• वि.सं २०८२, कात्तिक १ शनिबार
  • Saturday, 18 October, 2025
  • युनिकोड
  • Live

कोशी प्रदेशका मौलिक खानपान

याङ्बेन

याङ्वेनलाई नेपाली भाषामा झ्याउ भनिन्छ । उच्च लेकाली क्षेत्रको वनस्पतिहरू उत्तिस, गुराँस, कटुसको रूखमा पलाउने एक प्रकारको परजीवि वनस्पतिलाई हजारौं वर्षदेखि पूर्वका लिम्बू समुदायले खानाको रूपमा प्रयोग गर्दै आएका छन् । कृषि युग सुरु हुनु अगाडि मानिसले अन्नबालीका बीउविजन रोप्ने, छर्ने, खाद्यान्न उत्पादन गर्ने चलन बसेको थिएन । त्यतिबेला सिकार गरेको जीवजन्तुको मासु र रगतसँग रूखमा पलाएको झ्याउ पकाएर भोक मेटै शरीरमा शक्ति सञ्चय गर्ने चलनको मानिन्छ । त्यही परम्पराको निरन्तरता हो याङ्वेन । चासोकमा लिम्बू समुदायसँगै गैरलिम्बूले पनि याङवेन र सेरगेङ निकै मन पराएका छन् । 

अन्य खाद्यपदार्थ जस्तो खेतबारीमा मानिसले बीउ रोपेर उत्पादन गर्ने नभएकाले लिम्बू समुदायले मात्र प्रयोगमा ल्याएको याङ्वेनको महत्त्व बेग्लै छ । केही वर्षअघिसम्म लिम्बूवान्को उच्च लेकाली भेगमा याङ्वेन प्रशस्तै पाइने बताउँदै अहिले ती सबै सामुदायिक वन भएकाले र याङ्वेनको व्यापार व्यवसाय बढेकाले अभाव हुन थालेको छ । चासोक उत्सवको याक्सा घरमा याङ्वेनसँगै घ्यूमा चालम पकाएर बनाए चाम्रे, भटमास भुटेर ओख्लीमा नुन, अकबरे खोर्सानी र अन्य मसला लगाएर पिठो बनाएपछि तयार हुने फाँदो अचार, किनेमा, गुन्द्रुकको विभिन्न परिकार, संगुरको आन्द्राको याङ्वेन, रक्ती, चामल र अन्य मारमसला लगाएर पकाइन्छ । 

यसरी बन्छ याङ्वेन

- लेकाली रूखमा पलाएको झ्याउ पहिचान गर्ने 
- टिपेर बटुल्ने 
- खरानीपानीमा उमाल्ने 
- सुकाउने 
- सुंगुर, कुखुरा, खसी या राँगाको मासुसँग पकाउने

वाचिपा

वाचिपा, किरातीहरूको पाककला ल्काउने एक परिकार हो। किरातको चुलोमा पाक्ने मौलिक परिकार वाचिपाको ‘वा’ को अर्थ कुखुरा र ‘चिपा’ को अर्थ भुत्ला हो। यो मासुजन्य परिकार बनाउने विधि भिन्न् छ। वाचिपामा नुन, तेल, बेसार, खुर्सानी, लसुनको पोटी, अदुवाको टुक्रा प्रयोग गरिन्छ।

वाचिपाका लागि लोकल कुखुरा चाहिन्छ । कुखुराको जाँते–कलेजो, खुट्टा, टाउको, घाँटी, पखेटालाई मसिना टुक्रा गरेर एकै ठाउँमा मिसाउनुपर्छ । यो परिकारको खास विशेषता भनेको कुखुराको भुत्ला हो । कुखुराको पखेटा निकालिसकेपछिको भुत्लालाई आगोमा एकसरो डढाइन्छ । उक्त भुत्ला हटाएर फेरि आगोमा डढाउनुपर्छ । यसरी डढाएर निस्किएको भुत्ला धूलो बनाइन्छ ।

अब कराहीमा तेल तलाउनुपर्छ । तेलमा लसुनको पोटी, अदुवाको टुक्रा फुराएर त्यसमा नुन बेसार लगाउनुपर्छ। त्यसपछि मसिनो टुक्रा गरिएको कलेजो, जाँते, घाँटी, खुट्टा, पखेटा हालेर राम्ररी भुट्नुपर्छ। त्यसमा खुर्सानी मिसाउने र राम्ररी भुटिसकेपछि भुत्लाको धूलो राख्नुपर्छ । यसमा थोरै तात्तातो पाकेको भात पनि मिसाउनुपर्छ । यसरी छिटो–छरितो ढङ्गले वाचिपा तयार हुन्छ ।

तर सबैले यही विधिले वाचिपा बनाउँछन् भन्ने छैन । ठाउँअनुसार वाचिपा बनाउने विधि केही भिन्न् हुन सक्छ । भोजपुर, खोटाङ, धरान, इलाम, पाँचथर, ताप्लेजुङ लगायत ठाउँका किरात बस्तीमा वाचिपा खाइन्छ ।

वाचिपा खासमा पाहुनाहरूलाई चखाउने सितन मात्र होइन । किराती संस्कृतिसँग पनि यो परिकारको साइनो छ । किरातीहरूले पितृलाई चढाउनका लागि बनाउँछन् । वाचिपालाई प्रसादका रूपमा ग्रहण गर्छन् । यो वाचिपा उँधौली पर्वमा प्रसादका रूपमा खाने संस्कार छ । प्रकृतिपूजक किरातहरूले आफ्नो अन्नबाली पाकेपछि पहिलो पटक आफ्ना पितृलाई चढाउने गर्छन् । 

किरात समुदायमा चल्तीको सितन भए पनि यसको स्वाद उनीहरूले कसरी पहिचान गरे, कसरी पकाउने विधिको विकास भयो भन्नेमा खास जानकारी छैन । तर खेती–किसानी गरेर जीविकोपार्जन गर्ने किरातीहरूले परापूर्वकालदेखि नै वाचिपाको स्वाद चाख्न थालेको अनुमान गरिन्छ । प्राचीनकालमा जब मानिसहरू सबै कुरा पोलेर खान्थे त्यतिबेलादेखि नै यो परिकारको सुरुवात भएको मानिन्छ ।


 

किनीमा

किनामा भनेको कुनै पनि अन्न् वा गेडागुडीलाई गलाएर तयार परिएको बास्नादार खाना हो । किनामा विश्वभरका आदिवासीहरूको परम्परागत खाना हो । यो परम्परागत खाना नेपाल, भारत, भुटान, इन्डोनेसिया, थाइलैण्ड, वर्मा, जापान, कोरिया, युरोप, अमेरिका आदि मुलुकमा बसोबास गर्ने आदिवासीहरूले सेवन गर्ने गर्दछन् । किनीमा विभिन्न देशमा फरक फरक सामग्रीले बनाउने र फरक फरक तरिकाले सेवन गर्ने गरिन्छ । जस्तैः नेपालमा विशेषतः भटमासद्वारा किनीमा बनाइन्छ भने अन्य मुलुकतिर उपलब्धता र प्रचलन अनुसार मकै, भटमास, जौ, गहुँ, वा सिमी, बोडी आदिको समेत किनीमा बनाउने प्रचलन रहेको छ । 

भटमासलाई सफा गरेर केलाउने अनि भाँडामा सफासँग उसिन्ने । यसरी राम्ररी पाकेको फुको भटमासलाई ओख्ली, ढिकी वा भाँडामै हल्का कुटेर भटमासको दानालाई टुक्राटुक्रा बनाउने । यसरी टुक्राएको भटमासलाई सफासँग छोपेर केही दिन गुम्साएर राख्ने । केही दिन पस्चात बास्नादार किनीमा तयार हुन्छ । यसरी किनीमालाई सुममा राख्नुपूर्व कतै कतै थोरै खरानी त कतै कतै मर्चाको धुलो राख्ने गरेको देखिन्छ भने कतै भने केही नराखी भट्मासलाई मात्र सुममा राख्ने गरिन्छ । अर्कर्का तरिकाले बनाँउदा भने पहिले भटमासलाई भुटिन्छ र भुटेको भटमासलाई हल्का पिसेर टुक्राटुक्रा पारेर उसिनेर सुममा राखिन्छ । कतै कतै भने भटमासलाई उसिनेर टुक्रा नपारी त्यतिकै सुममा राखिन्छ र किनीमा तयार पारिन्छ । 

किनीमा स्वास्थ्यको हिसाबले अत्यन्त महत्त्वपूर्ण खाद्यसामग्री हो । सागबाट गुन्द्रुक, मुलाबाट सिङ्की, अन्न वा फलफुलबाट जाँड, दुधबाट दही बनेजस्तै कुनै पनि खाधवस्तुको रूप, स्वरूप र स्वाद ब्याक्टेरियाबाट परिवर्तित हुने प्रकृयाबाटै भटमासद्वारा किनीमा बन्ने हो । किनीमामा प्रचुर मात्रमा प्रोटिन, खनिज,भिटामिन प्राप्त गर्न सकिन्छ । यसमा प्रशस्त मात्रमा एन्टिअक्सिडेन्ट पाइने हुनाले यो स्वास्थ्यको लागि अत्यन्तै उपयोगी खाधसामग्री हो ।

भाक्का

पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भाक्का’ खाने चलन धेरै पुरानो हो । धानको पीठोबाट बनाइने भाक्का पोषिलो, स्वादिलो र आडिलो हुन्छ । अचेल यो परिकार पूर्वी तराईको लोकप्रिय बनिसकेको छ ।

पुस–माघको चिसो मौसममा राजवंशी महिला हुरहुरी बाफ उड्ने तातो खाजाका रूपमा भाक्का बनाउने गर्दछन् । यसको स्वादले पहाडबाट बसाइँ सरेर आएका तराईका अरू समुदायलाई समेत आकर्षित गरेको छ । राजवंशी मात्र होइन, मेचे, धिमाल, ताजपुरिया र थारु महिला पनि भाक्का बनाउँछन् । झापाको ग्रामीण बस्तीमा सानो माटाको हण्डीमा पानी उमालेर बाफमा बिहान झिसमिसेदेखि नै सडक किनारमा बसेर भाक्का पकाउने र बेच्ने गर्छन् । सहरका गल्लीमा पनि भाक्का पसल बढ्दै गएका छन् ।

ठूला तारे होटलदेखि साना चिया पसलमा खाजाका रूपमा भाक्काको बजार दिनानुदिन बढ्दै गएको छ ।भाक्का राजवंशी समुदायको मौलिक परिकार हो । पानीको बाफमा पकाइने र कुनै प्रकारको मिसावट नहुने भएकाले भाक्का खानु स्वास्थ्यका दृष्टिले उत्तम मानिन्छ। सयौँ वर्षअघि पूर्वी तराईको जङ्गलबीचको उब्जाउ जमिनमा राजवंशी समुदायको बसोबास भएको मानिन्छ । कहिलेदेखि भाक्काको चलन सुरु भयो भन्ने यकिन नभए पनि राजवंशी समुदायको थातथलो विस्तारसँगै रैथाने परिकारका रूपमा भाक्का खाने चलन झापा र मोरङमा सुरु भएको मानिन्छ ।

भाक्का बनाउन धानको चामललाई पीठो बनाएर बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ । चिया र अचारसँग खाँदा भाक्का झनै स्वादिलो हुने स्थानीय आत्माराम राजवंशी बताउँछन् । भाक्का माछासँग पनि खाने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै