काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आइतबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने तथा तराईका केही क्षेत्रमा हुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, कोसी प्रदेशका पहाडी तथा तराई क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोसी प्रदेशको हिमाली भूभाग, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली छ । अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कोसी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
मौसमविद्का अनुसार हाल देशभर मनसुनी वायु सक्रिय छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी क्षेत्रमा औसत स्थानभन्दा दक्षिणतर्फ र पश्चिमी क्षेत्रमा औसत स्थानकै आसपास रहेकाले वर्षा हुने प्रणाली अझै सक्रिय रहेको छ ।
महाशाखाको पूर्वानुमानअनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि बदली रहनेछ भने कोसी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
दिउँसो देशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेस, कोसी र बागमती प्रदेशका तराईका थोरै स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
विशेषगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र र कोसी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी मधेस प्रदेश तथा कोसी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुरी चल्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।
रातिको समयमा पनि वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ। कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ । राति कोसी, सुदूरपश्चिम, कर्णाली, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोसी प्रदेशको पहाडी भूभागमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।
यसैबीच, काठमाडौं उपत्यकामा पनि आज अपराह्नपछि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् डेभिड ढकालका अनुसार बिहान घाम लागे पनि दिउँसोपछि बादल विकसित हुँदै जाने र करिब २–३ बजेदेखि वर्षा सुरु हुन सक्ने अनुमान छ । अपराह्न, साँझ र रातिको समयमा उपत्यकामा मध्यम वर्षा हुने सम्भावना रहेको उनले बताएका छन् ।
मौसमविद्ले नदी–नाला आसपास, पहिरोको जोखिम रहेका क्षेत्र तथा डुबान हुन सक्ने स्थानमा विशेष सावधानी अपनाउन तथा यात्रा गर्दा मौसमको अद्यावधिक जानकारी लिएर मात्र अघि बढ्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- डोल्पामा लेदोसहितको बाढी: एक महिलाको मृत्यु, ६ जना घाइते
- महालक्ष्मी विकास बैंकद्धारा ५ जना विद्यार्थीहरुलाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण
- संरक्षण र दिगो व्यवस्थापनबाट सिन्धुलीको बिचित्रा ठाकुर सामुदायिक वन जिल्लाकै नमुना बन्दै
- बोश होम नेपालको ब्रान्ड एम्बेसडरमा अस्मी श्रेष्ठ नियुक्त
- आज यी ठाउँमा हुन सक्छ वर्षाको विनास, सतर्कता अपनाउन आग्रह
- एम्बाप्पेको पेनाल्टीमा फ्रान्स क्वार्टरफाइनलमा, अब मोरक्कोसँग भिड्ने
- मोरक्कोसँग ३–० ले पराजित हुँदै आयोजक क्यानडा विश्वकपबाट बाहिरियो
- घरमै सुतिरहेका आमा–छोरा जंगली हात्तीले लियो ज्यान

ट्रेन्डिङ
खबरमुकाम






