दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे पन्ध्र’हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विशेष महत्त्वका साथ मनाउने गरिन्छ ।
यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल र डोटेली खानाका मीठा परिकार पकाएर खाने प्रचलन रहिआएको छ ।
साहित्यकार जगदीश ओझाका अनुसार आजको दिनमा गाउँका सबै एकआपसमा भेटघाट गर्ने र कहानी स्थानीय भाषामा (आइना, बातै) सुन्ने र सुनाउने गरिन्छ । कन्दमूल खाँदा चिसो समयमा शरीर फूर्तिलो हुने र तागत बढ्ने किम्बदन्ती रहेको उनले बताए ।
अन्य पात्रो अनुसार भिन्न भए पनि सुदूरपश्चिममा पुस पन्ध्रको रातलाई सबैभन्दा लामो रात मानिने ओझाले बताए । “आजको रात सबैभन्दा ठूलो हुने भएकाले गाउँका एक ठाउँमा भेला भएर कथा, कहानी, बातैलगायत लोक साहित्यका गाथा सुन्ने÷सुनाउने गरिन्छ”, उनले भने, “यो पर्वमा आफन्तसँग विशेष घेटघाट हुने कन्दमूल खाने र लोकगाथा सुनेर रात बिताउने प्रचलन छ ।”
सुदूरपश्चिमका अछाम, बझाङ र बाजुरामा यस पर्वलाई भुवा पर्वका रुपमा समेत मनाउने गरिएको छ । डोटी राज्य भएका बेला सुदूरपश्चिममा कृषि र पशुपालनमा आधारित अर्थतन्त्र थियो । गरिबीका कारण खान लगाउन समस्या हुने भएकाले कठ्याङ्ग्रिदो चिसो छल्न रातभरी आगो बालेर पौष्टिक आहार खाने प्रचलन रहेको साहित्यकार रमेश पन्त मीतबन्धुले बताए । “तत्कालीन सभ्यता अनुसार कपडा नभएकाले आगो तापेर पनि चिसो छल्न सक्छाँै भन्ने सन्देश यो पर्वले दिन्छ”, उनले भने, “विशेष गरी आज राति लोक साहित्य प्रस्तुत गरिन्छ ।”
मीतबन्धुले सुदूरपश्चिमको लोक मान्यता अनुसार पुस १५ सबै भन्दा ठुलो रात हुनेभएकाले पनि यसलाई ठूलीरात भनेर मनाइने बताए । उनका अनुसार सुदूरपश्चिम र भारतको उत्तराखण्डमा पुस १५ देखि उत्तरायण सुरु हुने तथा दिन बढ्ने र रात घट्दै जाने लोक मान्यता रहेको छ ।
साहित्यकार कविराज भट्टले पुस पन्ध्रको सांस्कृति एवं सामाजिक महत्त्व रहेको बताए । “यो रातमा बुढापाकाबाट अर्ती उपदेश सुन्ने, मनोरञ्जन गर्ने र कन्दमुल खाने गरिन्छ”, उनले भने, “एकआपसमा भेटघाट हुने, सामाजिक सद्भाव र एकता कायम राख्दछ ।” यो पर्वले नैतिकताको पाठसमेत सिकाउने उनको भनाइ थियो ।
पछिल्लो सयम आइना, बातै भन्ने चलन हराउँदै जान थालेको छ । आइना, बातै जान्ने व्यक्तिको अभाव हुनु, युवा पुस्तामा लोक संस्कृति पुस्तान्तरण हुन नसक्दा यसको मौलिकता हराउन थालेको स्थानीय बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






