भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा अवस्थित निलबाराही मन्दिर क्षेत्र, जुन धार्मिक, सांस्कृतिक र पर्यावरणीय हिसाबले अतिसंवेदनशील मानिन्छ, अहिले गम्भीर पहिरोको जोखिममा छ । लगातारको वर्षासँगै पहिरोले मन्दिर क्षेत्रलाई जोगाउन थप चुनौती थपिएको छ । यस्तो अवस्थामा आठौं हप्ता पुग्दा पनि पहिरो नियन्त्रणमा स्थानीय समुदायको श्रमदान र सक्रियता त देखिएको छ, तर नगरपालिका प्रशासनको भूमिका भने अपेक्षाकृत रूपमा कमजोर देखिएको छ ।
समन्वय बैठकः प्रतिबद्धता मात्र, कार्यान्वयन कता ?
निलबाराही बचाउ अभियानमा लागेका अभियन्ताहरुको अगसवाईमा आठौँ हप्तामा पनि पहिरो रोकथामको लागि जनश्रमदानसहितको कार्य जारी रहेका परिप्रेक्ष्यमा नगरपालिकाको आयोजनामा हालै सम्पन्न समन्वय बैठकमा काठमाडौं उपत्यका विकास प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, सरोकार समितिका प्रतिनिधि र बिज्ञ इन्जिनियरहरूको टोली सहितको छलफल कार्यक्रम सम्पन्न भएको छ । जसमा वरिष्ठ इन्जिनियर दिलीप गसी र जियोटेक्निकल इन्जिनियर राजेश्वरी श्रेष्ठद्वारा पहिरो रोकथामका लागि आवश्यक प्राविधिक सुझावहरूमा दीर्घकालीन योजना, जल निकास प्रणाली सुधार र ढल निकासी संरचना मजबुत बनाउने विषयहरूमा जोड दिइएको थियो ।
बैठकले ‘समन्वय, प्राविधिक सुधार र जनसहभागिताको सशक्तीकरण’ जस्ता शब्दहरू दोहोर्याएको देखिए पनि, यस्ता प्रतिबद्धता व्यवहारमा कति प्रभावकारी हुन्छन् भन्नेमा प्रश्न उब्जिएको छ ।
स्थानीय श्रमदानः आठ हप्ता, सयौँ हात
वास्तविकता के हो भने, विगत आठ हप्तादेखि मन्दिर क्षेत्रको संरक्षणमा समुदाय नै अगाडि देखिएको छ । प्रत्येक हप्ताको शनिबार स्थानीय बासिन्दा, स्वयंसेवक, धार्मिक श्रद्धालुहरू र सरोकारवाला नागरिकहरूको उल्लेखनीय सहभागितामा श्रमदान भइरहेको छ । ढुंगा बिछ्याउने, पानी निकास सुधार गर्ने, पहिरो नियन्त्रणका लागि आवश्यक तटबन्ध निर्माणका काममा उनीहरू जुटिरहेका छन् ।
श्रमदानमार्फत भइरहेको पहिरो नियन्त्रण प्रयासले देखाएको सामाजिक ऐक्यबद्धता भने साँच्चिकै प्रेरणादायी छ । तर प्रश्न उठ्छः “हाम्रो सम्पत्ति, हाम्रो संस्कृति“ भन्ने नाराका अगुवा स्थानीय सरकार यो प्रयासमा कहिं कतै नदेखिएको जनगुनासो बढ्दै गएको छ ।
बजेट र योजनाः असारको भेलमै बग्ने खतरा
स्थानीय सरकार र विभिन्न निकायबाट निलबाराही क्षेत्रका लागि विनियोजित बजेट र योजना कागजमै सीमित हुँदै असारको भेलसँगै बग्ने खतरा देखिन थालेको छ । समन्वय बैठकपछि तत्कालिन कार्यान्वयन, कार्ययोजना सार्वजनिक गर्ने, जिम्मेवार पक्ष तोक्ने, अनुगमन समिति गठन गर्ने जस्ता कदम नचालिने हो भने ‘संवेदनशील क्षेत्र’का लागि गरिएका प्रतिबद्धता केवल औपचारिकता बन्न पुग्नेछन् ।
ऐतिहासिक सम्पदा जोगाउन सामूहिक प्रयास मात्र पर्याप्त छैन, नेतृत्व पनि चाहिन्छ
निलबाराही केवल एक धार्मिक स्थल मात्र होइन, यो ऐतिहासिक सम्पदा स्थलसमेत हो, जसले मध्यपुर थिमिको पहिचान बोकेको छ । सामूहिक श्रमदान प्रशंसायोग्य छ, तर स्थानीय सरकारको स्पष्ट रणनीति, बजेट उपयोगमा पारदर्शिता, र दीर्घकालीन योजना बिना यस्तो प्रयास दीर्घकालीन संरक्षणमा रुपान्तरण हुन सक्दैन ।
समय छ, तर धेरै छैन । अब नगरपालिका गम्भीर भएर अगाडि नबढ्ने हो भने, भविष्यमा यो क्षेत्रलाई सुरक्षित राख्न सामूहिक भावना मात्र पर्याप्त हुने छैन । नेतृत्व, उत्तरदायित्व र कार्यान्वयनको स्पष्टता अपरिहार्य भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
- बाढी प्रभावितका लागि पुनर्स्थापना प्याकेज बनाउने सरकारको निर्णय
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन



ट्रेन्डिङ
खबरमुकाम







