
प्रदीप बस्याल
गत भदौ २३ र २४ गते भएका ुजेन जीु आन्दोलनमा भएको जनधनको क्षति र विध्वंसपछि नेपाल आउने पर्यटकको सङ्ख्यामा करिब ४० प्रतिशतले कमी आएको पर्यटन अधिकारीहरूले बताएका छन् ।
‘यी घटना हुनुभन्दा अगाडि नेपालमा प्रत्येक दिन औसतमा करिब ३,२०० को सङ्ख्यामा पर्यटकहरू आउँथे। त्यसयता त्यो १,३०० जतिको सङ्ख्यामा पुगेको अवस्था छ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भने ।
अक्टोबर नोभेम्बरको शरद् यामको मुखैमा भएका घातक प्रदर्शनपछि नेपालको अन्तर्राष्ट्रिय छविमा एक पटक पुन धक्का लागेको भन्दै पर्यटन बोर्डका प्रमुखले अब त्यसलाई चिर्ने आफूहरूले प्रयास गरिरहेको बताएका छन् ।
तर पर्यटन व्यवसायीहरू भने नेपाल आउन खोजिरहेका पर्यटकहरूले दर्साएका केही कारणहरू अझै चिन्ताजनक रहेको बताउँछन्। ‘जेलबाट भागेका आपराधिक पृष्ठभूमिका हजारौँको मानिसहरू र प्रहरीबाट लुटिएका सबै हातहतियार अझै बाहिरै छन् भनेर धेरै अझै चासो व्यक्त गरिरहेका छन्,’ नेपाल असोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष कुमारमणि थपलिया भन्छन्। ‘मुख्य पर्यटकीय याम सुरु भइसकेको छ। यो लामो समय जाला कि भन्ने हाम्रो चिन्ता छ।’
चिन्ता
नेपालका दुई मुख्य पर्यटकीय याम मानिने वसन्त र शरद् ऋतु खास गरी पदयात्रा र पर्वतारोहणका दृष्टिबाट निकै महत्त्वपूर्ण मानिन्छन् । ‘पछिल्ला घटनामा देशैभरका गन्तव्य, पदयात्रा मार्ग र सम्पदाहरूमा असर परेको छैन। तर केही सेवा प्रदायक होटलहरूमा क्षति पुगेको छ,’ जोशी भन्छन् । अवस्था सुधार हुँदै जाँदाका हकमा सेप्टेम्बर अन्त्यसम्ममा सामान्यतर्फ उन्मुख हुने आशा गरिएको जोशी बताउँछन् । ‘तर यसबीचमा फेरि हुलदङ्गाहरू भए भने त्यससँगै पर्यटकीय स्रोत मुलुकमा जाने सन्देश निकै नराम्रो हुन्छ।’
जेन जी आन्दोलनपछि नयाँ सरकार गठन भएर अवस्था सामान्य हुनेतर्फ अघि बढिरहे तापनि यसबीचमा इन्टरनेट र सामाजिक सञ्जालमा फैलिएका हिंसक र अस्थिर अवस्था देखिने सामग्रीले नेपालको पर्यटनलाई तत्कालै असर पारेको व्यवसायीहरू बताउँछन् ।
‘हामी जहिल्यै सबैभन्दा पहिले पीडित हुने र सबैभन्दा अन्तिममा पुनरुत्थान हुने क्षेत्रका रूपमा हुन्छौँ । पछिल्लो समय यस्ता घटना छिटोछिटो हुन थाल्दा हामी चिन्तित छौँ,’ नाटाका थपलिया भन्छन् । थपलियाले भनेझैँ नेपालमा आन्दोलन चर्कनासाथ बाङ्ग्लादेशमा एकाएक उच्च सङ्ख्यामा नेपालका लागि गरिएको बुकिङ रद्द हुन थालेको थियो ।
सम्पर्क गरेका केही पर्यटन व्यवसायीहरूले यसबीचमा बुकिङको माग ३० देखि ७० प्रतिशतसम्मले कमी आएको जनाएका छन् । आन्दोलन र आसपासका दिनका लागि तय भइसकेको बुकिङ शतप्रतिशतसम्मले रद्द भयो । भारतले बाङ्ग्लादेशका नागरिकहरूलाई पर्यटकीय भिसामा कडाइ गरेपछि पछिल्लो समय त्यहाँका धेरै मानिसहरूको रोजाइमा नेपाल पर्ने गरेको थियो ।
एक बाङ्ग्लादेशी ट्राभल कम्पनी शेअरट्रिपले आफूहरू स्वयंले ‘तत्काल नेपाल यात्रा गर्न निरुत्साहित गरिरहेको र अवस्था स्थिर हुँदासम्मका लागि पर्खन भनेको’ जनाएको छ ।
नाटाका थपलिया थप्छन्ः ‘फागुनमा चुनाव छ । त्यो बेला पनि वसन्त याम पर्छ । अवस्था अस्थिर भइरह्यो भने त्यसको असर लामो समय पर्ने हुँदा सबै पक्ष सजग हुन आवश्यक छ ।’
कता बढ्ता मार ?
नेपालको एउटा मुख्य होटेल सञ्जाल काठमाण्डू गेस्ट हाउस (केजीएच ग्रूप) का प्रमुख कार्यकारी अधिकृत राजन शाक्य आन्दोलन चर्किएको दिनमा मात्रै आफूहरूले करिब ३०० वटा बुकिङहरू रद्द गर्नुपरेको बताउँछन् । त्यस्तोमा समूहमा आउने र परिवारहरू रहेको उनी बताउँछन् ।
ूसेप्टेम्बर महिनामै सांस्कृतिक टुर प्याकेजहरूको राम्रो बुकिङ थियो। यो होटलका अक्युपन्सी ६५ देखि ७० प्रतिशतसम्म हुने समय हो । तर अहिले त्यो करिब २० प्रतिशतमा झरेको छ।
शाक्यले भने, ‘यसको असर होटेलहरूमा मात्र नपरीकन तरकारी पसलहरूदेखि पदयात्रा मार्गसम्म पर्छ। यो निकै संवेदनशील क्षेत्र हो। कोही अर्काको देश जाने कुरा महिनौँअघिदेखि बन्ने योजना हो। त्यसको माहोल बिग्रिए यस्ता घटनाको असर वर्षौँसम्म पर्न सक्छ।’
पर्यटन व्यवसायीहरूका अनुसार ुजेन जीु आन्दोलन सकिएपछि पनि अधिकांश नयाँ बुकिङहरू केही समय पर्ख र हेरको अवस्थामा छन्। ‘पहिल्यै भएका बुकिङमा पर्वतारोहण र पदयात्राका बुकिङ खासै रद्द गरिएका छैनन्। तर सांस्कृतिक टुर र सेमिनार एवं बैठकका आयोजनाहरू अधिकांश रद्द हुन पुगे,’ नाटाका कुमारमणि थपलियाले भने।
आफ्ना चालकदलका सदस्य बस्ने एउटा पाँचतारे होटेलमा प्रदर्शनकारीहरूले तोडफोड गरेपछि हङ्कङको एउटा विमान कम्पनी क्याथे प्यासिफिकले सेप्टेम्बर अन्तिमसम्मकै लागि नेपालमा आफ्ना उडानहरू रोकेको छ। नेपालका लुम्बिनीजस्ता बौद्ध तीर्थस्थलमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउने श्रीलङ्काजस्ता देशका हकमा भने गत साताको तनावले ुतीनदेखि चार दिनसम्मु मार परे तापनि अवस्था अवस्था सामान्यतर्फ आउन थालेको बताइएको छ।
ओभरसीज बुद्धिस्ट टुर अर्गनाइजर्स असोसिएशनका महासचिव महिन्द्रा हलोलुवा पर्यटकको सङ्ख्या यतिखेर केही कम रहे तापनि विस्तारै सामान्य अवस्थामा आउन लागेको बताउँछन् ।
उक्त असोसिएशनअन्तर्गत भारत र नेपालमा यात्रा गराउने २३४ पर्यटन सेवा सञ्चालकहरू छन्। उनीहरूले दुवै देशका सरकारी निकाय, बौद्ध गुम्बा र होटलहरूसँगको समन्वयमा यात्राका कार्यक्रमलाई निरन्तरता दिइएको बताएका छन्।
अब के गर्ने
श्रीलङ्काका तीर्थालुहरू जाडो सुरु हुनुअघिको नोभेम्बरसम्म नेपाल आउँछन्। त्यसपछि पुन फेब्रुअरीमा उक्त क्रम दोहोरिन्छ।
नेपाल पर्वतारोहण सङ्घका एक उपाध्यक्ष मिङ्मा डेभिड शेर्पाले नेपालबारे गएको नकारात्मक छवि फेर्न यतिखेर नेपालमै रहेका पर्यटकहरूको साथ लिनुपर्ने बताउँछन्।
‘अहिले नै मनास्लु हिमाल चढ्न कुरिरहेका ३०० भन्दा धेरै हिमाल चढ्न आएका पर्यटक छन् । आन्दोलनकैबीच उनीहरूले खासै ठूलो समस्या झेलेनन्। अहिले सोशल मिडियाको जमानामा चाहेर(नचाहेर नेपालको नराम्रो छवि जाने भिडिओ मानिसहरूले हेरिरहेका छन्,’ कीर्तिमानी आरोही समेत रहेका शेर्पा भन्छन् ।
‘त्यस्ता मानिसहरूसम्म यहीँ भएकैबाट शान्ति रहेको, सुरक्षित भइने कुरा पुग्नुपर्छ। पर्यटकलाई जस्तोसुकै अवस्थामा पनि सुरक्षित राख्ने नेपालीको स्वभाव र प्रमाणित विगत बुझाइनुपर्छ।’
तर हिल्टनजस्ता मुख्य होटलहरू जलेका तस्बिर अन्तर्राष्ट्रिय रूपमा फैलँदाको असर लामो समयसम्म निकै गहिरो हुने शेर्पा बताउँछन्। पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले नेपालमा सशस्त्र द्वन्द्वदेखि पछिल्ला वर्ष र दशकमा भएका अनेकौँ आन्दोलनमा पर्यटकहरू कहिल्यै निसानामा नपरेको अवस्था विश्वलाई थाहा दिन आवश्यक रहेको बताउँछन् ।
‘कर्फ्यू वा आन्दोलनकै बीच पनि पर्यटक बोकेका गाडीहरू निर्धक्क हिँड्न सक्ने हाम्रो देश हो। अतिथि देवो भवः साँच्चिकै हाम्रो रगतमै छ,’ दीपकराज जोशी भन्छन्, ‘यसपटक परिस्थिति केही फरक भएकाले त्रास केही बढ्ता भएको अवश्य हो। तर विगतदेखि नै छिटै पुनरुत्थान हुने देश नेपाल हो। हामीले अहिले पर्यटकहरूलाई निर्धक्क हुने वातावरण बनाउनका लागि आपसी समन्वय र समयमै सूचनाको आदानप्रदान निकै प्राथमिकतासाथ राखेका छौँ।’
आन्दोलनपछिका अवस्थामा कैयौँ देशहरूले जारी गरेका यात्रा सजगतासम्बन्धी एड्भाइजरीहरू हट्न थाल्नसाथ अवस्था सहज हुने अधिकारीहरूको आशा छ। नेपालको वैदेशिक मुद्रा आर्जनको दोस्रो मुख्य स्रोतका रूपमा रहेको पर्यटनले वार्षिक रूपमा ३ खर्ब रुपैयाँ आयआर्जनमा योगदान दिइरहेको वर्ल्ड ट्राभल एन्ड टुरिजम काउन्सिल (डब्ल्यूटीटीसी) को विवरणले देखाउँछ।
डब्ल्यूटीटीसीकै विवरणअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान करिब ८ प्रतिशत छ। रोजगारी सिर्जनामा पर्यटनले क्षेत्रको योगदान १० प्रतिशतभन्दा बटी रहेको पर्यटन बोर्डले जनाएको छ । ‘हाम्रो अर्थतन्त्रको आधाजसो हिस्सा अनौपचारिक छ। त्यसैले यी तथ्याङ्कले समेट्नेभन्दा व्यापक दायरा हाम्रो पर्यटन क्षेत्रले समेट्छ,’ पर्यटन बोर्डका प्रमुख जोशी भन्छन्। बीबीसी न्यूज नेपाली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे
- पर्यटन क्षेत्रको पुनरुत्थानका लागि रणनीति आवश्यक रहेको सरोकारवालाहरुको जोड
- सांग्रिला डेभलपमेन्ट बैंकद्वारा एससिटी युनियन पे कार्ड सेवा सुरु
- आहा ! मुन्दुम... आहा ! मुन्दुम पदमार्ग.....
- ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई
- कोशी प्रदेशको शान पदमार्गमा आधारित पर्यटन
- नेपाल टेलिकमद्वारा जीएसएम पोस्टपेडमा रिक्वेरिङ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन
- नेपाल बैंकका कर्मचारी र ग्राहकका लागि लिफ प्लससँगको सम्झौतामा २० प्रतिशतसम्म छुट