नेपालमा जुनसुकै बेला प्रदर्शन हुन सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई गरायो सचेत  

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । नेपालमा नागरिक अशान्ति तथा स्थानीयस्तरमा अचानक प्रदर्शन हुन सक्ने जोखिम रहेको भन्दै मन्त्रालयले यात्रा चेतावनी जारी गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयले दुई दिनअघि अद्यावधिक गरेको ‘ट्राभल एडभाइजरी’मा नेपाललाई लेभल–२ अर्थात् बढ्दो सतर्कता अपनाउनुपर्ने देशको सूचीमा राखेको छ ।

मन्त्रालयका अनुसार सेप्टेम्बर २०२५ मा सुरु भएका देशव्यापी प्रदर्शनहरू हाल रोकिएका छन् र नेपालको समग्र सुरक्षा अवस्था स्थिर छ । तर विशेषगरी सहरी क्षेत्रमा प्रदर्शन तथा स्थानीय अशान्ति अचानक हुन सक्ने जोखिम अझै कायम रहेको चेतावनी दिइएको छ ।

यात्रा चेतावनीमा प्रदर्शनहरू थोरै वा कुनै पूर्वसूचनाबिनै सुरु हुन सक्ने र ती छिट्टै हिंसात्मक बन्न सक्ने उल्लेख गर्दै अमेरिकी नागरिकलाई ठूलो भीडभाड तथा प्रदर्शनबाट टाढा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

रसुवाको सीमावर्ती क्षेत्रमा नजान आग्रह
अमेरिकी विदेश मन्त्रालयले रसुवाको रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल–चीन सीमा नाका क्षेत्रमा कुनै पनि कारणले यात्रा नगर्न आग्रह गरेको छ ।

बाढीबाट भएको क्षति, यातायात तथा सञ्चार सेवा अवरुद्ध हुनु, खोज तथा उद्धार र पुनःस्थापनाका काम जारी रहनु तथा थप बाढी र पहिरोको जोखिमका कारण उक्त क्षेत्रलाई उच्च जोखिमयुक्त मानिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सेवाको क्षमतामाथि पनि चिन्ता
यात्रा चेतावनीमा नेपालको स्वास्थ्य सेवाको सीमित क्षमताबारे पनि उल्लेख गरिएको छ । काठमाडौंका अस्पताल अन्य स्थानको तुलनामा तुलनात्मक रूपमा राम्रो भए पनि अस्पतालमा भीडभाड हुने, आवश्यक उपकरण वा औषधिको अभाव हुन सक्ने तथा उपचारअघि नै भुक्तानी गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिइएको छ ।

नेपाल सरकारले विदेशी नागरिकको उपचार खर्च व्यहोर्ने व्यवस्था नरहेको भन्दै अमेरिकी नागरिकलाई आवश्यक औषधि साथमा राख्न, स्वास्थ्य तथा आपत्कालीन उद्धारसमेत समेट्ने यात्रा बीमा गर्न र गम्भीर उपचार आवश्यक परे अर्को देश जानुपर्ने अवस्थाका लागि समेत तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।

बाढी, पहिरो र भूकम्पको जोखिम
अमेरिकी विदेश मन्त्रालयले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको पनि जनाएको छ । नेपालमा नियमित रूपमा भूकम्प, बाढी र पहिरो जाने तथा काठमाडौं उपत्यकासमेत भूकम्पको जोखिममा रहेको उल्लेख गरिएको छ ।

मनसुनको समयमा जुनदेखि सेप्टेम्बरसम्म हुने भारी वर्षाले आकस्मिक बाढी र पहिरो निम्त्याउन सक्ने चेतावनी दिइएको छ । यस्ता घटनाले सडक अवरुद्ध गर्न, भवनमा क्षति पुर्‍याउन तथा आपत्कालीन अवस्थामा सहायता पाउन कठिन बनाउन सक्ने मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले नेपाल यात्रा गर्ने आफ्ना नागरिकलाई यात्रा अघि स्थानीय सुरक्षा अवस्था र मौसमसम्बन्धी जानकारी अद्यावधिक राख्न तथा सम्भावित प्राकृतिक प्रकोप र आकस्मिक अवस्थाका लागि आवश्यक तयारी गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै