नगरपालिकाले आगो निभाउन लापर्बाही गरेको भन्दै व्यापारीले गरे चैनपुर बजार बन्द  

बझाङ । बझाङको सदरमुकाम चैनपुरमा पसलमा लागेको आगो निभाउन नगरपालिकाले लापर्बाही गरेको व्यापारीहरूले आरोप लगाएको छन् । 

जयपृथ्वी नगरपालिकाको दमकल समयमा नपुगेका कारण आगलागीबाट लाखाैँ  क्षति भएकाे र अरू व्यापारी पनि असुरक्षित रहेकाे भन्दै व्यापारीहरुले आज बजार बन्द गराएका छन् । 

हिजो दिउँसो सदरमुकाम चैनपुरको मुख्य चोकमा रहेको ४८ वर्ष पुरानो तथा पहिलो कपडा पसलमा आगलागी भएर खरानी भएको थियो । आगलागी भएको आधा घण्टापछि मात्रै जयपृथ्वी नगरपालिकाको दमकल आगो निभाउन पुगेको थियो । पानी सकिएपछि भर्न गएको दमकल एक घण्टासम्म पनि आइपुगेको थिएन । तर दमकल आइपुग्ने बेलासम्म पसल नष्ट भइसकेको थियो । स्थानीयले खानेपानीको मुख्य पाइप लाइन तोडेर आगो निभाएका थिए ।

व्यापारी सनम सिंह ब्यासीको कपडा र किराना पसल रहेको घरमा करेन्ट सर्ट भई भएको आगलागीबाट करिब ६० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

उद्योग वाणिज्य सङ्घ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले नगरपालिकाले विपद्सम्बन्धी तयारी नगरेका कारण आफूहरूको व्यवसाय पनि जोखिममा रहेको भन्दै बजार बन्द गराएको बताए । विपद् प्रतिकार्यका लागि प्रभावकारी व्यवस्थापन गर्न नगरपालिकालाई ज्ञापन पत्र दिने तयारी भइरहेको उनको भनाइ छ ।

दमकलमा फेरि पानी भर्नका लागि नजिकै पहुँच मार्ग नबनाउनु आफूहरूको कमजोरी रहेको र यो घटनाबाट पाठ सिक्दै आउँदा दिनमा यसो हुन नदिने जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै