विश्वकप फाइनलको झडपमा अर्जेन्टिनी खेलाडीलाई फिफाको कारबाही 

काठमाडौं । विश्वकपको फाइनलपछि मैदानमा भएको झडपका सम्बन्धमा फिफाको अनुशासन समितिले अर्जेन्टिनी टोली तथा खेलाडीमाथि कारबाही गरेको छ ।

झडपमा संलग्न अर्जेन्टिनाका मिडफिल्डर लिआन्ड्रो पारेडेसलाई फिफाले १० खेलमा प्रतिबन्ध लगाएको छ । उनका सहकर्मी नहुएल मोलिनालाई सात खेलमा प्रतिबन्ध लगाइएको छ। दुवैलाई ९० हजार अमेरिकी डलर जरिवाना तिर्नसमेत आदेश दिइएको छ ।

फाइनल खेलपछि भएको विवादका क्रममा पारेडेसले स्पेनका एरिक गार्सियाको घाँटी समातेका थिए भने गाभीलाई भुइँमा पछार्नुका साथै उनको अनुहारमा प्रहार गरेको आरोप छ । यद्यपि गाभीले पारेडेसमाथि कारबाही गर्न आवश्यक नरहेको धारणा व्यक्त गरेका थिए ।

झडपमा संलग्न स्पेनका गाभी र अर्जेन्टिनाका थियागो अल्माडालाई पनि एक–एक खेलमा प्रतिबन्ध लगाइएको छ।  उनीहरूलाई ३० हजार अमेरिकी डलरका दरले जरिवाना गरिएको छ ।

त्यस्तै, स्पेनका डानी ओल्मोको अनुहारमा प्रहार गरेका अर्जेन्टिनाको प्रशिक्षक टोलीका सदस्य रोबर्टो आयालालाई तीन खेलमा प्रतिबन्ध लगाउँदै ३० हजार अमेरिकी डलर जरिवाना गरिएको छ ।

फिफाका अनुसार यी प्रतिबन्ध अन्तर्राष्ट्रिय खेलमा मात्र लागू हुनेछन् ।

यसैगरी, अर्जेन्टिनालाई आफ्ना आगामी दुई घरेलु खेल ५० प्रतिशत दर्शक क्षमतामा मात्र खेलाउन आदेश दिइएको छ । तीमध्ये एउटा खेलको सजाय भने हाललाई स्थगन गरिएको छ ।

खेलकुदसँग सम्बन्ध नभएका विषयमा खेलकुद कार्यक्रमको प्रयोग, टोलीको अनुशासनहीन व्यवहार तथा समर्थकबाट भएका विभेदकारी नाराबाजी र हाउभाउका कारण आचारसंहिता उल्लंघन भएको भन्दै अर्जेन्टिनी फुटबल संघलाई ३ लाख २१ हजार अमेरिकी डलर जरिवाना गरिएको छ ।

जरिवानामध्ये १ लाख अमेरिकी डलर विभेदविरुद्ध लड्ने योजनामा लगानी गर्नुपर्नेछ । अर्को १ लाख अमेरिकी डलर बराबरको जरिवाना भने परीक्षण अवधिको सर्तसहित तत्कालका लागि स्थगन गरिएको फिफाले जनाएको छ ।

यसअघि विश्वकपको सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ ले हराएपछि अर्जेन्टिनाका केही खेलाडीले बेलायती अधीनस्थ क्षेत्र फकल्यान्ड टापु अर्जेन्टिनाको भएको दाबी गरिएको ब्यानर प्रदर्शन गरेका थिए ।

फाइनलपछि भएको विवादको छानबिन गर्न फिफाले अनुशासनात्मक तथा आचारसंहितासम्बन्धी अभियोजक नियुक्त गरेको थियो ।

अर्जेन्टिनी फुटबल संघले फिफाको कारबाहीविरुद्ध पुनरावेदन गर्ने जनाएको छ । पुनरावेदन सफल नभएमा कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टमा मुद्दा लैजाने संघको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै