सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को ठाकुरबारीबाट श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ । नेपालकै ठूलो सप्तकोशी नदीमाथि बन्ने उक्त झोलुङ्गे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ ।
सङ्घीय सरकारको ठूला झोलङ्गे पुल निर्माण विभागअन्तर्गत सप्तकोशीमा पहिलो पटक यति लामो झोलुङ्गे पुल निर्माण हुन लागेको बराहक्षेत्र नगरका आर्थिक विकास संयोजक तेजबहादुर गुरुङले बताए । पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
गुरुङका अनुसार सुनसरी क्षेत्र नं ४ का सङ्घीय सांसद तथा पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुल योजनामा पारेका हुन् । झोलुङ्गे पुल सर्भेका लागि ऋषिकेश सर्बिस प्राइभेट लिमिटेड काठमाडौँले डिपिआरको ठेक्का पारेर काम अन्तिम चरणमा पुगेको योजनाका सबइन्जिनियर रञ्जितकुमार यादवले जानकारी दिए । सबइन्जिनियर यादवको नेतृत्वमा सर्भेको काम अन्तिम चरणमा पुगेको हो ।
सबइन्जिनियर यादवले डिपिआरको डिजाइन तयार भइरहेको भन्दै डिजाइन सकिएलगत्तै कन्स्ट्रक्सनको ठेक्का लाग्ने बताए । नमुना झोलुङ्गे पुल नामकरण गरी गत आर्थिक वर्षमा पुलको स्थलगत अध्ययन र निरीक्षण भएको थियो ।
बराहक्षेत्र–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–२ र ३ वडा श्रीलङ्का टापु क्षेत्रमा पर्दछ । उक्त क्षेत्र १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइसम्म फैलिएको छ । श्रीलङ्का टापुमा चार हजार पाँच सय घर धुरीका १० हजारबढीको बसोबास रहेको बराहक्षेत्र–६ का वडाध्यक्ष उद्ववप्रसाद पोखरेलले बताए । उनले पुल बनेपछि श्रीलङ्का टापुवासीको दैनिकी सहज हुने विश्वास व्यक्त गरे ।
श्रीलङ्का टापु क्षेत्र उर्वर बलौटे, दोमट माटो भएकाले तरकारी र अन्न उत्पादनका लागि राम्रो मानिँदै आएको छ । झोलुङ्गे पुल बनेपछि टापुवासीले उत्पादन गरेका कृषि उत्पादन बजार लान सहज हुने र उनीहरूको जीवनयापनमा सहजता आउने वडाध्यक्ष पोखरेलले बताए । उनले भने, “यहाँ पुल बनेपछि टापुवासीको जीवनका साथै सिङ्गो बराहक्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि वृद्धि हुने विश्वास छ ।”
जिल्ला सदरमुकाम इनरुवाबाट झन्डै ३५ किलोमिटर उत्तर पश्चिममा पर्ने टापुमा वर्षौँदेखि कृषि र पशुपालन गरेर टप्पुवासीले जीविका चलाउँदै आएका छन् । चारैतिर नदी भएकाले टापुवासी यातायातको साधनका रूपमा डुङ्गाको प्रयोग गर्दै आइरहेका छन् । वर्षायाममा सप्तकोशीमा पानीको बहाब बढ्ने भएकाले डुङ्गाबाट यात्रा गर्दा बर्सेनि कयौँको ज्यान जाने गरेको स्थानीयवासी सन्तोष चन्द्रवंशीले बताए । श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुलको निर्माण हुने भएपछि आवागमनमा सहजता हुने उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम





