सेन वंशको ‘कीर्ति’ जोगाउने चुनौती झेलिरहेको देशकै सबैभन्दा ठूलो गढी ‘मकवानपुर गढी’

राजेन्द्र भट्ट

दुर्भाग्यसाथ भन्नुपर्दछ, प्राचीन गढी वा किल्लाहरु हाम्रा महत्ववपूर्ण सम्पदा हुन्, यीविना इतिहास झुटा जस्ता लाग्छन् भनेर बताउन र बुझाउन राज्य इच्छुक देखिँदिन । देशको राजनैतिक, सांस्कृतिक, भोगौलिक र सामाजिक विकासका पृष्ठभूमिमा गढीहरुको महत्वव नर्कान मिल्दैन । बिडम्बना, देशकै सबैभन्दा ठूलो (१ सय ३५ रोपनी क्षेत्रफल) ऐतिहासिक मकवानपुर गढी (नारायणी गढी) चर्चा र संरक्षणदेखि पर छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले (२०७५) प्रर्वद्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तव्यहरुमा मकवानपुर जिल्लाको मकवानपुरगढीलाई पनि छनोट गरे तापनि गढीको पुराताङ्खिवक चिजवस्तुको जगेर्ना नहुँदा सेन राजवंशको कीर्ति जोगाउने चुनौती सदिऔँदेखि यथावत् छ ।

गढीको अवस्था

ऐतिहासिक र पुरातात्विक गढी चेप्टा कुँदिएका ढुङ्गाबाट बनेको छ ।  पहाडको थलीमा ठूला ठूला ढुङ्गा मानिसले बोकेरै गढी निर्माण गरेका हुन् । त्यो बेलाको निर्माण क्षमता स्तुत्य छ । चारैतिर अग्लो पर्खालले घेरिएको यसै गढीको नामबाट जिल्लाको नाम मकवानपुरपरेको हो भने अहिले गढीकै नामबाट मकवानपुरगढी गाउँपालिका पनि नामकरण गरिएको छ । ऐतिहासिक, पुरातात्विक र सामरिक दृष्टि महत्ववपूर्ण यस गढीमा प्रयोग गरिएका ढुङ्गा, इँटा लगायतका वस्तुहरुले चीनको ग्रेटवालको झल्को दिन्छ ।

तत्कालीन सेन राजाहरुको दरबार समेत रहेको यस गढी पृथ्वीनारायण शाहको ससुराली घर पनि हो । समुद्री सतहबाट ४००० फिटको उचाइमा महाभारत शृङ्खलाको डाँडामा अवस्थित यस गढीबाट प्राकृतिक छटाहरु पनि भरपुर अवलोकन गर्न पाइन्छ । १३५ रोपनी क्षेत्रफल र किल्लाभित्र मात्र १६ रोपनी जग्गा भएको यो गढी वास्तुशास्त्र अनुसार, लम्बाई १२५ मिटर र चौडाइ ३५ मिटर, वर्गाकारमा निर्माण भएको थियो । यस गढीमा वि.सं. १९९९ माघमा हिमवर्षा समेत भएको तथ्य भेटिन्छ । भनिन्छ, ‘यहाँबाट सफा मौसममा भारतको सिमावर्ती शहर रक्सौलसम्म देख्न सकिन्छ ।

यो किल्ला भारतमा अङ्ग्रेजहरुको शासन सुरु भएपछि, तोप अनि बन्दुकको आविष्कार भइसकेपछि बनेको हो । गढीको माथिल्लो भागबाट बाहिर गोली हान्ने तथा बाहिरबाट आएको बम र गोली रोक्न, छल्न ज्यामितीय दृष्टिले बनाएको देखिन्छ । गढीको पर्खाल र कुना, शत्रु चढ्न नसक्ने, गोली, बम छेक्ने तथा पर्खालको आड लिने प्वाल प्रतिरक्षात्मक हिसाबले उच्चस्तरको देखिन्छ । यस गढीको बिर्ता जग्गा बारा जिल्लाको बरियारपुरस्थित गढीमाई मन्दिर र कलैयाको सिद्धेश्वर महादेवबाट उक्त देवी देवताको मूर्ति त्यहाँका लागि पूजाआजा गरेको पाइन्छ, हाल यहाँ वंशगोपाल र सिद्धेश्वर महादेवको मन्दिर रहेको छ ।

निर्माण कालः

मुख्य गढी किल्ला अभय सेनद्वारा निर्माण गरिएको थियो ।  वि.सं. १८६२ मा दिलाखाका नाराबिर महत र नाखी थरका वस्तुकलाविद्द्वारा गढी किल्ला पूर्ण निर्माण भएको थियो, सो बापत उनले हटिया गाउँमा ३१ बिगाहा जग्गा बिर्ता पाएका थिए । हाल हटियामा उनकै सन्तानको बसोबास छ ।

मकवानपुर गढीभित्रको दरबार राजा लोहङ्ग सेनको पालामा निर्माण भएको थियो । लोहङ्ग सेनले निर्माण गरेको मकवानपुर गढी दरबार माणिक सेनले पुननिर्माण गरेका थिए । किल्लाको उत्तरतर्फ रहेको गुम्बज शैलीको मुख्य ढोकाको लम्बाइ १.१० मि. र चौडाइ ०.७५ मि. रहेको छ । किल्लाभित्रको दुवै दरबार पूर्वपश्चिम लम्बाइ २५.७ र चौडाइ उत्तर दक्षिण ९.१० इन्च रहेको छ । पछिल्लो दरबारको पश्चिम ८.९० गहिरो र ०.३०० मि. घेराको पानी भर्ने इनार थियो । किल्लाको पूर्वपश्चिम ३२५ फुट र उत्तर दक्षिण चौडाइ १२५ फुट त्रिभुज आकारमा वास्तुशास्त्रद्वारा निर्मित छ । किल्लाको जमिन बाहिर २ मिटर चौडाइ २ मिटर गहिराइको खाइ (खाडल) छ । यो किल्लाको पूर्व पर्खालमै टाँसिएको एउटा सानो भवन थियो तर, हाल त्यो ध्वस्त नै भएको छ । यो भवनको मुनिपट्टिको खाइ नजिकै ओर्लने बाटो थियो ।

पालिकाले सडकदेखि गढीसम्मको पैदल बाटोमा सिंढी बनाइएको छ । वरिपरि घेराबारा गरेको छ । ठाउँठाउँमा बस्ने बेञ्च, फोहोर फाल्ने बक्सा राखेको छ । प्रवेश टिकट घर बनाइएको छ । गढी जाने मार्गमा सङ्ग्रहालय भवन तयार हुने अवस्थामा छ । तर गढीको महत्वव बुझाउन भने कन्जुस्याइँ गरिरहेको देखिन्छ । गढीको मूल पर्खाल र अन्य स्थानमा उम्रिएका घाँसपात, बिरुवा जरैदेखि उखेलेर सफा गर्नु आवश्यक छ । यसैगरी, ऐतिहासिक र पुराताङ्खिवक महत्ववको गढी तथा गढीका मुख्य बनोट कोत घर, दरबार, मन्दिरहरुको उचित तवरले जीर्णाेद्धार गर्न पुरातङ्खव विभागको ध्यानाकर्षण हुनु आवश्यक छ । हाल पनि ऐतिहासिक महत्व बोकेको गढीभित्र रक्सीका बोतलहरु यत्रतत्र देखिन्छन् ।

गढीको चारैतिरबाट खाल्डो रहेको र खाल्डोको पारिपट्टि अग्लो पर्खाल रहेको मकवानपुर गढीमा एउटा मात्र प्रवेशद्वार रहेको छ । प्रवेशद्वारमा पहिले फलेक राखिएको हुन्थ्यो र रात परेपछि फलेक झिकेर द्वार बन्द गरिन्थ्यो । द्वार बन्द भएपछि खाल्डोमा पानी भरिन्थ्यो । अहिले केही व्यवस्थित बनाइएको छ । सजिलै आवतजावत गर्न सकिन्छ । 

गढीको इतिहास

ठूलो साम्राज्यका रुपमा रहेको सेन राज्यको राजधानी यही गढी क्षेत्र थियो । पाल्पाका राजा मणिमुकुन्द सेनले राज्य ठूलो भएकाले चार भाग लगाएका थिए । मकवानपुर उनको छोरा लोहाङ सेनको भागमा परेको थियो । त्यही वंशका तुला सेनले यो ऐतिहासिक गढी लगभग ४०० वर्षअगाडि बनाएको बताइन्छ ।

मकवानपुर गढीमा राजदरबार निर्माण गरी लोहाङ सेनले मकवानी राज्य शासन गरेका थिए । लोहाङ सेनले धेरै ठाउँमा स्थानीय टुक्रे राजाहरुसँग युद्ध गर्दै, विजयी हुँदै आफ्नो राज्यको सिमाना बढाएका थिए । लाहानमा पुगेर वस्ती बसाले जसलाई लोहाङ बस्ती भनियो । मल्ल राजाहरुको प्रतिनिधिहरु आएर दक्षिणतर्फ बढ्दै आएकाले आफैँ गएर सम्झौता गरी महाभारत देउराली सिमभञ्ज्याङ, दर्पनको लेक कैलाशबैकुण्ठ, ठिँगनको माथि महादेव डाँडालाई नै साँध सिमाना कायम गरेर भिमफेदी चिसापानी गढी भएको ठाउँमा सुरक्षा चौकी राखेका थिए ।

उनको शासन ई.सं. १६९१ सम्म थियो । लोहाङ सेनका छोरा राघव सेनले ई.सं. १५९१ देखि १६२३ सम्म राज्य गरे भने राघवसेनका छोरा हरिहर सेनले ई.सं. १६३१ बाट १६७२ सम्म राजा भएर शासन गरे । उनले हरिहरपुर गढी मनहीमा मनकामना देवी स्थान स्थापना गरे । हरिहर सेनको समयमा दुई रानीका छोराहरुबीच राज्य सञ्चालनमा वादविवाद चलिरहन्थ्यो । यसैको फाइदा उठाइ मकवानपुर राज्य सञ्चालन गर्न प्रारम्भ भएपश्चात् गोरखा, ललितपुर, भक्तपुर र कान्तिपुरका राजाहरु मिलेर मकवानपुरमाथि आक्रमण गरेका थिए । त्यसपछि हरिहर सेनका छोरा माणिक सेन ई.सं. १७०७१७३० सम्म राजा भए । उनले मकवानपुर गढी किल्ला पुनर्निमाण गराए, उनको छोरा हेमकर्ण सेन ई.सं. १७३०१७५९ सम्म राजा भए । तत्पश्चात् दिग्वन्धन सेन ई.सं. १७५९ देखि १७६२ सम्म राजा भए र ई.सं. १७६२ अगस्ट २१ मा गोर्खाली राजाको फौजले मकवानपुरको राजधानी आक्रमण गरी विजय प्राप्त गरेका थिए ।

लोहाङ सेन

सेन राजाहरुले १९७ वर्षसम्म आफ्नो राजधानी बनाएको मकवानपुर गढी वि.सं. १६२२ मा लोहाङ सेनले बनाएको मानिन्छ । ई.सं. १५५३१५९१ सम्म लोहाङ सेनको राज्यकाल थियो । लोहाङ अर्थ फलामको जस्तो शरीर भएको हुन्छ । उनलाई लवङ प्रताप सेन पनि भनिएको छ । मकवानपुर गढीको दरबार लोहङ सेनले निर्माण गरि राज्य सञ्चालन गरेका थिए । उनले आफ्नो पुर्खाद्वारा निर्माण गरिएको मकवानपुरगढी किल्लाभित्र आएर राजदरबार निर्माण गराए । राजधानी पनि मकवानपुर गढीमा नै बनाएका थिए । अन्य भारदार, मन्त्री, सुरक्षाकर्मीहरुको लागि अड्डा तथा ब्यारेक निर्माण गराएर आफ्नो राज्यको काम प्रारम्भ गरका थिए । लोहाङ सेनलाई आफ्नो राज्य कोशीसम्म विस्तार गर्न ३० वर्ष लागेको थियो ।

लोहाङ सेनको पालामा सेन राज्य पूर्वमा महानन्दा नदीसम्म पु¥याएका थिए । उत्तरमा महाभारत पहाडी श्रृङ्खला, दक्षिणमा तिरहुत र पूणिर्या क्षेत्रसम्म पु¥याएर विशाल राज्य कायम गरे । राजा लोहाङ सनेले हालको पूर्वपश्चिम राजमार्गमा पर्ने स्थानमा बजार बसालेका थिए त्यसै शहरलाई लोहाङ भनियो । पछि अपभ्रंस हुँदै लाहान हुन गयो भनिन्छ ।

राघव सेन

लोहाङ सेनको राज्यकाल पछि ई.सं. १५९१ देखि १६२३ सम्म राघव सेन मकवापुरका राजा भए । यिनले मकवानपुर, मोरङ र विजयपुरको राजा भएर प्रशासनको कामकारबाही सञ्चालन गराए । राघव सेनले लेखेका गीतहरु नेपालको राष्ट्रिय अभिलेखालयमा संरक्षित गरिएको पाइएको छ । रघु पति राघव राजाराम पतित पावन सितारामराघव सेनको समयमा नै स्वयम उनले नै रचना गरेको भनिन्छ । यिनी युद्ध गर्दा पनि धर्म, परम्पराका नीतिनियमहरु पालन गर्दै युद्ध गर्दथे । झुक्याएर कसैलाई नमार्ने, आफूले मान्नुपर्नेहरुसँग आदरभाव राखी उनीहरुको अर्ति उपदेश अक्षरश पालन गर्दथे । धरानको विजयपुरको पञ्चकन्या मन्दिर र सेती खोला नजिकको दन्तकाली मन्दिर राघव सेनको पालमा स्थापना गरेको मानिन्छ । राजाको उपनाम सिन्धुल पनि भएकोले उनकै उपनामबाट सिन्धुली जिल्लाकै नाम रहन गएको मानिन्छ ।

हरिहर सेन

राजा हरिहरसेन राघव नरेन्द्र सेनका छोरा थिए । हरिहर सेनको राज्यकाल ई.सं. १६३११६७२ सम्म रह्यो । हरिहर सेनलाई हरिश्चन्द्र सेन, हरिहर इन्द्रसेन र हरभजन सेनको रुपमा चिनिन्छ । हरिहर सेन र कान्तिपुरका प्रताप मल्ल समकालीन राजा थिए ।

शुभ सेन

 शुभ सेनको राज्यकाल ई.सं. १६७२१७०६ सम्म रह्यो । ई.सं. १७६३ मार्ग १४ गतेका दिन लमजुङ, गोरखा, भक्तपुर, काठमाडौँ र ललितपुरका राजाहरु मिलेर मकवानपुर राज्य विजय गर्न गएको भन्ने कुरा चन्द्रमान जोशीसँग भएको ठ्यासफु, चिना र भोजपत्रमा उल्लेख छ ।

माणिक सेन

शुभसेनका छोरा माणिक सेनको राज्यकाल ई.सं. १७०७ सालदेखि १७३० सम्म रहेको थियो । राजा माणिक सेनको समयमा भाइभारदारहरुमा वानियाँ परिवार प्रमुख भारदार थिए । माणिक सेनले सिन्धुलीमा गढी किल्ला निर्माण गर्न लगाए । माणिक सेनको आफ्नो राज्यकालमा मन्दिरहरुलाई दान दिन धेरै समय खर्च गरेका थिए । माणिक सेनले चिसापानी गढी, पर्सा गढी, बारा गढी, मकवानपुर गढी (पुनर्निर्माण) हरिहरपुर गढी (पुननिर्माण) र अम्बासगढी निर्माण गराए । उनले मकवानपुरगढीमा बाल गोपालको एकतले पश्चिम मोहडाको मन्दिर निर्माण गराई अष्टधातुको मूर्ति राखेका थिए । त्यसको पश्चिम दक्षिणमा पश्चिम मोहडाकै एक तले सिद्धेश्वर महादेव मन्दिर निर्माण गराएर कालो प्लाष्टरको शिव लिङ्गलाई तामाले मोरी त्यसको माथि चदुवा टाँगी जलहरी लगाएका थिए ।

हेमकर्ण सेन

राजा हेमकर्ण सेनले ई.सं. १७३० देखि १७५९ सम्म मकवानपुरमा शासन गरे । हेमकर्ण सेन राजा माणिक सेनका छोरा थिए । उनको शिक्षादिक्षा जनकपुरमै भएको थियो । उनी धार्मिक स्वभावका भएकाले जनकपुरमा भएको धेरै मठमन्दिरहरुको संरक्षण र सदुपयोगमा लागि पर्दथे । प्रायः सेन राजाहरुको शिक्षादिक्षा आदि कार्य जनकपुरबाटै हुन्थ्यो ।

उनका एक छोरा एक छोरी थिए । सुन्दर र शालीन स्वभावकी छोरी ईन्द्रकुमारी सेन र छोरा दिग्बन्धन सेन । राजा हेमकर्ण सेनले वि.सं. १८०१ गते मार्गशुक्ल पूणिर्माको दिन वर्तमान सिन्धुली जिल्लामा पर्ने घण्टे भन्ने ठाउँमा शिवालय निर्माण गरी छोरि ईन्द्रकुमारी समेत लगेर प्राणप्रतिष्ठा गरेका थिए ।

पृथ्वीनारायण शाह र इन्द्रकुमारीको विवाह प्रसङ्ग

मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी ईन्द्रकुमारीको विवाह गोरखाको युवराज पृथ्वीनारायण शाहसँग हुने कुरा चल्यो । लमीहरु पनि विवाहको लागि योग्य भएका दुलहीहरुको खोजी गरिरहेका थिए । खोजीको क्रममा लमीहरु विवाहको कुरा लिएर मकवानपुरका राजा हेमकर्ण सेन समक्ष पुगे ।

विवाहका लागि ज्योतिषी, पुरोहित, खजाञ्ची भारदारहरु सहित जन्ती लिएर सन् १७३८ मा मकवानपुरगढी गाउँपालिकामा फ्रेबुवरीमा धुमधाम विवाह भयो । त्यसबखत पृथ्वीनारायण शाह १४ वर्षका थिए । दुलही अनमाई दिन जन्ती पक्षबाट अनुरोध गर्दा राजा हेमकर्ण सेनल आफ्नी छोरी सानै भएकोले गौना गरेर तेस्रो वर्ष लैजान दुलाहा पक्षलाई अनुरोध गरे । यो सुनेर दुलाहा पक्षका अक्क न बक्क भए । पहाडतर्फ विवाह गर्दा विवाहकै दिन कन्या अन्माएर पठाइने तर, तराईको चलनमा दुलही सँगै पठाइँदैन र गौना गरेपछि मात्र पठाउने चलन रहेको बताइयो, तब दुलाहा र जन्ती फर्किए । गोरखा दरबारमा पनि हल्ला भयो ।

छोरी कहिले पठाउने भन्ने ठेगान थिएन, तर पनि ई.सं. १७३९ को जनवरीको दोस्रो हप्ता माघे सङ्क्रान्तीको दिन बागमती नदी किनार खुँडाघाटको जात्राको दिन परेकोले सोही दिन राजा हेमकर्ण सेनको सपरिवार मेलामा थिए । दुलाहा पक्षलाई पनि मेलामा आउन निमन्त्रणा पठाइयो । मेलामा पुगी ससुरालीको परिवारसँगै फर्कंदा बाटोमा दुर्घटना भयो । गोर्खालीहरुले लगाएको पोशाक सामान्य खाडीको कपडा, काँचो छालाको जुत्ता, घरेलु बनावटको थियो । मकवानपुरेहरुको पोसाकमा तराईतिरका मुगलहरुको प्रभाव परेर रेसमी भेषभुषा, चमक धमक थियो ।

ज्वाइँतर्फको भेषभुषा देखेर जेठान दिग्बन्धन सेन, दिवान, कनकसिंह बानियाँहरु भएर खिसी गरे । पाखे गोर्खाली भनी अपमान पनि गरे । गोर्खालीको अपमान सम्झेर मारपिट भयो । गोर्खालीले पनि मकवानपुरे सेनालाई घचेटेर लडाइदिए । ज्वाइँ जेठानबीच झगडा हुन लागेको देखेर राजा हेमकर्ण सेनले बल्लतल्ल झगडा मिलाए । छोरी पठाउने गजमोती हार लगाएर दुलाहा सहित इन्द्रकुमारीले चढेको एक दन्ते सेतो हात्तीमा अन्माए तापनि यी दुवै वस्तु पठाउन दिग्बन्धन सेनले मन्जुर गरेनन् र राजाले पनि गौना गरेका दिन यी सबै सामानहरु पठाउने भनिदिए । पृथ्वीनारायण शाहलाई पनि यस्तो व्यवहार ठीक लागेन । ज्वाइँ पृथ्वीनारायण शाहले डेरामा रात बिताई बिहानै ससुरालीसँग बिदा नभई गोरखा फर्किए । बिदा नभई ज्वाइँ हिँडेको सुनेर हेमकर्ण सेनलाई नमज्जा लाग्यो । बरियातहरुले गोरखा पुगेर रानी चन्द्रप्रभा र कौशल्यावतीलाई मकवानपुरको घटना सबै सुनाए ।

समय बित्दै गयो, पृथ्वीनारायण शाह काठमाडौँ हेर्दै, गोरखा पुग्दा दोस्रो विवाह गर्ने निश्चय भयो । ई.सं. २१ जनवरी १७४० मा गोरखपुरका ठाकुर दयाराम सिंहकी छोरी गोरखामा लगेर पृथ्वीनारायण शाहसँग दोस्रो विवाह भयो । नवविवाहित रानीको नाम नरेन्द्र राज्यलक्ष्मी थियो ।

यता, ‘दाजु दिग्बन्धन सेनसँग वादविवाद भएको भए तापनि मैले केही भनेको छैन । मेरा बाबाआमाले पनि नराम्रो केही भन्नुभएको छैन । दाइको बोली व्यवहारले मलाई त्याग्न हुन्न भनी आशा गरेकी छु । कहिले लिन आउनुहुन्छ म एक्लै आउन पनि भएन । मेरो मनको विरहको व्यथा बुझिदिनुहुन्छ भन्ने आशा गरेको छु,’ भनी विरह व्यथाको पत्र लेखेर ईन्द्रकुमारीले गोरखा पठाइन् ।

जेठान दिग्बन्धन सेनसँग बेमेल भएकोले जेठी रानी इन्द्रकुमारीको विरह व्यथाको पत्रहरु प्रशस्तै आए । लामिडाँडा विजयपछि ससुरा हेमकर्ण सेनसँग सल्लाह गरी दुवै पक्षबाट कुरा हुँदा गौनाको समय निश्चित भयो । पृथ्वीनारायण शाह विजयी राजा भइसकेकोले मकवानपुरमा नगएर धादिङ गढीनजिक मैदीको मन्दिरमा दुवै पक्ष जम्मा भए । रानीसहित राजा हेमकर्ण सेन छोरी र हात्ती गरगहना आशा गुर्जा, दाइजो प्रशस्त लिएर गौना गरियो । ज्वाइँ छोरीलाई नगद पनि दिएर खुशी पारियो । ई.सं. १७४८ अर्थात् १८०५ मा जेठी रानीलाई गोरखा दरबार भित्र्याइयो ।

दिग्बन्धन सेन

मकवानपुरका राजा हेमकर्ण सेनको देहान्त पश्चात् ई.सं. १७५९ मा उनका छोरा दिग्बन्धन सेन राजा भए । दिगबन्धन सेन पृथ्वीनारायण शाहलाई बहिनी इन्द्रकुमारी दिए पनि ज्वाइँ विरुद्व लागि रहन्थे । बहिनीको ई.सं. १७३८ फेब्रुअरीमा विवाह गरे पनि विवाहमा दिएका सामानहरु दाइजोमा दिन अस्वीकार गरेपछि पिता हेमकर्ण सेन र बहिनी इन्द्रकुमारी दुवै चिन्तित थिए । गजमोती हार र एकदन्ते सेतो हात्ती हार आदि विवाहमा दाइजो स्वरुप दिएको थियो । गोर्खालीहरु हट्टाकट्टा, बहादुर भए तापनि उनीहरु सामान्य भेषभूषा, कोराको कपडा काँचो छालाको जुत्ता लगाउने गर्थे । मकवानपुरे राजकुमार दिग्बन्धन सेन, मुख्यमन्त्री कनकसिंह बानियाँ र भारदारहरुले माघे सङ्क्रान्ती मेला सम्पन्न गरी बाग्मती नदीबाट फर्केर मकवानपुर जाने क्रममा गोर्खालीहरुलाई खिसी गरेका थिए । त्यो देखेर तुरुन्तै पृथ्वीनारायण शाहले पनि आफ्नो अङ्गरक्षकलाई इशारा गरे । खिस्याउने युवराज दिग्बन्धन सेनको हुटहुटीलाई समर्थन गर्ने सिपाहीलाई ढालिदिए । यही शृङ्खला तन्किँदै जाँदा पृथ्वीनारायण शाहका सेना र दिग्बन्धन सेनबीच लडाइँ भयो । गोर्खाली फौजको ५०/६० सेना रणभूमिमै ढलेका थिए भने मकवानपुरतर्फका ५००/६०० सेनाहरु रणभूमिमै ढलेका थिए । हेमकर्ण सेनको मृत्युपछि दिग्बन्धन सेनको पालामा १८१९ सालको भदौ ९ गते मकवानपुर गढी गोर्खालीले विजय गरे ।

काठमाडौं दक्षिणको मकवानपुर राज्य जितेपछि गोर्खाली सेना अझ सशक्त भयो । त्यहाँ प्राप्त हतियार, युद्ध सामग्री र धनले गोर्खालीहरुको मनोबल उच्च बनायो । दिग्बन्धन सेनलाई सहयोग गर्न १८१९ माघ १० गते आएको तीन हजार अङ्ग्रेज सहितको मुगल फौजलाई पृथ्वीनारायणको सेनाले मकवानपुर मकवानपुरगढी दरबार पुग्नै नदिई पराजित गरेको इतिहास छ ।

राजा महेन्द्रले २०१६ सालमा मकवानपुर गढी समेटिने गरी कान्तिपथ शिलान्यास गरे । तर, सडकमा जोडिए पनि प्रचारप्रसारको अभावमा मकवानपुर गढी ओझेलमा रह्यो । हेटौडाको मुख्य चोकबाट १७ किलोमिटर सहज यात्रा गरेर पुगिने मकवानपुर गढीमा अझै पनि कमै पर्यटक पुग्छन् । यहाँको पुरानो कलाकौशल, दरबार, सुरक्षा पर्खाल, जेल, किल्ला सबै ऐतिहासिकपुराताङ्खिवक महत्ववका छन् । अग्लो डाँडामा रहेको गढीबाट अनेक प्राकृतिक छटा अवलोकन गर्न पाइन्छ ।

 

मकवानपुरगढी परिसरका ऐतिहासिक स्थान र संरचना

फलामको साङ्लोले बाँधिएका वंशगोपाल

ऐतिहासिक संरचनाको चर्चा गर्दा मकवानपुर गढी दरवारको प्राङ्गणमा रहेको राजा माणिक सेनको पालामा बनेको वंशगोपालको मन्दिर अग्रस्थानमा आउँछ । मन्दिरमा माणिक सेनको राज्यकालदेखि पूजाआजा गर्न पुजारीको व्यवस्था भएको र गुणनिधि खतिवडालाई पूजा खर्च र बिर्ता जग्गा दिने गरी पुजारीमा राखिएको देखिन्छ । पश्चिम मोहोडा भएको एकतले मन्दिरमा वंशगोपालको शीरोभागमा सुनको लेपन गरिएको धातुको मुर्ति (५.५ फुट लम्बाइ र १९ इन्च गोलाइ) थियो, सुनकै लेपनको कारण मुर्तिको शीरोभाग हराएको थियो तर पछि हिरालाल श्रेष्ठको परिवारबाट मुर्तिको हराएको भागको पुन निर्माण गरी (२०६४ फागुन २३) स्थापना गरिएको मुर्ति हाल पनि सोही मन्दिरमा देख्न सकिन्छ ।

यस मन्दिरभित्रको रहेको कृष्णको प्रतिमालाई फलामको साङ्लोले बाँधिएको छ । किम्बदन्ती अनुसार, कुनै समयमा भक्तजनहरुले यो मन्दिरमा प्रतीकको पाउभरी तोरीका फूलहरु टाँसिएको देखे र पुजारीलाई यसको जानकारी गराए । पुजारीले रातभर जाग्राम बसेर भगवानको चियो गरे । थाहा भयो कि कृष्ण भगवान रातिराति मन्दिरबाट निस्केर बाहिर जाने र बिहान भएपछि फर्किने गर्दा रहेछन् । भगवानले यसरी मन्दिर छाड्दा राज्यमा कुनै अनिष्ट आइपर्न सक्ने देखेपछि मूर्तिलाई साङ्लोले बाँधेर राखिएको विश्वास यहाँका स्थानीयमा छ । त्यतिबेला कृष्ण भगवान् राति नै छतिवनको तोरी फुलेको फाँटसम्म पुगेर फर्किन्थे भन्ने कथन पनि छ । तर, मकवानपुर गढी संरक्षणका अभियन्ता केदारप्रसाद न्यौपाने ५ फिट अग्लो मुर्ति भित्रबाट खोक्रो भएकाले भूकम्पमा ढलेपछि राजाले नै बाँध्न लगाएको बताउँछन् । बाँसुरी बजाइरहेको हुनाले यिनलाई बम्शी गोपालपनि भन्ने गरिन्छ । मन्दिरका पुजारीका अनुसार मुलुकमै यो सबैभन्दा अग्लो पुरानो मूर्ति हुनुपर्दछ ।

सिद्धेश्वर मन्दिर

दरबारको पश्चिम दक्षिणतर्फ राजा माणिक सेनको पालामा स्थापना भएका एकतले सिद्धेश्वर महादेवको मन्दिर अवस्थित छ । यस मन्दिर स्थापना पश्चात् राजालाई सिद्धि प्राप्त भएको हुँदा यस मन्दिरको नाम सिद्धेश्वर रहन गएको विश्वास गरिन्छ ।

हात्तीको सालिक

मुख्य गढीको पूर्वतर्फ एक ढिस्को जस्तो देखिन्छ जसलाई हाल गढीको गुफास्थानको रुपमा चिनिन्छ । त्यो ढिस्कोमा राजा हेमकर्ण सेनलाई मन परेको हात्ती मरेर गाडेका थिए, उक्त स्थानमा हाल हात्तीको सालिक निर्माण गरिएको छ । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले सेते एकदन्ते हात्तीको प्रतिमा अनावरण गरेका हुन् ।

हात्तीको सम्बन्धमा अर्के कुरा पनि रहेको छ, लेखक तथा प्राध्यापक दिनेशराज पन्तका अनुसार वि.सं. १७९४ मा गोरखाका युवराज पृथ्वीनारायण शाहको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भयो । हेमकर्ण सेनका छोरा दिग्बन्धन सेनसँग पृथ्वीनाराणको सम्बन्ध राम्रो थिएन । हेमकर्ण सेनले कन्यादानको समयमा छोरीलाई गजमोतीको हार लगाइदिएका थिए र दुलाहा÷दुलहीलाई एकदन्ते हात्तीमा चढाएका थिए । पृथ्वीनारायणले ती हार र हात्ती माग गर्दा दिग्बन्धन सेनसँग झगडा भएकै कारण बेहुली नै नलिई फर्केका थिए ।

जुँगे दरबार

 मुख्य गढिबाट पूर्व उत्तरमा ३.५ कि.मी. सवारी मार्ग द्वारा जुँगे दरबार वा ब्यारेक पुग्न सकिन्छ । २०३० सालसम्म यो स्थान हटिया गाउँ पञ्चायत ५ नं. वडामा पर्दथ्यो । यो ब्यारेक भीमसेन थापाको पालामा निर्माण भएको र पछिल्लो समयमा प्रधानमन्त्री चन्द्र शमशेर बेलायत भ्रमण जाँदासम्म यही ब्यारेकमा सेनाहरु राखेर गएका थिए । २०१६ सालतिर यो ब्यारेक तथा दरबारको काठहरु तत्कालीन अञ्चालाधीशको आदेशबाट दोभान चौरमा रहेको विद्यालय निर्माण गर्नको लागि दिइएको थियो । हाल सो विद्यालय कर्रा पारि भुलभुलेमा अवस्थित छ ।

त्यो विजय उत्सव र यो विजय उत्सव

मकवापनुर राज्यको पराजयपछि राजा दिग्बन्धन सेन र मन्त्री कनकसिंह बानियाँको आग्रहमा पृथ्वीनारायण शाहको गोर्खाली सेनाविरुद्ध बङ्गालका तत्कालीन नवाव मिरकासिमले गुरगिल खाँको नेतृत्वमा मकवानपुरमा हमला गर्न पठाएका करिब २ हजार पाँच सय मुगल सेनाका फौजलाई गोर्खाली सेनापतिहरु बंशराज पाण्डे, केहरसिंह बस्नेत र रामकृष्ण कुवँर, नेतृत्वको गोर्खाली फौजले सन् १७६३ जनवरी २० मा परास्त गरी भगाएको सम्झनामा हरेक वर्ष माघ १० गते विजय उत्सव मनाइन्छ । गोर्खाली सेनाले विदेशी सेनासित लडेको पहिलो युद्धका रुपमा यसलाई लिइन्छ । पहिलो विजयोत्सव मनाउँदा तत्कालीन राजा पृथ्वीनारायण शाह स्वयम् गढीमा उपस्थित भई कार्यक्रमा सहभागी भएका थिए ।

२५६ औँ वार्षिक विजय उत्सव मनाउने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कार्यक्रमको झण्डोत्तोलन र सङ्घीय संरचना सहितको नेपालको नक्साको अनावरण गरिएको थियो । हाल पुराताङ्खिवक स्थलमा नयाँ संरचना बन्न नहुने भन्दै सो नक्सा हटाउनको लागि पुरातत्व विभागले पालिकालाई अनुरोध गरिरहेको तर, राष्ट्रपतिको सम्मान गरी सो काम गर्न नसकिएको पालिकाले बताइरहेको छ । यही विवादका कारण गढीको पुराताङ्खिवक मर्यादा जोगिन नसकेको देखिएको छ ।

वंशीगोपाल भाषा पाठशाला

वि. सं. १९९६ सालको मङ्सिर महिनामा प्रधानमन्त्री जुद्ध शमशेरको टोली सुपारेटार ब्यारेकमा शिकार खेल्न आएका छन् भन्ने थाहा पाएर विद्यालय पाऊँ भनी मकवानपुर गढी र आसपासबाट पं. सुवेदी, विष्णुहरि रिजाल, केदारनाथ खतिवडा, खडानन्द बाँसकोटा, रुद्रप्रसाद रिजाल, रामजी बाँस्कोटा, भक्तबहादुर श्रेष्ठ, रामबहादुर श्रेष्ठ सहित ५० जना किशोर युवा र वृद्धाको टोली पाठशाला निर्माणको माग लिएर सुपरेटार ब्यारेक गएका थिए । उनीहरुलाई सामरी खोला छेउमै सुरक्षाकर्मीले रोकी सोधपुछ गर्ने क्रममा पाठशालाको लागि अनुरोध गर्न आएको कुरो बताएपछि सेनाले प्रवेश दिए र पाठशालको लागि जुद्ध शमशेरलाई बिन्ती गरे । जुद्ध शमशेरले पढाउने गुरु हुनुहुन्छ भनी सोध्दा गुरुको व्यवस्था भैसकेको कुरा बताए र पाठशाला स्वीकृत गरी मासिक रु १५ गुरुको लागि र परिचरलाई मासिक रु. ५ माल अड्डाबाट दिनु भन्ने आदेश भयो, यसरी वंशीगोपाल भाषा पाठशाला स्थापना भएको थियो ।

कसरी पुग्ने ?

हेटौँडाबाट करिब १७ किलोमिटर पूर्वमा महाभारत डाँडाको टुप्पामा मकवानपुर गढी रहेको छ । मोटर बाटो हुँदै त्यहाँ पुग्न सकिन्छ । काठमाडौँको बल्खुबाट कुलेखानी हुँदै हेटौँडासम्म ८० किमी ४ घन्टामा जीपमा मकवानपुर गढी पुग्न सकिन्छ ।

यो नछुटाउनुस् !

मकवानपुर गढी आसपास क्षेत्रमा मौसमी र बेमौसमी आलु एवम् तरकारीहरु प्रशस्त मात्रामा हुन्छ । कोदो एवम् फापरको लागि पनि यो क्षेत्र प्रख्यात रहेको छ । मानिसहरु हाल पहाडतर्फको आवाली छोडेर बेँसीतर्फ झरिरहेकाले स्थानीयवासीको सङ्ख्या निकै पातलो छ । चुच्चेखोलाको कृष्ण बाजेको खुवा यहाँ पुग्दा छुटाउन नहुने मौलिक स्वाद हो ।

बखानसिंह पाख्रिन

वडा अध्यक्ष, मकवानपुर गढी गाउँपालिका २

सरसरफाइ र संरक्षण गर्ने कुरामा टोल विकास संस्थालाई सक्रिय बनाएका छौँ । वडा कार्यालयले पनि त्यसमा प्रत्यक्ष भूमिका निभाउँदै आएको छ । पर्यटकहरु घुम्न आउँदा, वनभोजको लागि आउँदा व्यवस्थापन गर्न त्यहाँका टोल विकास समितिले नै हैर्दै आएको छ ।

एक जना कर्मचारी नै राखिएको छ । उनले यहाँ शौचालय, पानी लगायत पर्यटकका आवश्यकताहरुलाई सहयोग गर्छन् । मन्दिरभित्र एक जना पुजारी हुनुहुन्छ । भक्तजनहरुले चढाएको भेटीलाई उहाँले नै चलायमान गराउने व्यवस्था गरेका छौँ । त्यहाँ पनि अक्षता, सिन्दुर, अबिर, फूलमाला, कृष्ण भगवान्को पोशाक आवश्यक पर्छ । त्यसको लागि खरिद गरिरहनुपर्छ । यो सबै जिम्मेवारी पुजारी (चन्द्रप्रसाद घिमिरे)ले हेर्नुहुन्छ । त्यहाँको सरसफाइमा पनि पुजारीले आफैँ हातेमालो गर्दै आउनुभएको छ । विकास निर्माणको कुरा गर्दा पुरातङ्खव विभागले २ करोडको ठेक्कामा पुरानो दरबार जिर्णोद्धार पुननिर्माण गर्दैछ ।

त्यसको लागि ठेक्का सम्झौता समेत भइसकेको छ । त्यस्तै प्रदेश सरकारले पनि बाह्य भौतिक संरचना निर्माणको लागि ३ करोड बजेट विनियोजन गरिदिएको छ । आकर्षक स्थल निर्माणको लागि डिपिआर बाहेकको बजेट ५ लाख राखिएको छ । डिपिआरको टेण्डर आह्वान गरिएको छ । त्यो सकिने बित्तिकै बाँकी प्रक्रिया अघि बढ्छ ।

समग्रमा अहिले मकवानपुर गढीको अवस्थालाई हेर्दा सुचना प्रवाह गर्न डिजिटल बोर्ड पनि सुरु गरेका छौँ । पर्यटन प्रवद्धनको लागि सङ्ग्रहालय निर्माण गर्न, विभिन्न शालिक वा मूर्तिहरु राख्न, श्रव्य दृश्य हल निर्माण गर्न पनि ठेक्का भइसकेको छ । सेन वंशको शालिक र पृथ्वी नारायण शाहको शालिक अहिले बन्ने क्रममा छ । त्यस्तै पैदल मार्ग र गेटहरु पनि बन्दैछन् ।

त्यस्तै कोही यतै पकाउने गरी वनभोज समूह आयो भने रु १ हजार शूल्क लिन थालेका छौँ । यसरी पालिकाको नाममै रसिद काटिन्छ र उठेको रकम पनि पालिकाले नै खर्च गर्छ । अन्य पर्यटकहरुलाई भने कुनै शूल्क लाग्दैन ।

पुरातत्व विभागले हराएको कृष्णको मूर्तिको टाउको अनुसन्धान गरिरहेको छ । यो अन्तराष्ट्रिय स्तरकै गिरोहले चोरेको अनुमान छ । केही वर्षयता हामीले निरन्तरको त्यसको खोजी गर्ने काम गर्दै आएका छौँ । तर अहिलेसम्म केही प्रगति हुन सकेको छैन । अहिलेको मूर्ति निर्माणमा करिब ३ करोड खर्च भइसकेको छ ।

यहाँ पाँचपटक मेला लाग्छ । कृष्णअष्टमी, एकादशी, तीज, फागु पूर्णिमा र नयाँ वर्षको मेला रमाइलो हुन्छ । अझै मुख्यतया कृष्णअष्टमीको बेला ठूलो भीड जम्मा हुन्छ ।

मन्दिर परिसरमा लागुपदार्थ, मद्यपान निषेध गरेका छौँ । सुरक्षाको दृष्टिकोणले यहाँ सेना राख्न आवश्यक छ । त्यसको लागि रक्षा मन्त्रालयसम्म जाने हाम्रो सल्लाह छ ।

यहाँ बाहिर राखिएको राष्ट्रपति विद्यादेवी भण्डारी लेखेको हटाएपछि मात्र पुरातत्व विभागले आफ्नोे काम अघि बढाउने भन्ने हल्ला फैलिएको छ । तर मेरो बुझाइमा त्यो गलत हो । त्यति बेला हामीले सेनासँगको सहकार्यमै राख्न मिल्ने भएकाले राखेका हौँ । फेरि राष्ट्रपतिले उद्घाटनको गरेको भएकोले पनि शोभनीयको लागि राखेका हौँ । पुरातङ्खवको मापदण्डमा त्यो नपर्न सक्छ । उनीहहरुको मापदण्डलाई आधार मानेरै हामीले पनि यसअघि नेपाल टेलिकमको टावर हटाइएको हो ।

त्यो लेखाइले गढीको सुन्दरतालाई नोक्सानी पु¥याउँछ भनेर पुरातङ्खव विभाग आयो भने सोच्ने कुरा हो । नत्र त्यो हट्दैन । यो कुरा राजनीतिक विषयसँग पनि जोडिएकाले आपसी समझदारीमै समस्याको समाधान हुन्छ ।

जुँगे दरबार चन्द्र शमसेरको पालामा बनेको अनुमान गरिन्छ । त्यसको कुनै आधारिक तथ्यांक हामीसँग पनि छैन । त्यसलाई संरक्षण गर्न तीन वर्षअघि हामीले सरसफाइ गरेका थियौँ ।

यी बाहेक पर्यटनका अन्य सम्भावनाहरुलाई उजागर गर्न नगरपालिकाले नै अभ्यास सुरु गरेको छ । पर्यटनलाई कृषिसँग पनि जोड्ने हाम्रो प्रयास हो । गढीसम्म घुम्न आउने पर्यटकहरु अरु कहाँ कहाँ जाने भन्नेबारे हामी गन्तव्यहरु प्हिचान गर्दैछौँ ।  त्यसपछि सामरीपुल हुँदै मनकामना मन्दिर, शहिद रुद्र पार्क घुम्दै, विजय पार्क, गुम्बा, फुलुङ्गेश्वर महादेवको मन्दिर, सानो गढी, ढुङ्गे गढीलाई रुटको रुपमा स्थापना गर्न सकिन्छ । वासुदेव पार्कमा गएर पूर्णविराम लगाउन सकिन्छ । यो करिब ३० किलोमिटरको दुरी हो । एकदिनको टुर मज्जाको हुन्छ । यहाँ नाइट स्टे गर्न पनि होमेस्टेहरु छन् । रेष्टुराँ, होटलहरु पनि छन् ।

पर्यटकीय क्षेत्र निर्माणको लागि सबैभन्दा पहिले आधारभूत पूर्वाधारको आवश्यक पर्छ । यो कुरामा सरकारले नै ध्यान दिनुपर्छ । ती कुराहरुको निर्माणको लागि नियमित बजेट आउनुपर्छ । एक वर्ष बजेट हाल्ने, त्यसको दुई वर्ष हराउने हुनु हुँदैन । नियमित निर्माण तथा मर्मत सम्भार गर्नुपर्छ । यसका लागि मन्जु थापासहितको पुरातत्वको टिम आएको थियो । दुई करोडको निर्माण सहयोग गर्ने सहमति गरेर गइसक्नु भएको छ । विभिन्न पत्रकार, सञ्चारकर्मी र मिडियाले पनि यहाँको सुन्दरतालाई प्रचार प्रसार गर्न सहयोग गरिदिए यहाँको पर्यटन मौलाउँथ्यो ।

(मुकामः वर्ष १, अङ्क १, माघचैत्र, २०७९)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै