Dark

काष्ठमण्डप त बन्यो तर, एउटै रुखबाट बनेको सत्तलको कथा सकियो

मुकाम डेस्क । विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको पुरातात्विक तथा ऐतिहासिक महत्वको काष्ठमण्डप पुनर्निमार्णको अन्तिम चरणमा पुगेको छ । काष्ठमण्डप पुनर्निमार्ण समितिका अध्यक्ष राजेश शाक्य पूनर्निर्माणमा करिब ११ करोड ३९ लाख खर्च लागेको बताउँछन् ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) विश्वसम्पदा सूचीमा रहेको र सातौँ शताब्दीमा निर्माण गरिएको काष्ठमण्डप ०७२ को भूकम्पपश्चात् कुरुप बनेको थियो । त्यसको ५ वर्षपछि काष्ठमण्डप पुरानो शैलीमा फर्किन लाग्दा एउटै रुखबाट बनेको सत्तलको कथा भने समाप्त हुन लागेको छ ।

वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा तलेजु लगायतका दरबारभित्रका कैयन मन्दिरहरु, कालभैरव, पशुपति, मन्दिर, जगन्नाथ, माजुदेवल, श्वेतभैरव आदिका मन्दिरहरु ठुलो कालान्तरमा थपिए । तीमध्ये नेपालमै अरु कुनै संरचनासँग नमिल्ने काष्ठमण्डपको बेग्लै महत्व छ ।

‘मरुसत्तः’ वा ‘भुतिसत्तः’को नामले चिनिने काष्ठमण्डपबाटै काठमाडौँ नामाकरण भएका किम्बदन्तीहरु प्रचलित छन् । स्थानीयवासीहरु काष्ठमण्डपको सम्पूर्ण अङ्ग एउटै रुखको काठबाट बनेको विश्वास गर्छन् । कुनै समय कल्पवृक्ष भन्ने देवता मानिसको भेष लिएर यहाँ काठमाडौँमा जात्रा हेर्न आएको बेलामा एक तान्त्रिकले उनलाई चिनेर तारन हाली समातेको र उनलाई रुखको रुपमा पाएर पछि त्यही रुखको काठबाट यो सबै मण्डपको निर्माण गरिएको बताइन्छ ।

यो वृक्ष यति विशाल थियो कि मरुसत्तः बनाएर पनि काठ बच्यो । जसले गर्दा सँगै अर्काे सत्तः सिँल्य सत्तः बनाइयो । नेवारीमा सिँल्य भनेको बचेको काठ हो । रुख काटिएपछि नजिकैको बहासमा दाउरा थुपारिएको हुँदा त्यो बहासको नाम नै सिँखंमू बहाः हुन पुग्यो ।

भूकम्पले मरुसत्तः भत्किएपछिको अध्ययनले सत्तः दुईपटक बनाइएको भेटियो । भित्री भागको जग अनुसार सानो सत्तः सातौँ शताब्दीमा बनाइएको थियो भने बाहिरी केही ठूलो आकारको तस्बिरमा देखाइएको सत्तः नवौँ शताब्दीमा बनाइएको थियो । 

कुनै बेला काठमाडौँको नाम ‘कोलियग्राम’ थियो । कोलियग्राम दुई भागमा विभाजित थियो । दक्षिणतर्फको कोलियग्रामलाई भने दक्षिण कोलियग्राम भनिन्थ्यो । नेवाः भाषामा भने सहजरुपले उत्तरतर्फको काठमाडौँलाई ‘थस्ने’ र दक्षिणतर्फको काठमाडौँलाई ‘क्वस्ने’ भन्ने गरिन्छ ।

सातौँ शताब्दीमा बनेको पुरानो काष्ठमण्डप सानो आकारमा थियो । जुन दक्षिणतर्फ थियो त्यसको नाम क्वथ्य मरुसत्तः रह्यो । तल्लोतर्फ रहेको सत्तः भएको हुँदा क्वथ्य मरुसत्तः रहेको हुनुपर्छ । त्यस्तै उस्तै आकार प्रकारको अर्काे सत्तः माथिल्लो भागमा पनि बनाइयो । जसको नाम थस्नेया मरुसत्तः हो । जसलाई बोलीचालीमा थ्या मरुसत्तः भनिन्छ । जुन हालको बाङ्गेमुढामा रहेको छ । 

किंवदन्तीमा उल्लेख भएको कल्पवृक्षको एउटा हाँगा यही थस्नेयाः मरुसत्तः देखि क्वस्नेयाः मरुसत्तः सम्म लामो बचेको थियो । कालान्तरमा त्यो मुढा काटिँदै गए पनि एउटा भाग भने रहन गयो । जुन कल्पवृक्षको एक भागको रुपमा रहेको मुढा जसमा काठमाडौँवासीको ठूलो विश्वास अझै पनि रहेको छ । यस मुढामा किल्ला ठोकेर सिक्का गाड्दा जस्तोसुकै समस्या भएर दुखेको दाँत पनि निको हुन्छ भन्ने जनविश्वास छ । 

यसरी विभिन्न किम्बदन्तीहरुबीच पनि कतिपय विश्वासहरु अडिएको छ । साथै ती दैनिक जीवनमा साँचो झैँ भइरहेको छ ।

स्रोः सुनिल उलाक, राजेन मानन्धर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
100 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै