काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक र राजनीतिक रूपमा गम्भीर संकटमा फस्दै गएको दाबी गरेका छन् । अमेरिकाले तेहरानमाथि थप आर्थिक दबाब सिर्जना गर्ने तयारी गरिरहेका बेला ट्रम्पको यस्तो धारणा सार्वजनिक भएको हो ।
ट्रम्पले सोमबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानको अवस्था निकै कमजोर बनेको टिप्पणी गरेका हुन् । उनले इरानको आर्थिक र राजनीतिक अवस्थामाथि कडा आलोचना गरेका छन् ।
ट्रम्पको टिप्पणी अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानविरुद्ध नयाँ आर्थिक दबाब अभियान सुरु भएको घोषणा गरेको केही समयपछि आएको हो । बेसेन्टले इरानलाई सहयोग गर्ने मुलुकहरू अन्तर्राष्ट्रिय रूपमा अलग हुन सक्ने चेतावनी दिएका छन् ।
बेसेन्टले सामाजिक सञ्जाल एक्समा अमेरिकाले इरानको सैन्य क्षमता कमजोर बनाएको, अधिकांश सैन्य कारखाना ध्वस्त पारेको र उसको परमाणु कार्यक्रम असफल बनाएको दाबी गरेका थिए ।
तर इरानले अमेरिकी दाबी अस्वीकार गर्दै त्यसको कडा प्रतिवाद गरेको छ । इरानी उपपरराष्ट्रमन्त्री काजेम गरीबाबादीले अमेरिकाले सैन्य कारबाहीबाट आर्थिक दबाबको बाटो रोज्नु नै उसको अभियान असफल भएको प्रमाण भएको बताएका छन् ।
गरीबाबादीले अमेरिकाको दाबीमाथि प्रश्न उठाउँदै यदि वाशिङ्टनले आफ्नो उद्देश्य पूरा गरिसकेको भए यति ठूलो वित्तीय दबाब र राज्य संयन्त्रको परिचालन किन आवश्यक परेको भन्ने प्रश्न गरेका छन् । उनले अमेरिकी कदमलाई विजयको दाबीभन्दा पनि असफलता स्वीकार गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन् ।
हर्मुज जलसन्धिमा बढ्दो तनाव
अमेरिका र इजरायलले फेब्रुअरीमा इरानविरुद्ध सैन्य कारबाही सुरु गर्दा इरानको परमाणु कार्यक्रमलाई मुख्य निशाना बनाइएको थियो । तर द्वन्द्व सुरु भएपछि विश्वको ध्यान महत्वपूर्ण तेल तथा ग्यास आपूर्ति मार्ग हर्मुज जलसन्धितर्फ समेत केन्द्रित भएको छ ।
इरानले हर्मुज जलसन्धिमा नाकाबन्दी कायम राखेको बताइएको छ । यसको असर अन्तर्राष्ट्रिय तेल आपूर्तिमा परेको छ भने ऊर्जा मूल्य र मुद्रास्फीतिको दबाबसमेत बढेको छ । आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनलाई ध्यानमा राख्दा यसको आर्थिक प्रभावले ट्रम्पमाथि घरेलु दबाब थप बढाउन सक्ने आकलन गरिएको छ ।
इरानको तेल निर्यातमा ठूलो गिरावट
अमेरिकी नौसैनिक नाकाबन्दीका कारण हर्मुज जलसन्धि हुँदै हुने इरानको तेल निर्यातमा उल्लेख्य कमी आएको बताइएको छ । समुद्री आवागमनको निगरानी गर्ने संस्था केप्लरका अनुसार युद्धअघि इरानले दैनिक करिब २० लाख ब्यारेल तेल निर्यात गर्दै आएकोमा अगस्टको मध्यसम्म यो मात्रा घटेर करिब ४ लाख ब्यारेलमा सीमित भएको थियो ।
इरानले लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्दै आएको छ । सन् २०१५ मा भएको परमाणु सम्झौतापछि केही समय प्रतिबन्ध खुकुलो भए पनि राष्ट्रपति ट्रम्पले पछि उक्त सम्झौताबाट अमेरिका अलग गर्दै इरानविरुद्ध ‘अधिकतम दबाब’ अभियान अघि बढाएका थिए ।
प्रतिबन्धका बाबजुद इरानले मुख्य रूपमा चीनमा ठूलो परिमाणमा तेल निर्यात गर्दै आएको थियो । अमेरिकी प्रतिबन्ध छल्न उसले जटिल अन्तर्राष्ट्रिय वित्तीय सञ्जाल प्रयोग गर्दै आएको आरोपसमेत लाग्दै आएको छ ।
अमेरिका र इरानबीचको तनाव बढ्दै गएपछि बेसेन्ट र ट्रम्पले अन्य मुलुकलाई इरानसँग आर्थिक सहकार्य नगर्न चेतावनी दिएका छन् । इरानलाई आर्थिक गतिविधिमा सहयोग गर्ने देशहरूलाई समेत अमेरिकी कारबाहीको दायरामा ल्याउन सकिने संकेत उनीहरूले गरेका छन् ।
उता, इरानले भने अमेरिकी दबाब अभियानमा सहभागी नहुन अन्य मुलुकलाई आग्रह गरेको छ । इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकी अभियानमा साथ दिने देशहरूले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
आर्थिक संकटको असर सर्वसाधारणमा
लामो समयदेखि जारी आर्थिक संकट र पछिल्लो गतिरोधका कारण इरानी नागरिकको जनजीवन थप प्रभावित हुने देखिएको छ । इरानले लामो समयदेखि उच्च मुद्रास्फीतिको सामना गरिरहेको छ । गत डिसेम्बर र जनवरीमा बढ्दो आर्थिक समस्याविरुद्ध देशका विभिन्न स्थानमा सरकारविरोधी प्रदर्शनसमेत भएका थिए ।
तेहरानकी ३२ वर्षीया फार्मासिस्ट सारा हसनबेगीले सर्वसाधारणका लागि अहिलेको अवस्था निकै कठिन बनेको बताएकी छन् । उनका अनुसार लामो समयसम्म नागरिकले यस्तै परिस्थितिको सामना गरिरहन कठिन हुने देखिएको छ ।
इरानी राष्ट्रपति मसूद पेजेस्कियानले पनि आइतबार देशमा व्यापक समस्या रहेको स्वीकार गरेका थिए । उनले मुद्रास्फीति, रोजगारी र दैनिक जीवनयापनसँग जोडिएका समस्या समाधानका लागि सरकार प्रयासरत रहेको बताएका छन् ।
यसअघि पेजेस्कियानले इरान शक्ति र सम्मानको अवस्थामा रहेको दाबी गर्दै युद्ध अन्त्य गर्नुपर्ने धारणा राखेका थिए । त्यसपछि सर्वोच्च नेता मोज्तबा खामेनीले महत्वपूर्ण सुरक्षा पदमा कट्टरपन्थी नेताहरूलाई नियुक्त गरेको बताइएको छ ।
हसनबेगीले इरानी नागरिक शान्ति चाहिरहेको उल्लेख गर्दै द्वन्द्व अन्त्यका लागि दुवै पक्ष वार्ता र सम्झौताका लागि तयार हुनुपर्ने धारणा राखेकी छन् । उनका अनुसार अहिलेको अवस्थामा इरानले सम्झौताको बाटो रोज्नु उपयुक्त हुनेछ ।
युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास
अमेरिका र इरानबीचको द्वन्द्व अन्त्य गर्न विभिन्न मुलुकले कूटनीतिक पहल अघि बढाइरहेका छन् । पाकिस्तान र ओमानले वार्ताको वातावरण बनाउन सक्रियता बढाएका छन् ।
पाकिस्तानका सेना प्रमुख सोमबार इरान भ्रमण गर्ने अपेक्षा गरिएको थियो । यसअघि अप्रिलमा भएको युद्धविरामका क्रममा पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको थियो ।
त्यस्तै, ओमानका परराष्ट्रमन्त्री बद्र अल–बुसाईदी मंगलबार इरान जाने अपेक्षा गरिएको छ । हर्मुज जलसन्धिबाट हुने समुद्री आवागमनलाई सहज बनाउने विषयमा पनि ओमान र इरानबीच छलफल भइरहेको बताइएको छ ।
करिब छ महिनादेखि जारी द्वन्द्वपछि अमेरिका र इरानबीचको तनाव अझै समाधान हुन सकेको छैन । शान्ति वार्ता रोकिएको अवस्थामा अमेरिकाले सैन्य दबाबसँगै आर्थिक प्रतिबन्धलाई प्राथमिकता दिन थालेको छ भने इरानले अमेरिकी कदमलाई सैन्य अभियान असफल भएपछि अपनाइएको नयाँ रणनीतिका रूपमा व्याख्या गरिरहेको छ ।
अमेरिका–इरान तनाव अब कूटनीतिक वार्तामार्फत समाधानतर्फ अघि बढ्छ वा आर्थिक तथा रणनीतिक दबाब थप चर्किन्छ भन्ने विषय आगामी दिनमा महत्वपूर्ण बन्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्री शाहलाई भेट्ने मेयर्स फोरमको निर्णय
- ‘मेड इन नेपाल’को पहिचान जोगाउन बौद्धिक सम्पत्ति र भौगोलिक सङ्केत कानुन बलियो बनाउन जोड
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
- ह्वाइट फेदर्सको विशेष अफर : डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर



ट्रेन्डिङ
खबरमुकाम




.jpeg)


