मुकाम डेस्क । मकवानपुरको हेटौँडा उपमहानगरपालिका र बारा जिल्लाको सिमानामा पर्ने दक्षिण एसियाकै पहिलो सवारीसाधन गुड्ने मानवनिर्मित (नेपाली सेनासहित) चुरियामाई सुरुङमार्गको पुनर्निमाण कार्य अझै सम्पन्न भएको छैन । लामो समयसम्म प्रयोग र मर्मतसम्भार नभएपछि जीर्ण भएको सुरुङलाई सम्पदाका रुपमा संरक्षण गर्न बागमती प्रदेशको तत्कालीन सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले अग्रसरता दिँदै बजेट छुट्याएका थिए ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत यातायात पूर्वाधार निर्देशनालयले करिब पाँच करोड रुपैयाँको अधिकतम सीमाभित्र मकवानपुर र बारा जोड्ने सुरुङ मार्गको पुनर्निर्माण गर्ने गरी बोलपत्र आह्वान गरेको थियो । बोलपत्र अनुसार छनौट भएको माउन्टेन इन्फ्रा कम्पनीले निर्देशनालयसँग ३ करोड ३६ लाख १३ हजार रुपैयाँको लागतमा पुनर्निर्माण सम्झौता गरेको थियो ।
तोकिएको समयमा मर्मत गरेर सरकारी तवरबाट पुरस्कार लिने दाबीका साथ काम थालेको कम्पनीले ०७९ जेठमा तीन महिना थप्दा पनि काम सम्पन्न गरेको छैन । मर्मत कार्य अन्तरगत सुरुङ मार्ग दोस्रो मुखमा छिचोल्न अझै बाँकी छ । पुरानै स्वरुपमा फर्काउने गरी थालिएको सुरुङ पुनर्निर्माणको काम हालसम्म ८० प्रतिशत मात्रै सकिएको पाइएको छ ।

इतिहासः
राजा त्रिभुवन तथा राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा नेपाली सेनाका इञ्जिनियर डिल्लीजङ थापाको डिजाइन र प्रयत्नमा नेपाली प्रविधि प्रयोग गरेर बनाइएको यस सुरुङ मार्गले बाराको अमलेखगञ्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसँग जोड्ने काम गर्दथ्यो । तराईबाट काठमाडौँ सवारी आवागमन सुगम बनाउने उद्देश्यले निर्मित यस सुरुङले त्यो समयमा जनजीवनलाई निकै प्रभावित तुल्याएको यस लोकगीतबाट प्रष्टै हुन्छ
‘हाम्रा राजा क्या अक्कलदारी
ल्याए मोटर चुरेमा भ्वाङ पारी’
करिब ५०० मिटर रहेको यो सुरुङको एकापट्टिको भाग पुरिएपछि मार्गको करिब २ सय ८० मिटर मात्र बाँकी रहेको छ । हाल बाँकी रहको सुरुङको चौडाइ २ मिटर ७० सेन्टिमिटर तथा उचाइ ३ मिटर ३० सेन्टिमिटर रहेको छ । पथलैया–हेटौँडा सडक निर्माण भएपछि यो सुरुङ सञ्चालनमा आउन छोड्यो । २०२० सालसम्म उक्त मार्गबाट सवारी आउजाउ हुने गर्दथ्यो । प्रजातन्त्र पुनः स्थापनापछि ठूला ठूला सवारी साधनहरु भित्रिँदा सुरुङ सानो भएको र त्यस क्रममा सुरुङमार्गको छेउमा विष्फोट गराएर सडक विस्तार गर्दा सुरुङको आधा भाग नष्ट हुन पुग्यो । २०७२ सालमा आएको भुकम्पले सुरुङ भाँसिएपछि भित्र जान पनि रोक लगाइएको छ ।
यस सुरुङमा पहाड खोपेर बनाइएको चुना सुर्की प्रयोग गरिएको छ । सुरुङमार्गको दुवैतर्फका भित्तामा हार मिलाएर ढुङ्गाहरु राखिएका छन्, खोपहरु कुँदिएका छन् । लहरी (एकप्रकारको मालबाहक सवारी साधन) छिर्ने आकारमा यसको निर्माण भएको हो । काठमाडौँको लागि तराईबाट हुने आपूर्ति र यातायात सहज बनाउनु यसको उद्देश्य थियो ।

डा. टोनी हेगनले ‘नेपाल’ मा २४ अक्टोबर १९५० का दिन मानव निर्मित सुरुङ देखेर आफू आठौँ आश्चर्यमा परेको लेखेका छन्् । उक्त पुस्तकमा उनले लेखेका छन्, ‘नेपालभन्दा ठूलो भारतले पनि सुरुङ प्रविधि भिœयाउन नसकेको अवस्थामा नेपाल सफल भएको छ ।’ स्विट्जरल्यान्डबाट नेपालको खानीसहित भौगर्भिक अवस्था अध्ययन गर्न नेपाल आएका हेगनले आनो पुस्तक ‘दि हिमालयन किङ्डम अफ नेपाल’ मा यो सुरुङ मार्गले आफूलाई चकित बनाएको लेखेका हुन् । यही सुरुङ भएर विश्वविख्यात भूगर्भविद् डा. टोनी हेगेन आनो साना गाडी छिराएर भीमफेदीसम्म आइपुगेका थिए । भीमफेदीबाट उनको गाडी पनि बोकेर काठमाडौँ लगिएको थियो ।
हेटौँडाको चुरियामाई सुरुङ मार्गले इतिहास बचाउने मात्र होइन, पर्यटनको पनि प्रवद्र्धन गर्न आशा गरिएको छ । मर्मत कार्य पुरा भएपछि सुरुङ मार्गको अध्ययन प्रयोजनका लागि खुल्ला गरिने एवम्् यो इन्जिनियङिको विद्यार्थीको लागि महङ्खवपूर्ण सावित हुने आँकलन गरिएको छ । सुरुङ मार्ग पुनर्निर्माणपछि सर्वसाधारणलाई अवलोकनका लागि समेत खुला गरिने छ ।
नेपालका पहिलो सिभिल इन्जिनियर डिल्लिजङ थापा
हेटौँडा उपमहानगरको १५ नम्बर वडामा पर्ने यो स्थानमा उपमहानगरले ४ लाखको लागतमा सुरुङका डिजाइन गर्ने इञ्जिनियर डिल्लिजङ थापाको अर्धकदको सालिक समेत स्थापना गरिसकेको छ । डिल्लीजङ गोदार थापा क्षेत्री हुन् । ब्रिगेडियर कर्णेलको दर्जा पाएपछि उनलाई नेपालको पहिलो ग्राजुएट इन्जिनियर ब्रिगेडियर कर्णेल भन्न थालियो । थापाले १९६८ सालमा भारतको उत्तराखण्ड राज्यमा रहेको रुड्कीस्थित तत्कालीन थोमसन कलेज अफ सिभिल इन्जिनियरिङबाट स्नातक गरेका थिए ।

सिभिल इन्जिनियरिङ सेवाको ३५ वर्षे कार्यकाल (वि.सं. १९६८ देखि २००३ सम्म)मा उनले १२ वटा ठूला काम सम्पादन गर्न सफलता पाए । श्री ३ चन्द्र शमशेरको समयमा सप्तरीको फत्तेपुरमा देशको पहिलो सिँचाइ परियोजना चन्द्र नहर उनैले निर्माण गरेका थिए । तत्कालीन सडक विभागका चिफ इन्जिनियर दीप्तिजङ थापाद्वारा लिखित पुस्तकका अनुसार चिफ इन्जिनियर डिल्लीजङ थापाले आनो कार्यकालमा मुलुकमा १२ वटा महङ्खवपूर्ण भौतिक संरचनाको डिजाइनका साथै निर्माण गराएका थिए । चुरिया सुरुङ, हेटौँडा—काठमाडौँ रोपवे, वि.सं. १९९० सालको भूकम्पपछि भत्किएको धरहरा र घण्टाघरको पुनर्निर्माण, काठमाडौँमा रहेका राणाजीहरुका दरबार, नेपालको प्रथम कार्यालय डिल्लीबजार चारखाल अड्डा, नेपालको प्रथम रेलवे जनकपुर–जयनगर रेलवे निर्माण गर्नुका साथै १९९० को भूकम्पबाट भत्केको शीतल निवासको पुनर्निर्माण गरेका थिए । इन्जिनियर थापाले अमलेखगञ्जदेखि भीमफेदीसम्म सडकको पनि डिजाइन गरेका थिए ।
सुरुङ मार्ग नजिकै देशकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर रहेको छ । सुरुङ खन्न थालिएपछि उनलाई सपनामा देवीले ‘म बसेको ठाउँमा बाटो खनिस्, एउटा मन्दिर बनाएर मलाई स्थापित गर्नु’ भनेकाले चुरियामाई मन्दिर बनाइएको उक्ति चर्चित छ । चुरिया माई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर बम्जन सुरुङ खन्न अनेक समस्याहरु देखिएपछि सेनाले मन्दिरको स्थापना गरेर सुरुङ खनेको बताउँछन्् । चुरियामाईमा नवरात्रको समयमा विशेष मेला लाग्ने गरेको छ भने मङ्गलबार र बुधवार मानिसहरुको घुइँचो हुने गरेको छ । यहाँ नयाँ सवारी साधन खरिद गरेपछि पूजाआजाको लागि भक्तजनहरु आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






