Dark

चोरी भएर भेटिएको सक्कली ‘तुसाहिटी’ संग्रहालयमाः नक्कली ‘तुसाहिटी’ सुन्दरी चोकमा !

 सुनिल उलक

प्रत्येक वर्ष म दुई तीन पटक पाटन दरवार क्षेत्रमा गहिरो अध्ययनका लागि पुग्ने गर्दछु । यहि रहेको पाटन दरवार भित्र ऐतिहासिक सुन्दरी चौक तथा तुसा हिटी रहेको छ ।

बि.सं. १६७५ देखी १७१६ सम्म पाटनमा राज्य गरेका सिद्धिनरसिंह मल्लले पाटन क्षेत्रमा धेरै धार्मिक तथा सांस्कृतिक महत्वका कामहरु गरे । कृष्णबाट प्रभावित भएर शिखर शैलीमा कृष्ण मन्दिर बनाएका थिए । कृष्ण मन्दिरमा रहेको २१ गजुर तत्कालिन समयका पाटनका २१ वटा त्वा (टोल)को प्रतिनिधित्व गरेको थियो भनिन्छ । यस मन्दिर नजिकै अर्को आठ कुने च्यासिं देगः पनि बनाएका थिए । यसैगरि कार्तिक नाचको शुरुवात गराए । पाटन दरवार क्षेत्र भित्र निकै सुधार गराए । थुप्रै मन्दिर तथा बिहारहरुको पनि निर्माण गराएका थिए ।

यसैमध्य उल्लेख गर्नै पर्ने पाटन दरवारको सुधारको क्रममा बनाएका तीन चोकहरु थिए - मूलचोक, केशवनारायण चोक तथा सुन्दरी चोक । सुन्दरी चोक पाटन दरवार भित्र अन्य चोक भन्दा निकै सुन्दर छ । चारैतिर आकर्षक झ्याल सहितका दरवार र बिचमा ठूलो खुला चोक । चोकको बिचमा अति नै आकर्षक धारा- जसलाई तुसाहिटी भनिन्छ । यो हिटी अर्थात धारा ढुङ्गे धारा नै भए पनि यसको सजावट भने भिन्न प्रकारको छ ।

बि.सं. १७०४ मा जमीनको सतह भन्दा करिव ५ फिट तल तीन तिर बिभिन्न ५२ वटा देवीदेवताको आकर्षक ढुङ्गे मुर्तिहरुले सजिएको तथा बिचमा अति राम्रो ढुङ्गेधारालाई सुनको जलप लगाएर बनाइएको छ । तु भन्नाले उखु तथा सा भन्नाले रस अर्थात उखुको रस जस्तै मिठो पानी आउने भएकोले यो धाराको नाम तुसा हिटी रहन गएको हो । तर यसमा पनि केही अन्य तर्कहरु पनि छन् । तुंसालेगु हिटी अर्थात इनारको पानी यो धाराबाट आउने हुदा तुंसाहिटी तथा धाराको मुखको आकृति राँगोको मुख जस्तो भएकोले थुँसाहिटीबाट तुसाहिटी भएको भन्नेहरु पनि छन् ।

धारा त धेरै ठाँउमा भए पनि यो धाराको महत्व बिशेष हुनुको कारण यो शाही स्नान गरिने धारा भएको भन्ने गरिन्छ । तर यस तर्कलाई अस्विकार गर्नेहरु पनि छन् । चारैतिर देवीदेवताको मुर्ति राखिएको धारामा राजा वा अन्य परिवारले कसरी नुहाउन सक्छ भन्ने तर्क दिइन्छ । अति नै धार्मिक प्रबृतिका सिद्धिनरसिंह मल्लले नुहाउनै सक्दैनन् भन्ने धेरै छन् । तैपनि दरवार भित्रको धारा केवल सजावटको लागी मात्र बनाइएको भने पक्कै होइन । यसको उपयोग नुहाउन नै गरिन्थ्यो । धारा संगै राखिएको ठूलो चारपाटे ढुङ्गाको उपयोग नित्यकर्मको लागी गर्दथे । झण्डै १० इन्च मोटो तथा ८ फिट लम्बाइ र ४ फिट चौडाइको यो ढुङ्गामा बसेर राजा सिद्धिनरसिंह मल्लले दैनिक स्नान पछि योग तथा ध्यान गर्दथे ।

२०६७ सालमा पाटन दरवार क्षेत्रमा पूननिर्माणका कामहरुको थालनी भएको थियो । थालनी भएको केही समयमा नै ऐतिहासिक महत्वको तुसाहिटी चोरी भयो । यस धाराको चोरीले ठूलै हल्लाखल्ला पनि भयो । छिटो छिटो पाटनका मुर्तिकारहरुलाई उस्तै तुसाहिटी बनाउन लगाइयो । तर संयोगले चोरी भएको एक वर्ष नहुदै २०६८ भदौ २४ गते शनिवार प्रहरीले वास्तविक तुसाहिटी भेट्टायो । तर तुसाहिटी भेटिए पनि सुरक्षाको नाममा वास्तविक तुसाहिटी सुन्दरी चोकमा राखिएन । बरु नक्कली तुसाहिटी राखियो ।

आज पनि वास्तविक सक्कली तुसाहिटी संग्रहालयमा नै राखिएको छ भने उस्तै प्रकारको पछि बनाइएको तुसाहिटी यहाँ जडान गरिएको छ ।

केही वर्ष अगाडि तुसाहिटी अध्ययन गर्ने क्रममा हिटीको दायाँबायाँ रहेको आकर्षक प्रस्तर कलाकृतिहरुमा सेतो ढुसी देखे पछि संग्रहालयलाई जानकारी दिएको थिएँ । यसपछि ढुसीक‍ो नमुना परिक्षणका लागि जर्मनी पठाइयो । white fungal contamination के कारणले भयो भन्ने यकिन नभए पनि केही समाधानका रुपमा प्रस्चर कलाकृतिलाई सुख्खा बनाइ राख्न नहुने हुँदा दिनमा एकपटक पानी स्प्रे गर्दा केही कम भएको छ । प्रस्तर मुर्ति तथा कलाकृतिहरुमा संगमरमरका कलाकृतिमा झै स्टोन क्यान्सर लाग्ने समस्या नभए पनि समस्याका समाधान समयमा नगरिँदा कलाकृतिहरु नष्ट भएर जान सक्दछन् ।

तस्बिरमा तुसाहिटी रहेको क्षेत्र र इनसेटमा बायाँ तर्फ वास्तविक तुसाहिटीको चोरी पछि उस्तै बनाइएको तुसाहिटीको प्रतिकृति । तथा दायाँ तर्फ तुसाहिटी रहेको महत्त्वपूर्ण मुर्तिहरु रहेको ठाउँमा आकर्षक आकृतिहरु कुँडिएको ढुङ्गामा लागेको सेतो ढुसी
(white fungal contamination.) समयमै उपचार भएन भने यसले समुच्च भाग नै कुरुप बनाउने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै