काठमाडौं । “राजनीतिक सहभागिता हाम्रो अधिकार” भन्ने नारासहित आइतबार दिउँसो १२ः३० बजे काठमाडौँको सञ्चयकोष भवन, ठमेलबाट इन्द्रेणी गाईजात्रा र्याली सुरु हुँदैछ। र्यालीमा सहभागी हुन आयोजकहरूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सबैलाई आह्वान गरेका छन्।
यस वर्षको इन्द्रेणी गाईजात्रा उत्सव एसियाकै पहिलो समलिङ्गी सांसद सुनिल बाबु पन्तको नेतृत्वमा, दक्षिण एसियामा पहिलो पटक कानुनी रूपमा विवाह दर्ता गरेका समलिङ्गी जोडीको उपस्थिति र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अधिकारका लागि सक्रिय विभिन्न संस्थाहरूको सामूहिक सहभागितामा आयोजना हुन लागेको हो। ब्लु डायमन्ड सोसाइटीका संस्थापक अध्यक्ष पन्तको नेतृत्वमा २०५९ सालदेखि गाईजात्रा उत्सवलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले स्वतःस्फूर्त रूपमा मनाउँदै आएका छन्।
काठमाडौँको ठमेलस्थित सञ्चयकोष अगाडिबाट हरेक वर्ष सुरु हुने यो परम्पराको थालनी पनि पन्तकै नेतृत्वमा भएको हो। उनले यसअघि चितवन र पोखरामा पनि समुदायसहित गाईजात्रा उत्सव आयोजना गरेका थिए।
यस वर्ष भने समुदायका सदस्यहरूले सरकारी वा संस्थागत सहयोगबिनै, व्यक्तिगत तथा सामूहिक योगदानमा आधारित स्वतःस्फूर्त सहभागितासहित पर्व मनाउने भएका छन्। र्याली काठमाडौँको सञ्चयकोष भवनबाट सुरु भई वसन्तपुर दरबार स्क्वायरमा समापन हुनेछ। कार्यक्रममा सांस्कृतिक तथा कलात्मक प्रस्तुतिहरू समावेश हुनेछन्। वसन्तपुरमा पुगेर दिवङ्गत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सदस्यहरूको सम्झनामा दियो बालेर समापन गरिनेछ।
पन्तका अनुसार, गाईजात्रा केवल शोक वा मृत स्मृतिको दिन मात्र नभई अस्तित्व र स्वतन्त्रताको उत्सव हो। आयोजकहरूको भनाइमा, आफ्नै परिवारले नसम्झे पनि जीवित समुदायले भने दिवङ्गत सदस्यहरूलाई सधैँ सम्झिरहन्छ। गाईजात्रा उनीहरूका लागि स्वतन्त्रतापूर्वक आफ्नो पहिचान प्रकट गर्ने अवसर हो, जसमा नाचगान, हाँसो, व्यङ्ग्य र रङ्गिनता समेटिएको हुन्छ। मायाको पहिचान नेपाल, लिड नेपाल, इन्क्लुसिभ फोरम, इन्क्लुसिभ ग्यालेक्सी रेस्टुरेन्ट, समर्पण सभ्य समाजलगायतका सङ्घसंस्थाले यस वर्षको कार्यक्रम विदेशी सहायता वा कुनै अनुदानबिनै, समुदायकै आर्थिक तथा श्रम योगदानमा सम्पन्न गर्न लागिएको जनाएका छन्।
समुदायका अगुवा तथा आयोजकहरूका अनुसार, राज्यका सबै तहमा राजनीतिक प्रतिनिधित्व र समावेशिताको सुनिश्चितताको माग अब मुखर रूपमा अघि सार्ने समय आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






