कवि घनश्याम अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ सार्वजनिक


काठमाडौँ । कवि घनश्याम अस्तित्वको कविता संग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ सार्वजनिक भएको छ ।

सम्भव समुहले अस्तित्वको उक्त कृति शनिबार काठमाडौंमा विमोचन भएको हो । कविहरूः श्यामल अधिकारी, राधिका कल्पित र सुरज रानाले उक्त कृतिको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

प्युठानमा जन्मिएर हाल दाङमा रहेर शिक्षण पेशा गरिरहेका घनश्याम अस्तित्वको उक्त संग्रहमा तत्कालीन ग्रामीण परिवेशको भोगाइ र वर्तमान राजनीतिक अवस्थालाई चित्रण गरिएको छ ।

संग्रहमा जम्मा ६६ कविता समावेश छन् । जसमा राजनीतिक क्षेत्रमा देखिएका विसंगती, शिक्षा प्रणालीको कमजोरी, बेरोजगारी, गरिबीजस्ता विषयलाई समेटिएको कवि अस्तित्वले प्रकाश पारे । 

कृतिको समीक्षा गर्दै कवि श्यामल अधिकारीले फरक शैलीमा स्थानीय भाषा र परिवेशअनुरुप शैलीको स्वाद दिने गरी कवि अस्तित्वले शब्दचित्रमा उतारेको उल्लेख गरे । मानिसले आश्रय दिएको सहरलाई गाली गरेर गाउँलाई बिर्सिएको सन्दर्भमा गाउँको सुगन्धलाई कविताले समेटेको बताए ।

यस्तै, कवि राधिका कल्पितले चिहानमाथि महल बनाइरहेको मान्छेभित्रका कविताले प्रत्येक पाठकलाई आफ्नै भोगाइ र संघर्षको गहिराइको अनुभूति दिलाउने विश्वास व्यक्त गरिन् । उनले कविको बाल्यकालदेखि अहिलेको अवस्थासम्म छर्लंग चित्र आउने आख्यान जस्तो कविता संग्रह रहेको बताइन् । कविताले तत्कालीन द्वन्द्वकालमा रोल्पा जिल्लाको अवस्था, अध्ययनका लागि सहर छिरेको संघर्ष आदिलाई पुस्तकले उजागर गरेको कवि कल्पितले बताइन् ।

यसैगरी, कवि सुरज रानाले ग्रामीण परिवेशका विभिन्न गम्भीर विषयलाई कविले सरल भाषामा कविताको रुपमा उतारेको उल्लेख गरे । कवितामा कतिपय पात्र र परिवेशबारे कविताले स्पष्ट पार्न नसकेको उनको टिप्पणी छ ।

बिएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य तीन सय ५० रुपैयाँ रहेको छ ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै