काठमाडौँ । सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा उनको पति मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि मुद्दाको पुर्पक्षको लागि साधारण तारेखमा राख्ने गरी उच्च अदालत जनकपुरबाट असोज १८ गते भएको आदेश बदर गरिदिएको हो ।
आदेशमा भनिएको छ, ‘अब निज प्रतिवादीका हकमा पछि बुझिएका प्रमाणबाट ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दाको किनारा नलागेसम्म मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ (१) (क) बमोजिम मुद्दाको पुर्पक्षको लागी थुनामा राखी कानुनबमोजिम गर्नु।’
प्रमाणहरूको रोहमा विचार गर्दा आरती साहको मृत्यु प्रतिवादी मोतीबाबु साहको कर्तव्यबाट भएको रहेछ भनी विश्वास गर्नु पर्ने अवस्था देखिएको अदालतको ठहर छ । शव परीक्षण प्रतिवेदनमा मृत्युको कारणमा झुन्डिएर (सम्भावित आत्महत्याको प्रकृति) भनी उल्लेख भएकोमा सोही प्रतिवेदनमा हाइओइड बोन थाइराइड कार्टिलेज इन्ट्याक्ट भनी उल्लेख भएकोबाट झुन्डिएर भन्ने चिकित्सकको राय पछि थप परीक्षणबाट पुष्टि नभएसम्म अकाट्य प्रमाणको रूपमा ग्रहण गर्न नसकिने अवस्था रहेको आदेशमा उल्लेख छ।
शव परीक्षण प्रतिवेदनमा सम्भावित आत्महत्याको प्रकृति भनी उल्लेख भएको विषयलाई लिएर नेपाल मेडिकल काउन्सिलबाट छानबिन हुँदा सोही काउन्सिलको च.नं. १४७/०८०/०८४ मिति २०८०।०५।०३ को पत्रबाट त्यस्तो उल्लेखन त्रुटिपूर्ण रहेको भन्ने देखिएको आदेशमा भनिएको छ। ‘घटनास्थल मुचुल्काबाट घटना भएको कोठामा भुइँदेखि छतसम्म १० फिट र पलङको सतह देखि सिलिङ फ्यानको उचाइ ७ फिट ५ इन्च रहेको देखिएकोमा मृतकले झुन्डिने प्रयोजनको लागी कुनै टुल, मेच वा अन्य वस्तु प्रयोग गरेको भन्ने पनि देखिँदै,’ आदेशमा भनिएको छ । मौकामा कागज गर्ने प्रदीप कुमार साह, शङ्कर कुमार साह र दिलीप कुमार यादवले पनि मृतकलाई प्रतिवादीले कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने ब्यहोरा लेखाएको देखिएको पनि जिकिर गरिएको छ ।
अर्का प्रतिवादी मदन मोहन साह भन्ने मदन मोहन ब्याहुत सुडीको हकमा भने मुद्दाको पुर्पक्षको लागि थुना मै राख्नु पर्ने सम्मको अवस्था नदेखिँदा १ लाख रुपैयाँ धरौटीमा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






