टीकापुर । कैलालीका थारू गाउँमा माघीपर्व सकिएपछि अहिले खोज्नी बोज्नी भेलाले गाउँमा बडघर र भल्मन्सा चयन गरिरहेका छन् । गाउँको नेतृत्व गर्ने मानिस गाउँमा भेला आयोजना गरी चयन गर्ने चलन छ ।
यसरी खोज्नी बोज्नी भेलाले नेतृत्व चयन गर्दा महिलाहरू भने नेतृत्वमा खासै पुग्न सकेका छैनन् । जानकी–७ की रामकुमारी चौधरीले बडघर तथा भल्मन्सामा महिलालाई नेतृत्वमा पुर्याउने विषयमा गम्भीरता नदेखिएको बताइन्। “धेरै गाउँमा बडघर, भल्मन्सा चयनको प्रक्रिया जारी छ । भेलाले नेतृत्व गर्ने व्यक्तिलाई चयन गर्ने परिपाटीअनुसार कुनै गाउँमा निर्वाचन हुन्छ भने कुनै गाउँमा सहमतीय प्रक्रियामा बड्घर भल्मन्सालगायत गाउँ कार्यसञ्चालन समिति चयन हुने गरेको छ”, उनले भनिन्, “यसरी चयन हुने प्रक्रियामा समावेशिता नभएको पाइन्छ । महिलालाई नेतृत्वमा ल्याउन कञ्जुस्याइँ हुन्छ ।”
हरेक क्षेत्रमा कानुनअनुसार महिलाको सहभागिता ३३ प्रतिशत अनिवार्य गरिए पनि थारूगाउँमा बडघर भल्मन्सा छान्दा समावेशितालाई प्राथमिकता दिएको देखिँदैन । खोज्नी बोज्नी भेलाले अहिले पनि पुरुषलाई प्राथमिकता दिँदै वडघर समितिमा पुरुषको सङ्ख्या धेरै रहेको जानकी गाउँपालिका–५ की वसन्ती चौधरीले गुनासो गरिन्। “विगतमा बडघर एक्लै हुन्थे, आजभोलि बडघर समिति हुन्छ । त्यसमा बस्ने सबै पुरुष नै हुन्छन्”, उनले भनिन्, “गाउँमा भेला हुँदा महिलालाई विश्वास नै गरिँदैन । भेलामा सहभागीले बडघर को बन्ने भनेपछि पुरुषकै नाम बोल्छन् ।”
कैलालीको टीकापुर नगरपालिकामा विभिन्न गाउँमा ५७ बडघर छन् । त्यसमध्ये दुईजना मात्र महिला बडघर रहेको गत वर्षको तथ्याङ्क रहेको छ । यसरी हेर्दा महिलाको सङ्ख्या न्यून हुनुमा अवसर र सामाजिक सहभागितालाई लिने गरिन्छ । गाउँघरमा पुरुषको तुलनामा महिला बढी बस्छन् । पुरुष रोजगारीका लागि अन्य जिल्ला वा देश बाहिर भए पनि गाउँको नेतृत्वमा महिलालाई पुग्न सकेका छैनन् । सामाजिक कार्यमा महिला अग्रसर भए पनि नेतृत्वमा महिला न्यून पुग्ने गरेका जानकी–८ का भागीराम चौधरीले बताए ।
“महिलालाई अवसर मात्र नभई जिम्मेवार बनाउनका लागि भए पनि गाउँको खोज्नी बोज्नी भेलाले बडघर भल्मन्साजस्ता पदमा चुनेर उनीहरूलाई अवसर दिनुपर्छ”, उनले भने, “अहिले गाउँका सबै काममा महिला सहभागी नभएर सफल नै हुँदैनन्, नेतृत्व दिन किन कञ्जुस्याइँ गर्ने ?”
वर्षौँदेखि प्रथाजनित थारू समुदायको सामाजिक संस्कार रहेकाले यसलाई कानुनी वैधता दिन स्थानीय पालिकाहरू लागिपरेका छन् । केही पालिकाले बडघर ऐन बनाएर काम गर्दै जाँदा अहिले थारूलगायत गैरथारू समुदायमा पनि बडघर, भल्मन्सा चयन प्रक्रिया चलिरहेका छन् । यसलाई व्यवस्थित बनाउन तथा नेतृत्व तहमा महिलाको सहभागिता बनाउन समावेशिताका कुरा ल्याउन जरुरी रहेको महिलाहरू बताउँछन् ।
संवैधानिक व्यवस्थाको पालना गर्न बडघर, भल्मन्सा चयन प्रक्रियालाई व्यवस्थित तथा व्यवहारिक बनाउन ध्यान दिनुपर्ने जानकी गाउँपालिकाका उपाध्यक्ष लालमतीदेवी कठरियाको सुझाव छ । “अब पालिकाभित्र चुनिएका बडघरमा निश्चित प्रतिशत महिला हुनुपर्छ”, उनले भनिन् “महिलाले पनि भेलामा हामी बन्छौँ भन्नुपर्छ । दाबी गर्ने अधिकार महिलाको पनि उत्तिकै छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






