काठमाडौँ । छठ पर्व नजिकिँदै गर्दा अहिले महोत्तरीका डोम समुदायलाई बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ भएको छ । छठमा बाँसका डोको, डालोलगायत सामग्रीको माग बढी आउने भएकाले यहाँका डोम समुदाय व्यस्त छन् ।
गाँस, बास र कपासका लागि बाँसका भाँडाकुँडा बनाउने पेसा पुर्खादेखि हस्तान्तरण हुँदै आएकाले यसलाई निरन्तरता दिएको जलेश्वर नगरपालिका–२ का भोगिन्द्र डोमले बताए । छठमा माग बढी हुने भएकाले कात्तिकभरिको कमाइबाट चाडपर्व मनाउने अवसर प्राप्त हुने उनको भनाइ छ ।
जिल्लाको जलेश्वर, मटिहानी, पिपरा, औरही, गौशाला, सम्सी, सोनमा, रामगोपालपुर, एकडारा, मनरालगायत स्थानमा बसोबास गर्ने डोम समुदाय छठ पर्वका लागि बाँस र बेतबाट डालो, नाङ्ग्लो, टालु, टपरीलगायत भाँडाकुँडा बनाउन व्यस्त भएका हुन् ।
बाँसको चोयाबाट डालो, नाङ्ग्लो बुन्दै गरेकी मनरासिस्वा नगरपालिका–१ की ७० वर्षीया बेचनी डोमिनले भनिन्, ‘कात्तिक लाग्नेबित्तिक्कै घरका सबैले बिहानदेखि बेलुकासम्म डालो, नाङ्ग्लो र टालु टपरी बनाउने काम पाएका छौँ । छठमा यी सामग्री बेच्दा मनग्य आम्दानी हुने भएकाले यसलाई अवसरका रुपमा लिएका छौँ ।’
छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाट बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्दछ ।
छठको आगमनसँगै डोम समुदायका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने विश्वास रहेको पिपरा–१ का बिकाउ डोमले बताए । सोही कारण दिनरात व्रतालुहरुका निम्ति बाँसका भाँडाकुँडा बनाउने गरेको उनका भनाइ छ ।
सम्सी गाउँपालिका–४ का मनोज डोमले डालो, नाङ्ग्लो र टालु टपरी बेचेर कात्तिक भएको आम्दानीले वर्षभरिको खर्चको जोहो गर्ने बताए । सोनमा गाउँपालिका–३ का विजय डोमले घरका बालकदेखि बुढासम्मले डालो, नाङ्ग्लो बेचेर प्रतिव्यक्ति रु २० हजार देखि रु २५ हजार र प्रत्येक परिवारले रु एक लाखसम्म आम्दानी गर्ने गरेका जानकारी दिए । पछिल्लो समय छठ पर्व मनाउनेको सङ्ख्यामा वृद्धि हुँदै जाँदा बजार माग पनि बढी भएको उनको भनाइ छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीको शानदार प्रदर्शन, सरकारी प्रोत्साहन भने खोइ ?
- रसुवा बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् सङ्कटग्रस्त घोषणा
- रसुवा बाढी प्रभावितप्रति नाइमाको दुःख व्यक्त
- रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय
- रसुवागढी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक



ट्रेन्डिङ
खबरमुकाम







