याङ्वरक कोशी प्रदेशको मध्य पहाडी जिल्ला पाँचथरको पूर्वोत्तरमा पर्ने पर्यटकीय दृष्टिले मनोरम गाउँपालिका हो । जहाँ प्राकृतिक, सांस्कृतिक आदि विभिन्न पर्यटकीय गन्तव्य रहेका छन् । हामीले याङ्वरक गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्य याङ्वरक र गुप्तेश्वर महादेवलाई प्राथमिकीकरण गरेर कोशी प्रदेशले आयोजना गरेको भ्रमण वर्ष २०८२ का लागि तय गरेको स्लोगन ‘८२ का ८२ गन्तव्य’ मा आधारित रही मुकामको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२ विशेशाङ्क’ मा यसरी समावेश गरेका छौँ ।
गुप्तेश्वर महादेव
पाँचथरको याङ्वरक गाउँपालिकामा अवस्थित गुप्तेश्वर महादेवको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । पूर्वी पहाडका दर्शनार्थीले गुप्तेश्वर महादेवको दर्शनबाट मन शान्ति, धन र सन्तान प्राप्ति हुने विश्वास गर्दछन् । गुप्तेश्वर महादेव स्थानमा गुफाभित्र गोरुको स्वरूपका महादेव रहेको विश्वास गरिन्छ । निरन्तर पानी बगिरहने यो गुफाभित्र विभिन्न देवाकृतिहरू देख्न सकिन्छ । महादेव गुफाभित्र रहेको विश्वासका कारण यस स्थानलाई गुप्तेश्वर महादेव स्थान भन्ने गरिएको छ ।
उक्त स्थानमा वि.सं. १९६५ सालतिर मन्दिर निर्माण भएको स्थानीयवासी बताउँछन् । उक्त स्थानमा इन्द्रावती मेला लाग्ने गरेको छ भने बालाचतुर्दशीका दिन सद्बिज छर्नेको घुइँचो हुन्छ । यहाँ निर्माण भएको मन्दिर पनि निकै आकर्षक र पृथक छ । कालो दाल पिसेर भिजाई सिमेन्टका रूपमा प्रयोग गरिएका कारण मन्दिरको संरचना दर्विलो रहेको छ । गुफाभित्र ढुङ्गाको दियो छ । गुफा करिब १५ मिटर लामो छ । कतिपयले यस स्थानमा नाग पनि भेटेका छन् भने कतिपय बेलुकीको समयमा गाई हिँड्डुल गरेको आवाज सुन्ने गरेको बताउँछन् ।
याङ्वरक
याङ्वरक उत्तरपूर्वी पाँचथरको याङवरक गाउँपालिका– ४, थुर्पमा अवस्थित महत्त्वपूर्ण मुन्धुमी स्थल हो । याक्थुङ (लिम्बू) जातिले ‘युमा?’ लाई आराध्यदेवीको रूपमा पुज्छन् । सर्वशक्तिमान्, निराकार देवीको रूपमा पुकार्छन् । उनै युमा? कहिले तरुणवयमा त कहिले बृद्धा स्त्रीमानवको रूप लिएर विभिन्न स्थानहरूमा प्रकट भई मानवजातिलाई ज्ञान, सिप, बुद्धि, विवेक दिएको प्रशंग मुन्धुममा वर्णित छ ।

मुन्धुममा वर्णन गरिए अनुसार युमा? डाँडापाखा, रनवन र पहाडपर्वतहरूमा घुम्दै आउँदा अहिलेको याङ्वरकमा आइपुगिन् । यस ठाउँमा पुगेपछि आफ्नो थुन्चे बिसाएर एकछिन सुस्ताइन् । र, यहाँको दबदबे हिलो सहितको पानीमा पैसा (सिक्का) हालिन् र अलप भइन् । त्यसैले यस ठाउँलाई याङ्वरक भनिएको हो । याक्थुङ (लिम्बू) भाषामा ‘याङ’ को अर्थ ‘पैशा’ र ‘वरक’ को अर्थ ‘पोखरी’ भन्ने हुन्छ ।
यहाँ निशानथान पनि छ । हरेक बर्ष बडादशैँको महानवमीको दिन यहाँ ठूलो मेला लाग्छ । निशान मेलाको नामले परिचित उक्त मेलामा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले लिम्बुवानलाई दिएका ‘श्रीजंगी’ र ‘श्रीकंफु’ नामका दुई निशान नचाइन्छ । याङ्वरकका सुब्बाहरूले २४९ वर्षदेखि उक्त निशान नचाउँदै आएका छन् । निशान हेर्न बडादशैँको महानवमीको दिन यहाँ दशौँ हजार मानिस जम्मा हुन्छन् ।
मुकाम, कोशी प्रदेश भ्रमण वर्ष २०८२ विशेषाङ्कबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
- बाढी प्रभावितका लागि पुनर्स्थापना प्याकेज बनाउने सरकारको निर्णय
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन



ट्रेन्डिङ
खबरमुकाम







