कविडाँडा आख्यान पुरस्कार- २०७९ 'मनु' उपन्यासलाई दिइएको छ । कविडाँडा साहित्य समाज चितवनले शनिबार कार्यक्रम गरी कविडाँडा आख्यान पुरस्कार–२०७९ समालोचक तथा उपन्यासकार देवीप्रसाद सुवेदीको मनु उपन्यासलाई प्रदान गरिएको हो ।
सौराहास्थित एक लजमा शनिबार आयोजित कार्यक्रममा लाल-मीना फाउन्डेसनकी अध्यक्ष मीना लामिछाने र कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्रीले सम्मानपत्रसहित सुवेदीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी १ लाख २५ हजार रुपैयाँ छ ।
समाजले उक्त पुरस्कारका लागि गत भदौ २३ गते १० वटा उत्कृष्ट आख्यान कृतिको सूची सार्वजनिक गरेको थियो । त्यसपछि दोस्रो चरणमा उत्कृष्ट ५ वटा कृतिको सूची सार्वजनिक गरेको थियो ।
सूचीमा सुवेदीको मनु उपन्याससहित जानुका खतिवडाको आतोओडा, विवेक ओझाको ऐँठन, रामलाल जोशीको बाआमा, अशोक थापाको सन्तापको धून, गोपी सापकोटाको चिसो बाफ, मनोज चौधरीको टुवरा, सञ्जय विष्टको माटाको घर, हरिबोल काफ्लेको यशोधरा र रेणुका जिसीको सनेस रहेका थिए ।
बुकहिल पब्लिकेसन्सबाट प्रकाशित सुवेदीको मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो । मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानव जातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ । नेपाली साहित्यमा मदनमणि दीक्षितको उपन्यास 'माधवी' लेखनको ४ दशकपछि ऋग्वैदिक सामाजिक उपन्यास ‘मनु’ प्रकाशन भएको हो ।
२०७५ सालबाट दिन थालिएको यो पुरस्कार पहिलोपटक महेश थापाको 'मरिचिका' कथासङ्ग्रहलाई दिइएको थियो । त्यसपछि २०७६ सालमा श्याम शाहको 'पथेर' कथासङ्ग्रह, २०७७ सालमा भुवन ढुंगानाको 'परित्यक्ता' उपन्यास र २०७८ सालमा लोकराज भट्टको 'छाइल' उपन्यासले प्राप्त गरेका थिए ।
मनु उपन्यासले खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री पुरस्कार- २०७९ पनि प्राप्त गरेको छ । वि.सं. २०६० सालमा स्थापना भएको कविडाँडा साहित्य समाजले नियमितरूपमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






