मुन्धुम र पर्यावरणमाथि पटकपटक अतिक्रमण हुँदै आएको छ...!

–    अर्जुनबाबु माबुहाङ

आज ग्लोबल वार्मिङले सिँगै ब्रह्माण्डलाई बिष्फोट गराउन खोजिरहेका बेला ब्रह्माण्डको रक्षार्थ प्रकृति एवं वातावरणको र मानिस एवं संस्कृतिबीचको अध्ययन गर्नुपर्ने आवश्यकता महसुस भएको छ । प्राणी एवं वनस्पतिहरुको प्रकृतिसँगको सम्बन्धको अध्ययन गर्ने पर्यावरणशास्त्रको अध्ययन गर्नुपर्ने भएको छ । तर, पर्यावरणशास्त्रलाई वातावरणले संस्कृतिलाई निर्धारण गर्ने विषयमा मात्र सीमित बनाइँदैछ । 

जस्तो कि हिमालमा बस्ने शेर्पाहरुले जाडोका कारणले बख्खु लगाउँछन् । तराईका थारुहरुले गर्मीका कारण धोती लगाउँछन् । आज पर्यावरणशास्त्रको अध्ययनका लागि संसारभरका रैथाने/भुइँफुटुवा मान्छेहरुको आस्था/विश्वास, परम्परागत ज्ञान÷कला, नैतिकता÷मूल्यमान्यता, अवधारणा÷दर्शन, कानूनी संस्था, संस्कार÷संस्कृति अध्ययनका विषयवस्तु बनेका छन् । 

यो लेखमा मुन्धुममा वर्णित लिम्बूजाति र पर्यावरणीय सम्बन्ध एवं त्यसमाथिको अतिक्रमणलाई देखाउन खोजिएको छ । 
याक्थुङ्बा लिम्बूजातिमा जन्मदेखि मृत्यु पर्यन्त गरिने संस्कारलाई मुन्धुम भनिन्छ । मुन्धुममा लिम्बूजातिले जीवन जिउने क्रममा प्रकृतिसँगको सामना गर्नु पर्दाको जीवजन्तु, हावापानी, वनजंगल, पोखरी, खोलानाला, ओढारसँगको भोगाइ भेटिन्छ । 

यो चिर्कटोमा तेह्रथुम र धनकुटा छथर, चौबीस, आठराई र ताप्लेजुङमा बसोबास गरेका लिम्बूहरुको माङ्गेना (उत्पत्ति स्थल) मुन्धुम पहिलो पुर्खा/मिङश्रा र उत्पत्तिस्थल/माङ्गेना यकका बारेमा चर्चा गरिएको छ । थोक्लेन लिम्बूहरुको उत्पत्तिस्थल हमेबुङ चाम्लिङ तिम्लिङ भएको र पहिला पुर्खाहरु थक्सुहाङमा र हबेरु रहेको लेखिएको छ । 

लिम्बुवानका १० यकहरुको नमुना बनाइएको ठाउँ तेह्रथुम छथर

खजुमको उत्पत्तिथलो चम्खासिङ/खयरघारी भएको र पुर्खा बट्टाई चरीको पुच्छर कल्की बनाएर लगाउने चाचालो चाहिँदो भएको लेखिएको छ । त्यस्तै संयक लिम्बूहरुको पुर्खा डाँफे/मुनालको पुच्छरको कल्की लगाउने सादिङ्गे/वेदिङ्गे/इदिङ्गे भएको र उत्पत्ति स्थल धनकुटा भेडेटार परको साँगुरीगढी रहेको लेखिएको छ । यो टिपोटमा खेवाहरुको पुर्खा गाईको पुच्छरमा लपेटि हिँड्ने, लुइँचेको कल्की सिउरिने पित्मेरा भएको र उत्पत्तिस्थल ताक्लुङ यक रहेको लेखिएको छ । त्यस्तै माबुहाङहरुको पुर्खा मंवाहु/माङ्भु (आपेङ) तोरोलिङ ताङसाङ (आकाश) बाट झरेका लेखिएको छ । केबुकहाङहरुका पुर्खा साइकम सेकोमाङ रहेको लेखिएको छ । सेनेहरुको उत्पत्तिस्थल सुलुबुं र पुर्खा चोबेइता रहेको लेखिएको छ । कन्दङ्वाहरुको उत्पत्तिस्थल इक्लासो बोख्खिम रहेको र पुर्खा सोदोसेइक रहेको लेखिएको छ । फागोहरुको पुर्खा हाङयुङ्बा र हाङसेम्बा रहेको लेखिएको छ । 
 

टिपोटमा लिम्बूका पुर्खाहरुले पशुपंक्षी/पहाडका थुम्काथुम्कीसँग आफ्नो पुस्तालाई जोडेर वंशावली बनाएको भेटिन्छ । लिम्बूजातिले वंशावली लेख्ने क्रममा पहिलो पुस्तादेखि माथि ओढार/पहाडका थुम्काथुम्कीलाई मानेको देखिन्छ । आफ्ना पुर्खाका प्रशस्ती गाउँदा चराचुरुङ्गीका प्वाँख कल्की लगाउने र गाईको पुच्छरमा लपेटिने पुर्खाका आदिम आचरण/व्यवहारहरुलाई देखाइएको छ । 
अर्को, हज्शन पाण्डुलिपि खण्ड ७४ पत्र ०५ मा संकलित पत्र तत्कालीन चयनपुर अमालका मैवाखोलातिरका तेह्रथरे फागो लिम्बूहरुको मेङलुङ फुसिङमा/वागदत्त संस्कारसँग सम्बन्धित छ । पत्रमा छोरी–ज्वाइँहरुले माइती–ससुरालबाट सैमुन्द्री/वागदत्त छिनाएमा बाँकी दस्तुर रहे पनि छोराछोरी बतासे नहुने तर अरु सोत (छोरीचेलीको मूल्य/विमा) सय ल्याए पनि सैमुन्द्री रीत नछिनाएमा छोरा–छोरी मामलीकै अधीनमा वा बतासे (वंश–थर कायम नहुने) हुने लेखिएको छ । 

पत्रमा छोरी–ज्वाइँले माइती–ससुरालबाट आफ्ना सन्तान निखन्न (उकास्ने) बतासे दस्तुर ५ रुपैयाँ, दशै“को टीका लगाउने १ रुपैयाँ, वंश–थर लिने रुपैयाँ, ढुंगा मगाउनी (ढुंगा रोप्ने) आठ आना, ढुंगा कमाउनेलाई एक आना, छोरा भए १५ रुपैयाँ र छोरी भए ३० रुपैयाँ दस्तुर तिरेर सिमल फलेदो रोप्ने लेखिएको छ । यो पत्रमा फागो लिम्बूहरुले मेलुङ फुसिङ्मा/क्रिया सार्ने/नयाँ थर लिने संस्कार गरिसकेपछि साक्षीस्वरुप ढुंगा खोपेर/गाडेर सिमल फलेदो रोप्ने चलन रहेको देखाइएको छ । दुईटै चिर्कटो र पाण्डुलिपिका पत्र हेर्दा लिम्बूजातिको प्रकृतिप्रतिको अगाध आस्था र वातावरणलाई जोगाउन ऊबेला नै लिम्बूका पुर्खाहरु कतिसम्म रहेछन् भन्ने पुष्टि हुन्छ । 
लिम्बूजातिको मुन्धुमी संस्कारमा ठूलठूला पोखरी/वरकका नाम जोडिएर आउँछन् । ताप्लेजुङ जिल्लामा पर्ने ताप्केगोलाको सोदुङ वरक÷सोदो, युमिक्मा, सुलुङ साँबा, फक्ताङलुङ/कुम्भकर्णको फेदीमा पर्ने वेलासो फुलासो, मुरिङ्ला खारिङ्लामाथिको साङ्घि लिङिघ, ताप्पेसो लरेङ्वा, साँबाको वाग्मा, पाँचथरको याङवरक, तिम्मा÷तिङ्मा÷तिम्बुङ, तेह्रथुमको मार्घा, तरङ्लिङ, चिचिलिङ, खरङ्वा, मेन्छयायेम, संखुवासभा जिल्लाको सया (सभापोखरी), साजु थुङ्वा वरक जस्ता थुप्रै पोखरीहरुको नाम आउँछ । 

भग्नावशेषमा सिमित ऐतिहासिक साम्योहाङ दरबार

लिम्बुजातिको तङसिङ संस्कारमा चोलुङ/सिद्धिस्थल पुगेर जगाउनु पर्दा पोखरी बार्नुपर्ने (वरक खेङ्मा) हुन्छ । पोखरी बार्दा तमोरखोला (इम्बिरि याङथाङ्वा), मिवाखोला (केत्तकुम मिवा), मैवाखोला (सिन्दोलुङ मैवा), फावाखोला (यफलुङ फावामा), कावेलीखोला (मुगाङलिङ काङवामा), हेङ्वाखोला (मुहेमलुङ हेङ्वामा) नाम आउँछ । यी खोलाहरुको पानीले पोखरी भराउनुपर्ने (तिम्मा) हुन्छ । पोखरीमा पानी भरिसकेपछि पोखरीमा माछा हालिन्छ । फूल रोपिन्छ । पोखरीमा पानी छचल्कियो, पानी भरिएन भने अनिष्ट हुने मान्यता हुन्छ । त्यसैले पोखरी बार्नुपर्ने र भर्नुपर्ने हुन्छ । पोखरी बारिएर भरिएमा मात्र लिम्बूजातिको संमृद्धि र संरक्षण हुने लिम्बूजातिमा गहिरो विश्वास रहेको छ । 

लिम्बूजातिमा मान्छे मरे पनि आत्मा नमर्ने विश्वास छ । मृतकको आत्माहरु रुखमा, पानीमा, ढुंगा/माटो/ओढारमा बस्छन् । खोलामा बगेर मरेको मान्छेको आत्मालाई चित्त बुझाउन लिम्बूजातिका देवारी येवा/येमा नाच्दै मुन्धुम गाउँदै मरेकै ठाउँमा आउँछन् र आत्मालाई फकाई फुल्याई घरमा पु¥याई सोघा नाप्मा/वायु छेक्ने संस्कार सम्पन्न गर्छन् । 

त्यसैले ढुंगा, माटो, खोलाखोल्सी, पोखरी, ओढार, पाहाड लिम्बूका लागि पुर्खाका आत्मा बस्ने पवित्रस्थल हुन्छन् । त्यस्ता पवित्र ठाउँहरु बिथोलेमा त्यस्ता आत्माहरुले पिरोल्ने भएकाले प्रकृतिलाई लिम्बूजातिले श्रद्धा र सम्मान गर्छन् । यस्ता पवित्र स्थलहरु बढी मुन्धुमसँग जोडिएका हुन्छन् । 

तर, आज यस्ता मुन्धुमसँग जोडिएका यस्ता पवित्रस्थलहरुसँग लिम्बूजातिलाई अलग्याउने अभियान सुरु भएको छ । हिन्दू जोसमनी पन्थी सत्यहाङ्मा फाल्गुनन्द (१९४२—२००५) ले कुुटी बनाउने, चरु पोल्ने/होम गर्नेजस्ता कार्यहरु उनले सम्वत १९८६ देखि नै सुरु गरिसकेका थिए । फाल्गुनन्दले संवत १९९५ मा नेम्बाङ लिम्बूका पुर्खा चुक्निाबा र लात्तिबा प्रकट भएको विशाल मुन्धुमीस्थल पाँचथरको नाम्फुन यकमा सिलौटी कुटी बनाएका थिए । गएको १५ वर्षयता यस्तो अतिक्रमणले तीव्रता पायो । केही वर्षअघि मात्रै मैले तमोरखोलातिर मुन्धुमको अनुसन्धान गरिरहँदा मुन्धुममा वर्णित तमोरखोलाको लेलेपस्थित साँगो कोपिरक्माको लिम्बूजातिका देवता तागेरा निङवाफुमाङ उत्पत्ति भएको ओढार निङ्खुरी फुक्कुमा सत्यहाङमाहरुले झण्डा गाडिसकेका थिए । 

संयक लिम्बूहरुको उत्पत्ति स्थल धनकुटा भेडेटार परको साँगुरीगढी

तमोर खोलाकै इखाबुस्थित थोक्पुन तेम्बेमा जाहाँ मुन्धुमका पहिला मानव मुजिङ्ना खेयङ्नाका छोरा सुसुवेङ लालावेङको चिहान राखिएको मानिन्छ र त्यस्तै तमोर खोलाकै माःपाङ्भेको हाङभरु नाहाङमा यक जाहाँ लिम्बूहरुको शीर उठाउने संस्कारसँग सम्बन्धित छ, त्यहाँ पनि सत्येहाङमाहरुले झण्डा गाडिसकेका थिए । सत्यहाङमाहरुले मुन्धुमसँग जोडिएका ठाउँहरु अतिक्रमण गर्न कतै पनि छाडेका छैनन् । अहिले तिनै ठाउँहरुमा फेरि मन्दिर बनाएर फाल्गुनन्दको मूर्ति लगेर राखिँदैछ । राज्यले मानेका विभूतिहरुका मूर्ति त बजारका चोक–चोकमा राख्नुपर्ने हो, तर किन आज फाल्गुनन्दको मूर्ति तागेरा निङ्वाफुमाङ उत्पत्ति भएको ओढारमा लगिँदै छ त ?
लाखौ“ वर्ष अगाडिका ओढारमा सिमेन्ट, रडसहितको ढलौटको मन्दिर, मूर्ति बनाएपछि त्यो ओढारको प्राकृतिकपना र पुरातात्विक सम्पदा नष्ट हुन्छ । यदि भोलि कुनै इतिहासकार, पुरातत्वविद, मानवशास्त्री, वैज्ञानिक आएर त्यो ओढारको कार्बन टेष्ट÷उत्खनन् गर्न चाह्यो भने त्यो ओढारमा फाल्गुनन्दको मन्दिर र मूर्तिभन्दा अरु केही पनि भेट्दैन । 

आज याक्थुङ्बा लिम्बुहरुले हामी लुङबोङ्बा खाम्बोङ्बा/भुइँफुटुवा वा आदिवासी हौ“ भनेर भनिरहँदा हामीले देखाउनुपर्ने तिनै ओढारहरु हुन् । ओढारभित्र पुर्खाले प्रयोग गरेका दाउराका घोचा÷लक्चो, आंकुशे÷खेक्चुरी, सेरिलुङ÷चट्याङे बञ्चरो, भाँडाकुँडा÷फुजिक, ढुंगामाटाका गरगहना÷लुङब्रक्मा÷खामब्रक्मा, पुर्खाका बङ्गारा, हाडखोर भेटिनुपर्छ । ओढारभित्र ढुंगाले कुँदेका चित्रहरु भेटिनुपर्छ । अनि मात्र हामी लिम्बूले आफूलाई लुङबोङ्बा खाम्बोङ्बा÷भुइँफुटुवा भन्न मिल्छ । 

यसरी ओढारमा मन्दिर, मुर्ति बनाएर राखिँदा यस्ता पूरातात्विक सम्पदाहरु नष्ट भएर जान्छन् । ओढारको नाम फेरिन्छ । आउने पुस्ता त्यो ओढारसँग बेखबर हुनेछन् र बिस्तारै लिम्बू र ओढारको सम्बन्ध टुट्नेछ । र, लिम्बूहरु ओढारविहीन बेनामका÷बेठेगानका आप्रवासी हुनेछन् । हो, यही कारण ओढारमा मूर्ति लगेर राखिँदैछ । नाहाङमा यकमा मन्दिर बनाउनुको कारण पनि यस्तै हुन् । 
सत्यहाङमाहरुले लिम्बू भाषा–लिपिको संरक्षण तथा प्रचार–प्रसार गरेको देखिए पनि मुन्धुमी संस्कारलाई उल्था गर्ने नाममा मुन्धुमलाई छपक्कै छोपेका छन् । फाल्गुनन्दपछिका रनधोज नेम्बाङले मुन्धुममा मुख्य भुमिका खेल्ने पात्रहरु ‘सावायेहाङ, पेगिफाङसाम’हरुलाई ‘दशाग्रह’ भनेका छन् ।  

सावायेहाङ भनेका आदिम आठ पुर्खा मिक्नुसोलुम्माहाङ, लालासोपाङबोहाङ, नियाराथोकचङहाङ, साउन्दुउन्दुहाङ, फुरुप्सोथेजङहाङ, खेच्चुवेतउप्पानहाङ, सगिम्सोसङ्मिहाङ र सेच्छेरेसेनिहाङ थिए । त्यस्तै पेगिफाङसाम नौ देवारी/फेदाङमा/साम्बाहरुमा सुदुक्युखेदुक्यु फेदाङमा, फुङजिरी फुङकाप्पो फेदाङमा, थिरिवसोत्फुङ फेदाङमा, सिङसाराथेयाप्मि फेदाङमा, मुगाप्लुङखागप्लुङ साम्बा, साजुङवेतमुदाङवेत साम्बा, सिङदुमइङफेत्लाइङ साम्बा, नेन्जिरि नेन्पत्थाङ साम्बा र नाङगेच्छोफु?लुम साम्बा थिए । यिनीहरुलाई नै लिम्बूजातिको सावायेहाङ/पेगिफाङसाम सभ्यताको जननी मानिन्छ । 

लिम्बूले दशाग्रह/खड्गो काट्दाचाँहि मिवा नाम्हिः/सेनदाङ लाःहिः मुन्धुमको चर्चा हुन्छ । मुन्धुममा लासारा थेनाम यम्बा जेठो घामले पृथ्वीतलका प्राणी/वनस्पतीहरुको गतिविधिलाई डाह गर्दै अत्यधिक तताउन थाल्छ । दुःष्ट घामको सेकाइबाट बच्न होःपत्तेयो वाः केइम्सिङबा (गोभ्रे च्याउमा ओतलाग्नेहरु), कात्तेकवा कुबुङ पेःना केदाङबा (उन्यूको बोट ढाल्नेहरु), मेन्दाहिः सम्दो कक्केनाम्बा (बाख्राका बडकिउँलामा भारी बिसाउनेहरु), सिदिम्बा साः केचेप्पा (जुम्राका लिखा मासु काट्नेहरु) जस्ता लुङबोङ्बा खाम्बोङ्/भुइँफुटुवाहरुका साथमा फातककिरि÷बाँसखाने किरा, जुनकिरी, चमेरा, न्याउली, दुम्सी, मुसा लगायतका पशुपंक्षीहरुको पहिलोचोटि चुम्लुङ/सभा तमोरखोलाको इखाबुको शिर चिम्लिङ तेम्बेमा बस्छ । 

दुष्ट घामको हत्या गर्ने जिम्मा पृथ्वीमा पाकेका अन्न सबैभन्दा पहिले खान पाउने शर्तमा दुम्सीलाई दिइन्छ । चिम्लिङ तेम्बेमा गएर दुम्सिले घामलाई ढुकेर लट्टे÷माङ्ग्रा र बेथु÷सिनाका काँढले हान्दा घामको मृत्यु हुन्छ । घाम चोइटिएर निस्किएका विकार÷रगतहरुलाई नै सेन्दाङ लाःहिः/नाम्हिः वा दशा ग्रह भनिन्छ र मन्साइन्छ, खड्गो काटिन्छ । यसपछि जेठो घाम मरेपछि अन्धकार व्याप्त हुन्छ । दाजुलाई जस्तै मलाई पनि मार्छन् भनेर लुकेर बसेका कान्छो घाम चुक्निाम्बालाई उदाउन लगाउन चुम्लुङ÷सभाले चमेरोलाई खटाउँछ । चमेरोले शून्यमा अडिएर हाजिक हाजिक गर्दै जिस्काएपछि चुक्चिनाम्बाको उदय हुन्छ र पृथ्वीमा फेरि घाम उदाउँछ । सृष्टिले पूर्णता पाउँछ । 
तर सत्यहाङ्माले भनेको ‘दशाग्रह’चाहिँ ज्योतिषशास्त्र अनुसार नवग्रह र योगिनीले भोग गर्ने समय हो । सत्यहाङ्माले यसरी मुन्धुमका कथावस्तुलाई तोडमोड गरेर, मुन्धुमी पात्र र स्थानलाई छुटाएर हिन्दूकै पुराण/पात्रो खडा गरेर, जन्मकुण्डली कोरेर, दशाग्रह फलाकेर हिँडेका छन् । सिरिजंगाले आविष्कार गरेको लिपिमा पहिले लिम्बू स्वर र व्यञ्जन गरी जम्मा २९ देखि ३० अक्षर थिए । अहिले सिरिजंगा लिपिलाई किरात लिपि भनाएर स्वर–व्यञ्जनलाई देवानागरि लिपि जति छन् त्यति नै पु¥याइएका छन् । सत्यहाङ्माहरुले लिम्बूजातिको भाषा–लिपि, संस्कार/संस्कृतिमाथि गरेको ज्याजति÷अतिक्रमण जति नै लेखे पनि थोरै हुन्छ । 

आज प्रश्न उठेको छ कि उसोभए के लिम्बू मास्नलाई राज्यले फाल्गुनन्दलाई विभूति बनाएको हो त ? फाल्गुनन्दको देवत्वकरण गरिएको हो त ? आज सत्यहाङ्माहरुका क्रियाकलापहरु दिन प्रतिदिन रहस्यमय बन्दै गइरहेका छन् । यसलाई लिम्बुहरुले बुझ्न जरुरी छ । 
याक्थुङ्बा लिम्बूजातिको यत्रो मुन्धुमसँग जोडिएको पर्यावरणीय सभ्यता नष्ट भइरहेको छ । पुरातात्विक सम्पदाहरु नष्ट गर्न नपाइने भनेर सर्वोच्च अदालतले गरेका फैसलाहरुका चाङ छन् । सरकारलाई रमिते मात्र बन्नु छ । 

(यसअघि अनलाइनखबरमा प्रकाशित यस आलेखलाई लेखकको सहमतिमा यहाँ पुःन प्रकाशित गरेका हौँ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
100 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै