राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द

चितवन । अविरल वर्षाका कारण बढ्दो प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–काठमाडौँ सडकखण्डमा आइतबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार धादिङसहित चितवन र आसपासका जिल्लामा निरन्तर वर्षा भइरहेको तथा थप वर्षा हुने मौसम पूर्वानुमान रहेकाले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै सडक बन्द गर्ने निर्णय गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार रातिको समयमा पहिरो जाने, ढुंगा खस्ने तथा अन्य प्राकृतिक विपद्का कारण दुर्घटनाको जोखिम उच्च हुने भएकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार राति १० बजेदेखि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो ।

प्रशासनले यात्रु तथा सवारी चालकलाई वैकल्पिक व्यवस्था मिलाउन तथा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरेको छ ।

सवारी आवागमन बन्द अवधिमा आवश्यक जानकारी, समन्वय तथा सहजीकरणका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बल नेपालको १११४ तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

मौसमको अवस्थालाई निरन्तर मूल्याङ्कन गर्दै अर्को सूचना प्रकाशित नभएसम्म उक्त निर्णय कायम रहने प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै