
परिभाषा कहिल्यै पनि पूर्ण हुन सक्दैन । मुन्दुम विशाल छ, जसलाई कुनै परिभाषाभित्र बाँध्न सकिँदैन । तर हामी यसलाई बुझ्न सक्छौँ । यो अलिखित दस्तावेज हो, जुन मौखिक रूपमा हस्तान्तरण हुँदै आएको छ । मुन्दुम जीवन दर्शन, संस्कार, साहित्य, कला, विज्ञान, र धर्म पनि हो । अझ यसलाई यसरी बुझौँ– किरातीहरूको सम्पूर्ण अस्तित्व नै हो– मुन्दुम । भनिन्छ, कम चल्तीको बाटोमा धेरै कुरा भेटिन्छन् । मुन्दुम पदमार्ग पनि त्यही हो, जहाँ धेरै थोक भेटिन्छ ।
काठमाडौँबाट सुरु भएको यात्रा पहिलो दिन हलेसी पुगेर विश्राम लिइएको थियो । बर्खाको समय भएकाले बाटो कतैकतै बिग्रिएको थियो । भोलिपल्ट बिहानै हलेसी मन्दिर दर्शन गर्न पुगियो । हिन्दू, बौद्ध र किरातहरूको महत्त्वपूर्ण धार्मिक स्थल साथै किरातहरूको आदि भूमि भएकाले मुन्दुम पदमार्ग यात्राअघि हलेसी दर्शन गर्नु अत्यन्तै महत्त्वपूर्ण लाग्यो । सोही दिन दिक्तेल बजारबाट गाडी चढेर बास बस्न चखेवा पुगियो ।
चखेवामा बिहानपख खुलेको मौसमले दिनभर नै साथ दिन्छ भन्ने आशा राख्दै झोलाहरू तयार पार्न थालियो । भुइँकुरोको लुकामारी चलिरहेको थियो । ‘मौसम सफा भएको बेला धरानसम्म देखिन्छ,’ भन्दै हुनुहुन्थ्यो विवेक राई दाइ । यो मध्यपहाडी लोकमार्ग भएकाले बिहानै ५ बजेबाटै गाडीहरू राजधानीतिर कुद्न थाल्थे । चखेवा भञ्ज्याङतिर गाडी दौडाउँदै गर्दा ड्राइभर दाइहरूको मन रोमाञ्चित हुन्थ्यो होला– सुन्दर दृश्य र चिसो हावाको सिरेटोले ।
भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकास्थित चखेवा आन्तरिक पर्यटककको लागि आकर्षकस्थलको रूपमा रहेको छ । भोजपुर बजारदेखि ४० किलोमिटर काठमाडौँको कोटेश्वरबाट लगभग दुई सय नब्बे किलोमिटर र धरानबाट एक सय पन्चानब्बे किलोमिटर टाढा रहेको चखेवा समुद्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा रहेको छ । चिसो मौसम, चारैतिर हरियो मैदान झैँ देखिने डाँडाले चखेवा लोभलाग्दो छ । एकैछिनमा कुइरोले ढाक्ने, पारिलो घाम लाग्ने र वर्षा हुने यहाँको मौसमको विशेषता रहेको छ ।
हामी चखेवा पुग्दा भने घाम कुइरो थियो । वरपर गाईबस्तु न्यानो घामको स्पर्थ लिँदै चरिरहेका थिए । थुम्कैथुम्का भएको भूबनोट भएर पनि होला गाईबस्तुले निकै रुचाउने रहेछन् । यति सुन्दर ठाउँमा बिना योजना बनाइएका बस्ती र कङ्क्रिटका संरचनाले भने आँखा बिझाएको थियो । मुन्दुम पदमार्गको सुरुवाती विन्दु तावा भन्जाङ भए तापनि चखेवासम्म गाडीमा सजिलै पुग्न सकिने र बस्न खानाको लागि होटल होमस्टे भएकाले धेरैले चखेवाबाट नै यात्रा सुरु गर्छन् । हामीले पनि यहीँबाट सुरु गर्यौँ ।
जैविक विविधताको हिसाबले पनि यो क्षेत्र महत्वपूर्ण छ । चैत बैशाखमा फुल्ने विभिन्न प्रजातिका गुराँस अनि चाँपको दृष्य मनमोहक हुन्छ । ट्याम्के आसपासमा दर्जनौँ पशुपन्छीहरूको बासस्थान रहेको छ । यस क्षेत्रको जङ्गलमा प्रशस्त मात्रामा जडिबुटी पनि पाइन्छ ।
ढुङ्गाले बनेका कुर्सी र टेबलमा बसेर पाटनहरू नियाल्दै गर्दा अँगाल्न मिल्ने भइदिए दिनभर अँगालो बेरेर बस्थेँ होला तर त्यो सम्भव थिएन । पूर्वको पाटनहरू मेरो लागि नौला थिए । हुन त पश्चिम पहाडहरूसँग मल्दिाजुल्दा नै हुन्छ्न् तर पनि यहाँ चल्ने हावा यहाँ चरिरहेका बस्तुभाउका रङ र बेला बेला सुन्न पाइने चराका धुन नौला थियो । कुनै स्थान नौलो हुनु नै आफैँमा यात्रा रमाइलो हुनु हो ।
मैयुङसम्म आइपुग्दा हामीले बुझेको मुन्दुम
मुन्दुम किरातीहरूको जीवन दर्शन हो । मुन्दुम किराती पुर्खाको .ऐतिहासिक विवरण हो । मुन्दुम निरन्तर एक मुखबाट अर्को मुख, एक समाजबाट अर्को समाज, एक पुस्ताबाट अर्को पुस्तासम्म अनवरत हस्तान्तरण हुँदै आएको मौखिक वाङ्मय हो । प्राचीन किरातीले हिँडेका डुलेका भिरपाखा, हिमाल, पहाड, खोलानाला तर्दै हामी मैयुङका डाँडापाखा घुम्दै दिन बितायौँ ।
हामी गोठस्टेमा बसेका थियौँ । ढोकानेर आएर बसेका चौँरी हेर्दै पनि छुट्टै आनन्द आउँथ्यो। बिहानको चहकिलो घामले हिमालचुलीको हिउँ ताजा र सफा देखियो । यहाँबाट देखिने कञ्चनजङ्घालगायत चारपाटे हिमालको दृश्य हेर्दै हामी मख्ख पर्यौँ । प्राचीन कालमा मान्छेहरूले जिवकिोपार्जनको क्रममा प्रकृतिसँग सहकार्य गर्दै अनेकौँ प्रकारका अनुभव बटुले त्यही अनुभवजन्य ज्ञान नै मुन्दुम हो। मुन्दुमले किराती जीवन पद्धति, सभ्यता र संस्कृतिबारे बोलेको छ । मैयुङवरपरका नागीहरूले पनि यो कुरालाई प्रमाणित गरेको छ । नागीमा चरिरहेका बस्तुभाऊ, गोठाला, खोलानाला पोखरी जडिबुटी भुइँफूल इत्यादि ।
गुराँस र खर्सुको जङ्गलभित्र लुकेको हाँसपोखरी
बाह्रै महिना एउटै रङ (निलो) पानी देखिन्छ । साथै आसपासमा ताराखसे पोखरी, सुके पोखरीलगायत साना(ठूला गरी दर्जनौँ पोखरी रहेका छन् । हामी मध्याह्ननतिर हाँस पोखरी पुग्दै गर्दा बादल माथि माथि उठ्दै आयो र मैयुङका नागीहरूलाई ढाक्दै गयो । निलो आकाशमुनि चम्किरहेको हाँसपोखरी एकछिनमै हुस्सुभित्र हरायो । हाँसपोखरीवरपर चिमाल खर्सुको घना जङ्गल र मालिङ्गोघारी भएकाले रेड पान्डा पनि पाइने रहेछ । हामीले भने देखेनौँ ।
मैयुङसम्म छोटो समयमा नै पुगेर फर्किन सकिन्छ । हिँड्नको लागि पदमार्ग पनि सजिलो छ । बाटो बिराइएला भन्ने डर छैन । खाना बस्नको व्यवस्था, एकै ठाउँबाट हिमाल पहाड हेर्न पाइने, पाटनहरूमा डुल्न पाइने र पोखरी छेउ थकान मार्न पाइने ।
साल्पा सिलिचुङसम्म पुग्ने योजना बनाएर आएका हामी जतिसुकै ठूलो झरी परे पनि यात्रा अघि बढाउने कुरा दुईमत नै थिएन । हामीलाई मैयुङभन्दा उताको यात्रामा धेरै समस्याहरू झेल्नुपर्छ भन्नेबारे स्थानीयले नसुनाएका भने होइनन् । सधैँ साथ दिइरहेको मौसम आज रिसाएको छ । तर नसोचेकै खुशी पनि दिलाएको छ ।
मुन्दुम पदमार्गको छैठौँ दिनमा तपाईंहरूलाई स्वागत छ । मैयुङबाट हिँडेपछि लगभग एक दुई घण्टा जति घना जङ्गलको बाटो हिँड्नुपर्छ । सुम्निमाले तान बुनेको उकालोमा पुग्यौँ । यहाँ वरपर पहाड ओढारहरूमा बसी किरातीहरूकी पुर्खा सुम्निमाले तान बुनेको र बिस्तारै आउने पुस्ताले सोही काम गर्दै आएको भन्ने विश्वास पनि रहेछ । तान्न बुन्दै गर्दा प्यास लागेपछि पानी खाने कुवा पनि नजिकै थियो ।
लौरेको उकालोले नसोचेकै खुसी दियो । कुनै बेला मैले एउटा भिडियोमा भनेको कुरा याद आयो( जसले दुख दिन्छ उसैले खुशी दिन्छ । त्यस्तै भयो । लौरेको उकालोबारे धेरै कुराहरू सुनेका थियौँ । मैयुङबाट हिँडेपछिको पहिलो बास हाम्रो रावाधापको गोठमा हुने भयो । कस्सिएर हिँड्ने पैदल यात्री त साल्पा कुलुपङ्खसम्मै पुग्छन् रे तर हामीलाई भने कस्सिएर पुग्नु थिएन ।
आज किरातीहरूको शृष्टि उत्पति भएको स्थान साल्पा पोखरीसम्म पुग्नु छ। अब हामी लगभग गन्तव्यको नजिक नजिक छौँ । रावाधाप रावा खोलाको शिर हो । खोटाङतिर बग्ने रावा खोला माछाको लागि प्रसिध्द छ। रावा खोलाको माछा खाना खानालाई जो कोही पनि लोभिन्छ । हामीले रावा खोला नभेटे पनि रावा खोलापर रावाधापमा भेट्यौँ । मुन्दुम फलाक्दै गर्दा रावाको शिर पनि नाक्छोहरू पुग्छन् रे ।
हामी बेलुका ६ बजे कुलुपङ्ख पुग्यौँ । खोटाङ भोजपुर र सोलुखुम्बु तीन जिल्लाको सीमानामा अवस्थित साल्पा भन्ज्याङको अर्को नाम कुलुपङ्ख हो । समुन्द्र सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित छ । तीनवटा जिल्लाको भूगोलमा तीनवटा घर अवस्थित छन् । खोटाङमा एक होटल, भोजपुरमा एक होटल र सोलुखुम्बुमा एक धर्मशाला । तेन्जिङ हिलारी ट्रेकिङ रुट यहीँबाट सोलुखुम्बु छिर्छ । यो रुटमा मान्छेहरूको बाक्लै आवतजावत हुन्छ। यो निकै पुरानो मार्ग हो। सन् १९५३ मा तेन्जिङ र हिलारीहरू यतैबाट सगरमाथा हिँडेका थिए।
अर्को दिन बिहानै हामी साल्पापोखरी दर्शन गर्न पुग्यौँ । हामी लगभग पाँच मिनेट तल ओर्लिएपछि अर्को प्रतिमा नजिक पुग्यौँ । मैयुङ कुलुपङ्खसम्म आउँदा खासै नभेटेका आकृति फेरि साल्पा पोखरीवरपर भेटियो । तीन चुला जहाँ किरातीहरूको जन्मदेखि मृत्युसम्मको संस्कार गर्दा प्रयोगमा आउँछ त्यसभित्र सुम्निमा र पारुहाङको चित्र कोरी शिलालेख लेखिएको छ । मुन्दुम अनुसार यही साल्पा सिलिचुङमा नै सृष्टिको उत्पत्ति र मुन्धुमको उत्पत्ति भएको हो । किराती सृष्टिकर्ताहरू रिकापा र रिभ्यामाहरूलाई नै साल्पा राजा साल्पा रानीको रूपमा लिने गरिन्छ । यी कुरा यस शिलालेखमा समेत उल्लेखित छन् ।
हामी पुग्दा साल्पा पोखरीवरपरको मौसम गजबले खुलेको थियो । बर्खामासको झरी रोकिएपछि लाग्ने घाम चर्को नै थियो । हामी चखेवाबाट हिँडेको ६ दिनपछि पुग्दैछौँ हाम्रो यात्रा यहाँ पुग्दा तीर्थयात्रा जस्तै भएको थियो । सिलिचुङ टप पुग्न नसक्नेहरूले साल्पा पोखरीबाट नै सिलिचुङ टप देखिने हुँदा सिलिचुङ/सिलिछो/सिलुछो टपलाई यही पोखरीको छेउबाट दर्शन गरी आफूले चिताएको माग्ने चलन पनि छ ।
अर्को दिन, चखेवाबाट लिएर हिँडेको पदमार्गलाई सिलिचुङको चुचुरोमा पुगेर बिसाउने योजना थियो, किरातीहरू एक पटक पुग्नैपर्ने सिलिचुङ पिक, हामी पनि पुग्यौँ । जस्तोसुकै आँधी बेहरी आए पनि र जत्रोसुकै झरी परे पनि रोकिने कुरा नै थिएन । भनिन्छ, हरेक मान्छेभित्र एउटा राक्षस लुकेको हुन्छ जुन दिन त्यो राक्षस जाग्छ यस्तै हुन्छ ।
हामी कृतज्ञ छौँ, यो प्रकृति जसले यात्रा सुरु गरेदेखि सिलिछो टपसम्म आइपुग्दा हामीलाई साथ दियो । एउटा भनाइ छ नि, भगवानले भन्छन् रे तिमी आँट म पुरा गर्छु, सायद यही होला । त्यो नागबेली पहाडको श्रृङ्खला, धारैधार बग्ने पदमार्ग, शान्त एकान्त घना जङ्गल, ठूला( ठूला नागीहरूमा परपरसम्म चरिरहेका चौँरी भेडा र घोडाहरू, थकाइ सजिलै बिसाउन पाइने त्यो धरातल, आहा ! मुन्दुम... आहा ! मुन्दुम पदमार्ग.....
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवतरुपमा आरम्भ
- मुन्धुम कहिले र कहाँ निर्माण भएको थियो ?
- कोशी प्रदेशका मौलिक खानपान
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाली पुरुष क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाखको बीमा
- हिमालपारीको जिल्ला भनेर चिनिने मनाङमा 2G तथा 4G मोबाइल सेवा सञ्चालन
- निर्जीवन बीमाको पोर्टफोलियो अनुसारको दाबीको विद्यमान अवस्था सार्वजनिक
- सांग्रिला डेभलपमेन्ट बैंक एससिटी युनियन पे कार्डमा आवद्ध
- गणपति सिमेन्ट इन्डस्ट्रीजमा नयाँ लगानीकर्ता समूहको आगमन, पुनः सञ्चालनका लागि तयारी तीव्र