सार्वजनिक बिदामा विद्यालय सञ्चालन नगर्न वीरगंज महानगरको चेतावनी

वीरगंज महानगरपालिकाले संस्थागत विद्यालय र मन्टेश्वरीहरूलाई लक्षित गर्दै शिक्षा क्षेत्रमा कडाइ सुरु गरेको छ। महानगरको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको निर्देशनअनुसार अर्को सूचना नभएसम्म आइतबार कुनै पनि विद्यालय सञ्चालन गर्न नपाइने स्पष्ट गरिएको छ।

महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा जारी सूचनामा केही विद्यालयहरूले सार्वजनिक बिदाको दिनसमेत नियमित कक्षा सञ्चालन गरिरहेको जानकारी प्राप्त भएपछि महानगर गम्भीर बनेको उल्लेख छ। महानगरपालिकाले यस्तो कार्यलाई सरकारी निर्णयविपरीत मात्र नभई शैक्षिक अनुशासन र कानुनी व्यवस्थामाथिको उल्लंघनका रूपमा व्याख्या गरेको छ।

महानगरपालिकाले अब विद्यालयहरूको अनुगमनलाई अझ प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ। विशेषगरी केही निजी विद्यालयहरूले विद्यालय परिसरभित्रैबाट पाठ्यपुस्तक, विद्यालय पोशाक र स्टेशनरी सामग्री बिक्री गरिरहेको गुनासो आएपछि प्रशासन थप सक्रिय बनेको हो।

विद्यालयलाई व्यापारिक केन्द्र बनाउने प्रवृत्तिले अभिभावकको आर्थिक भार बढाएको भन्दै महानगरपालिकाले विद्यालय हाताभित्र हुने किताब, ड्रेस तथा स्टेशनरी बिक्री तत्काल बन्द गर्न निर्देशन दिएको छ। यदि यस्तो गतिविधि जारी रहेको पाइए कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ।

त्यस्तै, पाठ्यक्रम विकास केन्द्रले तोकेको भन्दा बढी तथा अनावश्यक पुस्तक विद्यार्थीलाई प्रयोग गराउने कार्यप्रति पनि महानगरले असन्तुष्टि जनाएको छ। साना बालबालिकामाथि अत्यधिक पुस्तकको बोझ थोपर्दा उनीहरूको मानसिक र शारीरिक विकासमा नकारात्मक असर पर्ने भन्दै आवश्यकभन्दा बढी पुस्तक प्रयोग नगर्न विद्यालयहरूलाई सचेत गराइएको छ।

महानगरपालिकाले अभिभावकबाट अनावश्यक शुल्क उठाउने वा विद्यार्थीलाई तनाव दिने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ। अनुगमनका क्रममा अतिरिक्त तथा अनावश्यक पाठ्यपुस्तक प्रयोग भएको भेटिए सम्बन्धित विद्यालय प्रशासनमाथि कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

शिक्षा क्षेत्रलाई व्यवस्थित, मर्यादित र विद्यार्थीमैत्री बनाउने उद्देश्यसहित सुरु गरिएको यो अभियानलाई अभिभावक र शिक्षाप्रेमीहरूले सकारात्मक रूपमा लिएका छन्। महानगरले सबै विद्यालय प्रशासनलाई सरकारी निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै कानुनविपरीतका गतिविधि दोहोरिए कुनै छुट नदिइने स्पष्ट सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै