पर्यापर्यटनको केन्द्र कोशी प्रदेशका निकुञ्ज र आरक्षहरु (फोटोसहित)

कोशी प्रदेश शिखर पर्यटनको मात्रै नभई पर्यापर्यटनको पनि उत्कृष्ट गन्तव्य हो । संसारका दुर्लभ वन्यजन्तुका विभिन्न प्रजातिको बासस्थान रहेको छ । कोशी प्रदेश विश्वकै दुर्लभ सेतो अर्ना, रतुवा, नीलगाई, अजिंगरजस्ता दुर्लभ वन्यजन्तुको बासस्थान मानिने कोशीटप्पु वन्यजन्तु आरक्ष परदेशी साइवेरियन चराहरूको जाडो छल्ने आश्रयस्थल पनि हो– जो सडकमार्ग भएर कोशी प्रदेशमा पाइला टेक्ने बित्तिकै सुरु हुन्छ भन्दा पनि फरक पर्दैन । त्यसै गरी हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारलजस्ता लोपोन्मुख वन्यजन्तु पाइने सगरमाथा राष्ट्रिय निकुञ्ज विश्वको सर्वेच्च शिखर सगरमाथालाई समेटेर फैलिएको छ ।

अरुण नदीको छेउछाउको उष्ण जंगलदेखि हिमालयको उच्च भागसम्म फैलिएको विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको संरक्षित क्षेत्र मकालु–बरुण राष्ट्रिय निकुञ्ज पनि कोशी प्रदेशमै पर्छ । दुर्लभ वन्यजन्तु हिउँ चितुवा, नाउर, रेडपान्डाका साथै कुट्की, बिख्मा जस्ता जडीबुटी पाइने कञ्चनजंघा संरक्षण क्षेत्र कोशी प्रदेशमै पर्छ ।

विविधताले भरिपूर्ण कोशी टप्पु वन्यजन्तु आरक्ष
सुनसरी, उदयपुर र सप्तरी जिल्लामा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्ष अर्नाको राजधानी मानिन्छ । निकुञ्ज राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित प्रजाती, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धी एपेण्डिक्स् थर्ड मा सूचीकृत तथा आई . यु. सि. एन. को इनडान्जेरेड सूचीमा रहेको दुर्लभ वन्यजन्तु अर्नाको संरक्षणको गर्ने उद्देशयले २०३२ सालमा आरक्षको स्थापना गरेको हो । मध्यवर्ती क्षेत्रमा सप्तरीको सप्तकोशी नगरपालिका, कंकालिनी हनुमान नगरपालिका, सुनसरीको कोशी गाउँपालिका, बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाका केही वडाहरु पर्दछन् ।

पछिल्लो समयमा अर्नाको सङ्ख्यामा वृद्धि भएको छ । कोशी टप्पुभित्र हाल अर्नाको कूल सङ्ख्या पाँच सयभन्दा बढी पुगेको छ । वि।स। २०७४ मा भएको गणनामा आरक्षभित्र ४४१ वटामात्र अर्ना रहेका पाइएको थियो । विसं २०३२ मा स्थापना भएको कोशी टप्पुमा शुरुमा ६३ वटामात्र अर्ना रहेका थिए । घरपालुवा भैँसीहरुको पूर्वज मानिने अर्ना नेपाल, भारत, भुटान, कम्बोडिया, थाइल्याण्डमा पाइन्छ । विश्वको करिव ८२ प्रतिशत सङ्ख्या भारतको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा छ । दोश्रो ठूलो सङ्ख्या कोशी टप्पुमा रहेको यस आरक्षले जनाएको छ ।

वि.सं.२०३२ मा स्थापना भएको आरक्षको क्षेत्रफल १७५ वर्ग किलोमिटर मात्र रहेको छ । आरक्षमा रहेका जंगली जनवारको अनुपातमा यो क्षेत्र अत्यन्तै न्यून हो । सरकारले २०६१ सालमा आसपासको क्षेत्रलाई मध्यवर्ती क्षेत्रको रुपमा घोषणा गरेको थियो । यसको क्षेत्रफल १७३ वर्ग किलोमिटर पर्छ ।  यो आरक्ष नदीको बालुवाबाट बनेको टप्पु भएको कारण यहाँ प्रायः सिसौ र खयरको जंगल पाइन्छ । हाँसका विभिन्न जातहरू, दुई किसिमका लालसर र धेरै किसिमका बकुल्ला, गरुड, सारस र अन्य पानी चराहरू समेत गरी करिब ४९० प्रजातिका चरा यहाँ पाइन्छन् । विश्वभरका चरा यहाँ पाइने भएकाले यसलाई चराहरुको राजधानीको रुपमा पनि चिनिन्छ । 

जलचरहरूमा घडियाल तथा मगरगोही, सोंस र विभिन्न किसिमका माछाहरू यस आरक्षका विशेषता हुन् । घाँसे मैदान, खयर, साल तथा सिसौ लगायतका वनस्पतिहरू पाइन्छन् । लोपोन्मुख अवस्थामा रहेका अर्नाबाहेक अन्य २० प्रकारका साना ठूला जनावरहरू जस्तैः हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर, अजिंगर आदि यहाँ पाइन्छन् । विश्वमा नै दुर्लभ मानिएका ४४१ प्रजातिका चराचुरुङ्गीहरू, हाँस प्रजातिका २० वटा, जलचरा प्रजातिका ११४ वटा पंक्षीहरू, कोशी नदीमा ८० प्रजातिका माछाहरू र दुर्लभ घडियाल गोही तथा ग्यांगेटिक डल्फिन पाइने गरेको छ ।

आरक्षमा प्राप्त सेवा सुविधा
कोशी टप्पु आरक्ष कोशी प्रदेशको राजधानी विराटनगरबाट ५० किमी उत्तरपश्चिममा पर्छ । काडमाडौँ–विराटनगर जहाजमा आएर साना गाडीबाट यहाँ पुग्न सकिन्छ । धरानबाट ४० किमी पश्चिम दक्षिणमा पर्छ । यहाँबाट ठूला शहर इटहरी, धरान र विराटनगर नजिक पर्छन् । यहाँ कात्तिकदेखि फागुनसम्म अर्ना र चराको संसार घुमघाम र दृश्यावलोकनका लागि बढी उपयुक्त पाइन्छ । यो याममा युरोप अमेरिकलगायतबाट अत्याधिक पर्यटकहरु आउने गरेका छन् । 

सगरमाथा राष्ट्रिय निकुञ्ज 
पूर्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज विश्वको सर्वाच्च शिखर सगरमाथालाई समेटेर फैलिएको छ । सगरमाथासँगै ६,००० मिटर भन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्से सार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिम चुचुराहरू पनि यस निकुञ्जमा पर्छन् । यहाँ स्थानीय बासिन्दा र पर्वतारोहीहरूले प्रयोग गर्दै आएका गोक्यो, खुम्बु, छुकुम र नाङ्गपा मुख्य चार वटा उपत्यकाहरू रहेका छन् । यस निकुञ्ज भित्रको गोक्यो र सम्वद्ध ताल सन २००७ मा रामसार सूचीमा समेत समावेश गरिएको छ । सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।

यस राष्ट्रिय निकुञ्जमा गोब्रे सल्ला, ठिंग्रे सल्ला, हेमलक, धुपी, भोजपत्र, गुराँस जातका रुखहरू पाइन्छन् । कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारल जस्ता वन्यजन्तुहरूका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुंगा) र पहेंलो चुच्चे काग लगायत १९३ प्रजातिका चराहरू यस राष्ट्रिय निकुञ्जका मुख्य आकर्षण हुन् ।

यो राष्ट्रिय निकुञ्ज सांस्कृतिक महत्त्वको क्षेत्र पनि हो । यहाँका तेङ्वोचे, पाङ्वोचे तथा थामे गुम्बाहरूमा बौद्ध धर्मको शिक्षा–दीक्षा प्रदान गरिन्छ । खासगरि सगरमाथा हिमाल र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलाकेन गर्न बर्सेनी हजारौँ पर्यटकहरू यहाँ आउने गर्दछन् । पर्यटनको विकासबाट यहाँका बासिन्दाहरूको आर्थिक विकासमा ठुलो टेवा पुगेको छ ।

पर्यटकहरूका लागि नाम्चे – कालापत्थर, गोक्यो ताल, ठमे उपत्यका, फोत्र्से, आधा शिविर आदि प्रसिद्ध प्रसिद्ध ट्रेकिङ मार्गहरू हुन् । त्यहाँसम्म पुग्नको लागि लुक्लासम्म हवाई मार्ग प्रयोग गर्ने हो भने २ दिनको पैदल यात्रा गर्नुपर्छ । फाप्लु सम्म हवाई मार्ग प्रयोग गर्ने हो भने चाहिँ ५ दिनको पैदल यात्रा गर्नुपर्छ । भण्डारसम्म बस यात्रा गरेमा ८ दिनको पैदल यात्रा र सल्लेरीसम्म बस यात्रा गर्दा ५ दिनको पैदल यात्रा गर्नुपर्छ । यो क्षेत्रमा घुम्न जाँदा असोजदेखि मङ्सिर या चैतदेखि ज्येष्ठसम्मको मौसम अनुकूल हुन्छ । सो क्षेत्रमा लेक लाग्ने समस्या आउन सक्ने हुनाले उचित औषधि बोक्नुपर्छ । यस निकुञ्ज घुम्न जाँदा कहाँ बस्ने भन्ने चिन्ताले हरेक यात्रुलाई सताउँछ । निकुञ्जको छेउमा पूर्ण रूपमा सुसज्जित होटेल र रिसोर्टहरू छैनन् तर त्यहाँ नजिकै केही होमस्टे र लजहरू छन्, जसले आधारभूत सुविधाहरूसहित आरामदायी र सुविधाजनक आवास प्रदान गर्दछ । सजिलोसँग बस्नको लागि यती माउन्टेन होम फाकडिङ, थान्का इन, एभरेस्ट इन र होटेल खांगरीमा बुकिङ गर्न सकिन्छ ।

सबै पर्यटकको सुविधाका लागि यो निकुञ्ज २४ घण्टा खुला रहन्छ, तर सूर्यास्तअघि नै घुम्न जानु उचित हुन्छ । स्थानीय वन्यजन्तुहरूको उपस्थितिको कारण, अँध्यारोमा पदयात्रा र पदयात्रा अलि जोखिमपूर्ण हुन्छ । प्रवेशको लागि सगरमाथा राष्ट्रिय निकुञ्जको आगन्तुक केन्द्रबाट पहुँच पास किन्नु पर्छ, जुन मोन्जो र नाम्चे बजारमा अवस्थित छ । राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नेपाली जनताहरूले २५ रुपैयाँ मात्रै तिर्नुपर्छ भने सार्क राष्ट्रका पर्यटकहरूले १५ सय र अन्य देशका नागरिकहरूले तिन हजार रुपैयाँ तिर्नुपर्छ । पहुँच पास जारी गर्न राहदानी आवश्यक हुन्छ ।

यस निकुञ्जमा अन्य यी अनुभवहरू सँगालेर यात्रा यादगार बनाउन सकिन्छः
पैदल यात्राः सगरमाथा राष्ट्रिय निकुञ्जमा, पदयात्रा गर्नु पर्यटकहरूमाझ सबैभन्दा लोकप्रिय गतिविधि हो । जङ्गल भित्रका पहाडी पथहरूबाट पहाडहरू र उपत्यकाहरूको उत्कृष्ट दृश्यहरू हेर्न सकिन्छ । मानिसहरूले धेरैजसो आफैँ पदयात्रा गर्न सक्छन् तर स्थानीय शेर्पाहरूले समेत केहि पैसा लिएर पर्यटकहरूलाई गाइड गर्छन् ।
गोक्यो लेक स् क्याम्पिङः सगरमाथा राष्ट्रिय निकुञ्जमा अवस्थित यो सुन्दर ताल , जुन जाडोमा जमेर रहन्छ । खुला आकाश मुनि पाल लगाएर क्याम्पिङ गर्दा खुबै रमाइलो हुन्छ । गोक्यो तालबाट सगरमाथाको मनोरम दृश्यहरू हेरेर आनन्द लिँदा झन् फरक अनुभव हुन्छ । कालापत्थरबाट सगरमाथा हेर्नेः सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र रहेको काला पत्थर सगरमाथाको सबैभन्दा नजिकको दृश्य हो । छछद्धछ मिटरमा अवस्थित, यो मनमोहक स्थानमा पुग्नु अघि एक ठाडो आरोहण अनुभव गर्न आवश्यक छ । सगरमाथा मात्रै होइन, हिउँले भरिएको हिमालयका चुचुरा र दायराहरूको मनोरम दृश्यले पदयात्रालाई झन् सार्थक बनाउँछ ।
माउन्ट ताबोचे सम्म पदयात्राः ताबोचे गुम्बा एक सुन्दर स्तूप र बौद्ध धर्म प्रचार र प्रचार केन्द्र हो । ताबोचे सम्मको पदयात्रा ठाडो र चुनौतीपूर्ण छ, तर उच्चतम बिन्दुमा रहेको यो ठाउँ पुगेर वरपरका दृश्यहरूले हृदयलाई आनन्दित बनाउँदछ ।

 

मकालु बरुण राष्ट्रिय निकुञ्ज
मकालु बरुण राष्ट्रिय निकुञ्जको स्थापना वि. सं. २०४९ मा भएको हो । जसको नामाकरण मकालु हिमालको नामबाट गरिएको हो । अरुण नदीको छेउछाउको उष्ण जंगलदेखि हिमालयको उच्च भागसम्म फैलिएको मकालु–बरुण राष्ट्रिय निकुञ्ज विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको संरक्षित क्षेत्र हो । जुन समुन्द्री सतहबाट ८ हजार मिटरको उचाइमा छ । मकालु–बरुण राष्ट्रिय निकुञ्ज २ हजर ३३० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

यस निकुञ्जभित्र मकालु हिमाल ९८ हजार ४६३ मिटर अग्लो० लगाएत ७ हजार ३१९ मिटर अग्लो चाम्लाङ्ग हिमाल ७ हजार १२९ मिटर अग्लो बरुन्त्से हिमाल, ६ हजार ६५४ मिटर अग्लो मिरा पिक लगायतका हिमालहरू छन् । यो निकुञ्ज समुद्र सतहबाट ४ सय ३५ देखि ४० किमि उत्तर–दक्षिण दूरीभित्र ८ हजार ४ सय ६३ मिटर अग्लो विश्वकै पाँचौं अग्लो हिमाल मकालु हिमालसम्म फैलिएको छ । अहिले निकुञ्जको मुख्यालय संखुवासभा सदरमुकाम खाँदबारीदेखि करिब ७ घण्टा दूरीको हेदाङ्ना भन्ने स्थानमा छ । 

सोलुखुम्बुमा पर्ने निकुञ्जको क्षेत्रमा ६ हजार ६ सय ५४ मिटर उचाइको मिरापिक हिमाल पर्दछ । पर्वतारोहणका लागि मिरापिक क्षेत्र चर्चित छ । सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट निकुञ्जभित्र पर्ने बुङ क्षेत्रसम्म गाडी चल्छन् । यसको पश्चिममा सगरमाथा निकुञ्ज र उत्तरमा तिब्बतको चोमोलोङ्मा प्रकृति संरक्षण क्षेत्र पर्छ । अहिले सोलुखुम्बुको क्षेत्रतिर निकुञ्जको भागमा एउटा सेक्टर कार्यालय ९बुङ सेक्टर० छ भने त्यसअन्तर्गत छेस्काम रेन्जपोस्ट र कोथे पोस्ट छन् । पर्वतारोहणका साथै वन्यजन्तु र जैविक विविधता अवलोकनका लागि पनि प्रख्यात छ । उक्त क्षेत्रमा कस्तूरी मृग, हिमाली कालो भालु, हिउँ चितुवा, हाब्रेसँगै ४ सय ३१ प्रजातिका चरा पाइन्छन् ।

कञ्चनजंघा संरक्षण क्षेत्र 
सुकेटार विमानस्थल उत्रिएर छिरुवा हुँदै अथवा मेची राजमार्गबाट फुङलिङ सदरमुकाम हुँदै पुगिने फक्ताङलुङ गाउँपालिका–३, लिङखिमको थिवादेखि संरक्षण क्षेत्र सुरु हुन्छ  । फुङलिङ सदरमुकामबाट गाडी चढे फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोक हुँदै तमोर नदीमाथिको रानी पुल छेउस्थित हान्द्रुङसम्म जान सकिन्छ  । त्यहाँबाट कञ्चनजंघा आधारशिविर पुग्न अम्जिलेसा–ग्याब्ला–फले–घुन्सा हुँदै पैदल अघि बढ्नुपर्छ   । 

कञ्चनजंघा संरक्षण क्षेत्रमा दुर्लभ वन्यजन्तु हिउँ चितुवा, कस्तूरी मृग, रेडपान्डाका साथै कुट्की, बिख्मा जस्ता जडीबुटी पाइन्छ  । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा (८,५८६ मिटर) पनि यसैअन्तर्गत पर्छ  । यो शिखरमा उत्तरी र दक्षिणी मोहडाबाट आरोही जाने गरेका छन्  ।  सदरमुकाम फुङलिङबाट सीमावर्ती बिन्दु ओलाङचुङगोला जानका लागि गाडीबाटो खुल्ने क्रममा संरक्षण क्षेत्रभित्र रहेको इलाडाँडा–सुकेपानी भेगमा रहेको १२ सय मिटर लामो चट्टानी खण्ड तगारो बनेको छ, जसका कारण सडक निर्माण तीन वर्षदेखि अवरुद्ध छ   । 


 

नाउरको संख्या घट्दै हिउँचितुवाको बढ्दै
हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको संख्या पछिल्लो समय घट्दै गएको छ । ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा विगतका वर्षका तुलनामा यसको सङ्ख्या क्रमिकरूपमा घट्दै गएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र विश्व वन्यजन्तु कोषद्वारा संयुक्त रुपमा कञ्चजङ्घा संरक्षण क्षेत्रमा नाउरको गणना हुँदै आएको छ । विश्वमा दुर्लभ जनवार हिउँ चितुवाको प्रमुख आहाराको रूपमा नाउर मानिन्छ । 

यहाँ भाले–पोथी गरी एक हजार ६४८ नाउर रहेको गणना तथ्याङ्कले देखाएको छ । कञ्चनजङ्घा क्षेत्रमा घुन्साबाट पाङपेमा बेस क्याम्पसम्मको क्षेत्रलाई घुन्सा–खम्बाछेन, याम्फुदिनको रामजेल, चेइरामदेखि कञ्चनजङ्घा हिमालको पूर्वी बेसक्याम्पको क्षेत्रलाई राम्जेर, ओलाङचुङगोलाको याङमा क्षेत्रलाई याङमा र ओलाङचुङगोलाबाट मौवाटार हुँदै चीनको तिब्बतसँगको सिमानालाई गोला मौवाटार ब्लग क्षेत्रमा विभाजन गरेर संरक्षण क्षेत्र व्यावस्थापन परिषद्ले विगतदेखि नै नाउरको गणना गर्दै आएको छ ।

संरक्षण क्षेत्रमा कम्तीमा पनि २९ पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्रले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र कोषको सहयोगमा गरिएको ‘क्यामरा ट्रयाप’ र अन्य परीक्षणले सो संरक्षण क्षेत्रभित्रका ओलाङचुङगोला, लेलेप, याम्फुदिन क्षेत्रमा हिउँ चितुवाको सङ्ख्या २० देखि २९ सम्म रहेको संरक्षण क्षेत्रको अनुमान छ । 

मुकाम, कोशी प्रदेश भ्रमण वर्ष २०८२ विशेषाङ्क बाट साभार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै