काठमाडौं । दश वर्षभन्दा बढी समय म्याग्दीको बेनीमा रेडियो, पत्रिका र अनलाइनमा काम गरेका पदम विश्वकर्मा गत भदौमा अस्ट्रेलियातिर लागे । बेनीका अर्का पत्रकार धीरनबहादुर खत्री पनि एकदशक लामो पत्रकारितालाई बिट मारेर वैदेशिक रोजगारीका लागि यसै हप्ता युएई जाने तयारीमा छन् । म्याग्दीमा सञ्चार पेसा छाडेर वैदेशिक रोजगारीमा जाने विश्वकर्मा र खत्री प्रतिनिधि पात्र मात्र हुन् ।
पत्रकार महासङ्घ जिल्ला शाखाअन्तर्गत तीन वर्षअघि ६२ साधारण सदस्य थिए । पत्रकार महासङ्घको शुद्धीकरण अभियानपछि जिल्लामा साधारण सदस्य १२ र अन्य गरेर १५ जनाको हाहाहारीमा पत्रकार तथा सञ्चारकर्मी छन् । पत्रकार महिलाको सङ्ख्या न्यून छ । भएकाहरू पनि पत्रकारिता छाडेर व्यापार, व्यवसाय, शिक्षण, वैदेशिक रोजगार र गैरसरकारी संस्थामा जागिर गर्न थालेका छन् ।
पत्रकार महासङ्घका जिल्ला अध्यक्ष प्रकाश पौडेल सञ्चार माध्यम बन्द हुने र पत्रकार पलायन हुने दुःखद् अवस्था आएकोमा चिन्ता व्यक्त गर्छन् । उनले भने, ’सञ्चार माध्यम रहे पत्रकार हुुने हो, सञ्चारगृह धमाधम बन्द हुुन थालेका छन्, निगरानी र खबरदारी गर्ने भूमिकामा रहेका पत्रकार पलायन हुुँदा समाजमा अनियमितता, विकृति, बेथिति, विसङ्गतिले प्रशय पाउने जोखिम छ ।’
पछिल्लो दुई वर्षयता बेनीबाट सञ्चालन हुँदै आएको रेडियो म्याग्दी, म्याग्दी प्रेस दैनिक, म्याग्दी सञ्चार साप्ताहिकले प्रशारण तथा प्रकाशन बन्द गरेका छन् । समृद्ध र मालिका प्रेस साप्ताहिक नियमित प्रकाशन तथा वितरण हुनसकेका छैनन् । रुप्से सञ्चार सहकारी संस्थाद्वारा प्रकाशन हुँदै आएको रुप्से दैनिक पत्रिका सहकारीले चलाउन नसकेपछि पत्रकार प्रताप बानियाँलाई जिम्मा लगाएको सो सहकारीका कोषाध्यक्षसमेत रहेका पौडेलले बताए । केही वर्षपहिले २० जनाभन्दा बढी जनशक्ति रहेको बेनीको म्याग्दी काली एफएममा हाल चार जना मात्र कार्यरत छन् ।
तथ्य, तथ्याङ, अध्ययन, अनुसन्धान गरेर समाचार तयार पार्ने, समाजलाई सुसूचित गराउने पत्रकार नहुँदा समाजमा वास्तविक सूचना प्रवाह हुन नसक्ने जोखिम रहेको अग्रज पत्रकार घनश्याम खड्काले बताए ।
उनले भने, ’काठमाडौँ, पोखराबाट सञ्चालन हुुने सञ्चार माध्यमले जनशक्ति कटौती गरेका छन्, स्रोतको अभावमा जिल्लास्तरका सञ्चार माध्यम पनि बन्द हुने अवस्थामा पुगेका हुन् ।’
युुएई जान लागेका पत्रकार खत्रीले पत्रकारिता पेसाबाट धेरै ज्ञान, सीप र अनुभव हासिल गरे पनि यहाँको आम्दानीले भविष्यमा परिवार चलाउन चुनौती हुने देखिँदा केही वर्षका लागि विदेशिन लागेको बताए ।
म्याग्दीका सञ्चार माध्यम सञ्चालक आवद्ध म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीले सञ्चार माध्यम र पत्रकार टिकाउने अहिलेको पेसागत मुद्दा रहेको बताए । उनले भने, ’एकै प्रकृतिका सञ्चार माध्यमको एकीकरण र स्थानीय स्रोत साधनको परिचालन गर्नुपर्ने देखिएको छ, समाजलाई पनि पत्रकारिताको महत्त्व र आवश्यकता बुझाउनुपर्ने भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






