पर्यटन भनेकै ‘तामझाम’ हो, हल्ला नगरी पर्यटक आउँदैनन्– भविषकुमार श्रेष्ठ

सहसंयोजक, ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ सचिवालय

कोशी प्रदेशले वर्ष २०८२ लाई ‘भ्रमण वर्ष’ नभई ‘पर्यटन वर्ष’का रूपमा घोषणा गर्नु आफैंमा एउटा दूरदर्शी निर्णय हो । यो केवल घुमफिरलाई प्रवर्द्धन गर्ने वर्ष मात्र होइन, पर्यटनलाई समग्र अर्थतन्त्र, रोजगारी र पहिचानसँग जोड्ने एउटा अभियान हो । यही सोचका साथ कोशी प्रदेश वर्ष २०८२ को भव्य उद्घाटन गरिएको थियो । पत्रकार, राजनीतिक नेतृत्व, पर्यटन व्यवसायी, निजी क्षेत्रका प्रतिनिधि तथा छिमेकी राष्ट्र चीन र भारतका अतिथिहरूको उपस्थितिमा पार्कमा आयोजना गरिएको उद्घाटन कार्यक्रमले पर्यटन वर्षको महत्व, उद्देश्य र आकांक्षालाई स्पष्ट रूपमा प्रस्तुत गर्‍यो । 

वास्तवमा पर्यटन आफैंमा उत्साह हो र सकारात्मक सन्देश प्रवाह गर्ने माध्यम हो । पर्यटनलाई प्रवर्द्धन गर्न दृश्यता, चर्चा, हल्ला आवश्यक पर्छ । त्यसैले यस्ता कार्यक्रमहरू केवल औपचारिकता होइनन्, ती पर्यटनका लागि लगानी हुन्- सन्देश फैलाउने, विश्वास जगाउने र सम्भावनाको ढोका खोल्ने लगानी ।

यही सन्दर्भमा, जेन्जी आन्दोलनपछिको संवेदनशील अवस्थामा ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ जस्ता कार्यक्रमहरूले देशभित्र र बाहिर कस्तो सन्देश प्रवाह गरिरहेका छन् भन्ने विषयमा केन्द्रित भएर मुकामका लागि मीनकुमार श्रेष्ठले कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक भविषकुमार श्रेष्ठसँग गरेको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेपालमा पर्यटनको मुख्य सिजन र कोशी पर्यटन वर्ष चलिरहेको भएको जेन्जी आन्दोलनका कारण सिर्जित डर र असुरक्षाले विदेशी पर्यटक आगमनमा कत्तिको असर पुर्याएको छ ?

हालै देशले जेन्जी आन्दोलनको अनुभव गर्‍यो । आन्दोलनका क्रममा सत्ता परिवर्तन भयो  । केही भौतिक तथा मानवीय क्षति पनि भयो । यस्ता घटनाले समग्र देशलाई नै प्रभावित बनाउँछन्  । तर पर्यटन क्षेत्र त्यसबाट झनै संवेदनशील रूपमा प्रभावित हुन्छ । पर्यटन बाह्य आगन्तुकमा निर्भर रहने क्षेत्र हो । जब सडक बन्द हुन्छन्, हड्ताल हुन्छन्, अस्थिरता देखिन्छ, तब पर्यटकहरू आफूलाई असुरक्षित महसुस गर्छन् । परिणामस्वरूप उनीहरूले यात्रा स्थगित गर्छन्, बुकिङ रद्द गर्छन् र गन्तव्य परिवर्तन गर्छन्जेन्जी आन्दोलनले पनि यस्तै प्रभाव पारेको छ । अहिले नेपालमा पर्यटनको मुख्य सिजन चलिरहेको बेला आन्दोलनका कारण सिर्जित डर र असुरक्षाले विदेशी पर्यटकहरूलाई केही हदसम्म रोकेको छ । यद्यपि आन्तरिक पर्यटकहरू भने विस्तारै फेरि घुम्न निस्कन थालेका छन्, जुन सकारात्मक संकेत हो । आन्दोलनले नयाँ नेतृत्व र जनअपेक्षाको सरकार दिएको छ, जुन दीर्घकालीन रूपमा देशका लागि राम्रो हुन सक्छ । तर तत्कालीन प्रभावका हिसाबले पर्यटन क्षेत्र भने केही पछि परेको यथार्थ स्वीकार्नै पर्छ ।

नेपालको पर्यटन क्षेत्रले यसअघि पनि धेरै कठिन समय पार गरिसकेको  । २०४६ सालको आन्दोलन, २०५२ देखि २०६२ सम्मको माओवादी द्वन्द्व, ६२/६३ का आन्दोलनहरू, मधेस आन्दोलन, निरन्तर बन्द-हड्ताल र पछिल्लो समय कोरोना महामारी । यी सबै सङ्कटका बीच पनि पर्यटन क्षेत्र कहिल्यै पूर्ण रूपमा थला परेको छैन । हरेक पटक यो क्षेत्रले आफूलाई सम्हाल्दै अघि बढ्ने साहस देखाएको छ । जेन्जी आन्दोलनले पनि चुनौती थपेको छ, तर यो चुनौती चिर्दै पर्यटन फेरि उकासिने विश्वास हामी सबैमा छ ।

पर्यटन क्षेत्रले भूकम्प, माओवादी द्वन्द्व, विभिन्न आन्दोलन र कोरोना महामारीजस्ता संकट पार गर्दै आएको छ । तपाईंको भनाइ अनुसार जेन्जीले उठाएका माग जायज भए पनि घुसपैठका कारण भएको क्षतिले अन्तर्राष्ट्रिय सन्देश राम्रो गएन भन्ने हो?

जेन्जीले उठाएका मागहरू राम्रा थिए र ती बिस्तारै पूरा पनि हुँदै जानेछन् । आन्दोलनका कारण परिवर्तन पनि आएको छ, सरकार नै परिवर्तन भएको छ । जेन्जीका मागहरू पनि क्रमशः सम्बोधन भइरहेका छन् । यसले पछिल्लो दिनमा पक्कै राम्रो गर्दै जानेछ, जानु पनि पर्छ । तर मैले आफ्नै जीवनकालमा देखेका आन्दोलनहरू- २०४६ सालको कांग्रेस आन्दोलन, २०५२ देखि २०६२ सम्मको माओवादी द्वन्द्व, त्यसपछिको ६२/६३ को मधेस आन्दोलन, ६२/६३ कै जनआन्दोलन तथा विभिन्न बन्द-हड्तालहरूले नेपाललाई निकै तहसनहसको अवस्थामा पुर्‍याएका थिए । तपाईंले भनेजस्तै त्यसपछि कोरोना महामारीले पनि निकै ठूलो क्षति गर्‍यो । 

यी सबै अप्ठ्यारा परिस्थितिका बीच पनि हामी सधैँ अगाडि बढ्ने आँट गरिरह्यौँ र गरिरहेका छौँ । फेरि पनि जेन्जी आन्दोलनले देशका समग्र क्षेत्रलाई अप्ठ्यारोमा पारेको छ । अझ सुरक्षाका हिसाबले पर्यटन क्षेत्र झन् बढी धरापमा परेको छ । तर पक्कै पनि हामी यस अवस्थालाई चिरेर माथि उठ्नेछौँ ।

तपाईं लामो समयदेखि पर्यटन क्षेत्रमा संलग्न हुनुहुन्छ । आजको दिनमा समग्र पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रको मनोविज्ञान कस्तो छ?

नेपाल भौगोलिक रूपमा सानो, जनसङ्ख्यामा कम तर प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधतामा अत्यन्त धनी देश हो । सातै प्रदेशमा पर्यटकीय सम्भावना बोकेका अनगिन्ती गन्तव्यहरू छन् । हिमाल, पहाड, तराई- सबै क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने अद्भुत दृश्य, संस्कृति र जीवनशैली छ । प्रश्न ‘हामीसँग के छैन?’ होइन, प्रश्न ‘हामीसँग सबै हुँदाहुँदै पनि किन पर्यटक कम छन्?’ भन्ने हो ।
हामी दुई ठूला मुलुक भारत र चीनको बीचमा छौँ । भारतको जनसङ्ख्या करिब डेढ अर्ब छ । चीनको जनसङ्ख्या पनि झण्डै त्यत्तिकै छ । भारतसँग त पासपोर्ट र भिसा पनि आवश्यक पर्दैन । बिहारमा मात्रै १४ करोडभन्दा बढी जनसङ्ख्या छ । सिक्किममा जनसङ्ख्या कम भए पनि त्यहाँका मानिसहरूमा घुम्ने तीव्र चाहना छ । भारतको जम्मा एक प्रतिशत जनसङ्ख्या मात्रै नेपाल आए पनि हामीले पर्यटकका लागि टाढा-टाढासम्म खोजिरहनु पर्दैन ।

तर यति धेरै सम्भावना हुँदाहुँदै पनि वार्षिक १० लाख पर्यटक ल्याउन हामीलाई हम्मेहम्मे परिरहेको छ । यसको मुख्य कारण प्रचार–प्रसारको कमी, पूर्वाधारको अभाव र पर्यटकमैत्री वातावरणको कमजोरी हो । बन्द-हड्ताल, आन्दोलन र अस्थिरताले पनि पर्यटनमा नकारात्मक प्रभाव पारेका छन् ।


 

केही समयअघि प्रदेश सरकारले पर्यटन विकासका लागि ठूलो तामझामका साथ शुभारम्भ गर्‍यो । तपाईं पनि सहसंयोजकका रूपमा संलग्न हुनुहुन्छ । यो तामझामले जेन्जी आन्दोलनअगाडि पर्यटक आए त ?

पर्यटन भनेकै हल्ला हो, पर्यटन भनेकै प्रचारप्रसार हो, त्यसैलाई हल्ला मान्नु ठीक होइन भन्ने प्रष्ट पार्न चाहन्छु   । हल्ला नगरी, देखाउन नखोजी, बोल्न नखोजी पर्यटक आउँदैनन् । त्यसैले उद्घाटन कार्यक्रममा पत्रकार, राजनीतिक नेतृत्व, व्यवसायिक व्यक्तित्व र छिमेकी देशका प्रतिनिधिहरूलाई सहभागी गराइयो । यस्ता कार्यक्रमले ‘पर्यटन वर्ष भनेको यस्तै हुन्छ’ भन्ने सन्देश दिन्छ ।

नेपाल मात्रै होइन, भारत र चीनजस्ता देशहरूले पनि पर्यटन प्रवर्द्धनका लागि यस्तै भव्य कार्यक्रम आयोजना गर्छन् । सरकारले ठूलो सङ्ख्यामा अतिथि बोलाउँछ, सञ्चारमाध्यमलाई जोड्छ र सन्देश विश्वभर फैलाउने प्रयास गर्छ । कोशी प्रदेशले पनि यही अभ्यासलाई आत्मसात गरेको हो ।

नेपालमा पर्यटन क्षेत्रमा गरिने यस्ता भव्य कार्यक्रमले विदेशी स्तरमा प्रभाव पार्छ ?

यस्ता कार्यक्रमको प्रभाव आजको भोलि नै पर्यटकको सङ्ख्यामा देखिन्छ भन्ने अपेक्षा गर्नु यथार्थपरक हुँदैन । तर उद्घाटन कार्यक्रममा सहभागी ३००-३५० जना पत्रकारहरूले लेखेका सयौँ समाचार, रिपोर्ट र सामग्रीले देशभित्र र बाहिर ‘नेपालमा केही सकारात्मक भइरहेको छ’ भन्ने सन्देश पुर्‍याउँछन् ।

धेरै विदेशीहरू नेपालका सबै पक्षबारे जानकार नहुन सक्छन् । तर जसले बुझ्छन्, जसले यहाँको प्रकृति, संस्कृति, धर्म र भौगोलिक विविधता देख्छन्, उनीहरूले नेपाललाई सुरक्षित, सुन्दर र आत्मीय गन्तव्यका रूपमा बुझ्छन् । त्यही बुझाइ विस्तारै अरूसम्म पुग्छ, साथीभाइलाई सल्लाहमा रूपान्तरण हुन्छ र अन्ततः यात्रामा बदलिन्छ ।

भारतीय पर्यटकलाई आवश्यकतउभन्दा बढी जाँच, अनावश्यक झन्झट दिइन्छ भन्ने भारतीय पर्यटकहरूको गुनासो पनि सुनिन्छ नि  ।
नेपालमा भारतीय पर्यटकको उपस्थिति उल्लेखनीय छ । भारतीय गाडीहरू धेरै आउने गर्छन् । तर आवश्यकभन्दा बढी जाँच, अनावश्यक झन्झट र व्यवहारगत समस्याबारे भारतीय पर्यटकहरूको गुनासो पनि सुनिन्छ । नियमअनुसार जाँच गर्नु आवश्यक छ, तर पर्यटक भनेर चिनिसकेपछि अनावश्यक दुःख दिने प्रवृत्ति सुधार हुनुपर्छ ।

अन्य देशबाट आउने पर्यटकहरूले सेवा र व्यवहारका विषयमा खासै गुनासो गर्दैनन् । भारतीय पर्यटन व्यवसायीहरूले आकर्षक प्याकेज बनाएर आफ्ना नागरिकलाई घुम्न प्रोत्साहित गरिरहेका छन् । नेपालले पनि यही बाटो अपनाउँदै सेवा, व्यवहार र सुविधा सुधार गर्न सके भारतीय पर्यटक हाम्रो पर्यटनको मेरुदण्ड बन्न सक्छन् ।

पर्यटन वर्ष २०८२ को बारेमा भन्न मन लागेका तर छुटेका कुरा केही छन् ?

पर्यटन वर्ष मनाउनु केवल एक वर्षको कार्यक्रम होइन, यो दीर्घकालीन सोच र प्रतिबद्धताको संकेत हो । कोशी प्रदेश पर्यटन वर्ष २०८२ ले चुनौतीका बीच पनि आशा देखाएको छ । अस्थिरताका बीच पनि सम्भावनाको ढोका खोलेको छ । पर्यटन केवल आर्थिक गतिविधि होइन, यो देशको छवि, पहिचान र आत्मसम्मानसँग जोडिएको विषय हो ।

आज गरिएका प्रयासहरू भोलि फल दिनेछन् । आज फैलाइएको सन्देश भोलि यात्रामा बदलिनेछ । र यही विश्वासका साथ कोशी प्रदेश पर्यटन वर्ष २०८२ अघि बढिरहेको छ- नेपालको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने साझा यात्राका रूपमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै