Dark

बझाङको ‘ऐतिहासिक दरबार’ जीर्ण अवस्थामा


सुदुरपश्चिमको बझाङ जिल्ला जय पृथ्वीनगरपालिका भोपुरमा बझाङी राजाको पुरातात्विक महत्व बोकेको एतिहासिक पुरानो दरबार जीर्ण अवस्थामा छ । उक्त दरबार सन् १९९० मा राजा देवी जङ्गबहादुर सिंहले निर्माण गरेका हुन । नेपालमा १९९० सालमा शक्तिशाली महाभूकम्प गएको थियो । राजा देविजङ भुकम्पबाट त्रसित भएपछि उनले यो दरबार बनाउनका लागि छिमेकी देश भारतको कलकत्ताबाट इन्जिनियर र मिस्त्रीहरू ल्याएर यो भवनको निर्माण गर्न लगाएका थिए ।

१९९० मा निर्माण कार्य सुरू गरेर उक्त दरबार बनाउन करिब ५ वर्ष समय लागेको थियो । तीनतले दरबारका पिलरहरू र पूरै भवन निर्माणको क्रममा मासको गारो लगाइएको र वास्तु दोष नलागोस् भनेर भवनको जग निर्माणमा अष्टधातुको प्रयोग गरिएको स्थानियले बताए । भूकम्प आए पनि कुनै क्षति नहुने, पुरानो भए पनि बलियो भूकम्परहित शैलीमा दरबार निर्माण गरिएको छ ।

तर अहिले दरबार एकदमै पुरानो र जीर्ण अवस्थामा रहेको छ । दरबारलाई पुनः निर्माण गर्ने कुरा चलिरहेको भए पनि स्थानीय सरकारको त्यसमा ध्यानाकर्षण नभएको त्यहाँका स्थानीय बासिन्दाले गुनासो पोखेका छन् ।

केही वर्ष अगाडिसम्म नेपाली सेनाले प्रयोग गर्दै आएको दरबार छोडेर सेनाको टुकडी नयाँ भवनमा सरेपछि दरबार अलपत्र परेको छ । हाल उक्त दरबारमा कोही पनि बसेका छैनन् । दरबारमा मानिस बस्न छोडेपछि दरबारको भित्र रहेका कोठा, खोपी र बैठक कक्षको सिलिङमा रहेको काठ सबै मकिएको छ । ग्यालरी र बरण्डामा ठूला(ठूला प्वाल परेका छन् । झ्यालको काठहरू पनि कुहिन थालेका छन् । भित्ताहरूमा पोतेको गारो माटो खसेर दरबार खुइलिएको छ । दरबारको पूर्ण स्वरुप नै बिग्रने अवस्थामा पुगेको छ ।

बझाङका विभिन्न पर्यटकीय क्षेत्रहरूमा यो पनि एक हो । ऐतिहासिक धरोहर एवं पर्यटकीय स्थलको रुपमा रहेको दराबर बेवारिसे र अलपत्र भएपछि स्थानीय चिन्तित हुन थालेका छन् ।

सरकार र स्थानीय सरकारले पनि कुनै चासो नराख्दा ऐतिहासिक रुपमा रहेको हाम्रो सम्पदा भोलि बिलाउँदै जानेछन् । पुर्खाको इतिहास मेटिने छ ।
‘तत्काल जिर्णोदार गर्न सकिएन भने दिनप्रतिदिन दरबार झन झन जीर्ण बन्दै गएको छ । समयमा सरकारले ध्यानर्कषण नगरे केही वर्ष मै भत्किन पनि सक्ने स्थानीयबासी बताउँछन् ।

बझाङी राजा देविजंङबहादुर सिंहले निर्माण गरेको यो दराबार उनका छोरा ईश्वरजंगबहादुर सिंहको नाममा रहेको थियो ।
ईश्वरजंगको अपुताली कुनै सन्तान नभएपछि उनका आफन्तहरूले २०४० सालतिर नेपाल सरकारलाई बिक्री गरेका थिए ।

त्यसपछि दरबारमा २०४५ सालमा तत्कालिन शाही नेपाली सेनाको ब्यारेक बसिरहेको थियो । पछि २०५८ सालमा सेनाको व्यारेक हेमन्तवाडा सरेपछि दरबार अलपत्र बनेको थियो । विसं २०६० सालमा तत्कालीन विद्रोही माओवादीले दरबारमा आगजनीसमेत गरेका थिए । तर स्थानीयले समयमै आगो नियन्त्रण गरेका कारण एउटा कोठा बाहेक अन्य दरबारमा क्षति हुन भने पाएको थिएन । अहिले पनि दरबार उस्तै अवस्थामा रहेको छ ।

विसं २०६३ सालमा शान्ति सम्झौता भएपछि पुन नेपाली सेनाको एउटा टुकडी भोपुर दरबारमा बस्न थालेको थियो । दरबारको अवस्था जीर्ण भएर बस्न नसकिने भएपछि सेना नयाँ भवनमा सरेका थिए ।

बझाङको ‘यो भवनको जस्तो मोडेल र निर्माण शैली हालसम्म अन्त कतै पनि भेटिएको छैन’ यसको संरक्षणमा स्थानीय सरकारले गम्भीर ध्यान नगरिएका कारण बझाङमा रहेका थुप्रै पुरातात्विक महत्वका दरबारहरू भत्किसकेका छन् । कतिपय बाँकी रहेका पनि जीर्ण बन्दै गएका छन् । ‘यस्तो ऐतिहासिक र पुरातात्विक सम्पदालाई राज्यले वेवास्ता गरिरहेको छ ।’

समयमै यसको संरक्षण नगरे भोलिको पुस्ताले समेत हेर्न पाउने छैनन् । त्यसैले यस्ता सम्पदाको संरक्षण र प्रर्बद्धन गरिनुपर्छ । जिल्ला बाहिरबाट बझाङ आउनेहरूले समेत दरबारको संरक्षण नभएको प्रति खेद चिन्ता व्यक्त गरेका छन् । यदि समयमै यसको जिर्णोदार हुन सके जिल्लाको पर्यटन प्रर्बद्धनमा पनि टेवा पुग्ने त्यहाँका बासिन्दा बताउँन्छन् ।

दरबारको पुन निर्माण गरेर त्यसलाई परम्परागत शैली र संस्कृतिहरु झल्काउने संग्राहालयको रुपमा विकास गरिनु पर्ने माग स्थानियको रहेको छ । बझाङका कला संस्कृति र परम्परागत भेषभुषा पनि लोप हुँदै गएका छन् । दरबारलाई संग्रालयको रुपमा विकास गरे त्यसको संरक्षण पनि हुने र कला संस्कृति पनि बच्ने र पर्यटकीय स्थलको रुपमा पनि आर्थिक टेवा पुग्ने भएकाले संग्राहलयको रुपमा विकास गरे एकदमै राम्रो हुने कुरा स्थानीयले बताएका छन् ।      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै