काठमाडौँ । गोरखास्थित ३४०.४२३ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौताबारे सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
विद्युत् नियमन आयोगले मंगलबार विद्युत् विकास विभागको सभाहलमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । टाइम्स इनर्जी प्रालिद्वारा प्रवर्द्धित आयोजनाको पिपिएका लागि नेपाल विद्युत् प्राधिकरणले आयोग समक्ष पेस गरेको निवेदनउपर आयोगले सरोकारवाला पक्षलाई बोलाएर सार्वजनिक सुनुवाई गरेको हो ।
कार्यक्रममा बोल्दै विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले नेपालमा विद्युत् क्षेत्रको नियमनमा आयोग स्थापना भएपछि निजी लगानीकर्ताहरुले निकै सहजता महसुस गरेको बताए । उनले भने, ‘नियम–कानुनले मिल्ने भएसम्म आयोगले आयोजना निर्माणका लागि आवश्यक निर्णय समयमै गरिदिने गरेको छ ।’ आयोगका सदस्य गौतम डंगोलले भने, ‘कम लागतमा आयोजना निर्माण गर्ने विकासकर्ताहरुलाई पुरस्कारको व्यवस्था गर्नुपर्छ ।’
कार्यक्रममा आयोजनाको प्रवर्द्धक कम्पनी टाइम्स इनर्जी प्रालिका अध्यक्ष दिपक मल्होत्राले पनि आफ्नो धारणा राखेका थिए । उनले भने, ‘निजी क्षेत्रले हालसम्मकै ठूलो आंशिक जलाशय आयोजना निर्माण गर्न लागेकोले सबैको साथ सहयोग प्राप्त हुने अपेक्षा छ ।’
विद्युत् प्राधिकरणका निर्देशक राजन ढकालले आयोगले पिपिएका लागि सहमति दिएपछि विद्युत् खरिद बिक्री सम्झौता पत्रमा हस्ताक्षर गरिने बताए ।
कार्यक्रममा सरोकारवालाहरुले राखेको प्रश्नको जवाफ दिँदै आयोजनाको परामर्शदाताका तर्फबाट प्रेम केसीले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमाथि सार्वजनिक सुनुवाई भई पारित भइसकेको पनि बताए ।
बूढीगण्डकी जलविद्युत् आयोजना गोरखा जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिकामा निर्माण हुँदैछ । आयोजना सम्पन्न गर्न ५ हजार ५ सय ५७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसका अधारमा आयोजनाको प्रतिमेगावाट लागत १६ करोड २९ लाख ८८ हजार रुपैयाँ लाग्ने देखिएको छ । आयोजनाको बाँधस्थल र जलाशय चुमनब्री गाउँपालिका रहने गरी डिजाइन तयार पारिएको छ । बाँधस्थल र जलाशय मनास्लु संरक्षण क्षेत्रमा पर्दछ । बाँकी संरचनाहरू संरक्षण क्षेत्र बाहिर पर्दछन् ।
आयोजनाको जलाधार क्षेत्रफल ३६२८ वर्ग किलोमिटर रहने गरी डिजाइन गरिएको छ । आयोजनाको धेरैजसो संरचना र विद्यूत् गृहसमेत भूमिगत रहने गरी डिजइन गरिएको छ । आयोजनामा ५.८ किलोमिटर लामो हेडरेस टनेल निर्माण हुनेछ । टनेलमार्फत पानीलाई भूमिगत विद्युत्गृहमा पुर्याइनेछ । विद्युत्गृहमा ६ वटा ५७ मेगावाट क्षमताको टवाईन जडान हुनेछ । सो टवाईनसँग जोडिएको जेनेरेटरमार्फत विद्युत् उत्पादन गरिने कम्पनीले जनाएको छ ।
आयोजनाको सबै काम पूरा गरे २०८५ चैतदेखि व्यवसायिक उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । आयोजना निर्माण पूरा भएपछि वार्षिक १८३७.१६ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सक्छ । उत्पादित ऊर्जालाई करिब ४५ किमि प्रसारण लाइन निर्माण गरेर रातमाटे सबस्टेसनमा जोडिनेछ ।
आयोजनाको विभिन्न संरचना निर्माणका लागि ५६.२२ हेक्टर जमिन चाहिने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख छ । जसमध्ये ४९.६२ हेक्टर स्थायी रूपमा र ६.६ हेक्टर अस्थायी रूपमा आवश्यक पर्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
- बाढी प्रभावितका लागि पुनर्स्थापना प्याकेज बनाउने सरकारको निर्णय
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन



ट्रेन्डिङ
खबरमुकाम







