• वि.सं २०८२, कात्तिक १ शनिबार
  • Saturday, 18 October, 2025
  • युनिकोड
  • Live

समृद्घि र दिगो विकासको दूरदर्शी प्रयास कोशी प्रदेश पर्यटन वर्ष २०८२- विशाल घिमिरे,  प्रदेश सचिव

विशाल घिमिरे 
प्रदेश सचिव, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश


कोशी प्रदेश नेपालका सात प्रदेशमध्ये सुन्दरतम र सम्वृद्ध प्रदेश हो । यस प्रदेशमा चौध जिल्ला तथा १ महानगरपालिका २ उपमहानगरपालिका ४६ नगरपालिका र ८८ गाउँपालिका गरी जम्मा १ सय ३७ स्थानीय सरकार रहेका छन् । हिमाल, पहाड, र तराई मधेसको जनजीवनको समिश्रणले यस प्रदेशलाई सामाजिक र सांस्कृतिक पक्षबाट विविधताले भरिपूर्ण बनाएको छ । यस प्रदेशले भारतको सिक्किम, पश्चिम बङ्गाल र विहार राज्यसँग सिमामा साझेदारी गर्दछ । प्रदेशको पूर्वी दक्षिणवर्ती सिमा निकटका समुदायको सिमापार सांस्कृतिक र सामाजिक सम्वन्धले यस प्रदेशमा भारतीय पर्यटक आवगमनलाई सहज बनाएको छ । 

नेपालकै होचो भुभाग झापाको केचनाकवलदेखि संसारकै अग्लो हिमाल सगरमाथासमेत यसै प्रदेशमा स्थित छन् । विश्वका ८ हजार मिटरभन्दा अग्ला सर्वोच्च शिखरमा १४ वटामध्ये ८ वटा नेपालमा छन् र तीमध्ये ५ वटा शिखर यसै प्रदेशमा छन् । यी हिम श्रृङ्खलाहरूको पर्वतारोहण पर्यटन र साहसिक पर्यटन विश्वमा प्रसिद्ध छ ।

विश्व सम्पदा सूचीमा सूचिकृत सगरमाथा राष्ट्रिय निकुञ्ज, सिमसार संरक्षणका लागि रामसार सूचीमा सूचिकृत गोक्यो ताल, माइपोखरी र कोशी टप्पु वन्यजन्तु आरक्ष लगायत जैविक विविधताले भरिपूर्ण मकालु वरूण राष्ट्रिय निकुञ्ज, कञ्चनजङ्गा संरक्षण क्षेत्र यहीँ छन् । लालिगुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजलेको लालिगुराँस क्षेत्र यहीँ छ । धार्मिक रूपमा प्रसिद्ध तीर्थस्थलहरू वराह क्षेत्र, हलेसी महादेव, पाथिभरा मन्दिर, गुरू फाल्गुनन्द जन्मस्थान, विराट दरवार, किचकबध हाम्रै प्रदेशका सम्पत्ति हुन् । कन्याम, श्रीअन्तुजस्ता प्रसिद्ध गन्तव्यहरू यसै प्रदेशमा पर्दछन् । यहाँ कोच र किराँत सभ्यताका अनुपम विशिष्टताहरू उपलब्ध छन् । सप्तकोशी नदीको वृहत जलाधार क्षेत्रले सिङ्गो कोशी सभ्यताको प्रतिनिधित्व गर्छ । नदीमा आधारित सभ्यताका लागि कोशी नदी एक उत्कृष्ट गन्तव्य हो । 

कोशी प्रदेश पर्यटन वर्ष २०८२ किन ?

कोशी प्रदेश सरकारले पहिचान गरेका आर्थिक समृद्धिका विविध आधारमध्ये पर्यटन एक महत्त्वपूर्ण बहुआयामिक सम्भावनायुक्त क्षेत्र हो । माथि उल्लेखित विविधता र विशिष्टताको अनुपम पहिचानले यस प्रदेशको पर्यटनको विकास मार्फत रोजगारीको अवसर सिर्जना गरी आर्थिक सुधारमा उल्लेखनीय भूमिका खेल्न सक्छ । पर्यटनमार्फत राष्ट्रिय पुँजीको महत्त्वपूर्ण आधार तयार गर्न कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम र बजेट मार्फत कोशी प्रदेश पर्यटन वर्ष २०८२ को अवधारणा र कार्यक्रम अघि सारेको छ । यसै गरी प्रदेश सरकारले २०८१ साल कार्तिक २१ गतेको मन्त्रिपरिषद्को निर्णयबाट कोशी प्रदेश पर्यटन वर्ष २०८१ सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१ स्वीकृत गरेको छ ।

यस कार्यक्रम मार्फत कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक, र साहसिक पर्यटकीय गन्तव्यहरूको थप पहिचान गर्दै दिगो विकासको अवधारणा अनुरूप पर्यटन प्रवर्द्धन गरी प्रदेशमा रहेका पर्यटनका अवसर र सम्भावनाको उचित उययोग मार्फत राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदान बढाउन सङ्घीय सरकार, स्थानीय तह र निजी क्षेत्रसँगको सहकार्यमा कार्यन्वयन गर्ने गरी यस अभियानको सुरूवात गरिएको छ । यो अभियानले स्थानीय उद्यमीहरू, होटल तथा पर्यटन व्यवसायीहरू, यातायात क्षेत्र, कृषकहरू, पर्यटन सम्बद्ध उद्योगहरूको प्रवर्द्धनमा सहयोग पुर्‍याउँदै थप रोजगारीको अवसर सृजना गर्ने छ । यसका अतिरिक्त समाजमा युवाहरूमा व्याप्त निरासालाई चिर्दै देश भित्र र प्रदेशमा उद्यम गर्न सकिन्छ भन्ने आत्माविश्वास स्थापित गर्न समेत यस अभियानले मद्धत गर्नेछ ।

कोशी प्रदेश पर्यटन वर्ष २०८२ को प्रस्तुतिबाट दिगो विकासको अवधारणा अनुरूप पर्यटनका माध्यमबाट प्राप्त गर्न सकिने रोजगारी, स्थानीय भाषा, कला, साहित्य, संस्कृति, कृषि उत्पादन साना तथा मझौला उद्यम, भौगोलिक र प्राकृतिक सौन्दर्यलगायत प्रदेशको विविधताले दिएको अवसर तथा सम्भावनालाई प्रदेशबासीको जीवनस्तर उकास्ने माध्यम बनाउँदै स्थानीय अर्थतन्त्रका साथै समग्र प्रदेश तथा राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्ने उद्देश्य राखिएको छ ।

नेपालका अन्य प्रदेशसँग कोशी प्रदेशको पर्यटनसम्बन्धी तुलना

कोशी प्रदेशले प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जैविक विविधताको दृष्टिले अन्य प्रदेशसँग प्रतिस्पर्धा गर्न सक्छ । अन्य प्रदेशहरू जस्तै गण्डकी र बागमती प्रदेशले पर्वतीय पर्यटनमा विशेष महत्व राख्छन् भने कोशी प्रदेशले तराई, मध्य पहाड, र हिमाली क्षेत्रका आकर्षणलाई समेटेको छ । अन्य प्रदेशको तुलनामा कोशी प्रदेशसँग सीमाना जोडिएको भारतको सिक्किम, पश्चिम बङ्गाल, विहार राज्यमा विस्तार हुँदै गरेको मध्यम वर्गलाई प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले आकर्षित गर्न सक्ने सम्भावना प्रचुर रहेको छ । यो प्रदेशको भूभागमा सगरमाथा, मकालु र कञ्चनजङ्घासहित आठहजार भन्दा अग्ला पाँचवटा शिखर लगायत सयौँ हिमचुचुरा रहेकाले साहसिक पर्यटनका लागि विशेष सम्भावना छ । अर्कोतर्फ भारतको पश्चिम बङ्गाल र विहारका धार्मिक शक्तिपिठ र नेपालका धार्मिक पिठविच मितेरी सम्वन्ध कायम गरेर धार्मिक पर्यटक भित्र्याउने सम्भावना पनि उत्तिकै छ । 
 

होटल, ट्राभल्स, टुर्स, होमस्टे, र साहसिक पर्यटनको अवस्था र सम्भावना

कोशी प्रदेशमा होटल व्यवसाय तीव्र गतिमा विस्तार भइरहेको छ । विराटनगर, धरान, गाइघाट, काकरभिट्टा, धुलावारी, विर्तामोड, इलाम, श्रीअन्तु, कन्याम, वसन्तपुर, सोल्लेरी, लुक्ला, नाम्चेबजार, हलेसीजस्ता शहर र गन्तव्यमा सुविधायुक्त आधुनिक होटल उपलब्ध छन् । यस प्रदेशका पहाडी तथा हिमाली जिल्लामा होम(स्टे लोकप्रिय बन्दै गएका छन्, जसमध्ये प्रदेशमा दर्ता भएर सञ्चालनमा रहेका होमस्टेको सङ्ख्या ६१ होटल ३२ र ट्राभल्सरट्रेकिङ एजेन्सी १०३ रहेका छन् । साहसिक पर्यटनमा सगरमाथा आधार शिविर ट्रेक, मकालु वरूण ट्रेक, कञ्चनजङ्घा आधार शिविर, तिम्वुङ पोखरी ट्रेक, मुन्धुम ट्रेल, र्याफ्टिङ, प्यारग्लाइडिङ, माउन्टेन बाइक, साइकलिङ, एवम् सहासिक पर्यटनसँग सम्बन्धित खेलकुदले पर्यटकलाई आकर्षित गरिरहेका छन् । प्याराग्लाइडिङ र माउन्टेन बाइकका लागि नयाँ गन्तव्य र सम्भावनाहरूको पहिचान हुने क्रम विस्तार हुँदैछ । 

ग्रामीण पर्यटनको अवस्था र सम्भावना

ग्रामीण पर्यटनका लागि कोशी प्रदेशका विभिन्न स्थानहरू अत्यन्त उपयुक्त छन् । इलाम, श्रीअन्तु, कन्याम, करफोक, माइपोखरी, फालेलुङ, तिम्वुङ पोखरी क्षेत्र, रोङ, सलकपुर, पाँचथर, ताप्लेजुङका विभिन्न गाउँहरू, धनकुटा, भेडेटार, जेफाले, उदयपुर, खोटाङ, सङ्खुवासभाको अरूण उपत्यका, र भोजपुरको हलेसी महादेव धार्मिक स्थल ग्रामीण पर्यटनको उत्कृष्ट उदाहरण हुन् । वन्यजन्तुमैत्री खास गरेर हात्तीमैत्री पर्यटन बाहुनडाँगी जैविक विविधता र ग्रामीण पर्यटनको मोडल हुन सक्छ । कृषि पर्यटन र स्थानीय संस्कृति अनुभव गर्ने अवसर ग्रामीण क्षेत्रमा प्रचुर मात्रामा छन् । ग्रामीण पर्यटनले स्थानीय रोजगार सिर्जना र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउँछ ।

जैविक विविधता र पर्या(पर्यटनको अवस्था र सम्भावना

कोशी प्रदेश जैविक विविधताको दृष्टिले सम्पन्न छ । विश्वका महत्वपूर्ण सिमसारहरूको सूचीमा उल्लेखित रामसार सूचीमा कोशीटप्पु वन्यजन्तु आरक्ष अर्ना र विभिन्न जलपक्षीका लागि प्रख्यात छ । नेपालमा पाइने जम्मा ८९५ प्रजातिका चरामध्ये ५३५ प्रजातिका चरा पाइन्छन् । विश्व सम्पदा सूचीमा सूचीकृत सगरमाथा राष्ट्रिय निकुञ्ज र नेपालकै होचो उपत्यकालाई समेटेको भूभागले हिमाली क्षेत्रको जैविक विविधतालाई संरक्षण गर्दछ । कञ्चनजङ्घा, तिम्वुङपोखरी, सन्दकपुर, माइपोखरी, सभापोखरी, ह्ययातुङ झरना, अरूण उपत्याका, चुरे क्षेत्र, आदिले दीगो पर्यापर्यटन र पर्यावरणीय सन्तुलनका साथै, दीर्घकालीन आर्थिक विकासमा योगदान पुर्‍याउन सक्दछन् । यसका लागि पर्यटकमैत्री नीति कानुन र पर्यटकीय मैत्री व्यवहारलगायतका विषयमा ध्यान दिन जरूरी छ । ट्राभल्स, ट्रेकिङ, होमस्टे, सवारी चालक,गाइड एवम् भरियाको प्रशिक्षण र संरक्षणसम्बन्धी सचेतना कार्यक्रम आवश्यक छ ।

सिमाना नाकाहरूबाट पर्यटक आगमनको अवस्था

कोशी प्रदेशका प्रमुख सिमाना नाकाहरूमा जोगवनी, काकरभिट्टा, र पशुपतिनगर, मानेभञ्जयाङ पर्छन् । यी नाका भारत र बङ्गलादेशका पर्यटकको प्रवेशद्वार हुन् । यिनका अतिरिक्त अन्य सिमा नाकामा समेत पर्यटक आगमनलाई व्यवस्थित बनाउनका लागि स्वागत एवम् सूचना कक्ष तथा रिफ्रेसमेन्ट सेन्टरको निर्माण एवम् स्तरोन्नतिलाई सरकारले प्राथामिकतामा राखेर काम गरिरहेको छ । पर्यटक आगमनलाई थप सुरक्षित र भरपर्दो बनाउनका लागि यातायातमा सहजता, मुद्रा सटही, नेपाली सिम कार्डको व्यवस्थापन, यातायात व्यवस्थापन, सूचना केन्द्र निर्माण आदि गर्न सके पर्यटक आगमन व्यवस्थित हुन सक्ने प्रवल सम्भावना छ । 

पर्यटक प्रहरी र पर्यटक सुरक्षाको अवस्था

पर्यटक सुरक्षामा प्रहरीको भूमिका महत्वपूर्ण छ । हालसम्म प्रहरी सेवाले आधारभूत सुरक्षा व्यवस्था प्रदान गरे पनि पर्यटक मैत्री सेवा र छिटो प्रतिक्रिया प्रणालीको अभाव देखिएको छ । प्रशिक्षित गाइड, स्वास्थ्यकर्मी र आपतकालीन सहायता सेवाहरू उपलब्ध हुन सके पर्यटक सुरक्षाको प्रत्याभुति पूर्णरूपमा गर्न सकिन्छ । पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्रालयको मातहतमा कोशी प्रदेशको काकरभिट्टा, पशुपतिनगर र सोलुखम्बुमा पर्यटक प्रहरीको इकाइ कार्यरत छ । तर भौतिक पूर्वाधार र साधन स्रोतको अभावका बाबजुद सेवारत पर्यटक प्रहरीलाई अझ सुदृढ र सवल बनाउन आवश्यक छ । प्रादेशिक संरचनाअन्तरगत पर्यटक प्रहरीको परिचालन र व्यवस्थापन हुन सकेको खण्डमा पर्यटकहरूको सुरक्षा प्रत्याभुति बढाउन सकिन्छ । 

पर्यटन सूचना केन्द्रको अवस्था र भूमिका

प्रदेश सरकार स्थापना भएपश्चात कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा सूचना केन्द्र स्थापना भइ सञ्चालनमा छन् । तथापि यिनमा भौतिक पूर्वाधार, जनशक्ति तथा सूचना प्रविधिको पर्याप्ताका अभाव रहेको छ । यी सूचना केन्द्रलाई आधुनिक प्रविधिको प्रयोग गरेर पर्यटकलाई मार्गदर्शन गर्ने, गन्तव्यको विस्तृत नक्शा, विवरण उपलब्ध गराउने, पर्यटकहरूको भावना यस प्रदेश र गन्तव्यप्रतिको अनुभव प्राप्त गरी सोबाट सिकाइ हासिल गर्ने र सुधार गर्ने कार्यमा सूचना केन्द्रलाई अधिकत्तम उपयोग गर्न सकिन्छ । केही स्थानीय तहबाट सञ्चालित सूचना केन्द्रले आफ्ना कामलाई व्यवस्थित गरेको उदाहरणसमेत छन् । सूर्योदय नगरपालिका अन्तरगत पशुपतिनगर र रोङ गाउँपालिका अन्तरगत जोरकलस सूचना केन्द्रले पर्यटकलाई सूचना प्रदानमा सहजीकरण गरिरहेका छन् । पर्यटन कार्यालय, काकरभिट्टामा रहेको सूचना केन्द्रले पूर्वी नाकाबाट भित्रिने पर्यटकलाई समेत सहजीकरण गरिरहेको छ । प्रदेश सरकारले यस वर्ष हलेसी, पाथिभरा र वराह क्षेत्रमा सूचना केन्द्र व्यवस्थापन गर्ने योजना बनाएको छ । 

स्थानीय सरकारको भूमिका र प्रदेश सरकारसँगको सम्बन्ध

प्रत्येक पर्यटकीय गन्तव्य कुनै न कुनै स्थानीय सरकारमा रहेका छन् । यी गन्तव्यको पहिचान, विकास, प्रचार(प्रसार मार्फत पर्यटन प्रवर्द्धनमा स्थानीय सरकारको भूमिका निर्णायक छ । स्थानीय स्रोतहरूको उपभोग र परिचालनमा स्थानीय सरकारले भूमिका निर्वाह गरिरहेका छन् । ग्रामीण पर्यटन प्रवर्द्धन, जैविक विविधताको संरक्षण र घरेलु उत्पादन, स्थानीय कृषि उपज, साना तथा मझौला उद्यमको प्रवर्द्धन मार्फत स्थानीय वस्तु तथा सेवालाई विविधीकरण गरी पर्यटक उपजका रूपमा प्रस्तुत गर्दै पर्यटनसँग जोड्नका लागि स्थानीय सरकार उपयुक्त माध्यम तथा मञ्चका रूपमा स्थापित हुँदै गइरहेका छन् । स्थानीय सरकारले स्थानीय सम्पदाको संरक्षण, साहसिक खेलकुद कार्यक्रमको आयोजना र सांस्कृतिक महोत्सवको प्रवर्द्धनमा योगदान पुर्‍याइरहेका छन् । सङ्घ र स्थानीय सरकारको प्रदेश सरकारसँगको सहकार्यले पर्यटनका योजनाकार्यान्वयनलाई प्रभावकारी बनाउन मद्धत गरिरहेको छ । प्रदेश सरकारका प्राथामिकता र छनौट गरेका आयोजनाहरूको सञ्चालन र अपेक्षित परिणाम प्राप्तिमा स्थानीय सरकारको भूमिका प्रभावकारी रहेको छ । तसर्थ दिगो पर्यटन प्रवर्द्धन मार्फत विभिन्न तहका सरकारहरूले लिएको समग्र राष्ट्रीय संवृद्धिको लक्ष्य प्राप्तिमा प्रदेश सरकार र स्थानीय सरकारबीचको सहकार्य र सहअस्तित्व अपरिहार्य छ । 

क्रस बोर्डर पर्यटनको सम्भावना र चुनौती

यस प्रदेशको भारत र बङ्गलादेशसँगको सीमा निकटताका कारण क्रस बोर्डर पर्यटनको विशाल सम्भावना छ । विशेष गरी भारतको विहार र पश्चिम बङ्गालको हिन्दू धर्मावलम्बीहरूलाई कोशी प्रदेशको धार्मिक एवम् सांस्कृतिक केन्द्रहरूमा आकर्षित गर्न सकेको खण्डमा कोशी प्रदेश धार्मिक पर्यटनको केन्द्रको रूपमा स्थापित हुन सक्ने छ । अर्कोतर्फ कोशी प्रदेशमा विस्तार भएका मेडिकल कलेज, आँखा अस्पतालहरूमा भारतीय नागरिकका लागि शैक्षिक एवम् स्वास्थ्य पर्यटनको एक आकर्षक एवम् सस्तो गन्तव्यको रूपमा स्थापित हुने सम्भावना पर्याप्त छ । नेपालको सिमावर्ती पहाडी, तथा हिमाली क्षेत्रमा रहेका गाउँहरू समग्र हिमालय क्षेत्रको ग्रामीण पर्यटन र होम(स्टे संस्कृतिको केन्द्रको रूपमा स्थापित हुने सम्भावना छ क्रस बोर्डर टुरिजमका लागि यो अर्को महत्वपूर्ण विषय बन्न सक्छ । सिमानामा पर्यटकलाई आगमनमा सरलीकरण, सुरक्षाको मजबूती र सांस्कृतिक आदानप्रदानका कार्यक्रमले पर्यटन विकासमा सहयोग पुर्‍याउँछन् । धार्मिक, सांस्कृतिक अनुभव आदन(प्रदान र सम्बन्धको विस्तारले हाम्रो पर्यटन प्रवर्द्धनमा सहयोग पुग्छ । यद्यपि सुरक्षा चुनौती, पूर्वाधारको विकासका सवालहरूलाई क्रमशः सम्वोधन गर्दै जानुपर्ने आवश्यकता छ । पर्यटन वर्ष २०८२ लाई मुलभुत रूपमा सफल पार्न तपशिलका वुँदामा उल्लेखित विषयहरू कार्यन्वयन हुन अपरिहार्य रहेको छ ।

मुख्य कार्यक्रमहरू

-  कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको थप पहिचान, प्रचारप्रसार र प्रवर्द्धन गर्ने ।
-   स्थानीय समुदायमा आधारित पर्यटनको विकास र दिगोपनको सुनिश्चितता गर्ने ।
-   पर्यटकलाई उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै पर्यटन क्षेत्रको दिगो विकास गर्ने ।
-   ग्रामीण पर्यटन र जैविक विविधताको संरक्षण गर्दै पर्यावरणीय पर्यटनको प्रवर्द्धन गर्ने ।
-    साहसिक र सांस्कृतिक पर्यटनका नयाँ अवसरहरूको पहिचान गर्ने र प्रवर्द्धन गर्ने ।
-    भारतीय एवम् तेस्रो मुलुकका पर्यटकहरूको आगमन बढाउन योगदान पुर्याउने । 
-    निजी क्षेत्रलाई हौसला प्रदान गरी पर्यटन व्यवसायको क्षेत्र विस्तार गर्ने । 
-    पर्यटक सुरक्षाको सुनिश्चिता गर्ने । 

माथि उल्लेखित बिषयहरूलाई समाधान गर्दै पर्यटन विकासमा सङ्घीय तथा स्थानीय सरकार समेतको सहयोगमा र नीजि क्षेत्रलाई हौसला प्रदान गरी पर्यटन विकास गर्न आवश्यक तयारी गर्ने काम गरिने छ ।

प्रदेश सरकारका अपेक्षित उपलब्धि 

- प्रदेशमा पर्यतनको नीतिगत र संरचनागत सुधार 
- आन्तरिक र बाह्य पर्यटकको आगमनमा वृद्धि हुदै स्थानीय स्तरमा थप नयाँ रोजगारीको सिर्जना र बढोत्तरी ।
- जैविक विविधताको संरक्षणमा योगदान गर्दै पर्यावरण मैत्री पर्यटनको प्रवर्धन ।
- पर्यटन पूर्वाधारमा दीर्घकालीन लगानीका लागि नीजि क्षेत्रको सहभागिता ।
- दिगो विकासको लक्ष्य अनुरुप राष्ट्रिय अर्थतन्त्रमा योगदान ।
- कोशी प्रदेशलाई पर्यटनको केन्द्रको रुपमा स्थापना।

निष्कर्ष

कोशी प्रदेश पर्यटन वर्ष २०८२ को घोषणा प्रदेशकै समृद्धि र दीगो विकासका लागि एउटा दूरदर्शी प्रयास हो । तीनै तहका सरकार, नीजि क्षेत्र तथा सम्वद्ध सरोकारवालालगायत पर्यटनका सबै क्षेत्रलाई एकीकृत गरी पर्यटन मार्फत समग्र अर्थतन्त्रमा सुधार र प्रदेशवासी नागरिकहरूको समृद्धिमा टेवा पुर्‍याउने लक्ष्यसहितको यो अभियान प्रदेशका लागि दीर्घकालीन परिवर्तनको बाहक बन्ने अपेक्षा गरिएको छ । 

मुकाम, कोशी प्रदेश भ्रमण वर्ष २०८२ विशेषाङ्कबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै