कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का ६६ वर्षीय पर्शुराम डगौरालाई बिहानै उठेर गोरुको सहायताले दाइँ लगाउनु पर्ने झन्झट छैन । ट्रयाक्टर, पावर टिलर लगायतका कृषि कार्यमा प्रयोग हुने यन्त्र र उपकरणले काममा सहज बनाइदिएपछि डगौरालाई गोरुको दाइँ लगाउनुपर्ने झन्झट नभएको हो ।
“दुई तीन महिना लगाएर धान, गहुँ दाइँ(गहनी) लगाउनुपर्ने कार्य विगत भइसक्यो”, उनले भने, “दुई महिनासम्म गोरु जुटाएर गरिने दाइँ अब लगाउँदैनौँ, एक दुई घण्टामै थ्रेसरको सहायताले धान, गहुँ, मसुरो, तोरी लगायतको बाली थ्रेसिङ गरी भित्र्याउने गरिन्छ ।” कृषिमा आधुनिक यन्त्र र उपकरणको प्रयोग हुन थालेपछि गोरु, राँगाको सहायताले दाइँ लगाउनुपर्ने चलन हटेको उनले बताए ।
“बिहान कुखुराको डाँकमै दाइँ लगाउनका लागि पुरुषले उठनु पर्दथ्यो, महिलाहरु ढिकीमा धान कुट्नका लागि उठने गर्दथे”, सोही ठाउँका रामबहादुर डगौराले भने, “विगतको जस्तो कष्ट अब छैन, धान कुट्न ‘राइसमिल’मा जान्छौं, दाइँको कार्य आधुनिक थ्रेसरले गर्न थालेपछि किसानलाई खेती गर्न सहज भएको छ ।”
उनका अनुसार गहुँ, मसुरो खेतमा छरेपछि बढी जग्गा हुनेले चार–पाँच जोडी गोरु, राँगा जुटाएर तीन चार महिनासम्म आँगनमा राखिएको धानमा दाइँ लगाउने गर्दथे । थोरै जग्गा हुनेसँगै एकै जोडी गोरु तथा राँगा हुने भएकाले त्यसकै सहयोगमा एक महिना बढी समय लगाएर दाइँ लगाउँथे ।
“दिनभर दाइँ लगाउथ्यौँ”, उनले भने, “ककटी-परालको भूस)मा मकै भुटेर खाथ्यौं, परालभित्रै सुत्ने, दाइँ लगाउने गोरुलाई माली (रस्सीले एक अर्कालाई बाँध्ने) लगाइ दाइँ लगाउथ्यौँ ।” दाइँ लगाउने क्रममै परालको पिर्का बुन्ने कार्य पनि हुने गरेको उनले सुनाए ।
“दाइँ लगाउँदै थाकेकाहरुले कुवाको पानी चिसो बनाउनका लागि माटोका गाग्रीमा राख्थे”, स्थानीय रामकिसन डगौराले भने, “त्यसैबाट पिउँथे केहीले सिधैँ कुवाबाट पानी निकालेर तुम्बा–सुकेको लौकामा भरेर खाने गर्दथे ।” ती सबै चलन आधुनिक परिवेशसँगै हराएको उनले बताए ।
दाइँका लागि प्रयोग हुने गोरु, राँगाको खुट्टाले धान, गहुँ, मसुरो लगायतको अन्नबाली झार्ने गरिन्थ्यो भने माथिल्लो हिस्साको अन्नबाली झारिएपछि काठमा फलामको प्रयोग गरी बनाइएको अखैनको प्रयोगले पराल, गहुँको डाँठमा अडकेका दानालाई झार्ने कार्य हुन्थ्यो ।
केहीले त्यो कार्यका लागि बाँसबाट बनेको अखैन प्रयोगमा ल्याउने गरेका थिए । झारेको अन्नलाई एक ठाउँमा थुपार्दै नझरेको अन्नलाई झार्नका लागि अखैनको सहायतले पुनःआँगनमा फिजाएर दाइँ लगाउने गरिन्थ्यो । त्यो क्रम डाँठबाट अन्न नझर्दा सम्म जारी रहन्थ्यो ।
“पहिले घर–घरमा गोरु, राँगा दाइँ लगाउन, खेत जोत्न, गाडा गुडाउने लगायतका कार्यका लागि पालिने गरिन्थ्यो”, शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, “एक दशकयतादेखि गोरु, रागाँ पाल्ने कार्यसँगै कार्यमा लगाइने कार्यमा निकै कमी आएको छ, त्यसको ठाउँ ट्रयाक्टर, पावर टिलरलगायतले लिएका छन्, गोरु राँगा पाल्ने किसानको सङ्ख्या थोरै मात्र रहेको छ ।”
दुर्गम क्षेत्रका विपन्न बस्तीहरुमा भने पुरानै दाइँ लगाउने चलन भने विद्यमान रहेको उनले बताए । जिल्लाका ९० प्रतिशत बढी किसानले अन्न बाली स्याहार्न, चुटन, सफा गर्नका लागि कृषियन्त्र र उपकरणकै प्रयोग गर्ने गरेका छन् । महिनौं लगाएर हुने काम एक दुई घण्टामै हुन थालेपछि परम्परागत रुपमा चल्दै आएको दाइँ लगाउने कार्य हट्दै गएको स्थानिय किसानहरुको भनाइ छ ।
किसानका लागि कृषि ज्ञान केन्द्र, कृषि निर्देशनालय र पालिकामा रहने कृषि विकास शाखामार्फत कृषि यन्त्र र उपकरण अनुदानमा उपलब्ध हुन थालेपछि किसानले गोरु तथा राँगा पाल्ने कार्य छाडेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने

ट्रेन्डिङ
खबरमुकाम







