मर्यादापुरुषोत्तम भगवान् रामले ज्ञान प्राप्त गरेको विश्वामित्रको आश्रम रामधुनी

करिब पाँचसय वर्षको प्रतिक्षापश्चात भारतको अयोध्यामा भगवान् रामको विशाल र भव्य मन्दिर निर्माण भएको छ । सो मन्दिर निर्माणमा नेपाल र भारतका करिब दुई हजार पाँच सय बढी धार्मिक स्थलबाट माटो र एक सय पचास भन्दा धेरै नदी, ताल, पोखरी र समुन्द्रबाट पानी ल्याएर प्रयोग गरिएको छ । मन्दिर निर्माणमा भगवान् रामसँग सम्बन्धित तीर्थहरूका बारे पनि चर्चा परिचर्चा भएको छ । तर यी सबै कुराहरूबीच भगवान् श्रीरामले मर्यादापुरुषोत्तम बन्ने शिक्षा प्राप्त गरेको ऋषि विश्वामित्रको गुरुकुलको भने कतै चर्चा भएको देखिएन । यो समयमा भगवान् रामले विवाह गरेको स्थान, वनवास जाँदा समय बिताएका हरेक स्थल, हनुमानले दर्शन पाएको स्थल, युद्ध गरेको स्थल, विभिन्न दानवहरूको बध गरेको स्थलहरूको चर्चा भएको छ । तर, रामले शिक्षा पाएको स्थानका बारे चर्चा भएको छैन । जुन शिक्षाका कारण, जुन ज्ञानका कारण भगवानलाई मर्यादापुरुषोत्तम बनायो त्यो शिक्षालयबारे कतै चर्चा भएको देखिँदैन । भगवानलाई पनि मर्यादापुरुषोत्तम बन्ने ज्ञान दिने गुरु विश्वामित्रको गुरुकुलबारे कतै चर्चा भएको छैन । 

ऋषि विश्वामित्रको गुरुकुल ओझेलमा परेको छ । संसारका सबैभन्दा बलशाली र बुद्धिमान रावणको बध गर्नसक्ने शास्त्र र शस्त्रको ज्ञान प्राप्त गरेको शिक्षालयबारे कतै कुनै परिचर्चासमेत छैन । अझ भन्ने हो भने श्रीरामले अग्निस्थापना गरेर पूर्णाहुति हुन नपाएका कारण हालसम्म अनवरत ज्वलित यज्ञबारे कहीँ कतै चर्चा भएको छैन । यो आलेखमा भगवान् श्रीरामले ऋषि विश्वामित्रसँग संसार विजेता रावणमाथि विजय प्राप्त गर्ने शिक्षा प्राप्त गरेको र मर्यादापुरुषोत्तम बन्ने ज्ञान प्राप्त गरेको स्थान रामधुनीबारे चर्चा गरिने प्रयास गरिने छ । 

बाल्मीकि रामायणका अनुसार ऋषि विश्वामित्र क्षत्रीय थिए । उनले कौशिकी नदीका तटमा घोर तपस्या गरे र आफूलाई ब्राह्मणका रूपमा परिणत गरे । तत्पश्चात अझ कठोर साधना गरेर गायत्री मन्त्रको सिद्धि गरे । कठोर साधना गरेर गायत्री मन्त्र प्राप्त गरेको यही कोशी किनारमा विश्वामित्रको आश्रम थियो । यही आश्रममा विश्वामित्रले भगवान् राम र लक्ष्मणलाई शस्त्र र शास्त्रको ज्ञान दिएका थिए । विश्वामित्रले अयोध्या कुमारहरूलाई शिक्षा दिन यहाँ लिएर आएको कुरा वाल्मीकि रामायणमा स्पष्ट उल्लेख छ । ऋषि विश्वामित्रले रामलाई आफ्नो आश्रमबारे बताएको कुरा वाल्मीकि रामायणमा उसरी उल्लेख गरिएको छ ।

पूर्वजा भगिनी चापि मय राघव सुव्रता ।।
नाम्ना सत्यवती नाम ऋचीके प्रति पादिता ।। ७ ।।
सशरिरा गता स्वर्गं भर्तारमनुवर्तिनी ।।
कौशिकी परमोदारा प्रवृत्ता च महानदी ।। ८ ।।
दिव्या पुण्योदका रम्या हिमवन्तमुपाश्रिता ।।
लोकस्य हितकार्यार्थं प्रवृत्ता भगिनी मम ।।९ ।।
ततोऽहं हिमवत्याश्र्वे वसामि नियतः सुखम् ।।१०।। 

वाल्मीकि रामायण बालकाण्डको ३४ सर्ग

हे  राघव ! मेरी एउटी दिदी थिइन्, जो उत्तम व्रतको पालन गर्थिन् । सत्यवती नाम भएकी उनको ऋचिक मुनीसँग विवाह भएको थियो । पतिको आज्ञाअनुसरण गर्ने उनी सशरीर स्वर्ग गइन् । उनै मेरी दिदी परम उदार कौशिकी नदीका रूपमा यो भूतलमा प्रवाहित भएकी छिन् । उनै कौशिकी हिमालयमा आश्रय लिएर नदीका रूपमा प्रवाहित भइन् । पुण्यशिला कौशिकी नदी दिव्य र रमणीय रहेको छ । अतः हिमालयका तटमा रहेकी त्यही नदीका तट (किनार) मा म नियमपूर्वक निवास गर्दछु । 

कोशीरकौशिकीरसप्तकोशी जे भने पनि एउटै नदीको नाम हो । सप्तकोशीको जलले सिञ्चित र पहाडको फेदीमा फैलिएको मैदानी क्षेत्र घनघोर जङ्गलका रूपमा प्रख्यात थियो । यहाँ विश्वामित्र, ऋष्यश्रृङ्गलगायतका ऋषिमुनिहरूको आश्रम थियो । यो वन ठूलाठूला शाकाहारी जनावरहरूको वासस्थान थियो । आजसम्म पनि यहाँ अर्ना र हात्तीजस्ता ठूला जनावरहरू प्रशस्त पाइन्छन् । यहाँ टाढाटाढाबाट राजा महाराजाहरू शिकार खेल्न आउँथे । यो क्षेत्रलाई वाल्मीकि रामायणको बालकाण्डको २९ औँ सर्गमा सिद्धाश्रम भनेर उल्लेख गरिएको छ । 

तर यो क्षेत्रमा उत्तर पहाडी क्षेत्रतिरबाट आउनेहरूका कारण भने अत्यन्त दुख थियो । उनीहरू यो जङ्गलमा शिकार खेल्न आउँथे र शिकार गरिएका जनावरका हाड, खुर, छालाजस्ता फोहोर ऋषिहरूको आश्रमतिरै फ्यालेर जान्थे । ऋषिहरूको यज्ञमा विघ्न पुऱ्याउँथे । यज्ञलाई अशुद्ध बनाउने प्रयास गर्थे । त्यसबेलाका सबैभन्दा क्रुर सुबाहु र मरिची नामका दाजुभाइ थिए । उनीहरूको अत्याचार सहिनसक्नु थियो । ऋषि विश्वामित्र कुनै बेलाका प्रतापि राजा थिए । क्षत्रीय थिए । उनी सुबाहु र मरिचीलाई पराजित गर्न सक्थे । तर हतियार बिसाएर तपस्याबाट ऋषि बनेका विश्वामित्रले युद्धबाट विश्राम लिएका कारण विवश थिए । भगवान् विष्णु त्रेतायुगमा हुने अत्याचारको समूल नास गर्न अयोध्यामा अवतरित भएका छन् भन्ने उनले थाहा पाए । अयोध्या नरेश दशरथका पुत्रका रूपमा अवतरित रामले नै उनीहरूको नास गर्न सक्छन् भन्ने उनलाई विश्वास भयो । 


 

महर्षि विश्वामित्र अयोध्या गए  । उनले दशरथसामु राम, लक्ष्मणलाई आफूले शिक्षाध्यनका लागि लैजाने भन्दै मागे । पुत्र वियोग सहेर राजा दशरथले राजकुमारहरूलाई ऋषिसँगै पठाए । विश्वामित्रले रामहरूलाई अयोध्याबाट पूर्व हुँदै गङ्गामा स्नान गराएर उत्तर सिद्धाश्रमतर्फ लिएर आए । 

इह राम महाबाहो विष्णुर्देव नमस्कृतः ।।
वर्षाणि सुबहूनीह तथा युगशतानि च ।। २ ।।
तपश्चरणयोगार्थमुवास सुमहातपाः ।।
एष पूर्वाश्रमो राम वामनस्य महात्मनः ।। ३।।
सिद्धाश्रम इति ख्यातः सिद्धो ह्यत्र महातपाः 

वाल्मीकि रामायण बालकाण्डको २९ औँ सर्ग 
विश्वामित्र भन्छन्, ‘महाबाहू हे श्रीराम ! परापूर्व कालमा देववन्दित भगवान् विष्णुले धेरै वर्ष तथा सयौँ युगसम्म यो स्थानमा रहेर तपस्या गर्नुभएको थियो । यो स्थान वहाँले वामन अवतारका लागि उद्दत हुनु पूर्वको तपस्या आश्रम थियो । भगवान् विष्णुले तपस्या गरेको यो स्थान सिद्धाश्रमका रूपमा परिचित छ ।’
वामन अवतार पूर्व बराह र नृसिंह अवतारको कथा पुराणहरूमा पाइन्छ । नृसिंह र बराह अवतार करिब एकै समयको अवतार हो । हिरण्याक्ष र हिरण्यकश्यप दाजुभाइको संहार गर्नका लागि यी अवतार लिइएका हुन् । तत्पश्चातको निकै कालपश्चात मात्र वामनअवतार भएको हो । बराह अवतारपछि भगवान् विष्णुले यही क्षेत्रमा घोर तपस्या गर्नुभयो । त्यसपछि ऋषि कश्यप भगवानलाई जगाउन आए । 

अयं सिद्धाश्रमो नाम प्रसादात् ते भविष्यति ।
सिद्धे कर्मणि देवेश उत्तिष्ठ भगवन्नितः ।।१८।।

वाल्मीकि रामायण बालकाण्डको २९ सर्ग । ऋषि कश्यप भन्नुहुन्छ, ‘देवेश्वर ! भगवन् ! तपाईंको तपस्याका कारण यो स्थान सिद्धाश्रमका रूपमा भविष्यमा विख्यात हुनेछ, अब तपाईंको तपस्या पूर्ण भयो अतः यहाँबाट उठ्नुहवस् ।’ त्यसपछि अदितीका पुत्रका रूपमा भगवान् वामनका रूपमा अवतरित हुनु भएको पुराणमा उल्लेख छ । बराह अवतारपछि तपस्यारत भगवान् विष्णुलाई कश्यप ऋषिले उठाएपछि भगवान्ले यही स्थानमामा आफ्नो बराहरूपलाई जगतको हितका लागि स्थापित गर्नुभएको हो । यो स्थान हाल बराहक्षेत्रका रूपमा संसारभर प्रख्यात छ । यस प्रकारले विश्वामित्रले रामहरूलाई बराहक्षेत्रको नजीक रहेको सिद्धाश्रममा रहेको आफ्नो आश्रममा लिएर आए । 

यहाँ आएर उनले सिद्धाश्रमको परिचय गराए र यहाँबाट उत्तर देखिने पञ्च पर्वतको परिचय गराए । उनले बराह पर्वतका रूपमा हालको महाभारत पर्वत शृङ्खला देखाए । यस्तै उत्तर पूर्वमा हाल कञ्चनजङ्घा र कुम्भकर्ण मनिने पर्वत देखाए । त्यस्तै उत्तरमा हाल मकालुका रूपमा परिचित शिखर देखाए । त्यस्तै उत्तर पश्चिममा रहेको सगरमाथा शृङ्खलालाई पाँचौँ पर्वतका रूपमा परिचित गराए । र वरपरका बारे पनि रामलाई बताएको कुरा वाल्मीकि रामायणमा उल्लेख छ । 

यी प्रमाणहरूबाट पनि ऋषि विश्वामित्रको आश्रम वराहक्षेत्र निकट, कोशीको किनारमा, जहाँबाट हिमालको दर्शन हुन्छ त्यहाँ थियो भन्ने पुष्टि हुन्छ । यो स्थान हाल कोशी प्रदेशको सुनसरी जिल्लामा रहेको रामधुनी नगरपालिकाअन्तर्गत इक्राही भन्ने स्थानको जङ्गलभित्र अवस्थित छ ।

प्राचीन सनातनी परम्पराअनुसार मानिसले जुनसुकै धार्मिक कार्य गर्दा अग्निस्थापना गरेर सम्पन्न गरिन्छ । मानिसका १६ संस्कार हुन्छन् । विभिन्न अनुष्ठान हुन्छन् । ती मध्ये अधिकांश संस्कार गर्नको लागि अग्निस्थापना गरेर हवन गर्न आवश्यक हुन्छ । हरेक धार्मिक कार्यहरू, संस्कारहरू गर्न अग्नि साक्षी राखेर अग्निलाई भोजन ९हवन० गराएर मात्र गरिन्छ । यो ब्रह्माण्डको स्रोत त सूर्य हुन् । सूर्यको प्रतिनिधि र अंश अग्नि हुन् । त्यसैले अग्निलाई सूर्यका प्रतिनिधिका रूपमा उनको आराधना गरेर मात्र कार्य सम्पन्न हुन्छ भन्ने सनातनी विश्वास छ । राम लक्ष्मणहरूको शिक्षाध्ययनका लागि यज्ञ आवश्यक थियो । त्यसका लागि हवन कुण्ड निर्माण भयो र अग्नि स्थापना गरियो ।

सदर्भचमसस्रुक्का ससमित्कुसुकमेच्चया । 
विश्वामित्रेण सहिता वेदिर्जज्वाल सत्र्विजा ।। ९ ।।

वाल्मीकि रामायण बालकाण्डको ३० सर्ग । यस पश्चात् कुश, चमस, स्रुक, समिधा फूलहरूबाट सुशोभित विश्वामित्र एवम् अन्य ऋत्विकसहित भएको यज्ञ वेदीमा अग्निको आवाहन गर्दा अग्नि प्रज्ज्वलित भयो । यो यज्ञकुण्डमा दैनिक हवन गरेर राम लक्ष्मण आदि विद्यार्थीहरू शिक्षाध्ययन गर्ने गर्दथे ।
यो स्थान गुरु विश्वामित्रको आश्रम थियो । एउटा आश्रम पूर्ण हुनका लागि पाँच ‘शाला’ हुन आवश्यक छ । पाठशाला, पाकशाला, यज्ञशाला, गौशाला र धर्मशाला ।

शास्त्र र शस्त्र अध्ययनपूर्व प्रत्येक दिन यज्ञशालामा हवन गरिन्थ्यो । यो क्रम दैनिकीका रूपमा चलिरहेको थियो । रामले यसै क्रममा सुबाहुको बध गरे । मारिचलाई यहाँबाट खेदाए । अन्य आततायीको पनि संहार गरे । रामले ऋषिमुनिहरूको त्राण हरण गरे र सिद्धाश्रमलाई शान्त तपस्थलीका रूपमा परिणत गर्दै थिए ।

त्यसै क्रममा विदेह ९जनकपुर० का राजा शीरध्वज (जनक) आफ्नी छोरी वैदेही (सीता) को स्वयम्बरबारे सल्लाह लिन ऋषिका आश्रममा आए । जङ्गलमा आखेटको बहानामा उनले परिवारलाई समेत लिएर आएका थिए । जनकले विश्वामित्र, ऋष्यश्रृङ्गलगायतका ऋषिहरूलाई सीता स्वयम्बरका लागि निमन्त्रणा पनि गरेर फर्किए । रामले सीतालाई पहिलोपटक त्यही ऋषिको आश्रममा देखे र मोहित भए । सीताको सुन्दरतामा मोहित राम सीताको स्वयम्बरको कुरा सुनेर उद्वेलित बने । सूर्यवंशी क्षत्रीय कुलका राजकुमारहरू पनि सीता स्वयम्बरका लागि योग्य हुने विश्वामित्रलाई लाग्यो । विश्वामित्रले रामको अवस्था बुझेर राजकुमारहरूलाई सीता स्वयम्बरमा सहभागी हुन जनकपुर लिएर गए । तर त्यो बेला राजकुमारहरूको अध्ययन सकिएको थिएन । आश्रममा रहेका ऋषिहरूलाई यज्ञको जिम्मा दिई स्वयम्बरमा सहभागी भएर आश्रम फर्किने सल्लाहमा उनीहरू जनकपुर गएका थिए । उता रामले स्थापना गरेर दैनिक हवन गर्ने गरेको यज्ञ ऋषिहरूलाई छाडेका थिए ।

जनकपुरमा सीता स्वयम्बरको भव्य आयोजना गरिएको थियो । भारत वर्षका प्रायः सबै सम्राटहरू, राजाहरू स्वयम्बरमा सहभागी थिए । अन्ततः रामको सीतासँग विवाह भयो । जनककी अर्की छोरी उर्मिलाको विवाह लक्ष्मणसँग गरियो । जनकका भाइ कुशध्वजकी छोरीहरू माण्डवीको विवाह भरतसँग र श्रुतकिर्तीको विवाह शत्रुघ्नसँग सम्पन्न भयो । राजकुमारहरू ऋषिका आश्रममा अध्ययनरत थिए । उनीहरूको विवाह राजकुमारीहरूसँग भयो । राजकुमारीहरूलाई भित्र्याउन दरबार लैजानुपर्ने भयो । दुलही भित्र्याएर अध्ययनलाई निरन्तरता दिने सल्लाहमा दुलही भित्र्याउन अयोध्या लगियो ।
राम अयोध्या पुगे । दुलही भित्र्याइयो । विवाहका सम्पूर्ण कार्यहरू सम्पन्न हुन केही दिन लाग्यो । त्यस पश्चात् अयोध्यामा सङ्ग्रालो भयो । रामले १४ वर्षका लागि वनबास जानुपऱ्यो । राम अयोध्याबाट सरयु तरेर दक्षिणतर्फ लागे । यता सुबाहु र मरिचीका सन्तान र अन्य आततायीको समुल नास भइसकेको थिएन । यिनीहरूको अत्याचार सम्झेर ऋषि विश्वामित्र पनि यता सिद्धाश्रममा फर्किएर आएनन् । त्यहाँ निवास गर्ने अन्य ऋषिहरू पनि त्यहाँबाट अन्यत्र लागे । अन्ततः रामले सुुरु गरेको यज्ञको पूर्णाहुति हुन पाएन । र, रामकै हातबाट पूर्णाहुति हुने आशामा अग्निदेवले पनि विश्राम लिएनन् ।  सो अनवरित ज्वलित त्यही यज्ञ आजसम्म पनि निरन्तर प्रज्वलित रहेको छ । 

गुरु विश्वामित्रको आश्रमबाट गएपछि भगवान् रामले कतै शिक्षा लिन पाएको पुराणमा प्रमाण भेटिँदैन । यहाँबाट गएपछि विवाह भएको, विवाह पश्चात वनवास भएको र वनवास पश्चात सीताहरण भएको कथा पुराणहरूमा वर्णित छन् । सीताहरणपश्चात युद्ध भएको, पछि सीताको त्याग गरेको कथा छ । तर विश्वामित्रको आश्रमपश्चात कतै ज्ञान पाएको उल्लेख छैन । अर्कोतर्फ राम विवाह गरेर अयोध्या गएपश्चात नै पिताको आज्ञाअनुसार वनवास गएका हुन् । उनी मर्यादापुरुष बन्ने सुरुवात नै त्यही पिताको आज्ञा पालनबाट भएको हो । उनले सत्तारराज्यभन्दा महान् पिताको आज्ञा हो भन्ने ज्ञान गुरु विश्वामित्रबाटै पाएका थिए । त्यसपश्चात उनले मर्यादा कायम राख्ने विभिन्न कर्म गरे जसले रामलाई मर्यादा पुरुषोत्तम भगवान् बनायो ।

त्रेतायुगमा कोशी नदी यसै स्थान भएर बग्ने गर्थिन् । यहाँ ऋषिहरूको आश्रम छेउ कौशिकी नदीको स्वरूपमा आठभुजा भएकी भगवतीको मन्दिर थियो । उनलाई स्कन्ध पुराणमा कौशिकी भगवती भनेर सम्बोधन गरिएको छ । पछि उनको मन्दिर पनि भत्कियो । कालान्तरमा स्थानीय किसानको सपनामा आएर यिनले म दबिएर बसेकी छु मलाई उत्खनन् गर्नु भनेर भनिन् । त्यसपछि उनलाई जमिनमुनिबाट निकालेर श्रीपिण्डेश्वर मन्दिरमा स्थापना गरियो । 
पछि सवा तीनसय वर्षअधि यो क्षेत्रमा सिद्ध महापुरुष वनस्खण्डी तपस्या गर्न भनेर आए । वनस्खण्डी बाबाले रामधुनीबारे ज्ञान प्राप्त गरे र उनले जङ्गलको बीचमा जमीनमुनि सुशुप्त अवस्थामा प्रज्ज्वलित यज्ञको उत्खनन गरे । अनि अनवरत यज्ञको प्रथा कायम राख्ने गरी संसारलाई बताएर गए । उदाशी सम्प्रदायबाट दीक्षित उनले गुरुशिष्य परम्पराअनुसार यहाँ मन्दिर स्थापना गरेर पूजाको चलन चलाए । 

बनस्खण्डी बाबाले उत्खनन् गरेर रामायणमा भएको प्रमाणहरूका आधारमा भगवान् श्रीरामले ऋषि विश्वामित्रसँग शास्त्र र शस्त्रको अध्ययन गरेर सुबाहुको बध गरेर मरिचीलाई खेदाएर यो क्षेत्रलाई पुण्य क्षेत्र बनाएको सिद्धाश्रमलाई रामधुनीका रूपमा प्रसिद्धि दिलाए  र तीर्थस्थलका रूपमा परिचित पनि गराए । 

यो क्षेत्रमा ऋषि विश्वामित्रसहित धेरै ऋषिहरूको आश्रम थियो । त्यसमध्ये स्थायी आश्रम बनाएर बस्ने ऋषि ऋष्यश्रृङ्ग थिए । ऋष्यश्रृङ्ग रामकी दिदी शान्ताका पति हुन् । ऋषि ब्राह्मण भए पनि क्षत्रीयकी छोरी शान्तासँग विवाह गरेका थिए । उनै ऋष्यश्रृङ्गको प्रमुख आचार्यत्वमा दशरथले आयोजना गरेको पुत्रेष्ठी यज्ञकै फलस्वरूप भगवान् रामसहित चार भाइको जन्म भएको पुराणमा उल्लेख छ । ऋष्यश्रृङ्गको जन्म कोशी नदीमा विभाण्डक ऋषिको वीर्य पतन भएको र सो वीर्य मृगिणीले पान गरेका कारण मृगिणीको कोखबाट भएको पनि पुराणहरूमा उल्लेख छ । 

भगवान् श्रीरामले स्थापना गरेको यज्ञ भएको, भगवान रामलाई मर्यादापुरुषोत्तम बन्ने ज्ञान प्राप्त भएको गुरु विश्वामित्रको यो आश्रम क्षेत्रबारे व्यापक प्रचार र प्रवर्द्धन जरुरी छ । भगवान रामसँग सम्बन्धित क्षेत्रहरूलाई समेटेर भारतमा रामायण सर्किटको प्रवर्द्धन गरिएको छ । रामायण सर्किट ९परिक्रमा० मा मात्र वार्षिक करिब ४० लाख मानिसले पैदल यात्रा गर्ने गरेको बताइन्छ । रामधुनीलाई पनि रामायण सर्किटमा समेट्न सक्दा यहाँ पनि ती परिक्रमा गर्ने भक्तजनहरूको व्यापक आगमन हुने सम्भावना रहन्छ । हाम्रो धार्मिक र कुटनैतिक प्रयास त्यसतर्फ अग्रसर हुनुपर्दछ ।

अर्कोतर्फ हेर्ने हो भने नेपालको दक्षिण सीमाना जोडिएको भारतको उत्तर प्रदेशतर्फ अवध क्षेत्र पर्दछ । बिहारमा मैथिलीहरू बसोबास गर्छन् । अवधमा बस्नेलाई अवधी भनिन्छ । अधिकांश अवधी र मैथिलीहरू भगवान् रामका भक्त हुन् । ती अवधी र मैथिलीहरू माझ हामीले रामधुनीबारे प्रवर्द्धन गर्न सक्यौँ भने प्रचार गर्न सक्यौँ भने कोशीको पर्यटनले बेग्लै उचाइ प्राप्त गर्ने विश्वास गर्न सकिन्छ । 

मुकाम, कोशी प्रदेश भ्रमण वर्ष २०८२ विशेषाङ्कबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै