काठमाडौं । काठमाडौंको बत्तिसपुतलीस्थित रामचन्द्र मन्दिरमा वर्षौंदेखि एक गिरोहले सामुहिक लूट मच्चाइरहेको पाइएको छ । विक्रम संवत १९२८ सालमा कमाण्डिङ कर्नेल सनकसिंह लाहुरे टण्डन खत्री क्षेत्रीले स्थापना गरेको श्री रामचन्द्र निजी गुठी मातहत रहेको यस मन्दिरमा अनधिकृत तवरले कब्जा गरी एक पक्षले आर्थिक अपचलन गरिरहेको देखिएको हो ।
राममन्दिरको इतिहास
तत्काली प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाको पारिवारिक सम्बन्ध भएका कमाण्डिङ कर्नेल सनकसिंह लाहुरे टण्डन खत्री क्षेत्रीले १९२८ सालमा पारिवारिक धार्मिक सक्रियताका लागि श्री रामचन्द्र निजी गुठीको स्थापना गरेको इतिहास देखिन्छ । त्यस गुठीको स्थापना आफू र अन्य परिवार भित्रका सदस्यहरुको पुण्य कार्यका लागि स्थापना भएको थियो । बत्तिसपुतलीमा ४६ रोपनी क्षेत्रफलमा रहेको राममन्दिरको रेखदेख तथा संरक्षण गुठीले गर्ने गरेको थियो । उक्त मन्दिरमा वार्षिक तिथि श्राद्ध तथा दैनिक रुपमा पनि विभिन्न किसिमका पूजा आजाहरु गुठीयारहरुले हालसम्म पनि गर्ने गरेका छन् । यो मन्दिर स्थापना भएको १५५ वर्ष भइसकेको छ । गुठी र मन्दिरको स्थापना गरेका खत्री क्षेत्रीले आफ्नी छोरी पट्टिका नाति महेन्द्रध्वज राणालाई मन्दिरको शिलापत्रमा लेखिए बमोजिम त्यसको पूर्णाधिकार सहित रेखदेख र संरक्षण गर्नका लागि अख्तियारी दिएको विवरणमा उल्लेख छ । आफूबाट कुनै पनि छोरा नभएका क्षेत्रीले छोरी पट्टिका नाती राणालाई अधिकार दिएको र त्यस अनुसार राणाको पुस्तान्तरण हुँदै जाँदा पनि सोही परिवारबाट गुठीको नेतृत्व हुने अख्तियारी रहेको छ । यस गुठी अन्तर्गत तत्कालीन समयमा कुल ४७३ रोपनी जमिन रहेको थियो । यस जमिनबाट हुने आयश्रोतहरुबाट दाताले उल्लेख गरे बमोजिम सम्पूर्ण श्राद्ध, पूजा लगायतका नित्यकर्म गरी बाँकी रहेको कसरमध्ये ६ भाग लगाइ एक भाग भइपरी आउने विपत्तिका लागि भण्डारण गर्ने र अरु पाँच भाग गुठीयारले बाँडीचुँडी खानु भन्ने व्यहोरा शिलापत्रमा उल्लेख छ । यसका साथै उल्लेख गरिए अनुसारको कार्य नगरे वा छलछाम भए पञ्चपाप लाग्ने भनिएको छ ।
मर्मतका लागि बनेको समितिमा लोभीपापीहरुको प्रवेश
यस मन्दिरमा संस्थापक परिवारले पूजाआजा र तिथि श्राद्ध लगायतका धार्मिक कार्यहरु गर्ने गरेका थिए । त्यसको मूलश्रोत त्यस अन्तर्गत रहेको जग्गा जमिनबाट आउने बालीनालीको कुत रकम हुने गरेको थियो । देशको शासन व्यवस्थामा आउँदै गरेको परिवर्तनसँग सँगै मोहीहरुले कुत बुझाउन छोडेपछि गुठीलाई दैनिक क्रियाकलाप चलाउन समस्या पर्ने अवस्था आयो । त्यससँगै गुठीयारहरुले जग्गा सट्टापट्टा गर्ने र अक्षयकोष राखेर पूजाआजालाई निरन्तरता दिए । १२० वर्ष पुरानो भइसकेको मन्दिर जिर्णोद्वारा गर्नुपर्ने भएपछि २०४८ सालमा गुठीयार कृष्ण ध्वज राणा, लव ध्वज राणा र इन्द्र ध्वज राणाकोमात्र सहमतिमा ‘श्री रामचन्द्र मन्दिर जिर्णोद्वार एवम् सम्बद्र्धन समिति’ बनाइएको थियो । जब की त्यतिबेला १२ जना गुठियार रहेका थिए । तीनजनाले गरेको निर्णयमा तीन चौथाइ गुठियारलाई थाहा पत्तो नभएको पाइएको छ । उक्त समितिलाई मन्दिरको मर्मत–सम्भार गर्ने अधिकार प्रत्यायोजन गरी विधानसमेत बनाइएको थियो । समितिको अध्यक्षमा पुष्पपाणि गौतम रहेका थिए भने केशवप्रसाद रेग्मी उपाध्यक्ष, गोविन्द टण्डन सदस्य सचिव, केशव घिमिरिे खत्री कोषाध्यक्ष र सदस्यहरुका टेकबहादुर रायमाझी, मदन आचार्य, माधव टण्डन, कृष्णध्वज राणा, इन्द्रध्वज राणा, लभध्वज राणा र ध्रुवप्रसाद शर्मा रहेका थिए । १२ जनामध्ये तीनजना गुठियारको मात्रै सहमति लिएर बनेको जिर्णोद्वार समितिले मन्दिर अन्तर्गत भएको जग्गा जमिन एवम् अन्य श्रोतबाट हुने आम्दानीमा गिद्धेनजर लगाई अधिकारभन्दा बाहिर गइ मन्दिर नै कब्जा गर्ने रणनीतिमा लागेपछि भने गुठीको समितिमा रहेका र अन्य गुठियारसमेत अचम्मित भएका थिए । निजी गुठी अन्तर्गत रहेको संरचना हत्याउन सो समितिमा रहेका पदाधिकारीहरुले अनेक प्रपञ्च रच्न थाले भने उनीहरुले राज गुठी हो भन्दै अदालतमा मुद्धामामिलासमेत गरेका थिए । यद्यपी अदालतले भने सम्पूर्ण प्रमाणहरु हेरीबुझी उक्त संरचना नितान्त पूजाआजा र श्राद्ध गर्ने निजी गुठी नै भएको यथार्थलाई सदर गरेको थियो । वैधानिक रुपमा नै निजी रहेको भनी अदालतले समेत सदर गर्दा पनि सो समितिमा रहेका केही लोभीपापीहरुले भने धार्मिक, पुरातात्विक र पर्यटकीय गन्तव्यको रुपमा रहेको उक्त क्षेत्रमाथि कब्जा गर्ने षड्यन्त्र छोडेनन् ।
सहमति छोडेर आफूखुसी भाडा असुल्दै
तत्कालीन समयमा केही व्यत्तिहरुको मिलेमतोमा मन्दिरको मर्मत सम्भार र जिर्णोद्वारको जिम्मेवारी लिएर त्यस संरचनामा प्रवेश गरेका समितिका पदाधिकारी र सदस्यहरुले मन्दिरको महिमा र गरिमामाथि नै धावा बोल्ने गरी धार्मिक र गैरधार्मिक कार्यहरु गर्नका लागि मन्दिर परिषर भाडामा दिन थाले । त्यस परिषरमा बिवाह, ब्रतबन्धमात्रै होइन, विभिन्न चलचित्र, टेलिचलचित्र तथा म्युजिक भिडियोको छायाँकनको लागि पनि भाडादर नै तोकेर स्थान उपलब्ध मात्र गराएनन् क्याटरिङ र खानेकुराहरुको ठेक्कापट्टामा समेत लागे । मन्दिरको अस्तित्वलाई धरापमा पार्दै उनीहरुले अनधिकृत पार्टी तथा सौचालयको समेत निर्माण गरेर धार्मिक क्षेत्रलाई व्यापारिक प्रतिष्ठानको रुपमा विकास गरे । उनीहरुले त्यहाँको गुठीको महत्वमाथि धावा बोल्दै फरक कुलदेवीको मन्दिरसमेत निर्माण गरेका छन् ।
रक्षक नै भक्षक, समितिमा बसेका मोहीहरु लूटधन्दा
अनौठो त के भएको छ भने मन्दिरको जिर्णोद्वार गर्न बनेको समितिमा सबैजसो पदाधिकारी र सदस्यहरु रामचन्द्र निजी गुठीका मोहीहरु रहेका थिए र अहिले पनि छन् । मन्दिरको आकर्षण घट्न नदिन भनेर समितिमा सपथ खाएका उनीहरुकै मिलेमतो र षड्यन्त्रको कारण गुठीले भने ठूलो क्षति व्यहोरेको छ । गुठी अन्तर्गत मन्दिरको मातहतमा रहेको जग्गामागि गिद्धेनजर लगाएर त्यहाँ प्रवेश गरेकाहरुले पटक–पटक गरेर जग्गा नै आफ्नो नाममा बनाएका छन् ।
व्यवस्थित बनाउन सूचना माग गर्दा छलछाम
मन्दिरको मर्मत सम्भार गर्ने जिम्मेवारी लिएर त्यसको महिमामाथि हिलो छ्याप्दै र अस्तित्व धरापमा पार्दै व्यवसाय गरेर कमाउधन्दामा लागेपछि गुठियारहरुले पटक–पटक आपत्ति जनाएका छन् । २०४८ सालदेखि नै हिसाब किताब नराखी समितिका पदाधिकारी र सदस्यहरुले कमाउने भाँडोको रुपमा मन्दिरलाई दुरुपयोग गरेपछि गुठियारहरुले लिखित रुपमा हिसाब किताबको सूचना माग गरेका थिए । गएको असार २३ गते मात्रै पनि समितिसमक्ष वित्तीय विवरण माग गरिएको थियो भने पुरातत्व विभागले समेत अनधिकृत कामकारबाही नगर्न नगराउन लिखित निर्देशन दिएको थियो । विभागले गएको असार ३ गते लेखेको पत्रमा अनधिकृत संरचना हटाइ मन्दिरको मौलिक स्वरुप कायम गर्नु भन्ने उल्लेख छ । यद्यपी, उनीहरुले विभागको अनुरोधलाई समेत बेवास्ता गरी आफ्नो हर्कतलाई जारी राखेका छन् ।

मासिक कति रकम उठ्छ ?
हामीले प्राप्त गरेको जानकारी अनुसार राम मन्दिर परिसरमा दाताहरुबाटै पनि लाखौं रुपैयाँ उठ्नृ गरेको छ भने परिसलाई अनधिकृत रुपमा भाडामा लगाएकोबाट पनि मासिक लाखौं रकम उठ्ने गरेको छ । दैनिक रुपमा मन्दिर प्रयोग गरेबापत केको कति रुपैयाँ हो भनेर उनीहरुले दररेट नै तोकेका छन् । मन्दिर परिसरमा बिवाह गरेको पनि फरक फरक दररेट तोकिएको छ । जस अनुसार बिवाह गर्ने ठाउँको ७ हजार ५००, बिवाह गर्ने ठाउँ र जग्गेको ९ हजार ५००, क्याटरिङसहितको ११ हजार ५०० रुपैयाँ तोकिएको छ भने ब्रतबन्धको पनि सोही अनुसारको दररेट राखिएको छ । टिकाटाला गर्नु परेमा पनि क्याटरिङसहित ९ हजार ५०० रुपैयाँ तोकिएको छ । यस ठाउँमा सिनेमाको छायाँकन गर्नु परेमा दैनिक १५ हजार ५०० रुपैयाँ तिर्नुपर्छ भने टेलिचलचित्रको ७ हजार ५०० रुपैयाँ र फोटो सुट गरेको १ हजार ५०० रुपैयाँ तिर्नुपर्छ । यस ठाउँमा खानाको समेत कोटा तोकिएको छ । जस अनुसार १०० जनाभन्दा कम मानिस भएमा प्रतिव्यक्ति ५२५ रुपैयाँ र त्योभन्दा बढी भएमा प्रतिव्यक्ति ५०० रुपैयाँ तोकिएको छ । जब कि उनीहरुले खुवाउने खाना सबै भेज हुने गरेको छ । उनीहरुले बिवाह, ब्रतबन्ध लगायतका कार्यहरुमा फोटो तथा भिडियोग्राफीको ठेक्कासमेत लिने गरेका छन् । यस ठाउँमा पूजाआजा आजा गरेको दररेट पनि छुट्टाछुट्टै तोकिएको छ । जस अनुसार अन्नकट उत्सवको ५१ हजार १ रुपैयाँ, नवमी अर्चना एवम् भक्तिवन्दनाको २१ हजार रुपैयाँ, त्रिमञ्जनको २ हजार १०० रुपैयाँ, विष्णुसहसनाम अर्चनाको १ हजार ८ रुपैयाँ, हनुमान चालिसा पाठको १ हजार १०१ रुपैयाँ, बिहानको भोगराग गरेको १ हजार १०१ रुपैयाँ, बालभोग ५०१ रुपैयाँ, १०८ तुलसी अर्चना ३०१ रुपैयाँ, एकादशी फलाहार अर्पण ५०१ रुपैयाँ र आरतीको ५०० रुपैयाँ तोकिएको छ । यद्यपी, उनीहरुले तोकिएको भन्दा पनि सयौं गुणा बढी रकमहरु असुलिएको प्रमाण हामीले फेला पारेका छौं । यस्ता कार्यहरु गर्नु परेमा समितिभन्दा बाहिर गएर सम्पर्क नगर्न उनीहरुले उर्दी जारी गरेका छन् । यसबाटै थाहा हुन्छ, उनीहरुले मन्दिरलाई दुहुनो गाई बनाएर धार्मिक लूट मच्चाइरहेका छन् ।
.jpeg)
लूटको धन्दा लुकाउन झुटो विज्ञप्तिको तमासा
मन्दिरको जिर्णोद्वारको जिम्मेवारी लिएर २०४८ सालदेखि धार्मिक लूट मच्चाइरहेका उनीहरुसँग रामचन्द्र निजी गुठी समिति र गुठियारहरुले पटक–पटक हिसाब किताब माग गरेपछि गुठियारका पदाधिकारीलाई आफ्नो जिम्मेवारी दाबी नगर्न चेतावनीयुक्त विज्ञप्ति जारी गरेको पाइएको छ । गुठी समितिमा हालसम्म पनि कायम रहेका अध्यक्ष तथा उपाध्यक्ष लगायतलाई आफूहरु गुठीको मान्छे हो भन्दै नहिड्न उनीहरुले विज्ञप्ति मार्फत चेतावनी दिएका हुन् । पुरातत्व विभागले समेत अनधिकृत कार्य नगर्न भन्दै पत्र लेखेपछि अत्तालिएका उनीहरुले गुठी समितिको अध्यक्ष र उपाध्यक्ष लगायतले गरिरहेको कार्यलाईसमेत भ्रामक भनेर विज्ञप्तिमा उल्लेख गरेका छन् तर समितिको नक्कली छाप र लेटरहेड दुरुपयोग गरेको आरोप लगाउँदै विज्ञप्ति निकालेका उनीहरुले कानुनी उपचारमा भने नगएको देखिएको छ । यसबाट पनि उनीहरुको झुट र धार्मिक ठगी छताछुल्ल भएको छ ।

मन्दिरको दुरुपयोग गरेर कमाउ धन्दामा लाग्नेहरु को–को हुन् ?
२०४८ सालदेखि मन्दिरको दुरुपयोग गरेर कमाउधन्दामा लागेका मध्ये कतिपयको मृत्यु भइसकेको छ भने कतिपय पदाधिकारीहरुले राजीनामा पनि दिएको अभिलेख भेटिएको छ । हालको समितिमा रहेकाहरुले झन् चरम दुरुपयोग गरेका छन् । श्रीरामचन्द्रमन्दिर जिर्णोद्वार एवम् सम्वद्र्धन समितिमा बसेर मन्दिरको दुरुपयोग गर्नेहरुमा सिंगो समिति नै एक देखिएको छ । जसमा अध्यक्ष डा.गोविन्द टण्डन, उपाध्यक्ष पुण्यप्रसाद लोहनी, सदस्य सचिव केशव खत्री घिमिरे, कोषाध्यक्ष सागरप्रसाद सिग्देल र सदस्यहरुमा संगीता श्रेष्ठ एण्ड हाउस, केशव ध्वज राणा, बल ध्वज राणा, शम्भु ध्वज राणा, गोपाल मल्ल, अञ्जन राजभण्डारी तथा मुरारीबहादुर कार्की रहेका छन् ।
यसबारेमा बुझ्न समितिका अध्यक्ष टण्डनलाई पटक–पटक फोन गर्दा सम्पर्क हुन सकेन । श्रीराम मन्दिरको दुरुपयोगका बारेमा हामीले अझ धेरै प्रमाणहरु फेला पारेका छौं भने केही प्रमाणहरु हाम्रो खोजीमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
तुलसी बाँस्कोटा







