सहसंयोजक, ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ सचिवालय
कोशी प्रदेशले वर्ष २०८२ लाई ‘भ्रमण वर्ष’ नभई ‘पर्यटन वर्ष’का रूपमा घोषणा गर्नु आफैंमा एउटा दूरदर्शी निर्णय हो । यो केवल घुमफिरलाई प्रवर्द्धन गर्ने वर्ष मात्र होइन, पर्यटनलाई समग्र अर्थतन्त्र, रोजगारी र पहिचानसँग जोड्ने एउटा अभियान हो । यही सोचका साथ कोशी प्रदेश वर्ष २०८२ को भव्य उद्घाटन गरिएको थियो । पत्रकार, राजनीतिक नेतृत्व, पर्यटन व्यवसायी, निजी क्षेत्रका प्रतिनिधि तथा छिमेकी राष्ट्र चीन र भारतका अतिथिहरूको उपस्थितिमा पार्कमा आयोजना गरिएको उद्घाटन कार्यक्रमले पर्यटन वर्षको महत्व, उद्देश्य र आकांक्षालाई स्पष्ट रूपमा प्रस्तुत गर्यो ।
वास्तवमा पर्यटन आफैंमा उत्साह हो र सकारात्मक सन्देश प्रवाह गर्ने माध्यम हो । पर्यटनलाई प्रवर्द्धन गर्न दृश्यता, चर्चा, हल्ला आवश्यक पर्छ । त्यसैले यस्ता कार्यक्रमहरू केवल औपचारिकता होइनन्, ती पर्यटनका लागि लगानी हुन्- सन्देश फैलाउने, विश्वास जगाउने र सम्भावनाको ढोका खोल्ने लगानी ।
यही सन्दर्भमा, जेन्जी आन्दोलनपछिको संवेदनशील अवस्थामा ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ जस्ता कार्यक्रमहरूले देशभित्र र बाहिर कस्तो सन्देश प्रवाह गरिरहेका छन् भन्ने विषयमा केन्द्रित भएर मुकामका लागि मीनकुमार श्रेष्ठले कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक भविषकुमार श्रेष्ठसँग गरेको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेपालमा पर्यटनको मुख्य सिजन र कोशी पर्यटन वर्ष चलिरहेको भएको जेन्जी आन्दोलनका कारण सिर्जित डर र असुरक्षाले विदेशी पर्यटक आगमनमा कत्तिको असर पुर्याएको छ ?
हालै देशले जेन्जी आन्दोलनको अनुभव गर्यो । आन्दोलनका क्रममा सत्ता परिवर्तन भयो । केही भौतिक तथा मानवीय क्षति पनि भयो । यस्ता घटनाले समग्र देशलाई नै प्रभावित बनाउँछन् । तर पर्यटन क्षेत्र त्यसबाट झनै संवेदनशील रूपमा प्रभावित हुन्छ । पर्यटन बाह्य आगन्तुकमा निर्भर रहने क्षेत्र हो । जब सडक बन्द हुन्छन्, हड्ताल हुन्छन्, अस्थिरता देखिन्छ, तब पर्यटकहरू आफूलाई असुरक्षित महसुस गर्छन् । परिणामस्वरूप उनीहरूले यात्रा स्थगित गर्छन्, बुकिङ रद्द गर्छन् र गन्तव्य परिवर्तन गर्छन्जेन्जी आन्दोलनले पनि यस्तै प्रभाव पारेको छ । अहिले नेपालमा पर्यटनको मुख्य सिजन चलिरहेको बेला आन्दोलनका कारण सिर्जित डर र असुरक्षाले विदेशी पर्यटकहरूलाई केही हदसम्म रोकेको छ । यद्यपि आन्तरिक पर्यटकहरू भने विस्तारै फेरि घुम्न निस्कन थालेका छन्, जुन सकारात्मक संकेत हो । आन्दोलनले नयाँ नेतृत्व र जनअपेक्षाको सरकार दिएको छ, जुन दीर्घकालीन रूपमा देशका लागि राम्रो हुन सक्छ । तर तत्कालीन प्रभावका हिसाबले पर्यटन क्षेत्र भने केही पछि परेको यथार्थ स्वीकार्नै पर्छ ।

नेपालको पर्यटन क्षेत्रले यसअघि पनि धेरै कठिन समय पार गरिसकेको । २०४६ सालको आन्दोलन, २०५२ देखि २०६२ सम्मको माओवादी द्वन्द्व, ६२/६३ का आन्दोलनहरू, मधेस आन्दोलन, निरन्तर बन्द-हड्ताल र पछिल्लो समय कोरोना महामारी । यी सबै सङ्कटका बीच पनि पर्यटन क्षेत्र कहिल्यै पूर्ण रूपमा थला परेको छैन । हरेक पटक यो क्षेत्रले आफूलाई सम्हाल्दै अघि बढ्ने साहस देखाएको छ । जेन्जी आन्दोलनले पनि चुनौती थपेको छ, तर यो चुनौती चिर्दै पर्यटन फेरि उकासिने विश्वास हामी सबैमा छ ।
पर्यटन क्षेत्रले भूकम्प, माओवादी द्वन्द्व, विभिन्न आन्दोलन र कोरोना महामारीजस्ता संकट पार गर्दै आएको छ । तपाईंको भनाइ अनुसार जेन्जीले उठाएका माग जायज भए पनि घुसपैठका कारण भएको क्षतिले अन्तर्राष्ट्रिय सन्देश राम्रो गएन भन्ने हो?
जेन्जीले उठाएका मागहरू राम्रा थिए र ती बिस्तारै पूरा पनि हुँदै जानेछन् । आन्दोलनका कारण परिवर्तन पनि आएको छ, सरकार नै परिवर्तन भएको छ । जेन्जीका मागहरू पनि क्रमशः सम्बोधन भइरहेका छन् । यसले पछिल्लो दिनमा पक्कै राम्रो गर्दै जानेछ, जानु पनि पर्छ । तर मैले आफ्नै जीवनकालमा देखेका आन्दोलनहरू- २०४६ सालको कांग्रेस आन्दोलन, २०५२ देखि २०६२ सम्मको माओवादी द्वन्द्व, त्यसपछिको ६२/६३ को मधेस आन्दोलन, ६२/६३ कै जनआन्दोलन तथा विभिन्न बन्द-हड्तालहरूले नेपाललाई निकै तहसनहसको अवस्थामा पुर्याएका थिए । तपाईंले भनेजस्तै त्यसपछि कोरोना महामारीले पनि निकै ठूलो क्षति गर्यो ।

यी सबै अप्ठ्यारा परिस्थितिका बीच पनि हामी सधैँ अगाडि बढ्ने आँट गरिरह्यौँ र गरिरहेका छौँ । फेरि पनि जेन्जी आन्दोलनले देशका समग्र क्षेत्रलाई अप्ठ्यारोमा पारेको छ । अझ सुरक्षाका हिसाबले पर्यटन क्षेत्र झन् बढी धरापमा परेको छ । तर पक्कै पनि हामी यस अवस्थालाई चिरेर माथि उठ्नेछौँ ।
तपाईं लामो समयदेखि पर्यटन क्षेत्रमा संलग्न हुनुहुन्छ । आजको दिनमा समग्र पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रको मनोविज्ञान कस्तो छ?
नेपाल भौगोलिक रूपमा सानो, जनसङ्ख्यामा कम तर प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधतामा अत्यन्त धनी देश हो । सातै प्रदेशमा पर्यटकीय सम्भावना बोकेका अनगिन्ती गन्तव्यहरू छन् । हिमाल, पहाड, तराई- सबै क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने अद्भुत दृश्य, संस्कृति र जीवनशैली छ । प्रश्न ‘हामीसँग के छैन?’ होइन, प्रश्न ‘हामीसँग सबै हुँदाहुँदै पनि किन पर्यटक कम छन्?’ भन्ने हो ।
हामी दुई ठूला मुलुक भारत र चीनको बीचमा छौँ । भारतको जनसङ्ख्या करिब डेढ अर्ब छ । चीनको जनसङ्ख्या पनि झण्डै त्यत्तिकै छ । भारतसँग त पासपोर्ट र भिसा पनि आवश्यक पर्दैन । बिहारमा मात्रै १४ करोडभन्दा बढी जनसङ्ख्या छ । सिक्किममा जनसङ्ख्या कम भए पनि त्यहाँका मानिसहरूमा घुम्ने तीव्र चाहना छ । भारतको जम्मा एक प्रतिशत जनसङ्ख्या मात्रै नेपाल आए पनि हामीले पर्यटकका लागि टाढा-टाढासम्म खोजिरहनु पर्दैन ।
तर यति धेरै सम्भावना हुँदाहुँदै पनि वार्षिक १० लाख पर्यटक ल्याउन हामीलाई हम्मेहम्मे परिरहेको छ । यसको मुख्य कारण प्रचार–प्रसारको कमी, पूर्वाधारको अभाव र पर्यटकमैत्री वातावरणको कमजोरी हो । बन्द-हड्ताल, आन्दोलन र अस्थिरताले पनि पर्यटनमा नकारात्मक प्रभाव पारेका छन् ।

केही समयअघि प्रदेश सरकारले पर्यटन विकासका लागि ठूलो तामझामका साथ शुभारम्भ गर्यो । तपाईं पनि सहसंयोजकका रूपमा संलग्न हुनुहुन्छ । यो तामझामले जेन्जी आन्दोलनअगाडि पर्यटक आए त ?
पर्यटन भनेकै हल्ला हो, पर्यटन भनेकै प्रचारप्रसार हो, त्यसैलाई हल्ला मान्नु ठीक होइन भन्ने प्रष्ट पार्न चाहन्छु । हल्ला नगरी, देखाउन नखोजी, बोल्न नखोजी पर्यटक आउँदैनन् । त्यसैले उद्घाटन कार्यक्रममा पत्रकार, राजनीतिक नेतृत्व, व्यवसायिक व्यक्तित्व र छिमेकी देशका प्रतिनिधिहरूलाई सहभागी गराइयो । यस्ता कार्यक्रमले ‘पर्यटन वर्ष भनेको यस्तै हुन्छ’ भन्ने सन्देश दिन्छ ।
नेपाल मात्रै होइन, भारत र चीनजस्ता देशहरूले पनि पर्यटन प्रवर्द्धनका लागि यस्तै भव्य कार्यक्रम आयोजना गर्छन् । सरकारले ठूलो सङ्ख्यामा अतिथि बोलाउँछ, सञ्चारमाध्यमलाई जोड्छ र सन्देश विश्वभर फैलाउने प्रयास गर्छ । कोशी प्रदेशले पनि यही अभ्यासलाई आत्मसात गरेको हो ।

नेपालमा पर्यटन क्षेत्रमा गरिने यस्ता भव्य कार्यक्रमले विदेशी स्तरमा प्रभाव पार्छ ?
यस्ता कार्यक्रमको प्रभाव आजको भोलि नै पर्यटकको सङ्ख्यामा देखिन्छ भन्ने अपेक्षा गर्नु यथार्थपरक हुँदैन । तर उद्घाटन कार्यक्रममा सहभागी ३००-३५० जना पत्रकारहरूले लेखेका सयौँ समाचार, रिपोर्ट र सामग्रीले देशभित्र र बाहिर ‘नेपालमा केही सकारात्मक भइरहेको छ’ भन्ने सन्देश पुर्याउँछन् ।
धेरै विदेशीहरू नेपालका सबै पक्षबारे जानकार नहुन सक्छन् । तर जसले बुझ्छन्, जसले यहाँको प्रकृति, संस्कृति, धर्म र भौगोलिक विविधता देख्छन्, उनीहरूले नेपाललाई सुरक्षित, सुन्दर र आत्मीय गन्तव्यका रूपमा बुझ्छन् । त्यही बुझाइ विस्तारै अरूसम्म पुग्छ, साथीभाइलाई सल्लाहमा रूपान्तरण हुन्छ र अन्ततः यात्रामा बदलिन्छ ।
भारतीय पर्यटकलाई आवश्यकतउभन्दा बढी जाँच, अनावश्यक झन्झट दिइन्छ भन्ने भारतीय पर्यटकहरूको गुनासो पनि सुनिन्छ नि ।
नेपालमा भारतीय पर्यटकको उपस्थिति उल्लेखनीय छ । भारतीय गाडीहरू धेरै आउने गर्छन् । तर आवश्यकभन्दा बढी जाँच, अनावश्यक झन्झट र व्यवहारगत समस्याबारे भारतीय पर्यटकहरूको गुनासो पनि सुनिन्छ । नियमअनुसार जाँच गर्नु आवश्यक छ, तर पर्यटक भनेर चिनिसकेपछि अनावश्यक दुःख दिने प्रवृत्ति सुधार हुनुपर्छ ।

अन्य देशबाट आउने पर्यटकहरूले सेवा र व्यवहारका विषयमा खासै गुनासो गर्दैनन् । भारतीय पर्यटन व्यवसायीहरूले आकर्षक प्याकेज बनाएर आफ्ना नागरिकलाई घुम्न प्रोत्साहित गरिरहेका छन् । नेपालले पनि यही बाटो अपनाउँदै सेवा, व्यवहार र सुविधा सुधार गर्न सके भारतीय पर्यटक हाम्रो पर्यटनको मेरुदण्ड बन्न सक्छन् ।
पर्यटन वर्ष २०८२ को बारेमा भन्न मन लागेका तर छुटेका कुरा केही छन् ?
पर्यटन वर्ष मनाउनु केवल एक वर्षको कार्यक्रम होइन, यो दीर्घकालीन सोच र प्रतिबद्धताको संकेत हो । कोशी प्रदेश पर्यटन वर्ष २०८२ ले चुनौतीका बीच पनि आशा देखाएको छ । अस्थिरताका बीच पनि सम्भावनाको ढोका खोलेको छ । पर्यटन केवल आर्थिक गतिविधि होइन, यो देशको छवि, पहिचान र आत्मसम्मानसँग जोडिएको विषय हो ।
आज गरिएका प्रयासहरू भोलि फल दिनेछन् । आज फैलाइएको सन्देश भोलि यात्रामा बदलिनेछ । र यही विश्वासका साथ कोशी प्रदेश पर्यटन वर्ष २०८२ अघि बढिरहेको छ- नेपालको पर्यटनलाई नयाँ उचाइमा पुर्याउने साझा यात्राका रूपमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन
- परशुराम चौहानको अन्तर्राष्ट्रिय फड्को, पाए यस्तो सम्मान
- राष्ट्रिय वाणिज्य बैंकले कृषिमा प्राथमिकताका साथ लगानी बढाउँदै
- खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक एनआईसी एशिया बैंकको आग्रह


ट्रेन्डिङ
खबरमुकाम







