नेपालगन्ज। बाँके र बर्दियाका थारू बाहुल्य गाउँबस्तीमा अट्वारी पर्वको तयारी तीव्र पारिएको छ । सो पर्व थारू गाउँबस्तीमा यस वर्ष यही भदौ ८ गते धुमधामका साथ मनाइँदै छ ।
यो पर्वमा थारू जातिले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजा गर्ने गरेको जनाउँदै भीमको पूजाको तयारीमा जुटेको बाँके रझेनाका थारू अगुवा दिनेश चौधरीले बताए ।
उनले यो चाड श्रीकृष्ण अष्टमीपछिको पहिलो आइतबार मनाइने भएकोले अटवारी भनिएको र सो दिन अधिकांश थारू समुदायका पुरुषहरु दिदीबहिनीका लागि व्रत बस्ने बताए ।
यस्तै, कोहलपुर मैटहवाका थारू अगुवा राजेन्द्र चौधरीले अटवारी विशेषगरी दुई दिन मनाउने जनाउँदै पहिलो दिन दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने तथा दोस्रो दिन बिजोडी थरीथरीका तरकारीलगायत खानेकुरा पकाइने बताए।
यस्तै, बर्दिया राजापुरका थारू अगुवा सोम डोमेनदौरा चौधरीले दाइभाइले दिदीबहिनीप्रतिको स्नेह दर्शाउने विशेष अवसर नै अटवारी पर्व भएकोले यो अतिनै महत्त्वपूर्ण हुने बताए । उनले आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा पनि ‘अटवारी’ लाई लिइने गरिएको बताए ।
बर्दिया राजापुरकै अर्का थारू अगुवा भीमसेन चौधरीका अनुसार थारू समुदायमा रहँदै आएको प्रचलित किंवदन्ती अनुसार कुनै बेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारू बसोबास गरेको ठाउँ) मा पुगेका थिए । सो किंवदन्ती अनुसार उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीहरूमाथि जबरजस्ती गर्ने गरेको थियो। ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारू समुदायमा रही आएको छ ।
उनका अनुसार व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । त्यही परिकार लिएर दाजुभाइ विवाहिता दिदीबहिनीलाई भेट्न उनीहरूकै घर जान्छन् । अग्रासनलाई दिदीबहिनीले अत्यन्त महत्वका साथ लिने गरेको थारू अगुवा चौधरीले बताए ।
थारू समुदायमा अट्वारी पर्वलाई नारी सम्मान र भाइचाराको प्रतीकको रूपमा लिने गरेको थारू अगुवाहरुले जनाएका छन् ।
सिराज खान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
- बाढी प्रभावितका लागि पुनर्स्थापना प्याकेज बनाउने सरकारको निर्णय
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन



ट्रेन्डिङ
खबरमुकाम







