माण गरेको मेरो सिटी अपार्टमेन्टले पनि अपार्टमेन्ट किन्दा गाडी उपहार दिने अफर ल्याएको छ। कम्पनीले १ करोड ५७ लाख रुपैयाँको १०३० वर्गफिटको तीन बेडरुम अपार्टमेन्ट खरिद गर्ने ग्राहकलाई ३० लाख मूल्य पर्ने हुन्डाईको ग्रान्ड आइ–१० नियोस गाडी दिने जनाएको छ।

सोल्टी सिटी र मेरो सिटी अपार्टमेन्ट निर्माण गरेका कम्पनीका निर्देशक विशाल अग्रवालले घरजग्गा बजारमा मुभमेन्ट नै नभएकाले अफर ल्याएको बताए। लामो समयसम्म डेभलपरहरुले निर्माण गरेका प्रोपर्टी स्टकमा बस्दा बैंकको ब्याजदेखि कम्पनीको नगद प्रवाहमा समेत गम्भीर असर पर्ने देखिएपछि आफूहरुले फ्ल्याट किन्दा गाडी दिने अफर ल्याएको उनले बताए।

‘निर्माण भइसकेको सम्पत्ति धेरै समय राख्दा ऋण बढ्दै जान्छ। बरु सस्तोमा दिएर भएपनि ऋण घटाउन पाइयो भने पनि राहत नै हुन्छ। नबेची राख्दा झन् ऋण र क्यास फ्लोले च्याप्दै जान्छ। त्यसले पनि भएन भनेर हामीले फ्ल्याट किन्नेलाई गाडी उपहार दिने स्किम ल्याएका हौं। मुख्य कुरा भनेको स्टक नरहोस् भनेरै अफर ल्याएको हो, अग्रवालले बताए ।

यस्तै, डाउनटाउन हाउजिङले धापाखेल र भैंसेपाटीमा निर्माण गरिरहेको परियोजनामा घर किने याडिया इलेक्ट्रिक स्कुटर दिने अफर ल्याएको छ। तीन आना दुई पैसा क्षेत्रफलदेखि माथिका जग्गामा निर्माण भएको घर किन्दा कम्पनीले विद्युतीय स्कुटर दिने अफर ल्याएको जनाएको छ।

कम्पनीहरुले घर तथा अपार्टमेन्ट खरिद गर्न बैंकिङ कर्जासमेत सहज रुपमा उपलब्ध गराउने भन्दै उपहार भने निश्चित अवधिका लागि मात्रै उपलब्ध रहेको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै