भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) ले भोटेकोशीसहित त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार तथा पुनःस्थापनाका लागि १२ लाख अमेरिकी डलर (करिब १८ करोड ९६ लाख रुपैयाँ) सहयोग गर्ने भएको छ ।

आईएफआरसीका अनुसार नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक तथा आपत्कालीन प्रतिकार्य टोली प्रभावित क्षेत्रमा परिचालन भई खोज, उद्धार तथा राहत वितरणमा जुटिसकेका छन् । महासंघले विपद् प्रतिकार्यका लागि निरन्तर सक्रिय रहन आग्रहसमेत गरेको छ ।

आईएफआरसीका महासचिव जगन चापागाईंले भोटेकोशी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ बनाउँदै प्रभावितलाई तत्काल मानवीय सहायता पुर्‍याउन आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमार्फत महासचिव चापागाईंले आईएफआरसी नेपाल रेडक्रस तथा राष्ट्रिय निकायसँगको समन्वयमा आवश्यक परेको अवस्थामा समुदायका लागि थप सहयोग परिचालन गर्न तयार रहेको बताएका छन् ।

उनले रेडक्रसका स्वयंसेवकहरू प्रभावित समुदायमा सक्रिय रहेको र प्रारम्भिक राहत तथा सहयोग उपलब्ध गराउन तल्लीन रहेको उल्लेख गरेका छन् ।

बाढीमा परी ठूलो जनधनको क्षति हुनुका साथै धेरै मानिस बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै महासचिव चापागाईंले पीडित परिवारप्रति समवेदना पनि प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै