धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण अमृत भूमि रेसुङ्गा (फोटो फिचर)

रमेश विश्वकर्मा । पश्चिम क्षेत्रकै एक पवित्रस्थल रेसुङ्गाधाम धार्मिक गन्तव्यका लागि निकै प्रसिद्ध रहेको छ । धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण रेसुङ्गा अमृत भूमिको रूपमा रहेको छ । 

त्रेता युगमा महर्षि ऋषि शृङ्गले यहाँ आश्रम बनाई साधना गरेकाले उनको नामबाट रेसुङ्गा नामाकरण भएको हो भन्ने भनाइ छ । तपस्वी लक्ष्मीनारायण स्वामीले तपस्या गरेको बेला १८८३ सालमा सबै तीर्थस्थलबाट जल ल्याई यहाँ रहेको महापोखरीमा मिसाएको किंवदन्ती छ ।  

हाल यहाँ रहेको महापोखरीको वरिपरि २७ वटा गौमुखे धारा छन् । ती धारामा साउन महिनामा मुहान आफैँ फुटेर पानी झर्छ । यो पोखरीमा नुहाई यहाँको मन्दिरमा दर्शन गर्नाले सबै रोगव्याधि नाश हुने जनविश्वास रहँदै आएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए ।

दुई करोड लगानीमा महापोखरीदेखि यज्ञशाला हुँदै भ्यूटावरसम्म ७९६ मिटर लम्बाइको रेलिङसहितको दोहोरो आधुनिक पदमार्ग (सिँढी) र रामकुण्डमा जाने सिँढी पनि निर्माण गरिएको छ ।

सिँढी उक्लँदै जाँदा मध्य भागमा आकर्षक मैरो, रामकुवाको संरक्षण, विभिन्न ठाउँमा बगैँचा संरक्षण भएको छ । रेसुङ्गाको महत्त्व जोगाइराख्न चुचुरोसम्म गाडी जाने बाटो नखनेर पदमार्ग बनाइएको उनले बताए । 

पुरानो सिद्धमन्दिर, स्वामी शशीधरको समाधिस्थल, विष्णुपादुका र लक्ष्मीनारायणको समाधिस्थल रेसुङ्गाको आकर्षण भएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष भुसालले बताए ।

५० लाख रुपियाँ बजेटमा यज्ञशालाबाट विष्णुपादुकासम्म तीन सय मिटर रेलिङ सिढी निर्माण, आश्रम पछाडि बाहिरबाट आउने आगन्तुकका लागि एक सय जना मान्छे बस्न मिल्ने ट्रष्ट निर्माण गरिएको छ । ट्रष्टमा नाच्ने र गाउनेलगायत धार्मिक गतिविधि गर्न मिल्छ । 

महाप्रभु लक्ष्मीनारायणको तपस्यास्थल गौशालादेखि एक घण्टाको पैदल यात्रापछि सावनी शिवालय पुग्न सकिन्छ । आश्रमभित्र फलफूल बगैँचा छ । कम्पाउण्डभित्र हवनकुण्ड, कुवा र भक्तजन बस्न बनाइएका आश्रमका भग्नावशेष छन् । पोखरीको पूर्वपट्टी डाँडोमा त्रेता युगका ऋषि शृङ्ग आफ्नो अर्धाङ्गगिनीलाई लिएर आएका थिए भन्ने किंवदन्ती छ । 

त्यस्तै, रेसुङ्गा र अर्जुन दुई भाइका रूपमा परिचित छन् । रेसुङ्गाको पश्चिमपट्टी उभिएको अर्जुन डाँडाले तम्घाँस आउने पाहुनालाई मन मोहित पार्छ ।

दक्षिण पाखामा एउटा रमणीय गुफा छ । अर्जुन डाँडाबाट मनोरम प्राकृतिक दृश्यसहित सुन्दर तम्घास बजार र पहाडी डाँडाकाँडाको सुन्दरता अवलोकन गर्न सकिन्छ । 

रेसुङ्गाको शिरमा निर्मित भ्यूटावरबाट पर्वतमाला र सेतै टल्किएका हिमशृङ्खलासहित अनुपम दृश्यहरू नियाल्न सकिन्छ । आध्यात्मिक, धार्मिक र पर्यटकीय त्रिवेणी रेसुङ्गा पुगेपछि मन्दिरको दर्शनसँगै मनोरम दृश्य हेर्दा जो कोही पनि मोहित हुन्छन् ।

यहाँ आएका धेरै पर्यटकले हिमाल, रेसुङ्गा र वन क्षेत्रको दृश्य तस्बिरमा कैद गर्छन् । रेसुङ्गामा पुस–माघमा ढपक्क हिउँ पर्छ । फागुन–चैतमा लालीगुराँस फुलेर जङ्गल रातै हुन्छ ।

धार्मिक तथा पर्यावरणले महत्त्व बोकेको रेसुङ्गालाई भौतिक संरचना निर्माणसहित यतिबेला चिटिक्क पारिएको छ । साउन र मङ्सिरमा ठूलो एकादशीका दिन यहाँ भव्य मेला लाग्दै आएको छ ।

भारतसहित नेपालका विभिन्न ठाउँबाट धार्मिक तीर्थालु रेसुङ्गासँगै अर्जुन डाँडा पुग्ने गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै