विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा 

काठमाडौं । विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुपको लगानी विस्तार हुँदै जलविद्युत् आयोजनाको सेयर सर्वसाधारणसम्म पुर्‍याउने चरणमा पुगेको छ । बीजी ग्रुपअन्तर्गतको बेनी खोला जलविद्युत् आयोजना प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) सम्पन्न गरेपछि सेयर बजारमा सूचीकृत हुने तयारीमा रहेको छ ।

ब्रिटिश सेना तथा सिङ्गापुर प्रहरीमा कार्यरत नेपाली सैनिक तथा पेन्सनधारीको सामूहिक बचतबाट स्थापना भएको बीजी ग्रुपले सुरुवाती चरणदेखि नै नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्दै आएको हो । कम्पनीले विदेशमा कार्यरत नेपालीले आफ्नो आम्दानीको हिस्सा स्वदेशमै लगानी गरी नेपालको आर्थिक तथा पूर्वाधार विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ लगानीको अवधारणा अघि बढाएको जनाएको छ ।

सन् २०१३ मा कप्तान पृथ्वी राज राईको नेतृत्वमा स्थापना भएको बीजी ग्रुपमा हाल १६७ भन्दा बढी सेयरधनी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अधिकांश सेयरधनी अझै पनि विदेशमा कार्यरत छन् । विदेशमा रहेर आर्जन गरेको आम्दानीलाई सामूहिक रूपमा परिचालन गर्दै नेपालमै लगानी गर्ने अवधारणालाई कम्पनीले आफ्नो मुख्य आधार बनाएको छ ।

बीजी ग्रुपले प्रारम्भिक लगानी गरेको सोलुखुम्बुको १९.८ मेगावाट क्षमताको बेनी खोला जलविद्युत् आयोजनाले हालै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) सफलतापूर्वक सम्पन्न गरेको थियो । आयोजनाको सेयरमा सर्वसाधारणको आकर्षण उच्च देखिएको कम्पनीले जनाएको छ । माग गरिएको सेयरको तुलनामा करिब ३०.५५ गुणा बढी आवेदन परेको थियो। कुल २३ लाख ६१ हजार १२४ जना आवेदकले आवेदन दिएकोमा तीमध्ये ८६ हजार ३२० जना आवेदकले सेयर प्राप्त गरेका छन् ।

आईपीओपछि अब बेनी खोला जलविद्युत् आयोजना सेयर बजारमा सूचीकृत हुने तयारीमा छ । आयोजना सेयर बजारमा सूचीकृत भएपछि हजारौँ नेपाली सर्वसाधारणले जलविद्युत् आयोजनामा प्रत्यक्ष स्वामित्व प्राप्त गर्ने अवसर पाउने कम्पनीको विश्वास छ ।

दुई आर्थिक वर्ष घाटामा गएपछि नाफामा
१९.८ मेगावाट क्षमताको बेनी खोला जलविद्युत् आयोजना सञ्चालनको प्रारम्भिक चरणमा लगातार दुई आर्थिक वर्ष घाटामा गएको थियो । तर पछिल्लो आर्थिक वर्षमा आयोजनाले आफ्नो वित्तीय अवस्थामा सुधार गर्दै १५ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

बीजीका प्रमुख कार्यकारी अधिकृत चेतन राईले बेनी खोला जलविद्युत् आयोजनालाई वर्तमान अवस्थासम्म ल्याउन कम्पनीले निर्वाह गरेको भूमिकाप्रति गर्व लागेको बताएका छन् । उनका अनुसार आयोजनाको सेयर निष्कासन केवल लगानीकर्ताका लागि मात्र नभई देशभरका नेपालीका लागि समेत महत्वपूर्ण उपलब्धि हो ।

उनले विदेशमा कार्यरत नेपालीको सामूहिक लगानीबाट ऊर्जा उत्पादन गर्ने आयोजनामा सर्वसाधारण नेपालीलाई समेत सेयरधनी बन्ने अवसर प्राप्त हुनु सकारात्मक पक्ष भएको बताएका छन् ।

जलविद्युत्बाहेक अन्य क्षेत्रमा पनि लगानी विस्तार
बीजी ग्रुपले आफ्नो लगानीलाई जलविद्युत् क्षेत्रमा मात्र सीमित नराख्ने जनाएको छ । कम्पनीले सिन्धुपाल्चोकमा रहेको ३।२ मेगावाट क्षमताको गेलुङ खोला जलविद्युत् आयोजनामा समेत लगानी गरेको छ । निर्माणका क्रममा लामो समयसम्म विभिन्न समस्या तथा आर्थिक अवरोध व्यहोरेको उक्त आयोजना अहिले पूर्ण क्षमतामा सञ्चालनमा आएको र उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री भइरहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी बीजीले सिन्धुपाल्चोकमै रहेको ६४ मेगावाट क्षमताको माथिल्लो न्यासेम तथा न्यासेम ‘ए’ जलविद्युत् आयोजनामा समेत लगानी गरेको छ । उक्त आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरिसकेको छ र हाल वित्तीय व्यवस्थापनको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ। आयोजनामा नयाँ लगानीकर्ता समेत थपिएका छन् ।

कम्पनीले आगामी दिनमा आतिथ्य, शिक्षा तथा पर्यटनलगायतका क्षेत्रमा समेत लगानी विस्तार गर्ने योजना बनाएको छ । विभिन्न क्षेत्रमा लगानी गरेर जोखिम विविधीकरण गर्ने तथा सेयरधनीका लागि दीर्घकालीन रूपमा बलियो लगानी पोर्टफोलियो निर्माण गर्ने बीजीको लक्ष्य छ ।

तीन वर्षमा प्रमुख लगानी कम्पनी बन्ने लक्ष्य
बीजीको नेतृत्व हाल प्रमुख कार्यकारी अधिकृत चेतन राईले गरिरहेका छन् । कम्पनीका अनुसार राईले सन् २०२६ अप्रिलदेखि नेतृत्व सम्हालेका हुन् । व्यवसाय तथा कानुनको क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव रहेका राईले यसअघि विश्व बैंक, एसियाली विकास बैंक तथा विभिन्न संयुक्त राष्ट्रसंघीय निकायमा परामर्शदाताका रूपमा काम गरिसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी तीन वर्षभित्र आफूलाई नेपालको प्रमुख लगानी कम्पनीका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। त्यस्तै, आगामी पाँच वर्षभित्र आफ्नै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याएर सेयर बजारमा प्रवेश गर्ने योजना समेत अघि सारेको छ ।

बीजीका अनुसार बेनी खोला जलविद्युत् आयोजनाको सफल यात्रा कम्पनीका लागि महत्वपूर्ण सुरुवात हो। विदेशमा कार्यरत नेपालीको सानो–सानो बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सके त्यसले व्यक्तिगत लगानीकर्तासँगै देशको अर्थतन्त्रमा समेत योगदान पुर्‍याउन सक्ने कम्पनीको विश्वास छ।

विशेषगरी विदेशमा कार्यरत नेपालीले पठाउने रकम उपभोगमा मात्र सीमित नराखी जलविद्युत्, पर्यटन, शिक्षा तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्न सके मुलुकको आर्थिक विकासमा प्रत्यक्ष योगदान पुग्ने बीजीको धारणा छ ।

बेनी खोला जलविद्युत् आयोजनामा गरिएको लगानी र त्यसको सफल प्राथमिक सार्वजनिक निष्कासनले विदेशमा कार्यरत नेपालीको सामूहिक लगानीबाट पनि ठूला पूर्वाधार आयोजनामा स्वामित्व कायम गर्न सकिने उदाहरण प्रस्तुत गरेको बीजीले जनाएको छ । कम्पनीले अब बेनी खोला, गेलुङ खोला तथा माथिल्लो न्यासेमजस्ता आयोजनामा रहेको लगानीलाई थप व्यवस्थित गर्दै अन्य क्षेत्रमा समेत लगानी विस्तार गर्ने तयारी गरेको छ ।

विदेशमा कार्यरत नेपालीबाट सुरु भएको सामूहिक बचतको अवधारणा जलविद्युत् आयोजनाको स्वामित्व हुँदै नेपालको सेयर बजारसम्म आइपुगेको भन्दै कम्पनीले यसलाई विदेशमा रहेको नेपालीको सामूहिक लगानी र स्वदेशी पूर्वाधार विकासबीचको सम्बन्ध थप बलियो बनाउने महत्वपूर्ण कदमका रूपमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै