झापा । झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा चार लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ । पूर्वको पशुपतिनाथका रुपमा परिचित उक्त धामले ४१औँ वार्षिक अनुष्ठानको आयोजना गरी चार लाख धार्मिक पर्यटक भित्र्याउने तयारी थालेको हो ।
विसं २०३९ देखि यहाँ प्रत्येक वर्ष वार्षिक अनुष्ठान हुँदै आएको धाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए । मङ्सिर १७ देखि २५ गते (बालाचतुर्दशीका दिनसम्म) नौ दिवसीय श्रीमद् देवीभागवत महापुराण गरिने जनाउँदै मङ्सिर १९ देखि २४ गतेसम्म दैनिक योग साधना शिविरको आयोजना गरी सो पर्यटक भित्र्याउने तयारी गरिएको बताए ।
यस वर्षको मेलामा नेपाल, भारत र भूटानका चार लाख धार्मिक तीर्थयात्री आउने अपेक्षा गरिएको गट्टानीको भनाइ थियो । अर्जुनधारा जलेश्वर धाम झापाको अर्जुनधारा नगरपालिका–७ शनिश्चरेमा रहेको छ ।
सरकारले नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरेको यो धाममा पशुपतिनाथकै जस्तो पेगोडा शैलीमा शिव मन्दिर, चार ढोका र तामाको छानो निर्माण गरिएको उनले जानकारी दिए । उनका अनुसार मन्दिरको तस्वीरलाई सरकारले हुलाक टिकटमा सङ्केत अङ्कित गरिसकेको छ ।
“महाभारतकालीन किंवदन्तीअनुसार पाँच पाण्डवले गुप्तबास बसेकाबेला अर्जुनले तिर्खाएका विराट राजाका गाईहरुको प्यास मेटाउन धनुषवाण हानेर धरतीभित्रबाट जलधारा निकालेको पवित्र स्थानका रुपमा यस धामलाई मानिएको छ”, अध्यक्ष गट्टानीले भने, “विराट राजाको गाई हरण गरेर लगेपछि अर्जुनले युद्धबलद्वारा ती गाईहरु पुनःफर्काएर ल्याएका भन्ने भनाइ प्रख्यात छ ।” उनका अनुसार अहिले धाम परिसरमा रहेको ठूलो पोखरीको माझमा अर्जुनले धनुषवाण हानिरहेको मूर्ति स्थापना गरिएको छ भने पानीको धारा अनवरत बगिरहेको छ ।
बालाचतुर्दशीका अवसरमा आयोजना हुने अनुष्ठानमा भारतको प्रसिद्ध पतञ्जली योगपीठ हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण प्रमुख अतिथिका रुपमा आउनुहुने धाम समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए । उनका अनुसार आचार्य बालकृष्णसहित पतञ्जली योगपीठका योग प्रशिक्षकको टोली धाममा आएर छ दिनसम्म योग साधना गराउने कार्यक्रम तय भएको छ ।
धाममा हजारौँको सङ्ख्यामा आउने धार्मिक भक्तजनले मुलुकको पर्यटकीय क्षेत्रमा सकारात्मक प्रभाव पार्ने जोशीको भनाइ थियो । उनका अनुसार आचार्य बालकृष्णले धाम परिसरमा निर्मित खडेबाबा स्मृति उद्यानको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । “धामको स्थापना खडेबाबा नामका एक साधुले गरेका कारण उहाँको स्मृतिमा धाम परिसरमा शालिकसहितको एउटा पार्क निर्माण गरिएको हो”, उनले भने ।
धामका मूल अर्चक आचार्य अग्नि सिग्देलले यस वर्षको धार्मिक अनुष्ठान क्रममा गङ्गा आरती, यज्ञ अनुष्ठान, योग साधना र सतबीज छर्नेलगायत प्रमुख आकर्षण रहने बताए । उनका अनुसार यहाँ सञ्चालित गुरुकूल र अन्नदाता अक्षयकोष वृद्धिका लागि धाम समितिले दातासँग स्वेच्छिक सहयोगको आह्वान गरेको छ ।
धामका प्रचार संयोजक रमेश त्रिखत्रीका अनुसार अन्नदाता र गुरुकूल अक्षयकोष सञ्चालनका लागि रू एक करोडका दरले दुई अलगअलग अक्षयकोष बनाउने लक्ष्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






