म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ कैलाशफाँटमा झाडीले भरिएको बगरलाई खेलमैदानमा परिणत गरिएको छ । म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा ल्याएको हो ।
मङ्गला–५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले जनप्रतिनिधि, स्थानीयवासी, खेलाडी र विद्यार्थीले श्रमदान गरेर झाडीयुक्त बगरलाई खेलमैदानमा परिणत गरेका जानकारी दिए । ‘चार वर्षअघि डोजरले जमिन सम्याउने काम भए पनि खेलमैदान प्रयोगमा नआउँदा झाडीले भरिएको थियो’, उनले भने, ‘पुस १ देखि १२ गतेसम्म सञ्चालन भएको श्रमदान अभियानमार्फत स्तरोन्नति गरिएको थियो ।’ उहाँका अनुसार उक्त खेलमैदानमा पुस १५ देखि १७ गतेसम्म पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ ।
खेलमैदानमा झाडी फाँड्ने, रहेका ढुङ्गा टिपेर व्यवस्थापन गर्ने, सम्याउने र स्टेज बनाउन म्याग्दी नदी किनारबाट ढुङ्गा ढुवानी गर्न एक हजार पाँच सयले श्रमदान गरेका वडाध्यक्ष खत्रीले बताए । उनका अनुसार ससाना ढुङ्गा हटाउने, माटो राख्ने र खाल्डाखुल्डी पुरेर खेल्ने क्रममा चोटपटक नलाग्ने बनाइएको छ ।
बाबियाचौर, पीपलबोट, रणवाङका युवा क्लब र आमा समूहको नेतृत्वमा दैनिक २० देखि ३० जनाका दरले स्थानीयवासी श्रमदान अभियानमा सहभागी भएका पीपलबोटका युवा श्यामसुन्दर कँडेलले बताए । बाबियाचौरको मङ्गला मावि, डनिङ आवासीय र छिस्वाङको शारदा माध्यमिक विद्यालयका विद्यार्थीले बिदाको दिन खेलमैदानमा श्रमदान गरेका थिए ।
गाउँपालिकाले जमिन सम्याउन डोजर परिचालन गर्नुका साथै स्टेज बनाएको छ । जमिन सम्याउन डोजर भाडा र स्टेज बनाउन रु. पाँच लाख बराबरको खर्च भएको गाउँपालिकाका प्राविधिक नगेन्द्र सापकोटाले जानकारी दिए । “झाडीले भरिएको कैलाशफाँट अहिले व्यवस्थित बनेको छ । खेलमैदानले स्वरूप लिएको छ”, उनले भने ।
गण्डकी प्रदेशको एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत रु. १५ लाख बजेटबाट विसं २०७६ मा १२० मिटर लम्बाइ र ७१ मिटर चौडाइ भएको खेलमैदान बनाइएको थियो । खेलमैदानलाई कटानबाट बचाउन म्याग्दी नदीको किनारमा एक सय २० थान ग्याबियन पर्खाल निर्माण गरिएको थियो ।
गाउँपालिकाको केन्द्र बाबियाचौर, पीपलबोट, सहश्रधारा र रणवाङलाई पायकपर्ने ठाउँमा रहेको कैलाशफाँट नजिकै हालै झोलुङ्गे पुल निर्माण भएको छ । व्यवस्थित खेलमैदान अभावमा खेलकुद गतिविधि र प्रतियोगिता सञ्चालन गर्न तथा खेलाडीले खेल अभ्यास गर्न समस्या थियो ।
गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले विद्यालय परिसरमा खेलकुद गतिविधि सञ्चालन गर्दा पठनपाठन प्रभावित भएकाले खेलकुदका लागि वैकल्पिक स्थानमा खेलमैदान बनाउने अभियान चलाइएको बताए । कैलाश फाँटको खेलमैदानलाई पालिका स्तरीय बनाउने योजना रहेको उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीपीडितलाई शिव शक्ति बाबाको १ लाख ८० हजारको राहत सहयोग हुँदा भारतका मिडियामा चर्चा
- नेपालमा जुनसुकै बेला प्रदर्शन हुन सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई गरायो सचेत
- भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
- बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २३ शव फेला
- त्रिशूली–नारायणीमा भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षणपछि व्यवस्थापन
- भोटेकोसी बाढीमा बेपत्ता ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन
- अत्यावश्यक अवस्थामा मात्र हेलिकप्टर प्रयोग गर्न प्राधिकरणको आग्रह
- अझै दुई दिन भारी वर्षाको सम्भावना, तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक



ट्रेन्डिङ
खबरमुकाम







