महोत्तरी । आफ्ना नगरवासीलाई अयोध्याको झलक दिन मटिहानी नगरपालिकाले काठबाट २५ फिट अग्लो श्रीराम र सीताको मूर्ति बनाएको छ । अयोध्याको नवनिर्मित राम मन्दिरमा बालस्वरूप श्रीरामको प्रतिमा स्थापित गरेर आज हुने प्राण प्रतिष्ठा कार्यक्रमकै अनुसरण गर्दै उक्त नगरपालिकाले २५ फिट अग्लो काठको मूर्ति (प्रतिमा) तयार गरेको हो ।
निर्मित प्रतिमा महोत्तरी जिल्लाको मटिहानी–७ स्थित श्री लक्ष्मीनारायण मठ परिसरमा स्थापित गरिँदै छ । लक्ष्मीनारायण मठ मुलुकका सबै मठको नायक मानिन्छ । श्रीरामको बालरूप प्रतिमा आज अयोध्यामा निर्मित राम मन्दिरमा प्राण प्रतिष्ठा गरिने कार्यक्रमको झलक दिनेगरी लक्ष्मीनारायण मठमा उक्त प्रतिमा स्थापित गरेर प्राण प्रतिष्ठा गर्न लागिएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।
“स्थापित परम्पराअनुसार धार्मिक विधिका साथ मठमा श्रीराम र जानकीको प्रतिमा स्थापित गरेर आजै प्राण प्रतिष्ठा गरी पूजा अर्चना थालिनेछ”, नगरप्रमुख मण्डलले भने, “रामलीला (श्रीरामको बालस्वरुप) को प्रतिमा अयोध्यामा प्राण प्रतिष्ठा गरिने कार्यक्रम सँगसँगै हामी यहाँको प्रतिमा स्थापनाको काम सक्छौँ ।” अहिले जताततै बन्दै गएको श्रीराममय परिवेशको साक्षात् अनुभूति नगरवासीलाई गराउन प्रतिमा बनाएर स्थापित गर्न लागिएको उनको भनाइ थियो ।
प्रतिमा स्थापित र प्राण प्रतिष्ठाको कार्यक्रमसँगै जोडेर अहिले बिहान पवित्र लक्ष्मी सागरमा आरती भइरहेको छ । लक्ष्मी सागर तलाउ अघि त्रेता युगमा श्रीराम र सीताको विवाहमा यज्ञ वेदी बनाउन माटो खनिएको पवित्र स्थल मानिन्छ । आज साँझ लक्ष्मीनारायण मठमा महाआरती र सांस्कृतिक उत्सवका कार्यक्रम आयोजना गरिँदै छ ।
यो धार्मिक समारोहको तयारीमा मटिहानीस्थित लक्ष्मीनारायण मठ परिसर, लक्ष्मी सागर र वरपर दुलही झैँ सिँगारिएको छ । शिल्पकार राजु लालले १५ दिन लगाएर उक्त प्रतिमा कुँदेका हुन् । प्रतिमा बनाउन काठका २० वटा प्लाई (फलेक) प्रयोग भएका उनले बताए ।
आइतबार जलेश्वर, मटिहानी र मनराशिशवा नगरपालिकाले आआफ्ना नगर क्षेत्रमा नगर शोभा यात्रा गरेका र आज जलेश्वरस्थित श्री जलेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजा अर्चनाका कार्यक्रम भइरहेको छ । श्रीरामलीलाको प्रतिमा प्राण प्रतिष्ठाको उत्सव मनाउन मनराशिशवा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






