धर्ती, पितृ र प्रकृतिका पूजारी किरात बाहिङ : उत्पत्ति, संस्कृति र अवस्थिति

किरात बाहिङ जातिहरुको ठूलो पितृ संस्कार सेग्रो/ हङ मान्दा, बाहिङ सांस्कारिक भाषा फ्रेलो/ फ्लेलोबाट उत्पत्तिको कुरा (सुम्निलो) बिजुवा धामी/ झाँक्रीहरुमा अलौकिक शक्ति ग्रहण भई बक्खान्ने र तुम्लोचा, ध्यावानक्सो, नक्सो, ङाबुचा, चयचाहरु र पुर्खाहरुले सेग्रो/ हङ गर्दा उत्पत्तिको कथा फलाक्दा पृथ्वीको उत्पत्ति हुन पहिले निरामय–निराकार शून्य अवस्था थियो । सूर्य (नीनीनाम् बानीनाम्) बाट उछिट्टिएर (च्यङ्घ्लेस्ता) पृथ्वी (च्यङ्माखा–मयोखो) सँगै जम्मा ९ ग्रह बन्न गयो । तत्काल धर्तीमाता तातो भएकोले उक्त तातो बाफ बादलको रुपमा (कुक्स्यालग्वा–जोबुग्वा) पृथ्वीलाई पुरै ढाक्यो । यही बादल पृथ्वीमा चिसिएर वर्षा (रेर्‍ वाकु–जिम्तिकु) भयो । वर्षा भएर धर्तीमातामा परेको पानी (सिबुकु–माबुकु) को सृष्टि हुन पुग्यो । सोही पानी धर्तीमा नदी (ङाकु–ब्रिङ्कु्र) को रुपधारण गरी वर्षाले सेलाउँदै गरेको पृथ्वीको गहिरो खोल्सा हुँदै सेलाउँदा खुम्चिएर बनेको विशाल खाल्डोमा टेथिस सागर (ग्लोबुनो–मुर्सानो) बन्न पुग्यो ।

कालान्तरमा धर्ती माता फाट्न गई पहिलो नारी सृष्टिकर्ताको रुपमा मामाचिनीमो धर्तीको गर्भबाट उत्पत्ति भइन् । उनी हुर्कंदै बढ्दै, आजभोलि गर्दै जवान र्‍भइन् । प्रकृतिको नियम होला सायद मामाचिनिमो जवानीको उन्मादले पुरुषको खोजीमा लागिन् । माटोको पुरुष स्वरुप बनाई लोग्ने बनाउन खोजिन्, यो पनि सम्भव भएन । ढुंगालाई पुरुषको रुपमा धारण गर्न खोजिन् यो पनि हुन सकेन । पहाडसँग यौन इच्छा पूर्ति गर्न खोजिन् सम्भव हुन सकेन । पुरुषको खोजीमा व्यग्र भएकी मामाचिनीमो अन्ततः अग्लो पहाडको (जोजुमा–अम्फोमा) टुप्पामा उनी गएर उत्तानो परी थकाइसँगै निदाउन पुगिन् । त्यसै बेला बताससँगै (हेलेजु–थोमोजु) बतासको आत्मा आएर उनको संसर्ग हुन पुग्यो र उनको यौन चाहना पुरा भई गर्भिणी भइन् । यसरी किरात बाहिङहरुको उत्पत्तिमा आमा मामाचिनीमो र बुबा (बतासको आत्मा) हुन गयो । त्यसैले बायुबाट बाहिङ भएको हो । किरात बाहिङको सुम्निलो (उत्पत्तिको कुरा) मा प्रष्ट रुपमा प्राकृतिक नियम संगत भाले र पोथीको आवश्यकता अपरिहार्य रुपमा स्थापित भएको पाइन्छ । किरात बाहिङ धामी झाँक्रीहरुले चिन्ता बस्दासमेत यसरी फलाक्ने गर्दछन् “इनी बायु लेङाना यिनी बायु रिप्झुङ्मादी, सुमापाई नुम्यिनीको” यसको शाब्दिक नेपाली अर्थ हजुरको आत्मा मैले पुज्दा हजुरको आत्माको छत्रछाया लिइ्दिनुस्, मानिदिनुस् । यसले किरात बाहिङहरु हावाको आत्माबाट जन्मिएको हो भन्ने पुष्टि हुन्छ ।

गर्भिणी मामाचिनीमो समय पुगेपछि उनले छोरी निनिर्‍ याङ्मा- मर्‍ याङ्मा/ निनिर्‍ याङ्मा–कोकोर्‍ याङ्माको जन्म दिइन् । प्राकृतिक नियम होला सायद, आजभोलि गर्दै निनिर्‍ याङ्मा हुर्कंदै गइन् । उमेरले जवान भएकी उनको पनि आमा मामाचिनीमो जस्तै पुरुषको खोजिमा धर्तीमाता भरि यत्र- तत्र भौँतारिँदै खोज्न थालिन् । दुःखको कुरो उनले कुनै पनि मानव पाइनन् । किनकि धर्तीमा, मात्र उनको जन्म दिने आमा मामाचिनीमो र उनी मात्र थिए । निनिर्‍ याङ्मालाई आमाजस्तै यौन उन्मादले सताएको थियो । तर त्यहाँ कुनै पनि जिवित लोग्ने हुन लायक फेला पारिनन् । पुरुषको खोजीमा पृथ्वीभरि चहारिन अन्ततः लखतरान भएका निनिर्‍ याङ्मा उनको आमाले जस्तै पहाडको थुम्कोमा यौन प्यास र थकाइसँगै बेहोस भई ढल्न पुगिन् । त्यसै बेला बतासको आएर उनीसँग संसर्ग गर्न लाग्यो । यस्तो अवस्था देखेर उनकी आमा मामाचिनीमोले उनलाई संसर्ग गर्नबाट रोकिन् र भनिन् “निनिर्‍ याङ्मा तैंले हावासँग संसर्ग गर्न हुन्न त्यो त तेरो बुबा पापाचादुबुङ हो । बरु अरु अन्तै खोज” भनी सम्झाएपछि निनिर्‍ याङ्माले पृथ्वीभन्दा अन्तैतिर विवाहको लागि सोच गरिन् । यो नै पहिलोचोटि निनिर्‍ याङ्माले आफ्नो बुबा हावा पापाचादुबुङ् भएको जानकारी आमाबाट परिचित भइन् ।

दोस्रो सृष्टिकाल 

आमा मामाचिनीमोको आज्ञा मान्दै, धर्तीबाट आकाशतिर निनिर्‍ याङ्माले हेर्दा रुवापा (शुक्र) सारै राम्रो धपक्क बल्ने चम्किलो देखिन् । उनले शुक्रलाई भित्री मनले नै लोग्ने बनाउन चाहिन् । उनले विवाह प्रस्ताव पठाउने निधो गर्दै जिखियौङ्मा–खिदियौङ्मा दुई चराहरुलाई लमी (फुप्चा) को जिम्मेवारी दिई विवाह प्रस्ताव शुक्र समक्ष पठाइन् । दुवैले पवित्र जाँड र रक्सी शुभ कोसेली स्वरुप, दासुवा (बाहिङ परम्परागत पोशाक) झोला भिरेर विवाहको प्रस्ताव लगेर जाँदा शुक्र भएको ठाउँमा पुग्नु पहिले नै शुक्र अस्ताएछ, र शुक्रको स्थानमा घुम्दै आफ्नो बाटो हुँदै वृहस्पति (सिलापा) सोही ठाउँबाट घुम्दै पुगेछ । लमी दुवैले विवाहको प्रस्ताव पवित्र विधि अनुसार जाँड रक्सीको कोशेली सहित निनिर्‍ याङ्माको विवाह प्रस्ताव वृहस्पतीसँग राखे । वृहस्पतीले “यो विवाह प्रस्ताव मलाई होइन शुक्रलाई हो ऊसँगै प्रस्ताव लिएर जानु” भनी सुझाव दिए ।

विधि अनुसार रक्सी जाँड वृहस्पतीको अगाडि राखेर दुई हात जोडेर अनुरोध गर्दा समेत वृहस्पतीले उनीहरुको अनुरोध मानेनन् र भने, “म उनीसँग बिवाह गर्न सक्दिनँ” बरु शुक्रसँग यो प्रस्ताव लान सुझाव दिए । निनिर्‍याङ्माले पठाएको तीनचोटिको अनुरोधले वृहस्पतीले मान्न बाध्यता भए । त्यो समय तीन वाक्यमा संसार अडिएको थियो । वृहस्पतीले भने, “पक्कै पनि निनिर्‍ याङ्माले मलाई मन पराउँदिनन् म कालो र गलागाँड (सोगोलोक्पा भेगोलोक्पा) भएको छु, राम्रो छुइनँ । यदि निनिर्‍ याङ्माले मलाई मन पराइन भने मेरो मन पर्ने चिनो काँङ्गियो ठोक्रो (आसिकीदङ्मा) लगेर दिनु र मेरो लागि राम्रो बिछ्यौना ठिक्क पारिराख्नु । म मध्यरातमा (तुकुम्छेमा–कुरिमारीदी) धर्तीमा आउँछु । यदी उनले स्वीकारिनन् भने म त उपद्रो गर्छु ,न” यही सर्त राखी लमीलाई पठाए ।

निनिर्‍याङ्मा, वृहस्पतीले पठाएको चिनो काँङ्गीयो ठोक्रो पाएपछि मन पराइन् । वृहस्पतीले भनेजस्तै धर्तीमा बिस्तारा लगाई वृहस्पतीको पर्खाइमा बसेकी थिइन् । बृहस्पती, निनि¥याङ्मा कहाँ मध्यरातमा (तुकुम्छेमा- कुरिमारीदी) 
चाम्फुरी- बुरीफुङ्, सापाछिरि आम्फारोङ्मा, अम्बीरी, हिर्दारी, तक्पेरी, बुबुलुङ्मा जस्ता शोभनीय लुगा लगाएर धर्तीमा आए । उनलाई देखेर साँच्चिकै निनिर्‍ याङ्मा/ मामानिनी नियामोले मन पराइनन् । सिलापाले भने, “निनिर्‍ याङ्माले मलाई मन पराउँदिनन् भनेकै थिएँ । तीन वाक्यले गर्दा म आएँ । मेरो अपमान भयो । अब म उपद्रो खेलेर मात्र जान्छु” भने । पृथ्वीमा खडेरी लगाई सुक्खा बनाई आफ्नो पिसाब र विर्य कागिलो गिलिफोमा (कर्कलोको पात) मा छोडेर ब्रम्हाण्डमा उपद्रो खेलेर फर्किए । पृथ्वीको सबैै नदि–नाला र समुन्द्र खडेरी लागेर सुक्खा भई धर्ती उजाडियो । पृथ्वीभरि भएको हिउँको संसारको क्रमशः अन्त्य भयो ।

यति भएपछि वृहस्पतीले कर्कलोको पातमा पिसाब सहितको आफ्नो विर्य छोडेर पृथ्वीबाट ब्रम्हाण्ड (वाबुखु–खुनाले) तिर लागे । निनिर्‍याङ्मालाई  खडेरीले गर्दा तिर्खा प्यास र यौन प्यास दुवै कुराले निनिर्‍ याङ्मालाई सतायो । पृथ्वीभरि पानीको खोजीमा लागिन् तर कतै पानी पाइनन् । अन्तमा बेहोस भएर धर्तीमाथि ढल्न पुगिन् । त्यसै बेला प्रप्ती चरोले आएर पिसाब सहितको सिलापाको विर्य आफ्नो पखेटा र शरीर भिजाई निनिर्‍ याङ्माको शरीरभरि फिर्र, फिर्र, फिर्र गर्दै छर्किदिए । यसरी निनिर्‍ याङ्माको मुखमा वृहस्पतीको पिसाबसँगै मिसिएको विर्य उनको मुखमा पर्न गयो । पानी प्यास र यौन चाहनाले बेहोस भएकी निनिर्‍ याङ्मा पिसाबको छिटाले ब्युँझिन पुगिन् । उनलाई तिर्खाको प्यास र यौन चाहना दुवै पुरा भयो । उनी गर्भवती हुन पुगिन् । यसरी किरात बाहिङको सुम्निलो (उत्पत्तिको कुरा) मा दोस्रो सृष्टिकर्ताको रुपमा आमा निनिर्‍याङ्मा-मर्‍याङ्मा/निनिर्‍ याङ्मा–कोकोर्‍ याङ्मा/ मामानिनी मियामो र बुबाको रुपमा वृहस्पती हुन पुगे । जसलाई पितृ संस्कार र धामी झाँक्रीहरुले फलाक्दा पापालिक्पाबु–अम्बेतिक्पा भनेर वृहस्पतीलाई सम्बोधन गर्दछन् । भने प्रस्तावित बुबाको रुपमा शुक्र ग्रह हुन गयो । यही घटनादेखि विवाहको समन्वय गर्ने जिम्मेवारीको रुपमा २ जना लमी पठाउने चलनको प्रारम्भ भयो । हाल पनि किरात बाहिङहरुमा यो चलन चल्तीमा रहँदै आएको छ । तीन वाक्यको अनुरोधलाई मान्नु पर्ने चलन पनि यही बेलाबाट बसेको हो । त्यसैले किरात बाहिङ जातिमा पाहुना जाँदा वा कुनै कार्य गर्न ३ चोटिसम्म अनुरोध गरिने चलन रहिआएको छ भने कोशेलीको रुपमा रक्सी जाँड लाने संस्कार रहेको हो ।

गर्भिणी निनिर्‍याङ्मा समय पुगेपछि उनको गर्र्भ (ङेलेग्वा–जोबुग्वा) बाट पहिलो सन्तानको रुपमा वनस्पतिहरुको सृष्टि गरिन् । शुरुमा काँडेदार वनस्पति हुँदै अन्य वनस्पतिहरु सृष्टि गरिन् । उनले जन्माउँदा उनको गर्भमा काँडेदार वनस्पतिले घोचेर पीडा दिएको हुनाले उनले आफ्नो पहिलो सन्तानलाई भीर–पहरा, पाखा र अप्ठ्यारो ठाउँमा उम्रिनु बाँच्नु र रहनु भनेर सरापे । त्यसैले वनस्पतिहरु सोहीअनुसार फैलिएर भीर, पहरा, पाखातिर रहेका हुन् । किरात बाहिङभित्र बच्चा जन्मिँदा न्वारान गरिँदा जंगली कुरिलो (चब्रा) अगेनुमा पोल्ने र मूल ढोकामाथि राख्ने प्रचलन छ । यो कुरिलो निनिर्‍याङ्माले सृष्टि गरेको सन्तानहरुमा एक हो । निनिर्‍याङ्माले दोस्रो सन्तानको रुपमा जीवजन्तु (सिजे–रोजे) हरुको सृष्टि गरिन् । साना–साना जीवहरु हुँदै चाराचुरुंगी (सिङ्खे–मङ्खे) हरुको सृष्टि हुँदै, जंगली जनावर (भक्पा–र¥वासा) बाघ (गुप्सापा–पोचेपा),भालु (वाम), ढेंडुबाँदर (मोरे–सोक्से) र अन्तिम सन्तानको रुपमा मानव (निनानाप्चा) को सृष्टि गरिन् ।

निनिर्‍याङ्माले मानव सृष्टि गर्ने बेलामा ढेंडुबाँदरलाई मानव पो हो कि? भनेर चिचिमाला लगाइदिएका थिए । यो चिचिमाला नै पहिलो मानवको गहना आमा निनिर्‍ याङ्माले लगाइदिएकी हुन् । तर ढेंडुबाँदर मानव थिएनन् । अन्तिममा उनले निनानाप्चा जन्म दिइन् र उनको दाइ ढेंडुबाँदरले मानव भनेर लगाइदिएको चिचिमाला खोसेर निनार्‍ याङ्माले मानवलाई लगाइदिए । यसरी पृथ्वीमा पहिलो मानव सृष्टि प्रारम्भ भयो । उनले निनानाप्चालाई पृथ्वीको मालिक, यसको उपभोग र संरक्षण गर्ने सम्पूर्ण जिम्मेवारी कान्छो सन्तान निनानाप्चालाई सुम्पिदिइन् । त्यसकारण अहिले पनि ढेंडुबाँदरलाई मान्छेले खेद्दा चिचिचि भनेर, मेरो चिचिमाला खोई भनेर निनानाप्चालाई माग्ने गर्दछ भन्ने भनाइ रहँदै आएको छ । यसरी सुम्नी (उत्पत्ति) को दोस्रो चरणमा पहिलो वनस्पति, दोस्रो जीवजन्तु चराचुरुंगी, जंगली जनावरहरु बाघ, भालु, ढेंडुबाँदर र अन्तिम सन्तानको रुपमा निनानप्चा (मानव) को सृष्टि गरेको किरात बाहिङहरुको सुम्नीभित्र वर्णन छ । किरात बाहिङका पूर्खा त्यही निनानाप्चाका सन्तान हुन् ।

समयको क्रमसँगै आफूले जन्म दिएका जिवजन्तुहरुमा बाघ (गुप्सापा–पोचेपा) दाई र मानव (निनानाप्चा) भाइ एक अर्कामा जीवन जिउँदै गर्दा उनीहरु जंगलमा जाने, दुवै मिलेर सिकार खेल्ने र सिकार आफ्नो बासस्थानमा ल्याएर आमालाई खुवाउने र आफू खाने गर्दथे । एक दिनको कुरा हो पूर्णिमाको टहटह जूनमा भाइ निनानाप्चा रुखको हाँगामा बेलुका लुकेर घनुकाँड (ब्लागुर्था) र कोकोफ्याक्चो (बाँसको भाटाको झटारो) सहित सिकार ताक्ने क्रममा थिए । यसै क्रममा दाइ गुप्सापा–पोचेपा (बाघ) भुइँमा छर्लंग भाइको छाया देखेर । बाघले भाइको छायामा झम्टिरहेको देख्यो । यो देखेर भाइ निनानाप्चाले दाइलाई सम्झायो, “मलाई मार्न खोज्दैछस् त्यसो नगर्, मैले भनेको मान्दैनस् भने तँलाई म झटारोले तोडिदिन्छु ।” तर दाइ बाघले भनेको के मान्थ्यो र, त्यस दिन आफ्नो बासस्थानमा गएर निनानाप्चाले आमालाई सुनायो । एक दिन दुई दिन हुँदै क्रमशः यस्तो गतिविधि देखेर, निनानाप्चाले आमालाई भन्यो, “आमा दाइ बाघलाई सम्झाउनु, यो हदै भयो । यसै गरी मलाई झम्टिरह्यो भने ! म त मेरो झटारोले दाइ भन्दिनँ तोडिदिन्छु ।” निनिर्‍याङ्माले बाघलाई सम्झाइन् । “तिम्रो भाइ हो त्यसरी नजिस्काउनु” । आफू र सबै सन्तान बचाउने जिम्मेवारी निनानाप्चामाथि भएकोले पृथ्वीमा निनानप्चाले पहिलो हतियारको रुपमा कोकोफ्याक्चो र ब्ला–गुर्था प्रारम्भ गरेकी थिइन् ।

एक दिनको घटना हो । निनानाप्चा जंगलमा शिकार खेल्न दाइ बाघसँग गएको बेला बाघले भाइ निनानाप्चालाई मारेछ । बासस्थानमा निनानाप्चालाई नदेखेपछि आमाले बाघसँग केरकार गर्न थालिन् । दाजुभाइ सिकार खेल्न सँगै गएका थिए । निना¥याङ्माले बाघलाई सोधिन्, “तैले निनानाप्चालाई मारिस्?” बाघले भन्यो, “मलाई थाहा छैन” । निना¥याङ्माले “नढाँट तँ सँगै गएको तेरो भाइ तंैले मारिस्” भनेर तीनचोटि सोधिन् । त्यो सत्य युगको समय भएकोले कुनै पनि कुरा तीन वाक्यमा अडिएको हुन्थ्यो । तीनपटक भन्दा बढी झुट बोल्न मिल्दैनथ्यो । निनार्‍ याङ्माले आँ ऽऽऽ गर् भन्दा नभन्दै बाघको मुखमा निनानाप्चाका केशहरु अल्झिएको देखिन्  ।

जन्म दिने आमाका लागि आफ्नो सन्तानहरु सबै बराबरी हुन्थे । मायाले रुँदै “तैँले तेसो गर्न नहुने तैले तेरो भाइ मारिस् कहाँ छ? उसको हड्डी देखा भन्दै विलाप गरिन् ।” बाघले भाइ मारेर खाएर छोडेको हड्डीहरु भएको ठाउँमा लगेर “उ, त्यहाँ छ” भन्दै निनानाप्चाको हड्डीहरुको बाँकी अंश देखाए । त्यतिखेर सत्ययुग थियो कुनै पनि कुरा जिवन्त बनाउन सक्ने क्षमता राख्थे । त्यसैले निना¥याङ्माले गहभरि आँसु पार्दै आफ्नो सन्तान निनानाप्चाको सबै हड्डीहरु सफा गरी मिलाएर प्रकृतिक शक्तिबाट उच्चारण गर्दै जगाउने विधि (हावा–थाम्सी) गर्दै उनले निनानाप्चालाई जगाई पुनः जीवन दिइन् । सोही बेला निनानाप्चा ब्युँझिँदै “आमा म त कति निदाए पो छु” भन्यो । आमाले “अँ तँ निदाइस् होला ! तेरो दाजु बाघले तँलाई मारेर खाइदिएको थाहा छैन ।” यति भनेपछि निनानाप्चा दाइ बाघ सँगसँगै बस्न नहुने सोचमा पुग्यो र भन्यो, “आमा दाइसँग नबसौँ मलाई जसरी मा¥यो त्यसरी नै कुनै दिन हजुरलाई पनि मार्छ ।”

निनानाप्चाले सिकार गरी आमा, दाई बाघ, भालु, बाँदरलाई सिकार कन्दमुल खुवाएर बचाउनु थियो । यसै क्रममा निनानाप्चा आफ्नो दाजु दुवैलाई आमासँग घरैमा राखी सिकार खेल्न जान थाल्यो । एक दिनको कुरा हो निनानाप्चा सिकार लिएर बासस्थानमा आउँदा बाघ र भालु मिलेर आमा निनि¥याङ्मा मारेर खाएको भेट्टायो । भालुले आमाको गिद्दी खाएछ । भाइ निनानाप्चा रिसको झोकमा दाइ वाम (भालु) लाई चेप्टो ढुंगाले टाउकोमा हिर्काइदिए । त्यसैले वाम (भालु) को टाउको चेप्टो हुन गयो भन्ने भनाइ छ । दुवैलाई आमाको हड्डीहरु देखाइदिन अनुरोध गरे । दुवैले आमाको हड्डी (रुसे–कक्से) भएको सबैै कुरा देखाए । निनानाप्चाले रुँदै बिलौना गर्दै आफ्नो आमा निनि¥याङ्माको हड्डीहरु भेला पारी हावा–थाम्सी गर्दै जगाउने विधि गर्दै आमालाई जगाई र पुनः जीवन दिए । दाइ बाघ र भालुको कारण परिवारमा सँगै बस्न असम्भव भयो । भाइलाई कुनै काम नसघाउने भएकोले आमा निनि¥याङ्माकै आदेशमा दाइ बाघ र भालुलाई अलग गरी जंगलमा बस्न लगाइन् । आमाको माया त सबैलाई नै हुन्छ । जंगलमा जाने बेला भालु सजिलै गयो तर बाघले आमालाई वाचा गर्दै भन्यो “आमा हजुरले भनेको मान्छु, हजुरलाई भोक लाग्ला म हजुरको लागि सिकार मारेर टाढा राखिदिन्छु । त्यति बेला म डाँडामा गर्जें भनं गैह्रामा सिकार मारेर राखेको हुनेछु । गैह्रामा गर्जें भने डाँडामा सिकार मारेर राखेको हुनेछु । आएर खानु ल आमा” भन्दै बाघ जंगलतिर लाग्छ । उक्त दिनदेखि बाघ र भालुहरु जंगल, ओडार र प्वाललाई आफ्नो बासस्थान बानाएर बस्न थालेका हुन् ।

निनिर्‍ याङ्मासँग बस्ने ढेंडुबाँदर र निनानाप्चा मात्र भए । भाइ निनानाप्चाले सिकार सँगसँगै वनमा रहेका फलफूल, गिठा भ्याकुरहरु खोजी भेला पारी आमा र दाइलाई पाल्न थाल्यो । समय बित्दै जाँदा निनानाप्चाले पहिलोचोटि पृथ्वीमा खेतिपाती लगाउन शुरुवात गरे । निनानाप्चाले पहिले मकैको खेती गर्न थाले । किरात बाहिङ सांस्कारिक भाषामा मकैलाई हुलिजा निन्थिजा भनिन्छ । एक दिनको कुरा हो, निनि¥याङ्माले ढेंडुबाँदरलाई खेती गर्न निनानाप्चालाई सघाउन पठाए । त्यतिखेर उनीहरुको खेती गर्ने औजारको रुपमा रुखको हाँगाको ख्रुक्लाले र कोदालो (ककलेले) ले खेति गर्ने पहिलो औजारको प्रयोजन निनानाप्चाले शुरु गरे । ढेंडुबाँदर बाँदर सारै अल्छे थियो । काम नगरी त्यतिकै ख्रुक्लाले आफ्नो चाकमा अडेस लगाएर उभिइरहने गर्दथ्यो । खेती राम्रो नपाकी ढेडुबाँदरले सबै खाइदिन थालेपछि भाइ निनानाप्चालाई हदै रिस उठेछ । उनी काठको कोदालो(ककलेले) चाकमा अडेस लाएर मेलामा उभिएको ढेंडुबाँदर माथिबाट ठोकिदिए । त्यही कोदालोको बिँड पुच्छरको रुपमा विकास भयो । आमाले हदै भयो जति सम्झाउँदा पनि नसुध्रिएकोले “अबदेखि तँ जंगलमै बस्नु निनानाप्चाले लगाएको खेति चोरेर आफ्नो पेट पाल्नु” भनेर सरापेकोले ढेंडुबाँदर जंगलमा बस्ने र निनानाप्चाले लगाएको खेती चोरेर खान थालेको हो भन्ने भनाइ छ । यसर्थ विज्ञानले प्रमाणित गरिदिएको मानव उत्पत्ति र उद्विकासका सिद्धान्तमा मान्छेको पूर्खा बाँदर हो भनेको पाइन्छ भन्ने सुम्निलोमा बाँदर मान्छेको पूर्खा नभएर दाजुभाइ हो भन्ने कुरा उल्लेख छ ।

मामा निनिर्‍याङ्माको दोस्रो सृष्टि कालपछि, निनानाप्चा (मानव) का सन्तानहरु कुन पूर्खा को कता गए भन्ने कुरा हालसम्म अज्ञात छ । सम्भवतः भू–गर्भविदहरुका अनुसार टेथिस सागर भू- हलचलको कारण विलय भई विशाल तिब्बती प्लेट र इन्डियन प्लेटको दवाबका कारण टेथिस सागरबाट उच्च पहाड र हिमशृंखला बन्न पुग्यो । युरेसियाबाट अफ्रिका, युरोप, एसिया महाद्विपहरु अलग बन्न पुगे । विभिन्न भागहरु अलग भए ।

किरात बाहिङहरुले यो भू–हलचल हुन पूर्व प्रयोग गर्ने गरेको अगेना (बकल) बनाएको ठाउँ भू–हलचलका कारण बोगोल डाँडाको रुपमा परिणत भयो । तुम्लोचाका अनुसार त्यो पितृ शक्तिले हाल पनि त्यहाँसम्म यात्रा गर्ने गर्दछन् । जुन हालको सोलुखुम्बुको खुम्जुङ्गमाथिको डाँडा रहेको दाबा गर्दछन् भने मरेको आत्मा देबोचेको नुनरी गुम्बा मास्तिर कुनामा रहेको सानो पानीको कुवा रहेको ठाउँमा मृत आत्मा लगेर चोख्याउने गरिन्छ । हाल पनि त्यहाँका लामा लमेनीहरुले केही तोर्मा, चामलहरु उक्त ठाउँमा चढाउने गर्दछन् । तुम्लोचाका अनुसार उक्त ठाउँ प्रारम्भमा धान (चापुनि–ह्वामेला) खेतिपाती गर्ने ठाउँ रहेको र पृथ्वी उथलपुथल हँुदा त्यो भाग त्यहाँ पर्न गएको हो भन्ने भनाइ रहेको छ । खुम्बुको थामेको उत्तर पूर्वी हिम पहाड र खुम्जुङ्गमाथितिर रहेको एउटा पहाड छ जुन त्यो भाग पनि किरात बाहिङहरुको पूर्खाले पवित्र रुपमा पितृ अगेनु भूमिको रुपमा मानव सभ्यता प्रारम्भ गर्दा प्रयोग भएको ठाउँ हो । जसलाई सांस्कारिक भाषामा हिलाजे–थोमोजे भनेर पुकार्ने गरिन्छ । पछि तिब्बतबाट खुम्जुङ्ग क्षेत्रमा शेर्पा आएर बसेपछि सोही हिलाजे थोमोजे पवित्र पहाडलाई खुम्बिला देउताको रुपमा धुप पोलेर मान्ने गर्दै आएका छन् । यसर्थ किरात बाहिङ सांस्कारिक भाषामा फलाकिने खुम्जुङ्ग क्षेत्रका जस्तै तेङ्बोजे, दिङ्बोजे, फिरुजे, पाङ्बोजे, दिङ्बोजे र लोबुजे आदि नामले पुकारिन्छ ।
 

बाहिङ जातिका चाडबाडहरु

बाहिङ जातिहरु प्रकृति पूजक हुन् । प्रकृति पूजकले तीन चिजलाई पूज्ने गर्दछन् । त्यस अन्र्तगत धर्तीमाता, जन्मदिने पितृपूर्खा र प्रकृतिमा रहेको वनजंगल, खोलानाला पानीको स्रोतलाई पुज्ने गरिन्छ । उक्त पूजामा प्रकृतिमा जे चिज उत्पादन हुन्छ वा अस्तित्वमा छ, त्यही चिजहरु चढाउने गरिन्छ । 
(क) पितृपूजा  

पितृपूर्खाहरुको आत्मा सम्मानको रुपमा जन्मदिने सम्पूर्ण पितृआम्माहरुको नाममा पौष, माघ र फाल्गुन महिनाभित्र नाग्ले, मोसुम, ताम र सेग्रो हङ गरी तीन तहको पितृसंस्कार मान्ने गर्दछन् । पितृ मान्दा सिकार गरी ल्याएको बँदेल, मृग, कालिज, दुम्सी, पाहा, माछा, कुखुरा, सुगुर र गोरु, वर्षभरि दुख गरी धर्तीमातामा उब्जाएको अन्नबालीलाई पितृको नाममा, कोदोको पवित्र जाँड बनाई चढाएर पितृको आत्मा खुसी बनाउने र आशीर्वाद लिने चलन छ ।  
(ख) मंसिरे पूर्णे उधौली

मंसिरदेखि बैशाख पूर्णेसम्मको समयावधिलाई उधौलीको रुपमा मानिन्छ । उधौलीमा वनस्पती झारजंगल पात सुक्दै जाने, चराचुरुंगी मधेसतिर जाडो छल्न झर्ने । हिमाल पहाडतिरका पाहा, माछाहरु तालतिर झर्ने । अन्नपातहरु पाकेर थन्काउने समय हुनु, लेकतिर गएका भेडा, चौरी, याकहरुको गोठहरु बेँसीतिर झर्नु नै उधौली हो । बाहिङ जातिमा मंसिरे पूर्णेको दिन विशेष दिनको रुपमा रहेको पाइन्छ । मंसिर पूर्णेको दिन घरमा पालिएका पशुहरुको स्वस्थ्य र समृद्धिका लागि गोठपूजा गर्ने, भूमिको नाममा भूमेपूजा वालेको सुसु, ब्रोसोकु सुसुको पूजा गर्ने, भिमसेनको नाममा हास, राँगा, बोकाको बलि दिने र शक्ति माग्ने प्रचलन छ । 
(ग) बैशाख पूर्णे उभौली 

बैशाख पूर्णेदेखि कार्तिक महिनासम्मको समयावधि उभौली हो । उभौलीमा पृथ्वी तात्दै आउने, जमिनमा पानी पलाउने, वनस्पतिहरुमा नयाँ पाउला आउने, चाराचुरुंगीहरु मिठो स्वरहरुमा गाउँदै निस्कनु, जिवजन्तुहरु निस्कनु, क¥याङकुरुङ चराहरु ताँती लाग्दै हिमाल काटेर उँभोतिर लाग्नु उभौलीको विशेषता हो । गोठपूजा, मोरेसुसु जुन बाँदरको शक्तिको पूजा, जोजुसुसु अम्फुसुसु पहाड पर्वतको शक्तिको रुपमा पूजा गर्ने, संसारी देवताको पूजा गरी रुघा मर्कीबाट बच्ने, बैषाख पूर्णेकै दिन जालिममो पूजाको लागि खेतिपाती गर्ने गाउँभरिका अन्नहरु भेला पारी पितृधामीले अन्नका सांस्कारिक नाम फलाकी पितृहरुको आशीर्वाद लिँदै पवित्र जाँड (ची) ले छर्केर, पानी भएको सिम क्षेत्रमा भिजाएर राख्ने राखिन्छ । जेठ औँसीका दिन पानीमा भिजाएको अन्नका पालुवाहरु पितृ नपुजेको घरमा सबै दाजुभाइबाट संकलन गरी नयाँ मुनाहरु भेला पारी अगेनावरिपरि राखिन्छ ।

(घ) जालिममो 

जेठ औँसीको दिन बैशाख पूर्णेको दिन उमारिएको अन्नका ब्याडहरु एक घरमा भेला पारी ध्यवानक्सो, तुम्लोचाहरुले भेला भई चुलाको वरिपरि सिकारको मासु र पवित्र जाँडले छर्केर अन्नका सांस्कारिक नाम र बाहिङका आफ्नो भूमि क्षेत्र फलाकेर पितृको आशीर्वाद लिइन्छ । अन्नको सह जम्मा गरी खेतिपाती राम्रो होस् भन्दै घरको आँगनबाट सिम वा पानी भएको ठाउँमा सापुङमा फलाक्दै झ्याम्टा बजाउँदै सेलाउन लगिन्छ । र नाच्दै विधि फलाक्दै घर भित्रआई नाचेर अन्नको पूजा सम्पन्न गरिन्छ । 

बाहिङ क्षेत्र र फैलावट

बाहिङहरुको उद्गम थलो ओखलढुगां र सोलुखुम्बु रहेको छ । पूर्वी नेपालको ओखलढुंगाको रागादिप, बिगुटार, वरुणेश्वर, ओखलढुंगा, नारायणस्थान, रुमजटार, सेर्ना, दियाले, माम्खा, रातमाटे, भदौरे, बर्णालु, मोली केतुके, र वाक्सा, हर्कपूर र सोलुखुम्बु जिल्लाको सल्यान, नेचा बतासे खोटाङको लामीडाँडा, चिउरीबोट, चीउरीवास, चिचिङगां सल्ले, नवलपुर, संखुवासभाको पावाखोला, तुङ्खालीङ, दिदिङसम्म फैलिएर बसोेबास गरिरहेका छन् । हाल आएर बसाई सराईको क्रममा सुनसरी, मोरङ, झापा, सिन्धुली, उदयपुर, काभ्रेपलान्चोक भोजपूर, काठमाण्डौं र ललितपुर आदि क्षेत्रमा छरिएर रहेका छन् । सो क्षेत्रबाट परम्पारिक सभ्यताको विकास क्रम संगै अन्य क्षेत्रमा घास दाउरा, सिस्नु र पानीको सुविधा भएको भू–भागमा जनसंख्या वृद्धिसँगै फैलिएर बसोबास गर्न थालेका हुन् । समग्रमा बाहिङहरु नेपालको १४ वटा जिल्लाहरुमा बसोबास गर्दै आएका छन् । हाल आएर यी पुर्खाका सन्तानहरु फैलिएर वर्तमान अवस्थामा नेपाल, भारतको दार्जीलिङ, सिक्कीम, भुटान, सिंगापुर, बेलायत र हङकङ लगायत अन्य विभिन्न ठाउँमा छरिएर वसोवास गर्दै आइरहेका छन् । राष्ट्रिय तथ्यांक ६५४७ जातिको रुपमा देखाएको छ भने भाषा बोल्नेको संख्या १४,४४९ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
67 %
WOW
0 %
 Like
33 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै