बन्दीपुर पहाडकी रानी उपमाले चर्चित बन्दीपुर २०२५ सालसम्म तनहुँ जिल्लाको सदरमुकाम हुने गर्थ्यो । व्यापारिक केन्द्रका रुपमा स्थापित भएकाले चहलपहल निकै थियो । तर सदरमुकाम दमौलीमा सरेसँगै त्यहाँका बहुसंख्यक नेवारहरू अन्यत्र जान थाले । र विस्तारै बन्दीपुर सेलाएर भूताहा शहरजस्तो बन्दै गयो । तर पछि बाहिर रहेका बन्दीपुरेहरूले आफ्नो सुन्दर र रमणीय गाउँलाई व्युताउने अभियानमा लागे । त्यसैको उपज हो अहिलेको बन्दीपुर, जो आन्तरिक तथा बाह्य पर्यटकको विशेष रोजाइमा पर्ने गरेको छ ।
पृथ्वी राजमार्गमा पर्ने डुम्रेबाट ८ किलोमिटर दूरिमा रहेको बन्दीपुर बजारमा अहिले जताततै ढुंगा विछ्याईएको छ । धुलोधुवाँरहित वातावरण पाइन्छ । चिसो र स्वच्छ हावाले टिबीका किटाणुहरू निर्मुल पार्ने भएकाले पहिले पहिले विभिन्न स्थानबाट रोग निको पार्न रोगीहरू आउने गरेको स्थानीय समाजसेवी राजु विश्वकर्मा बताउँछन् । दर्जनौ भन्दा बढी होटल र होमस्टेहरू संचालनमा छन् । चारैतिर सफा छ । र सबैभन्दा आकर्षणको केन्द्र त्यहाँबाट सुन्दर दृश्यहरू अवलोकन गर्न पाइन्छ । बन्दीपुरबात अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमश्रृंखलाहरुको मनोरम दृश्य देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरूले जो कसैको पनि मन लोभ्याउँछ । त्यस्तै टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, महालक्ष्मी मन्दिर पनि पर्यटकको गन्तव्य बन्ने गर्छन् ।

बन्दीपुर पुगेपछि एसियाको सबैभन्दा ठूलो गुफा दाबी गरिएको सिद्धगुफाको अवलोलक समेत गर्न पाइन्छ । प्याराग्लाइडिङको आनन्द लिन पाउनुका साथै स्थानीय नेवार र मगर समुदायको कला९सस्कृतिको स्वाद लिन पाइन्छ । समाजशास्त्रमा विद्यावारिधि गरिरहेका स्थानीय राजु विश्वकर्माकाअनुसार बन्दीपुर पहिले मगर जातिहरूको थियो । तर पछि १७७८ तिर पृथ्वीनारायण शाहले काठमाडौँमा आक्रमण गर्दा भक्तपुरबाट भागेका नेवारहरू बन्दीपुर आए र यतै व्यापार व्यवसाय गर्न थाले । बन्दीपुरमा अहिले स्थानीयका विभिन्न जात्रा र सास्कृतिक गतिविधिहरू हर्षोल्लासका साथ सम्पन्न हुने गर्छन् । बन्दीपुरको पर्यटन र चौतर्फी विकासका लागि लामो समयदेखि स्थानीयहरू सक्रिय रहँदै आएका छन् । विसं २०४९ सालमा शिक्षाविद चिजकुमार श्रेष्ठको अगुवाईमा काठमाडौँमा स्थापना गरिएको बन्दीपुर सामाजिक विकास समितिले बन्दीपुरको कायापलट गर्न सहयोग गर्यो । गाउँको शिक्षा, पर्यटन र विकासका लागि विभिन्न अभियानहरू संचालन भए ।
सन्तकुमार श्रेष्ठ, चिजकुमार श्रेष्ठ र डा. मदन पियाले पर्यटन, शिक्षा र स्वास्थ्यमा नेतृत्व गरे भने नमस्तेलाल श्रेष्ठले सरसफाइमा विशेष योगदान पुर्याए । र विस्तारै चौतर्फी पहलमा बन्दीपुर देशविदेशमा चम्किँदै गयो । र अहिले सबैको आकर्षणको केन्द्रमा परेको छ बन्दीपुर । दिनहुँ सयौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेको स्थानीयहरू बताउँछन् ।
बन्दीपुरलाई विकास गर्न रानीवन क्षेत्रमा भ्युटावर निर्माणका क्रममा रहेको छ । त्यस्तै मानवनिर्मित ताल पनि बन्ने भएको छ । बन्दीपुरमा केवलकार पनि निर्माणको क्रममा रहको छ । बन्दीपुरलाई उठाउन स्थानीयवासी, व्यापारी र गाउँपालिका लागिपरेका छन् ।
प्राकृतिक सम्पदाले धनि नेपालमा बन्दीपुरजस्ता सुन्दर स्थानहरूको कुनै कमी छैन । स्थानीय र राज्यले मिलेर आफ्नो गाउँठाउँ विकास गर्ने हो भने बन्दीपुरको जस्तो विकास हाँसिल गर्न असम्भव छैन ।
विभिन्न ७ भाषामा तयार भयो बन्दीपुर गाउँपालिकाको १७ पर्यटकीय गन्तव्यको सूचना
काठमाडौं । बन्दीपुर गाउँपालिकाको १७ पर्यटकीय गन्तव्यको सूचना नेपालीसहित विभिन्न ८ भाषामा तयार भएको छ । गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना विभिन्न भाषामा तयार पारिएको हो ।
ती सूचनाहरू अब गाउँपालिकाका विभिन्न स्थानमा क्यूआर स्क्यान गरि पढ्न तथा सुन्न सकिने भएको छ । बन्दीपुर घुम्न आएका पर्यटकहरूलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सहकार्य गरिएको गाउँपालिका प्रमुख सुरेन्द्र थापाले बताए ।
मंगलबार बन्दीपुर गाउँपालिकाको कार्यालय प्राङ्गणमा एक समारोहका बीच मदानी मिडियाका अध्यक्ष विष्णुकान्त घिमिरेले क्युआर कोडसहितको सुचना गाउँपालिका अध्यक्ष थापालाई हस्तान्तरण गरेका हुन् । गन्तव्यबारे जानकारीहरू नेपाली, अंग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्च लगायतका भाषामा तयार पारिएको छ ।

बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्म पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार भएको हो ।
सूचना हस्तान्तरण भएसँगै अब बन्दीपुर गाउँपालिकाका ती पर्यटकीय गन्तव्यहरू मदानी मिडियाअन्तर्गतको टुरिजमपाना डटकममा पढ्नर हेर्न तथा सुन्न सकिने भएको छ ।
पुराना बस्तीहरूको नमूना– बन्दीपुर
बजारका घरहरूलाई पुरानै शैलीमा रहन दिएर पछाडिपट्टि थपेर आधुनिक भवन बनाउन थालिएको छ । सडकको उत्तरपट्टि हरेक घर–घर जोड्ने ऐतिहासिक पेटीलाई जस्ताको तस्तै राखिएको छ । अन्यत्रका ‘टुरिजम्’ अनुभवीहरु आएर बन्दीपुरका घरहरू लिजमा लिएर व्यवसाय गर्दैछन् । ‘बन्दीपुर छें’ भन्ने होटलचाहिं एउटा मुनाफा नकमाउने कम्पनीले संचालन गरिरहेको छ, रोटरी क्लबको सहयोगमा । आम्दानी पाँचवटा स्थानीय सामुदायिक स्कूलको लागि छुट्याइन्छ ।
बाँकी नेपालका पुराना बस्तीहरूागि हर तरिकाले नमूना बनेको छ– बन्दीपुर । तर बन्दीपुर आफ्नो लागि अझै पनि धेरै गर्न सक्छ । पहिलो कुरा त कोठा भाडा बढाउन अप्ठ्यारो मान्नुभएन ।
पर्यटन भनेको बजारको माग र आपूर्ति अनुसार चल्ने व्यवसाय न हो, यो स्थान, यहाँको संस्कृति, रमणीय दृश्य इत्यादिले थेग्ने रेट राख्न किन अप्ठ्यारो मान्नु र्पयो रु ३० डलर पर नाइट हो भने ५० डलर बनाउनुर्पयो, ५० हो भने ८० । उत्कृष्ट सर्भिससहित पर्यटनबाट पैसा कमाउने हो, र उपलब्ध मुनाफा कामदार, समुदाय र व्यवसायीमा वितरण गर्ने हो । धेरै कमाउन केको लाज ?
तर धेरै कमाउन सफा कोठा, धारामा तातोपानी, ‘ड्राई बाथरुम’ इत्यादि भएर मात्र पुग्दैन । बन्दीपुरका होटल व्यवसायीहरूले पहिले त आफ्नो हिमाल चिन्नुर्पयो– मनास्लु, हिमालचुली, धौलागिरि, गणेश, लाङटाङ इत्यादि । अनि यी हिमालका गाथा पनि बुझ्नु र्पयो जस्तै मरिस् हर्जगको ‘अन्नपूर्ण’ कृति । त्यस्तै, बन्दीपुर क्षेत्रका नेवार र मगर समुदायको संस्कृति कसरी प्रस्तुत गर्ने ? घाटु नाच बजारमा नभई परम्परागत हिसाबले छेउछाउका गाउँमा मात्र नाच्ने गरिकन पर्यटकलाई गाउँ छिराउन सक्नुपर्छ बन्दीपुरले ।
बन्दीपुर वरिपरिका पहाडको विशेष आकार छ, हात्ती जस्तो भनौं । त्यसको आफ्नै आकर्षण छ । डुम्रे बजार तथा मस्र्याङ्दी उपत्यकातर्फ मोडिएको भिरालो पहाड छ, जसलाई ‘एस्कार्पमेन्ट’ भनिन्छ । यसको पनि महत्व आफ्नै छ । यो ‘एस्कार्पमेन्ट’ को पाखामा विविध किसिमका चराचुरुङ्गी छन् भने बजारको अर्कोपट्टि प्याराग्लाइडिङ शुरु भइसकेको छ । बजारको एकापट्टि हिमालै हिमाल हेर्दै लञ्च खान पाइन्छ भने अर्कोपट्टि महाभारत लेकको पत्रपत्र नियाल्दै डिनर ।
बन्दीपुरले पाल्पालाई केही सिकाओस्, धनकुटा र चैनपुरलाई, बाग्लुङ र सिलगढी डोटीलाई । तर आफूले आफ्नै लागि पनि धेरै गर्न बाँकी छ भन्ने न बिर्सिओस् ।
कसरी पुग्नेः
काठमाडौँ–बन्दीपुरको दूरी १४६ किमी हो । बन्दीपुरसम्मै पक्की सडक छ तर काठमाडौँबाट बन्दीपुरसम्म सोझै सार्वजनिक बस चल्दैनन् । त्यसैले काठमाडौँबाट मुग्लिन हुँदै पृथ्वीराजमार्गको डुम्रे बजारसम्म बसमा जानुपर्छ । डुम्रेबाट आठ किमी टाढा छ बन्दीपुर । डुम्रे बजारमा बन्दीपुर जाने बस र जिप पाइन्छन् ।

बजारः
मुख्य बन्दीपुर बजार छ सय मिटर लम्बाइमा फैलिएको छ । त्यो भागमा सवारी साधन निषेध छ । बीचमा ढुँगा छापिएको छ । दायाँ–बायाँ इँटा, माटो, काठ र टायलले बनेका दोहोरीलता घरहरू छन् । घरहरू कलात्मक झ्याल–ढोकायुक्त छन् । प्रायः घरमा होटल÷रेस्टुरेन्ट छन् । तिनका आँगनमा बसेर खानपिन गर्न पाइन्छ ।
हिमालः
बजार छेवैको टुँडिखेल हिमाल हेर्ने राम्रो ‘भ्यू प्वाइन्ट’ हो । त्यहाँबाट हिमालको लामो लर्कन देखिन्छ, धौलागिरी, माछापुच्छे«, अन्नपूर्ण, लमजुङ, मनास्लु, हिमचुली, बौद्ध, दोर्जे लाक्पा, गणेश र लाङटाङ हिमशृंखलासम्म । विशेषतः असोजदेखि माघसम्म मोतीझैँ टल्किन्छन् ती ।
ह्वाइट लेकः
बन्दीपुरबाट तल मस्र्याङ्दी भ्याली चित्ताकर्षक देखिन्छ । बिहान सेतो कुहिरोले ढपक्कै ढाक्दा सेतो तलाउझैँ लाग्छ । दिउँसो खुलेपछि तल–तलका बस्ती, खेतबारी र मस्र्याङ्दीको सौन्दर्यले मन हर्छ । खास गरी, मंसिरदेखि माघसम्म ‘ह्वाइट लेक’ देखिन्छ ।
फूलबारीः
नेवार समुदायको बसोबास हुनुअघि बजारमा मगर बस्ती थियो । आज जातीय विविधता देखिन्छ । गुरुङ, मगर, नेवार, क्षत्री, बाहुन मिलेर बसेको रंगिन फूलबारीजस्तै छ बन्दीपुर ।
सिद्धगुफाः
बजारबाट डेढ घण्टा तल अजंगको सिद्धगुफा छ । त्यसभित्र कतै साँघुरो गल्छी छ भने कतै फुटबल खेल्न मिल्ने फराकिलो चौर । साथै, विभिन्न देवदेवीका आकृति झल्काउने चित्राकृति पनि छन् । गुफा पूरै घुम्न तीन घण्टा लाग्छ । गुफामा गाइडबिना घुम्न सकिँदैन । टिकट काउन्टरमा गाइड सुविधा पाइन्छ ।
धार्मिक सम्पदाः गाउँमा केही मन्दिर छन्, विन्ध्यवासिनी, थानीमाई, खड्गदेवी, महालक्ष्मी र महादेवका । बजारमाथि डाँडामा एउटा गुम्बा छ । गुम्बाभित्र शाक्यमुनि बुद्धका मूर्ति छन् ।
स्मारकः
डाँडामा एउटा शहीद स्मारक छ । विसं २००७ को जनक्रान्तिका बेला तनहुँका सात जना शहीद भएका थिए । पुलिम¥याङका धर्मध्वज थापा, तनहुँसुरका उत्तमकुमार श्रेष्ठ, धर्मराज श्रेष्ठ र सन्तबहादुर रानामगर, सिम्पानीका चन्द्रबहादुर सार्की तथा वसन्तपुरका खड्गबहादुर गोदार । त्यहाँ पुगेर उनीहरूप्रति श्रद्धाको मनफूल चढाउन सकिन्छ ।
हाइकिङः
बजारबाट गुरुङचेडाँडा, बाहुनभञ्ज्याङ, झारागाउँ हँुदै ताकमारेको डाँडा, छिम्केश्वरी, रामकोट, हिलेखर्क, बाघथला हाइकिङ गर्न सकिन्छ । नजिकैको गुरुङचेडाँडा सूर्योदय र सूर्यास्त हेर्न कहलिएको छ ।
प्याराग्लाइडिङः
पोखराको आकाशमा चराझैँ फनफनी घुम्ने सुविधा बन्दीपुरमा पनि पाइन्छ । केही कम्पनीले बन्दीपुरबाट प्याराग्लाइडिङ गराउँछन् । बन्दीपुर बजारमै तिनका काउन्टर छन् । टिकट काटेर उड्न सकिन्छ । बजेट र रुचिअनुसार २५ मिनेटदेखि एक घण्टासम्म बन्दीपुरमाथिको आकाशमा फन्को मार्न सकिन्छ ।
चट्टान आरोहणः
बन्दीपुर क्षेत्रकै विमलनगरमा चट्टान आरोहण गर्न सकिन्छ । त्यहाँको प्राकृतिक चट्टानमा अनुभवीहरू आरोहण गर्छन् । पृथ्वीराजमार्गसँगै जोडिएको चट्टानमा गाइडको रेखदेखमा आरोहण गराइन्छ ।
सूचना केन्द्रः
मुख्य बजारमा सूचना केन्द्र छ । त्यहाँबाट बन्दीपुर क्षेत्रको जानकारी लिन सकिन्छ । आवश्यक गाइड र सहयोगीको चाँजोपाँजो पनि त्यहीँबाट मिल्छ ।
कोसेलीः
बजारबाट बन्दीपुर लेखिएका टिसर्ट, हँसियासहित खुर्पेटो, ताउलो, साना गाग्री, कलश, दियो र गेडागुडी कासेली ल्याउन सकिन्छ ।
होम–स्टेः
बजार छेउको चन्दिनी पिपलथोकमा होम–स्टे सुविधा छ । त्यहाँ नेवार, क्षत्री, सुनार, मगर र कपालीका १५ घरमा होम–स्टे गराइन्छ । जहाँ एकै रात ७० जना अटाउँछन् । ६ सय ५० रुपैयाँको होम–स्टे प्याकेजमा खाजा, खाना र बासको सुविधा पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन
- परशुराम चौहानको अन्तर्राष्ट्रिय फड्को, पाए यस्तो सम्मान
- राष्ट्रिय वाणिज्य बैंकले कृषिमा प्राथमिकताका साथ लगानी बढाउँदै
- खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक एनआईसी एशिया बैंकको आग्रह


ट्रेन्डिङ
खबरमुकाम







